काठमाडौं निर्वाचन क्षेत्र शृंखला
२०४८ र २०५१ सालमा नेकपा एमालेले काठमाडौंमा असाधारण सफलता हात पार्यो।
२०४८ सालको निर्वाचनमा काठमाडौंका पाँचमध्ये चारवटा एमालेले जितेको थियो। काठमाडौं–१ र ५ मा तत्कालीन पार्टी महासचिव मदन भण्डारी निर्वाचित भएका थिए।
त्यति बेला काठमाडौं–२ मा मात्र नेपाली कांग्रेसका दमननाथ ढुंगाना निर्वाचित भएका थिए। बाँकी सबैतिर एमालेको एकछत्र जित थियो।
२०५१ सालमा त एमाले काठमाडौंका सातवटै क्षेत्रमा विजयी भयो। प्रतिनिधिसभाका २०५ मध्ये ८८ सिट जितेर एमालेले अल्पमत सरकारको नेतृत्व समेत गरेको थियो।
त्यसपछिका निर्वाचनमा भने काठमाडौंमा एमालेको जनमत खण्डित र क्षीण हुँदै गयो। गत निर्वाचनसम्म आइपुग्दा एमालेको जित काठमाडौं–९ मा सीमित भएको थियो।
अरू निर्वाचन क्षेत्रमा हार साटासाट गरे पनि काठमाडौं–१० मा एमाले ३१ वर्षदेखि जितविहीन छ। जबकि, यो निर्वाचन क्षेत्रमा एमाले महासचिव मदन भण्डारीले नै जित दर्ता गरेका थिए। यद्यपि त्यति बेला भण्डारीले काठमाडौं–१ कायम राखेर क्षेत्र नम्बर ५ छाडेका थिए।
भण्डारीले छाडेपछि २०४९ सालमा भएको उपनिर्वाचनमा त्यस क्षेत्रबाट कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए।
२०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौंमा निर्वाचन क्षेत्र बढाएर ७ पुर्याइएको थियो। उक्त निर्वाचनमा काठमाडौं–७ बाट एमालेकै कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए।
त्यसपछिका कुनै पनि निर्वाचनमा एमाले यस क्षेत्रबाट विजयी हुन सकेको छैन।
२०५४ सालको पार्टी विभाजनपछि एमाले यस क्षेत्रमा जितविहीन रहँदै आएको छ। पार्टी विभाजनलगत्तै २०५६ सालमा भएको आमनिर्वाचनमा काठमाडौं–७ बाट नेपाली कांग्रेसका तीर्थराम डंगोल निर्वाचित भएका थिए। त्यति बेला कृष्णगोपाल श्रेष्ठ पराजित भएका थिए।
२०६४ को संविधानसभा निर्वाचनमा पुनः क्षेत्र बढाएर यो भेग काठमाडौं–१० कायम गरिएको थियो। त्यो निर्वाचनमा मदन भण्डारीले जस्तै तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अप्रत्यासित नतिजा निकालेका थिए। रोल्पा–२ बाट पनि निर्वाचित भएका प्रचण्डले उक्त निर्वाचन क्षेत्र छाडेर काठमाडौं–१० कायम गरेका थिए।
तर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो भएपछि प्रचण्ड काठमाडौं–१० फर्किएका छैनन् भने वामपन्थीहरूले पनि जित हात पार्न सकेका छैनन्।
२०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि २०७९ को प्रतिनिधिसभा निर्वाचनसम्म काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसी लगातार विजयी भए। गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उनले क्षेत्र हस्तान्तरण गरिसकेका छन्। उनले आफू पछाडि बस्ने र अरूलाई जिम्मेवारी दिने भन्दै उम्मेदवार नबन्ने घोषणा गरे।
उनको घोषणालाई कांग्रेसले अनुमोदन गर्यो।
अहिले यहाँ कांग्रेसले हिमाल कार्कीलाई अघि सारेको छ। नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा सक्रिय कार्की रियल स्टेट व्यवसायी हुन्। अहिले उनी जिल्ला कार्यसमिति सदस्य छन्। पार्टीको माथिल्लो कमिटीको जिम्मेवारीमा नरहे पनि कार्की राजेन्द्र केसीजत्तिकै स्थानीयबीच भिजेका र परिचित अनुहार हुन्।
उनी यसअघि कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा मेयर पदका दाबेदार थिए। उनी २०५४ सालमा वडाध्यक्ष निर्वाचित भएका थिए।
एमालेले मजदुर नेता विनोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ। मजदुर आन्दोलनबाटै पार्टी मूलधारको राजनीतिमा प्रविष्ट श्रेष्ठ एमाले निकट ट्रेड युनियन महासंघका अध्यक्ष पनि हुन्। जिफन्ट आन्दोलनमा आबद्ध रहँदै आएका उनी दक्षिण एसियाली ट्रेड युनियन महासंघका उपाध्यक्ष पनि हुन्।
चन्द्रागिरि नगरपालिका इमाखेलका रैथाने श्रेष्ठ गत महाधिवेशनअघि एमाले पोलिटब्युरो सदस्य थिए। काठमाडौंमा भएको एमालेको ११औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
पाँचौं महाधिवेशनयता एमालेको मञ्च निर्माण गर्दै आएका श्रेष्ठले पार्टीका स्वयंसेवी अभियानमा पनि उत्तिकै कुशल भूमिका निर्वाह गर्दै आएका छन्। उनी २०७० मा समानुपातिक सूचीबाट संविधानसभा सदस्य भएका थिए।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रूपा महर्जनलाई उम्मेदवार बनाएको छ। उनी सशस्त्र विद्रोहदेखि नै पार्टीका सक्रिय अनुहार हुन्। उनका पति सुचेन्द्र श्रेष्ठ युद्धकालमा बेपत्ता भएका थिए। हालसम्म खोजखबरविहीन छन्। सुचेन्द्र २०६० कात्तिक २१ गते काठमाडौंको असनबाट बेपत्ता भएका थिए। रूपाका पिता पनि राजनीतिमा सक्रिय छन्। गत प्रदेश सभामा निर्वाचनमा उनी काठमाडौं १० (१) मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भई पराजित भएका थिए।
पिताकै प्रेरणा पछ्याउँदै राजनीतिमा सक्रिय भएकी चन्द्रागिरि नगरपालिकाकी महर्जनलाई नेकपाले प्रतिस्पर्धीका रूपमा मैदानमा उतारेको हो। उनी पूर्वसभासद पनि हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला सभापति प्रदीप विष्टलाई उम्मेदवार बनाएको छ। कांग्रेस पृष्ठभूमिका विष्ट यसअघि पनि काठमाडौं–१० मा उम्मेदवार थिए। उनी त्यति बेला तेस्रो भएका थिए।
केही समयअघि जिल्ला सभापतिको जिम्मेवारीबाट राजीनामा दिएर पार्टी सदस्यको हैसियतमा मात्र बस्न खोजेका विष्ट नेतृत्वसँगको सल्लाहपछि भूमिकामा फर्किएका थिए। पछिल्लो समय पार्टीको प्रभाव विस्तार भएकाले त्यसलाई जितको तहसम्म पुर्याउने योजनामा देखिन्छन्।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले दक्षिणकालीको थल्खुका बलराम थापालाई उम्मेदवार बनाएको छ। त्यस्तै, जसपा नेपालले बाराका भागरीत साह, नेमकिपाले पांगाकी वृन्दा महर्जनलाई उम्मेदवार बनाएको छ।
काठमाडौं–१० मा अहिले २५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये १५ जना दलका तर्फबाट उम्मेदवार छन् भने १० जना स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्।
स्थानीय तह र गत प्रतिनिधिसभा निर्वाचनको मत विश्लेषण गर्दा काठमाडौं–१० मा नेपाली कांग्रेस बलियो देखिन्छ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमालेबीच २६७२ को मतान्तर थियो। कांग्रेसका राजेन्द्र केसीले १४ हजार ४६३ मत ल्याएर सांसद निर्वाचित हुँदा एमालेका हिमेश केसीले ११ हजार ७९१ मत ल्याएका थिए। तेस्रो भएका रास्वपाका विष्टले ८ हजार ७३९ मत ल्याए।
यसअघि पनि उम्मेदवार बनेका राप्रपाका बलराम थापाले ६ हजार ९५९ मत ल्याएका थिए। उक्त निर्वाचन क्षेत्रमा यसअघि माओवादी केन्द्र पाँचौं भएको थियो। माओवादी केन्द्रकी अञ्जना विशंखेले ५ हजार २६५ मत ल्याएका थिए। बाँकी १३ उम्मेदवारले जमानत जोगाएका थिएनन्।
प्रदेशसभा निर्वाचनतर्फ १ नम्बर प्रदेशमा कांग्रेसका पुकार महर्जन १० हजार ८२ मतसहित निर्वाचित भएका थिए। उनका निकट प्रतिस्पर्धी राप्रपाका उमेशराज सापकोटाले ७ हजार ४०० र एमालेका शिवभक्त बलामीले ७ हजार ३०९ मत ल्याएका थिए।
प्रदेश २ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेदवार रहेकी रमा आले मगरले ५ हजार ८१८ मत ल्याएर निर्वाचित भएकी थिइन्। निकट प्रतिस्पर्धी एमालेका रामशरण आले मगरले ५ हजार १८८ मत ल्याए भने राप्रपाका सूर्यबहादुर महर्जनले ३ हजार ११० मत ल्याएका थिए।
गत स्थानीय तह निर्वाचनको मत विश्लेषण गर्दा नेपाली कांग्रेसको स्थानीय मताधार निकै बलियो देखिन्छ। १० नम्बर क्षेत्र काठमाडौंकै ठूलो निर्वाचन क्षेत्र हो। यहाँ ४७ स्थल र ९८ मतदान केन्द्र छन् भने मतदाता संख्या ८३ हजार ३०१ छ।
काठमाडौं–१० महानगरभन्दा बाहिर पर्छ। यहाँ चन्द्रागिरि नगरपालिकाका १५ मध्ये १० वटा वडा समेटिएका छन्। चन्द्रागिरिका २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडा यस क्षेत्रमा पर्छन्। यसमध्ये २ र ५ नम्बर वडा माओवादी केन्द्रले जितेको छ। वडा नम्बर ६ र १० एमालेले जितेको छ। ४, ७, ८, ९, ११ नम्बर वडा कांग्रेसले जितेको छ।
चन्द्रागिरि नगरपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख भने एमालेले जितेको छ।
दक्षिणकाली नगरपालिकाको प्रमुख र उपप्रमुख भने दुवै कांग्रेसले जितेको छ। यहाँका ९ वटामध्ये तीनवटा वडा (१, ३, ८) एमालेले जितेको छ भने ६ वटा (२, ४, ५, ६, ८ र ९) कांग्रेसले जितेको छ।
कीर्तिपुर नगरपालिका प्रमुख र उपप्रमुखसहित सम्पूर्ण वडा कांग्रेसले जितेको छ। यहाँ २०८१ सालमा प्रमुख र दुईवटा वडा (वडा नम्बर १, ४) मा उपचुनाव भएको थियो। २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर ४ को अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका थिए। तर उपचुनावमा कांग्रेसले नै जितेर सबै वडा आफ्नै पक्षमा पार्यो।
अहिले जनस्तरमा भिजेको उम्मेदवार अघि सारेर कांग्रेस चौथो जितको खोजीमा छ। एमाले ३१ वर्षपछि जित फर्काउने ध्याउन्नमा छ भने रास्वपा पनि पार्टीको फैलँदो प्रभावलाई यस क्षेत्रमा पनि भित्र्याउन चाहन्छ।
गत निर्वाचनमा समानुपातिकतर्फ काठमाडौं जिल्लामा रास्वपा पहिलो थियो। काठमाडौंमा रास्वपाले १ लाख ३ हजार ५४० मत ल्याएको थियो।
काठमाडौं–१० मा भने रास्वपा दोस्रो भएको थियो। गत निर्वाचनमा रास्वपा निर्वाचन क्षेत्र नम्बर २, ५, ६, ७, ८ र ९ मा रास्वपा पहिलो भएको थियो। काठमाडौं क्षेत्र नम्बर १ र १० मा दोस्रो तथा ३ र ४ मा तेस्रो मत ल्याएको थियो।
प्रदेशसभातर्फ काठमाडौं–१० मा कांग्रेस नै पहिलो पार्टी बनेको थियो। प्रदेशसभामा कांग्रेसले १२ हजार ९०९, एमालेले ११ हजार ९८१, राप्रपाले १० हजार ९५८, माओवादी केन्द्रले ४ हजार ९०२ मत ल्याएको थियो।
***
यी पनि पढ्नुहोस्: