नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार र योगदान दीपस्तम्झैं रहेको बताएका छन्।
३३ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा नेताहरूको योगदानको स्मरण गर्दै उनले जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको बताएका छन्।
‘आज मदन – आश्रितको ३३ औं स्मृति दिवस। ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौं। घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्,’ उनले भनेका छन्।
मदन भण्डारी आफ्नो नेता, साथी, सहयोद्धा सबै रहेको ओलीको भनाइ छ। जीवराज आश्रित कुशल संगठक भएको उनले स्मरण गरेका छन्।
‘मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। त्यस दौरानमा उहाँको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको छ। जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्याउने मार्गचित्र दियो। त्यसलाई हामीले ’समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं। पछिल्लो दशकमा हाम्रो त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको थियो,’ उनले भनेका छन्।
मदन भण्डारी– जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज आफूहरूमाझ शारीरिक रूपमा नभए पनि विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैं भएको उनको बुझाइ छ।
‘जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो। मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ। जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ। प्रिय मदन– आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान!,’ उनले भनेका छन्।
तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो। एमालेले त्यसलाई हत्या भन्दै आएको छ। विगतमा विभिन्न आयोग बनेर छानबिन, अध्ययन, अनुसन्धान भए पनि सत्यतथ्य बाहिर आएको छैन। उक्त घटना रहस्यमय रूपमै रहेको छ।