काठमाडौं निर्वाचन क्षेत्र शृंखला
नयाँ प्रशासनिक पुनर्संचना हुनुअघि काठमाडौंको काँठ क्षेत्र ५७ वटा गाविसमा बाँडिएको थियो। विकटमध्ये पर्थ्यो – फुटुङ, काभ्रेस्थली।
दुई दशक अघिसम्म त्यहाँ सडक सञ्जाल थिएन। व्यवस्थित विद्युतीकरण थिएन। व्यवस्थित सडक पूर्वाधार नभएकाले भरपर्दो यातायात सेवा थिएन। काठमाडौंवासी भए पनि मनमैजुभन्दा माथिका नागरिकहरूको जीवन कष्टकर नै थियो।
पछिल्लो दशकमा साङ्ला, काभ्रेस्थली, धर्मस्थली, फुटुङ आदि गाउँको अवस्था फेरिएको छ। सडक सञ्जाल पुगेको छ। जग्गाको खण्डीकरणसँगै आवादी बढेको छ। घरहरू थपिएका छन्। खाली जमिनमा व्यावसायिक खेती किसानी पनि हुन थालेको छ। त्यहाँका रैथानले मात्र नभएर दूरदराजबाट आएका मानिसले जग्गा भाडामा लिएर काँठ गुलजार तुल्याइरहेका छन्। फराकिला फाँटमा टनेल हालेर तरकारी बाली लगाइरहेका छन्।
यो काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को बदलिँदो आयाम हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी यहाँ पनि बढिसकेको छ।
पछिल्लो निर्वाचन क्षेत्र विभाजन अनुसार काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा यहाँ पर्छन्। तारकेश्वर नगरपालिकाका वडा नम्बर १ (साङ्ला), २ (काभ्रेस्थली), ६ (धर्मस्थली), ७ (फुटुङ), साविक मनमैजुअन्तर्गत पर्ने ९, १० र ११ यस क्षेत्रमा समेटिएका छन्।
यो निर्वाचन क्षेत्रमा टोखा नगरपालिकाका केही भाग पनि पर्छन्। यसमा वडा नम्बर १ (झोर), ८ (जालुपा), ९ (गोंगबु), १० (गोंगबु गणेशस्थान), ११ (बानियाँटार) समेटिएका छन्।
निर्वाचन आयोगका अनुसार काठमाडौं–६ मा ३२ मतदान स्थल तोकिएका छन् भने ७९ मतदान केन्द्र र ६७ हजार ७५९ मतदाता छन्।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पुछारदेखि पुतलीसडकसम्म उत्तरदक्षिण फैलिएको यो निर्वाचन क्षेत्रमा अहिले २० जना उम्मेदवार छन्। १५ जना राजनीतिक दलका उम्मेदवार छन् भने पाँच जना स्वतन्त्र उम्मेदवार हुन्।
उम्मेदवारहरूको चर्चा गर्नुअघि यस क्षेत्रका विगतको परिणामबारे चर्चा गरौं।
२०४८ सालको निर्वाचनअघि नै काठमाडौं उत्तरपश्चिम क्षेत्र पूर्वोत्तरजस्तै वामपन्थीकै प्रभाव क्षेत्र थियो। वामपन्थी नेताहरूले भूमिगत कालमा सेल्टर लिने भएकाले वामपन्थीहरूको प्रभाव रहने नै भयो।
काठमाडौं नै भए पनि सहरी सुगमताबाट टाढा रहनुपरेकाले पुरानो सत्ताविरूद्ध रूष्ट हुने र नयाँ नयाँ अनुहारलाई मौका दिने राजनीतिक चरित्र यो भूगोलले पनि अँगालेको थियो। मतदाताको रूझान त्यस्तै देखिन्थ्यो।
यस क्षेत्रमा वामपन्थी नेताहरू पद्मरत्न तुलाधर, सहाना प्रधान, राजेन्द्र श्रेष्ठ, मंगलसिद्धि मानन्धर आदिको राम्रो प्रभाव थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको निर्वाचनमा यो क्षेत्र काठमाडौं–४ मा पर्थ्यो। यहाँबाट सहाना प्रधान निर्वाचित भएकी थिइन्।
२०४६ सालको पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा उनी संयुक्त वाम मोर्चाको तर्फबाट आन्दोलन कमान्डर थिइन्।
असनकी रैथाने प्रधान २००७ सालमा महिला संघकी महासचिव थिइन्। राजनीतिमा सक्रिय नेता पुष्पलाल श्रेष्ठकी पत्नी समेत भएकाले उनी काठमाडौंका प्रभावशाली अनुहार थिइन्।
उनको त्यो छवि मतमार्फत् पनि अनुमोदन भयो। २०५१ सालको मध्यावधि निर्वाचनमा प्रधान काठमाडौं–६ बाट निर्वाचित भइन्।
झोर, काभ्रेस्थली, साङ्ला, फुटुङ आदि क्षेत्र काठमाडौं–५ मा पर्यो। यहाँबाट एमालेकै राजेन्द्र श्रेष्ठ निर्वाचित भए। २०५६ को आम निर्वाचनमा भने यस क्षेत्रबाट एमालेका मंगलसिद्धि मानन्धर निर्वाचित भए। श्रेष्ठ र मानन्धर दुवैले एमाले परित्याग गरेका थिए। मानन्धरको निधन भइसकेको छ भने श्रेष्ठ नेकपाका नेता बनेका छन्।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १० वटा क्षेत्रमा बाँडिएको थियो। यो क्षेत्र काठमाडौं–६ अन्तर्गत पर्यो। यस निर्वाचन क्षेत्रबाट नेकपा माओवादीका नेता हितमान शाक्य निर्वाचित भए। त्यति बेला एमालेले योगेश भट्टराईलाई मैदानमा उतारेको थियो। नेपाली कांग्रेसले भीमसेनदास प्रधानलाई उम्मेदवार बनाएको थियो।
तत्कालीन समय कोर सहरी क्षेत्रबाट पनि माओवादीले नतिजा आफ्नो पक्षमा पार्नु अनपेक्षित नै थियो। तर त्यसपछिका निर्वाचनमा यस क्षेत्रमा नेकपा माओवादीले जित निकाल्न सकेन। क्रमशः मताधार पनि घट्दै गयो।
२०७० को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भए। २०७४ सालको निर्वाचनमा पनि प्रधान नै विजयी भए। त्यति बेला नेकपा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन थियो। गठबन्धनका तर्फबाट माओवादी केन्द्रले झक्कुप्रसाद सुवेदीलाई मैदानमा उतारेको थियो। प्रधान १६ हजार ७८५ मत सहित निर्वाचित भए भने सुवेदीले १५ हजार ४८५ मत ल्याए।
तेस्रो भएका विवेकशील साझा पार्टीका रमेश चिलुवालले ४ हजार २२५ मत ल्याए। बाँकी १२ उम्मेदवार कसैले पनि हजार मत कटाएनन्।
वाम तालमेलबीच पनि परिणाम आफ्नो पक्षमा पारेको नेपाली कांग्रेसले गत निर्वाचनमा भने हार व्यहोर्यो।
२०७९ को निर्वाचनमा पहिलो पटक भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहाँ जित दर्ता गर्यो। रास्वपा नेता शिशिर खनाल १४ हजार २२१ मत ल्याएर काठमाडौं–६ बाट सांसद निर्वाचित भए। यस निर्वाचनमा एमालेले पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको थियो। खनालले ८ हजार ९१७ मत ल्याए। खनालले अहिले पार्टी छाडिसकेका छन्। उनले बेग्लै दल दर्ता गरेर बारा–४ बाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
तेस्रो भएका कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८१२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले २ हजार १८५ मत ल्याएका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा यस क्षेत्रअन्तर्गत पर्ने १६ वटा वडामध्ये १० वटा वडा कांग्रेसले जितेको थियो भने ६ वटा एमालेले जितेको थियो।
काठमाडौं महानगरपालिकाका २६, २७ र २८ वडा कांग्रेसले जितेको थियो। तारकेश्वरको प्रमुख, उपप्रमुखसहित १, २, ६, ७, ८, १० र ११ नम्बर वडा कांग्रेसले जितेको थियो। २०७४ को निर्वाचनमा भने यस नगरपालिकाको नगरप्रमुख, उपप्रमुखसहित ११ वटा वडा कांग्रेसले जितेको थियो।
त्यस्तै, २०७९ सालको स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको वडा नम्बर १ कांग्रेसले जितेको थियो भने ८, ९, १० र ११ नम्बर वडा एमालेले जितेको थियो।
फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले यस क्षेत्रमा कृष्ण बानियाँ (सबुज) लाई उम्मेदवार बनाएको छ। उनी पहिलो पटक संघीय सांसदका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
नेकपा एमालेले प्रदेश सांसदबाट राजीनामा दिन लगाएर अमन मास्केलाई प्रतिनिधिसभाको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ। फुटुङका रैथाने मास्के गत प्रदेशसभा निर्वाचनमा काठमाडौं–६ (२) बाट विजयी भएका थिए। उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भएका थिए।
गत निर्वाचनमा उनले ८ हजार ६६ मत ल्याएर जितेका थिए। प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले ६ हजार ६७७ मत ल्याएका थिए।
२०७४ को प्रदेश सभा निर्वाचनमा पनि काठमाडौं–६ का दुवै सिटमा एमाले (केशव स्थापित र योगेन्द्रराज संग्रौला) ले चुनाव जितेका थिए।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले गत निर्वाचनमा विजयी शिशिर खनाललाई नै उम्मेदवार बनाएको छ। शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरेका खनाल पूर्वशिक्षामन्त्री पनि हुन्। पार्टीको नीति निर्माणमा भूमिका खेलिरहेका खनाल पार्टीमा पनि सचिवालय तहकै जिम्मेवारीमा छन्।
नेकपाले पूर्वविद्यार्थी नेता हिमाल शर्मा (हेमलाल) लाई उम्मेदवार बनाएको छ। पार्टी केन्द्रीय सदस्य शर्मा पहिलो पटक संघीय सांसदका लागि चुनावी मैदानमा ओर्लिएका हुन्। २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी त्रिवि केन्द्रीय क्याम्पसमा सभापति निर्वाचित भएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यस क्षेत्रमा उद्धवराज भेटवाललाई उम्मेदवार बनाएको छ। उनी पत्रकारिता पृष्ठभूमिका हुन्।
काठमाडौं–६ को समानुपातिकतर्फ गत निर्वाचनमा रास्वपा ११ हजार ९९६ मतसहित पहिलो थियो।
समानुपातिकतर्फ दोस्रो नेकपा एमाले थियो। एमालेले ८ हजार १९ मत प्राप्त गरेको थियो। कांग्रेसले ७ हजार ५७७ मत ल्याएको थियो भने ४ हजार ६१० मतसहित राप्रपा तेस्रो थियो। माओवादी केन्द्रले १ हजार ८०२ मत ल्याएको थियो।
त्यस्तै, प्रदेशसभातर्फ समानुपातिक मतमा एमाले अगाडि थियो। एमालेले १० हजार १५५ मत प्राप्त गरेको थियो। नेपाली कांग्रेसले ८ हजार ९८५ मत ल्याएको थियो भने राप्रपाले ७ हजार ९८४ मत ल्याएको थियो।
पहिलो पटक चुनावी प्रतिस्पर्धामा सामेल हाम्रो नेपाली पार्टीले २ हजार २११ मत मत प्राप्त गरेको थियो।
एमालेले तीन पटक, कांग्रेसले दुई पटक र रास्वपाले एक पटक परिणाम आफ्नो पक्षमा पारेको यस निर्वाचन क्षेत्रमा अहिले त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ।
बौद्धिक र शालीन नेताको परिचय बनाएका रास्वपाका शिशिर खनाल, इन्जिनियर पृष्ठभूमिका र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा विकास–निर्माणको अगुवाइ गरेका एमालेका अमन मास्के र कांग्रेसको जिल्ला पार्टीको बागडोर सम्हालेका कृष्ण बानियाँ (सबुज) तीनै जना चुनाव जित्ने आकलनसहित मैदानमा छन्।
विद्यार्थी आन्दोलन हुँदै सशस्त्र संघर्षताक कठोर जेलताडना व्यहोरेका शर्मा पनि त्यस क्षेत्रमा कमजोर उम्मेदवार होइनन्।
***
यी पनि पढ्नुहोस्: