काठमाडौं उपत्यका निर्वाचन क्षेत्र शृंखला
ललितपुर–१ का दुर्गम भेग ३० देखि ४० को दशकसम्म तत्कालीन नेकपा (माले) को सेल्टर थियो।
मालेका नेता–कार्यकर्ता तत्कालीन समय भूमिगत थिए। प्रशासनका आँखा छल्न उपत्यकाको काँठ तथा विकट ग्राम्य भूभागलाई आश्रय थलोका रूपमा उपयोग गर्थे। मोदनाथ प्रश्रित, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य लगायतले नै तत्कालीन समय काँठ क्षेत्रमा संगठन विस्तार गरेका हुन्।
विद्यार्थी आन्दोलनबाट पार्टीको मूलधारमा प्रवेश गरेका मीठाराम शर्मा बजगाईं तत्कालीन समय दक्षिणी ललितपुरका उदीयमान कार्यकर्ता थिए।
महिन्द्र तिमिल्सिना, बुद्धि तामाङ, सुरेन्द्रमोहन शर्मा, गोपाल सञ्जेलले पनि त्यहाँ संगठन विस्तार गर्न मिहिनेत लगाए। श्रम–सीप खर्चिए।
त्यो बेला लतिपुरको दक्षिणी पहाडमा कम्युनिस्ट संगठन हुर्काउने नेकपा (माले) मात्र थिएन, नेकपा (चौथो महाधिवेशन) समूह पनि उत्तिकै सक्रिय थियो। तराईबाट उपत्यका ओहोरदोहोर गर्ने भूमिगत मार्ग समेत भएकाले त्यो भेगमा वामपन्थी प्रभाव पर्ने नै भयो।
कम्युनिस्ट संगठन हुर्कनुमा त्यहाँको आर्थिक–सामाजिक–भौगोलिक विषमता रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव पौडेल बताउँछन्।
पौडेल पनि २०४९ र २०५४ सालमा दुई पटक ललितपुर जिल्ला विकास समिति (जिविस) सभापति भए। २०३५ सालको नख्खु जेलब्रेक गर्नेमध्ये उनी पनि एक हुन्। जेलब्रेकपछि उनी भूमिगत रूपमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा आदि जिल्लामा खटिए।
उनले काँठ क्षेत्रको संगठनको काम पनि नगरेका होइनन्। आफू जिविस सभापति हुँदा विकासको अग्रसरता देखाए पनि बजेट अभावकै कारण गति दिन नसकिएको उनको भनाइ छ।
'चालीसको दशकको अन्तिमसम्म पनि त्यहाँ बाटो थिएन। लेलेबाट हिँडेरै प्युटार, आश्राङ, ठूला दुर्लङसम्म पुग्नुपर्थ्यो। तरकारी, अन्नबाली पनि नहुने होइन तर बिक्री गर्न कि मधेस झर्नुपर्यो, कि चापागाउँसम्म ल्याउनुपर्यो, साह्रै विकट पो थियो त्यो भेग,' पौडेलले सुनाए।
पार्टीले चालीसको दशकमै गोटीखेलमा राष्ट्रिय भेला आयोजना गरेको थियो। सिपी मैनाली हिँडेरै गोटीखेल पुगेका थिए।
'बाटोघाटो नभएकाले म जिविसमा भएका बेला पूर्वाधार र ग्रामीण विद्युतीकरणको थालनी गरेँ। ललितपुरको ८० प्रतिशतभन्दा बढी भूभाग टुकीको सहारामा थियो,' पौडेलले सुनाए।
ग्रामीण भेगका किसानको जीवन खेतीपाती र पशुपालनमा निर्भर थियो। विद्यालयहरूको पनि उस्तै दुरवस्था थियो। दूध बिक्री गर्ने ठाउँ नभएपछि कृषकहरूले खुवा बनाउँथेँ। डोका, थुन्सेमा बोकेर सहरसम्म ल्याइपुर्याउँथे। तर उचित भाउ नपाउनाले कोही पनि कृषक उँभो लाग्न सकेका थिएनन्।
यो समस्या दूर गर्न रोपवे बनाइएको थियो। राष्ट्रिय दुग्ध विकास बोर्ड र केही दातृ निकायले त्यसको पहलकदमी लिएका थिए। भट्टेडाँडा, छपेली, कालेश्वर आदि ठाउँका मानिसलाई यसले लाभ पुर्याएको थियो। तर सडक पूर्वाधार नहुँदा त्यहाँको विकटता दूर भएन।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट वर्षमान पुन निर्वाचित भए। सशस्त्र संघर्षमार्फत शान्ति प्रक्रियामा आएको माओवादी उक्त निर्वाचनमा ठूलो दल बनेको थियो। सरकारको नेतृत्व समेत गरेको थियो। माओवादीको त्यति बेलाको रापतापबाट उक्त भेग पनि लाभान्वित भयो।
त्यस भेगका जनप्रतिनिधि भएपछि वर्षमान पुनले सडक पूर्वाधारमा जोड दिए। विकट गाउँलाई बाटोसँग जोड्ने पहलकदमी लिए। त्यसले त्यहाँका मानिसलाई सुविधा पुर्यायो।
अहिले पनि दक्षिण ललितपुरले विकटताको परिचय पन्छाउन सकेको छैन। कान्ति लोकपथले छोए पनि त्यहाँका नागरिकको जीवन बदलिन सकेको छैन।
यही भूखण्डबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा ३० जना उम्मेदवार मैदानमा छन्।
नेकपा एमालेले गोदावरी नगरपालिका, टाहाखेलका चेतनाथ सञ्जेललाई यहाँ उम्मेदवार बनाएको छ।
दक्षिण ललितपुरमा बलियो जनाधार भएको नेतामा पर्ने उनी २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यति बेला उनले पनि दक्षिण ललितपुरमा विकासको अगुवाइ गरेका थिए। २०७९ सालको निर्वाचनमा पुनः प्रदेशसभा सदस्य दोहोरिन खोजेका उनी पराजित भए।
नेपाली कांग्रेसले उदयशमशेर राणालाई उम्मेदवार बनाएको छ।
सागरशमशेरका छोरा उनी पैतृक विरासत पछ्याउँदै ललितपुर–१ बाट उम्मेदवार बनेका हुन्। सागरशमशेर ललितपुर–१ बाट लगातार उम्मेदवार बने पनि चुनाव जित्न सकेनन्। उनी ललितपुर–१ बाटै २०४८, २०५१ र २०५६ सालसम्म उम्मेदवार बनेका थिए।
सागरशमशेरलाई २०४८ र २०५१ सालमा एमालेका मीठाराम शर्मा बजगाईंले हराएका थिए भने २०५६ सालमा एमालेकी सुशीला नेपालले हराइन्।
यसरी सागरशमशेरले लगातार चुनाव उठ्दै पराजित भएको यो क्षेत्रमा २०६४ सालयता कांग्रेसले उनकै छोरा उदयशमशेरलाई उम्मेदवार बनाउँदै आएको छ। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उदयशमशेर पहिलो पटक उम्मेदवार बनाएका थिए। उनी वर्षमान पुन 'अनन्त' बाट पराजित भए। त्यति बेला उदय कांग्रेसको भ्रातृ संगठन तरूण दलका अध्यक्ष थिए।
त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी पहिलो पटक चुनाव जितेर सभासद बने।
२०७४ सालमा भने उनी एमालेका नवराज सिलवालबाट पराजित भए। २०७९ सालमा फेरि नवराजलाई पराजित गर्दै उदय नै सांसद निर्वाचित भए।
यसपालि उदयशमशेर पाँचौं पटक उम्मेदवार बन्दा नवराज सिलवाल चुनावी मैदानमा छैनन्। एमालेका बागमती प्रदेश सचिव रहेका सिलवाल माथिल्लो कमिटीमा जाने ध्येयले गत महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए। महाधिवेशनमा सिलवालले केन्द्रीय सदस्य हारे, बागमती प्रदेश सचिव पनि गुमाउन पुगे। यसपालि उनले टिकट पनि पाएनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहाँ पार्टी जिल्ला सभापति बुद्धरत्न महर्जनलाई उम्मेदवार बनाएको छ। महालक्ष्मी नगरपालिका सिद्धिरोडका महर्जनको घर भएको क्षेत्र ललितपुर–२ मा पर्छ। सुरूमा उनी ललितपुर–२ बाटै उठ्ने चर्चा थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल त्यस क्षेत्रबाट उम्मेदवार बन्ने भएपछि उनले क्षेत्र परिवर्तन गर्नुपर्यो। उनी अहिले यहाँका लागि नयाँ भएका छन्।
तैपनि समुदायगत प्रभाव र नयाँ पार्टीप्रति मतदाताको आकर्षणको बलमा परिणाम आफ्नो पक्षमा पार्ने उनको ध्याउन्न देखिन्छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ललितपुर–१ मा सुनील महर्जनलाई उम्मेदवार बनाएको छ। उनी गोदावरी नगरपालिकाको बुलु निवासी हुन्। गोदावरी नगरपालिकामा साविक माओवादीको राम्रो प्रभाव छ। त्यहाँका दुईवटा वडा माओवादी केन्द्रले जितेको छ। कोञ्ज्योसोम गाउँपालिकामा पनि साविक माओवादीको उपस्थिति राम्रो छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेको थियो। २०७९ सालको निर्वाचनमा गुमाएको थियो।
अहिले नेकपाले २०६४ कै प्रभाव व्युँताउने गरी संगठन, सामर्थ्य परिचालन गरेको पार्टीले बताएको छ।
राप्रपाले सजिना कार्कीलाई उम्मेदवार बनाएको छ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले भीमसेन घिमिरेलाई उम्मेदवार बनाएको छ। उनी बागमती गाउँपालिका खानी डाँडाका हुन्।
स्थानीय तहको मत विश्लेषण गर्दा यस क्षेत्रमा रहेको वामपन्थी प्रभाव क्रमशः खण्डित हुँदै गएको देखिन्छ भने नेपाली कांग्रेसले वडा तहसम्मै राम्रो प्रभाव विस्तार गरेको देखिन्छ।
साविक ४१ मध्ये क्षेत्र नम्बर १ मा अधिकांश गाविस पर्छन्। हरिसिद्धिदेखि माथिका सबै भूभाग क्षेत्र नम्बर १ का हिस्सा हुन्, जुन मकवानपुरदेखि काभ्रेसम्म जोडिएका छन्। यी क्षेत्रले भौगोलिक दूरवस्थाको परिचयन वहन गरिरहेका छन्।
महांकल, बागमती, कोञ्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकाका दुइटा (वडा नम्बर १२ र १४) बाहेक सबै यही क्षेत्रमा समेटिएका छन्।
गत स्थानीय तह निर्वाचनको मत परिणाम विश्लेषण गर्दा महांकाल गाउँपालिकाको प्रमुखसहित ६ वटै वडा नेपाली कांग्रेसले जितेको थियो। अध्यक्षमा कांग्रेसका गणेश केसी ३ हजार ४५५ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८८७ मत ल्याएकी थिइन्। उपाध्यक्षमा भने माओवादी केन्द्रकी डोल्मामाया गोली निर्वाचित भएकी थिइन्।
बागमती गाउँपालिको अध्यक्ष पनि कांग्रेसका वीरबहादुर लोप्चनले जितेका छन्। उनले ४ हजार ९०९ मत ल्याएर अध्यक्ष जित्दा एमालेका नवराज सञ्जेलले ४ हजार ५३ मत ल्याएका थिए। उपाध्यक्ष माओवादी केन्द्रका भक्तबहादुर दर्लामी निर्वाचित भएका थिए।
बागमती गाउँपालिकाको वडातर्फ १, २, ३, ४, ६ कांग्रेसले जितेको छ। वडा नम्बर ५ माओवादी र ७ एमालेले जितेको छ।
कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष भने एमालेले जितेको छ। उपाध्यक्ष चाहिँ नेपाली कांग्रेसले जितेको छ। यहाँका ५ मध्ये वडा नम्बर १ र ५ माओवादी केन्द्रले, वडा नम्बर ३ र ४ नेपाली कांग्रेसले जितेको छ। वडा नम्बर २ मात्रै एमालेले जितेको छ।
गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडा (वडा नम्बर १, २, ४, ५, ६, ७, ९, १० र ११) कांग्रेसले जितेको छ। माओवादी केन्द्रले वडा नम्बर ८ र ३ जितेको छ भने एमालेले गोदावरी नगरपालिकाको वडा नम्बर १३ मात्र जितेको छ।
२०७४ को निर्वाचनमा एमाले, माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेका थिए। एमाले उम्मेदवार नवराज सिलवाल २६ हजार ९५१ मत ल्याएर निर्वाचित भएका थिए। निकट प्रतिस्पर्धी उदयशमशेर राणाले २० हजार ७२९ मत ल्याएका थिए। बाँकी ४५ जना उम्मेदवार कसैले पनि जमानत जोगाउन सकेका थिएनन्।
२०७९ सालको निर्वाचनमा नजिता उल्ट्याउँदै कांग्रेसका राणाले २३ हजार ८९२ मत ल्याएर निर्वाचित हुँदा सिलवालले १९ हजार २७८ मत ल्याएका थिए। यो निर्वाचनमा पनि राणा र सिलवालबाहेक कसैले जमानत जोगाउन सकेनन्।
समानुपातिकतर्फको मत विश्लेषण गर्दा ललितपुर–१ को प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ कांग्रेस नै अग्रस्थानमा थियो। प्रतिनिधिसभातर्फ कांग्रेसले १६ हजार ३५२, एमालेले १५ हजार ५०८, रास्वपाले ६ हजार ८३८ र माओवादी केन्द्रले ५ हजार ६७४ मत प्राप्त गरेका थिए। प्रदेशसभातर्फ कांग्रेसले १७ हजार ६४८, एमालेले १६ हजार ८२, माओवादी केन्द्रले ५ हजार ४८२ मत ल्याएको थियो।
यसरी हेर्दा प्रमुख पार्टीबाट धेरथोर मत नवोदित पार्टीतर्फ गएको देखिन्छ।
ललितपुर–१ मा ५३ स्थल १०० केन्द्र छन् भने मतदाता संख्या ७७ हजार ७३७ छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायत नयाँ दलतर्फ मतदाताको रूझान देखिँदा कांग्रेस–एमालेलाई आफ्ना मतदाता जोगाउने चुनौती छ। त्यसैले यति बेला पुराना पार्टी विगतमा आफूले गरेका कामको फेहरिस्त बोकेर गाउँ डुलिरहेका छन्।
नयाँ मुलुक परिवर्तनको संघारमा रहेकाले मत परिवर्तन गर्दै देश विकासमा भूमिका खेल्न मतदातालाई आग्रह गरिरहेका छन्।
***
यी पनि पढ्नुहोस्: