पूर्वराष्ट्रपति एवम् एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीले आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्ने मदन–आश्रितको प्रेरणा लिनुपर्ने बताएकी छन्।
तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औं स्मृति दिवसका सन्दर्भमा आइतबार बोल्दै उनले एमालेले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्ने बताएकी हुन्।
‘जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास हो। बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ,’ उनले भनिन्।
एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताइन्।
‘कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्छ। म विशेष रूपमा युवापुस्ताप्रति केही कुरा भन्न चाहन्छु। युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना हो। शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सकियो भने नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्न सक्छ। त्यसैले युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता हो। त्यसैले अब हाम्रा क्रियाकलापहरूलाई युवा पुस्तामा केन्द्रित गरिनु आवश्यक छ,’ उनले भनिन्।