काठमाडौं निर्वाचन क्षेत्र शृंखला
काठमाडौं–९ कुनै बेला देशकै ध्यान खिच्ने निर्वाचन क्षेत्र थियो। सन्दर्भ हो, २०४८ सालको आमनिर्वाचन।
२०४६ सालको राजनीतिक परिवर्तनपछि भएको निर्वाचनमा तत्कालीन समय काठमाडौंमा पाँचवटा निर्वाचन क्षेत्र थियो। धर्मस्थलीदेखि थानकोटसम्मको भाग काठमाडौं–४ मा पर्थ्यो।
त्यति बेला यो निर्वाचन क्षेत्रमा दुई घागडान उम्मेदवार प्रतिस्पर्धामा थिए।
नेकपा एमालेले वाममोर्चा तर्फबाट आन्दोलनको नेतृत्व सम्हालेकी सहाना प्रधानलाई उम्मेदवार बनाएको थियो भने नेपाली कांग्रेसबाट प्रकाशमान सिंह उठेका थिए।
प्रकाशमानको उक्त क्षेत्रसँग पैतृक 'लिगेसी' पनि थियो। उनका पिता तथा नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह २०१५ सालमा तत्कालीन कान्तिपुर (कोर काठमाडौं) बाट निर्वाचित भएका थिए। उनैको विरासत टेकेर प्रकाशमान त्यति बेला उम्मेदवार बनेका थिए।
२०४८ वैशाख २९ गते भएको निर्वाचनमा सहाना शानदार मतका साथ निर्वाचित भइन्। उनको देशभरिमै दोस्रो मत आएको थियो। पहिलो मत रौतहटबाट उम्मेदवार बनेका कांग्रेसका शेख इद्रीसले ल्याएका थिए।
राजनीतिको पैतृक विरासत बोकेका प्रकाशमान सिंह उक्त निर्वाचनमा पराजित भए।
२०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौंमा निर्वाचन क्षेत्र बढाएर सात पुर्याइयो। काठमाडौं–४ का अधिकांश ठाउँ क्षेत्र नम्बर ७ मा समेटिए। उक्त निर्वाचनमा एमालेले काठमाडौंका सातवटै क्षेत्र जितेको थियो।
काठमाडौं–६ बाट एमाले नेता सहाना प्रधान नै उम्मेदवार थिइन्। उनले स्युचाटारका कांग्रेस नेता दामोदर गौतमलाई पराजित गरेकी थिइन्।
२०५६ सालमा नेकपा एमाले विभाजन भयो। सहाना प्रधान नेकपा मालेतिर लागिन्। विभाजित पार्टीको प्रमुख पनि उनै थिइन्। २०५६ को आमनिर्वाचनमा काठमाडौं–६ बाट एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी थिइन्।
पार्टी विभाजनको प्रभाव चिर्दै एमाले नेता अष्टलक्ष्मी निर्वाचित भइन्। त्यति बेला उनले नेपाली कांग्रेसका मार्सलजुलुम शाक्यलाई पराजित गरेकी थिइन्।
२०५६ सालसम्म यो क्षेत्र वामपन्थी प्रभावकै रूपमा रहेको थियो। त्यसपछि भने क्रमशः खण्डित बन्दै गएको छ।
२०६४ र २०७० को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित निर्वाचित भए। २०६४ को निर्वाचनमा तत्कालीन माओवादीका माइला लामा निकटतम प्रतिद्वन्द्वी थिए भने २०७० को निर्वाचनमा कृष्णगोपाल श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी बने।
२०७४ को निर्वाचनसम्म आइपुग्दा काठमाडौं–९ बनेको यो क्षेत्रमा एमालेले पुनः आफ्नो प्रभुत्व फर्कायो। २०७४ र २०७९ को निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए।
२०५० सालकै उपनिर्वाचनमा उम्मेदवार बनेका र त्यसपछि क्रमशः उम्मेदवार बन्दै आएका श्रेष्ठ यसपटक मैदानमा छैनन्। एमालेले यसअघि प्रदेश सांसद जितेका डा. अजयक्रान्ति शाक्यलाई यहाँ उम्मेदवार बनाएको छ।
२०७९ सालको निर्वाचनसम्म आइपुग्दा काठमाडौंमा एमाले प्रभाव निकै क्षीण भइसकेको देखिन्छ। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौंमा एमाले शून्य भएको थियो। २०७० मा प्रभाव फर्काएको एमाले २०७९ सालमा थप कमजोर बनेको थियो। तथापि काठमाडौं–९ मा एमालेले आफ्नो जित कायम राखेको थियो। अहिले ऊ आफ्नो त्यही प्रभावलाई निरन्तरता दिने ध्याउन्नमा छ।
एकैछिन यो क्षेत्रको गत निर्वाचनको परिणाम विश्लेषण गरौं।
काठमाडौं–९ मा काठमाडौं महानगरपालिकाका चारवटा वडा समेटिएका छन्। गत स्थानीय तह निर्वाचनलाई विश्लेषण गर्दा महानगरतर्फका वडामा नेपाली कांग्रेस तुलनात्मक बलियो देखिएको छ।
गत निर्वाचनमा ठूलो मताधार भएका वडा जस्तै; वडा नम्बर १२ (टेकु) र १४ (कलंकी–कुलेश्वर) का वडाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो। वडा नम्बर २१ (लगन) र २२ (टेबहाल, न्युरोड) क्षेत्र एमालेले जितेको थियो।
चन्द्रागिरि नगरपालिकातर्फ पनि नेपाली कांग्रेस नै बलियो देखिएको थियो। चन्द्रागिरिको वडा नम्बर १ (दहचोक) नेपाली कांग्रेसले जितेको थियो। बलम्बुको केही भाग समेटिएको वडा नम्बर १२ एमालेले जितेको थियो। पुरानो नैकाप समेटिएको वडा नम्बर १३ कांग्रेस, नयाँ नैकापको भाग समेटिएको वडा नम्बर १४ एमाले र साविक तीन थाना नेपाली कांग्रेसले जितेको थियो।
यहाँको नगरप्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो।
नागार्जुन नगरपालिकातर्फ पनि प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो। वडातर्फ साविक रामकोट समेटिएको वडा नम्बर ६ कांग्रेस, वडा नम्बर ७ (स्युचाटार) एमाले, वडा नम्बर ८ (भीमढुंगा) एमाले, वडा नम्बर ९ (डाँडापौवा) कांग्रेस र वडा नम्बर १० (खड्कागाउँ) कांग्रेसले जितेको थियो।
यसरी काठमाडौं–९ क्षेत्रभित्र पर्ने १४ वटा वडामध्ये कांग्रेसले ८ र एमालेले ६ वटा वडा जितेका थिए।
काठमाडौं–९ मा ३४ मतदान स्थल छन् भने मतदान केन्द्रको संख्या ९० रहेको छ। यहाँ ७८ हजार ४९५ मतदाता छन्।
प्रदेशसभा सदस्य निर्वाचनमा २०७४ मा काठमाडौं–९ का दुवै सिट नेकपा एमालेले जितेको थियो। प्रदेश १ मा अजयक्रान्ति शाक्य ९ हजार ५३१ मतसहित निर्वाचित भएका थिए। प्रतिस्पर्धी कांग्रेसका इन्द्रमान तुलाधरले ७ हजार १९३ मत ल्याएका थिए।
प्रदेश २ मा एमालेका केशवप्रसाद पोखरेलले १२ हजार १५६ मत ल्याएर चुनाव जितेका थिए। प्रतिस्पर्धी कांग्रेसका धर्मराज गौतमले ९ हजार ११० मत ल्याएका थिए।
२०७९ को निर्वाचनमा प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरज बज्राचार्य ४ हजार ६५३ मतसहित निर्वाचित भएका थिए। प्रतिस्पर्धी एमालेका हरिकृष्ण डंगोल ४ हजार ५५२ मतसहित दोस्रो भएका थिए। उक्त निर्वाचनमा नेपाली कांग्रेसकी नानुमैया बास्तोला ४ हजार २० मत ल्याएर तेस्रो भएकी थिइन्।
प्रदेश २ मा भने एमालेका केशव पोखरेल नै दोहोरिएर निर्वाचित भएका थिए। उनी ८ हजार ४५९ मत ल्याएर निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका श्यामकृष्ण खड्काले ७ हजार ३४१ मत ल्याएका थिए। उक्त क्षेत्रमा राप्रपाका दिलकुमार कार्कीले ४ हजार ७७५ मत ल्याएका थिए।
प्रतिनिधिसभातर्फ एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मतसहित सांसद निर्वाचित भएका थिए। प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका थिए।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२, राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५, साझा पार्टी नेपालका मिलन पाण्डेले २ हजार ३२७ मत ल्याएका थिए भने हाम्रो नेपाली पार्टीका ईरश श्रेष्ठले १ हजार ५८६ मत ल्याएका थिए।
गत प्रतिनिधिसभा निर्वाचनमा नवोदित रास्वपाले काठमाडौंका चारवटा निर्वाचन क्षेत्र (२, ६, ७, ८) जितेको थियो। काठमाडौं–९ मा हजार भन्दा कम (९९५) मतान्तरमा पराजित भएको थियो। त्यस निर्वाचनमा रास्वपाले महानगरबाट उल्लेख्य रूपमा कांग्रेस, एमालेको भोट तानेको थियो। कांग्रेस बलियो मानिएको महानगरको वडा नम्बर १२ र १४ बाटै रास्वपालाई मनग्गे भोट गएको थियो।
अहिले एमालेले महानगरभित्रकै, वडा नम्बर २१ लगन निवासी अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाएको छ। वडा नम्बर २१ एमालेको विशेष प्रभाव क्षेत्र हो। काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, अहिलेकी कार्यवाहक प्रमुख सुनीता डंगोल, समानुपातिक सांसद कुलभक्त शाक्यसमेतको वडा हो। विद्यासुन्दर शाक्य यही वडाबाट लगातार दुईपटक वडाध्यक्ष निर्वाचित भएका थिए।
अहिले उम्मेदवार बनेका अजयक्रान्ति शाक्य स्थानीय स्तरमा भिजेका, शालीन नेता मानिन्छन्। संगीतकार समेतको छवि बनाएका शाक्यले भित्री सहरको मत तान्ने एमालेको विश्वास छ।
तर एमाले पृष्ठभूमि भएका राधाकृष्ण महर्जन नेपाली कम्युनिस्ट पार्टीबाट उठेका छन्। उनी पनि वडा नम्बर २२ टेबहालकै हुन्। उनले शाक्यको भोट काट्नसक्ने एमालेकै नेता बताउँछन्।
उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ पनि पूर्वएमाले पृष्ठभूमिकै हुन्। वडा नम्बर १२ ह्युमतका स्थायी बासिन्दा श्रेष्ठ २०७९ सालको स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट काठमाडौंको उपमेयरमा पराजित भएका थिए।
कुनै समय एमाले आन्दोलनसँग नजिक भएका भाषिक अभियन्ताहरू अहिले फरक फरक पार्टीबाट उठेकाले मत विभाजित हुनसक्ने एमालेको आकलन छ। तर समुदायगत मतमा आफूहरू पहिलो नम्बरमै रहेको उनीहरूको बुझाइ देखिन्छ।
गत निर्वाचनमा झिनो मतले पराजय व्यहोरेको रास्वपाले यसपटक उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाएको छ। धादिङ थातथलो भएका अर्याल काठमाडौं–९ का लागि अपरिचित अनुहार भने होइनन्।
हाल काठमाडौं महानगरपालिकाभित्रैको विनायक बस्ती बस्दै आएका अर्याल बलिया प्रतिस्पर्धी हुन्। धादिङबाट बसाइँ सरेर आएकाहरू प्रायः रामकोट, भीमढुंगा, स्युचाटार, कलंकी आदि क्षेत्रमा बसोबास गर्छन्। ती बसाइँ सरी आएकाहरूबाट आफूलाई उल्लेख्य मत आउने उनको बुझाइ देखिन्छ।
नेपाली कांग्रेसले प्रदेशसभामा पराजित नानुमैया बास्तोलालाई उम्मेदवार बनाएको छ। उनी पार्टी केन्द्रीय सदस्य रहेकी बास्तोला महानगरभित्रै बसोबास गर्छिन्।
राप्रपाले प्रदेशसभा २ मा पराजित दिलकुमार कार्कीलाई उम्मेदवार बनाएको छ। कार्की साविक तीनथाना निवासी हुन्। त्यस क्षेत्रका राप्रपाको परम्परागत प्रभाव रहेकाले परिणाम आफ्नो पक्षमा पर्ने उनको विश्वास देखिन्छ।
गत निर्वाचन परिणाम अनुसार मतदाता नयाँ पार्टीतर्फ आकर्षित हुँदै गएका छन्। समानुपातिकतर्फको मत परिणामले नै त्यो देखाउँछ।
२०७९ सालको निर्वाचनमा काठमाडौं–९ मा रास्वपाले ११ हजार ५०२ मत प्राप्त गरेको थियो। एमालेले ९ हजार ४०७ मत प्राप्त गरेको थियो। यता प्रदेशतर्फ भने एमालेले पहिलो मत अर्थात् ११ हजार ४१ मत प्राप्त गरेको थियो।
यसरी हेर्दा झन्डै एमालेको झन्डै १६ सय मत रास्वपालाई गएको देखिन्छ।
यस क्षेत्रमा कांग्रेसको मत भने रास्वपालाई कम 'ट्रान्सफर' भएको देखिन्छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ यस क्षेत्रमा कांग्रेसले ८ हजार ५ मत ल्याएको थियो भने प्रदेशसभाको समानुपातिकतर्फ ८ हजार ४१५ मत ल्याएको थियो।
यसपटक रास्वपाका प्रभावशाली नेता अर्याल उम्मेदवार बनेकाले कांग्रेस र एमाले दबाबमा देखिन्छन्। काठमाडौं–९ मा एमालेका करिब १ हजार ६०० पार्टी सदस्य छन्। तर आधाभन्दा बढी निष्क्रिय रहेकाले पूर्ण क्षमताका साथ एमालेले पार्टी पंक्ति परिचालन गर्न सकेको छैन। एमालेले अहिले असन्तुष्ट र निष्क्रिय रहेका पार्टी पंक्तिलाई परिचालन गर्ने ध्येयले योजना बनाइरहेको छ।
***
यी पनि पढ्नुहोस्: