काठमाडौं निर्वाचन क्षेत्र शृंखला
काठमाडौंको १ नम्बर क्षेत्र २०६४ साल अघिसम्म छुट्टै निर्वाचन क्षेत्रका रूपमा अस्तित्वमै थिएन।
२०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा काठमाडौं–१ मा समेटिएका वडा फरक फरक निर्वाचन क्षेत्रअन्तर्गत थिए। २०६४ को संविधानसभा निर्वाचनका लागि क्षेत्र निर्धारण गर्दा मात्र यो अस्तित्वमा आएको हो।
नयाँ निर्वाचन क्षेत्रका रूपमा विभक्त भएदेखि नै यो क्षेत्र नेपाली कांग्रेसको प्रभाव क्षेत्रका रूपमा रहँदै आएको छ। कांग्रेस नेता प्रकाशमान सिंहले यस क्षेत्रबाट निर्वाचन जित्दै आएका थिए। उनले २०६४ अघिका निर्वाचनमा जित निकाल्न सकेका थिएनन्।
२०४८ सालमा उनी काठमाडौं–४ मा एमाले नेता सहाना प्रधानसँग पराजित भएका थिए। २०५१ को मध्यावधि निर्वाचनमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीसँग काठमाडौं–३ मा प्रतिस्पर्धा गर्दै पराजय व्यहोरेका थिए। २०५३ देखि २०५९ सालसम्म उनी राष्ट्रियसभा सदस्य रहे।
थापाथलीदेखि बानेश्वरसम्मको क्षेत्र समेटेर काठमाडौं–१ निर्वाचन क्षेत्र बनाएपछि भने उनी लगातार निर्वाचित भए। उनले २०६४ देखि २०७९ सम्म दुईवटा संविधानसभा र दुइटा संसदीय निर्वाचन जिते।
पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा शानदार जित निकालेका प्रकाशमान सिंहले २०७४ र २०७९ को संसदीय निर्वाचनमा कडा चुनौती सामना गरे। यी दुवै निर्वाचनमा फरक–फरक पार्टीबाट चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उनलाई कडा चुनौती दिएका थिए।
काठमाडौं–१ मा महानगरभित्रका मात्र वडा समेटिएका छन्। वडा नम्बर १०, ११, २९ र ३१ समेटेर काठमाडौं–१ बनाइएको हो। स्थानीय तह निर्वाचनको मत विश्लेषण गर्दा यी वडामा नेपाली कांग्रेसको जनाधार बलियो देखिन्छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर १०, ११, २९ वडा नेपाली कांग्रेसले नै जितेको थियो। वडा नम्बर ३१ मात्र एमालेले जितेको थियो। २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि यही परिणाम आयो। वडा नम्बर ३१ एमालेले नै जित्यो भने बाँकी तीनवटा वडामा कांग्रेस विजयी भयो।
तर स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत परिणाम विश्लेषण गर्दा एमाले कमजोर देखिँदैन। यी चारमध्ये सबभन्दा बढी मताधार भएको वडा नम्बर ३१ एमालेले नै लगातार जित्दै आएको छ। त्यो वडामा २०७४ मा एमालेका नारायणप्रसाद भण्डारीले ४ हजार २९७ मतसहित वडाध्यक्ष जितेका थिए। २०७९ को चुनावमा एमालेकै सरोज ढकाल ४ हजार ७६७ मतका साथ वडाध्यक्ष निर्वाचित भएका थिए।
गत निर्वाचनमा काठमाडौं–१ भित्र पर्ने वडाका अध्यक्षहरूको कुल मत जोड्दा कांग्रेस झिनो मतान्तरले अगाडि थियो। कांग्रेसले ९ हजार ८९५ ल्याएको देखिन्छ भने एमालेले ९ हजार ५४१ मत ल्याएको थियो।
संसदीय निर्वाचनमा भने एमाले काठमाडौं–१ मा निकै पछि पर्दै आएको छ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रकाशमान सिंहले एमालेका प्रदीप नेपाललाई पराजित गरेका थिए। त्यति बेला निकट प्रतिस्पर्धी बनेको एमाले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१ मा प्रतिस्पर्धी समेत बन्न सकेन। प्रकाशमान सिंहले रेणु दाहाललाई पराजित गरेका थिए। एमालेकी विद्या न्यौपाने तेस्रो भएकी थिइन्।
२०७४ को निर्वाचनमा एमाले र तत्कालीन माओवादी केन्द्रबीच वाम गठबन्धन भएको थियो। अनिल शर्मा गठबन्धन तर्फबाट साझा उम्मेदवार बनेका थिए। उनले पनि तेस्रो नै मत प्राप्त गरे।
२०७४ को निर्वाचनमा तत्कालीन साझा पार्टीका रवीन्द्र मिश्रले प्रकाशमान सिंहलाई चुनौती दिएका थिए। उक्त निर्वाचनमा रवीन्द्र मिश्र ८१८ मतान्तरले पराजित भएका थिए। कांग्रेसका सिंह १० हजार ९३६ मत ल्याएर सांसद निर्वाचित भएका थिए भने मिश्रले १० हजार ११८ मत ल्याएका थिए।
२०७९ को निर्वाचनमा काठमाडौं–१ चुनावी प्रतिस्पर्धाका हिसाबले रोचक थलो बनेको थियो। निर्वाचनमा ३० प्रतिस्पर्धी थिए। कांग्रेसका सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मिश्र, एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेश खरेल चुनावी प्रतिस्पर्धामा थिए।
त्यति बेला पनि सिंह र मिश्रबीच नै कडा प्रतिस्पर्धा भयो। नवोदित रास्वपा प्रतिस्पर्धामा पनि आएको थिएन। मिश्र १२५ मतले मात्र पछि परे। सिंह ७ हजार १४३ मतसहित सांसद निर्वाचित भए भने मिश्रले ७ हजार १८ मत ल्याए।
यो निर्वाचनमा रास्वपाका पुकार बम तेस्रो भएका थिए। उनले ४ हजार ११५ मत ल्याए भने चौथो भएका युवा संघका पूर्वअध्यक्षसमेत रहेका एमालेका किरण पौडेलले ३ हजार ५३२ मत ल्याएका थिए। नेपाल प्रहरीका पूर्व डिआइजी रहेका रमेश खरेलले ३ हजार १२४ मत ल्याएका थिए।
समानुपातिकतर्फ पनि यो क्षेत्रमा कांग्रेस नै अगाडि थियो। प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसले ६ हजार ९९१, रास्वपाले ५ हजार ६१८, राप्रपाले ५ हजार ७२ र एमालेले ३ हजार ७९३ मत प्राप्त गरेको थियो। प्रदेशसभा निर्वाचनतर्फ कांग्रेसले ७ हजार ९७९, राप्रपाले ६ हजार ६४७ र एमालेले ४ हजार ५०७ मत ल्याएको थियो।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौं–१ बाट ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मताधारका हिसाबले काठमाडौंकै सानो निर्वाचन क्षेत्र मानिएको काठमाडौं–१ मा ४८ हजार ४८९ मतदाता छन्। यहाँ २२ स्थल र ५७ केन्द्र छन्।
काठमाडौं–१ मा कांग्रेसले प्रबल थापालाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसका क्रियाशील अनुहार हुन्। हाल उनी काठमाडौं–१ कै प्रदेशसभा तर्फका थापाय सचिव छन्। थापा यसअघि बागमती प्रदेशसभाका समानुपातिक उम्मेदवार थिए।
थापाको राजनीतिक घरानासँग पनि सम्बन्ध छ। उनी राप्रपा नेता कमल थापाका भान्जा हुन् भने अख्तियार दुरूपयोग तथा अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीका ज्वाइँ पनि हुन्। उनलाई नेपाली कांग्रेसले नयाँ अनुहारका रूपमा अघि सारेको हो।
तत्कालीन एमाले महासचिव मदन भण्डारी, एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी र कांग्रेस नेता प्रकाशमान सिंह समेतको राजनीति प्रभाव जोडिएको यो क्षेत्रमा थापाले जित हासिल गर्न सक्ने कांग्रेसको विश्वास देखिन्छ।
अघिल्लो पटक थोरै मतान्तरले उपविजेता बन्नुपरेको राजनीतिक चोट रवीन्द्र मिश्रलाई छ। उनी तेस्रो प्रयासमा यहाँबाट जित निकाल्ने कोसिसमा छन्।
सञ्चारकर्मीको पृष्ठभूमिबाट साझा पार्टी खोलेका मिश्रले विवेकशीलसँग पार्टी एकता गरेर विवेकशील साझा अभियानसमेत तय गरेका थिए। तर एकीकरणको केही समयपछि पार्टीमा विग्रह देखा पर्यो। उनी आफै राष्ट्रिय प्रजातन्त्र पार्टीको हिस्सा बन्न पुगे।
'विचारभन्दा माथि देश' लाई राजनीतिक दृष्टिकोण बनाइरहेका मिश्रले आफूलाई कट्टर राजावादी पंक्तिमा उभ्याउँदै आएका छन्। पूर्वराजा, दल, जेनजी समेतको बीचमा नवीन समझदारी हुनुपर्ने र त्यहाँबाट आएको निष्कर्षलाई मुलुकको मार्ग बनाउनुपर्ने उनको अर्को राजनीतिक दृष्टिकोण हो।
'अब पनि विश्व भूराजनीति र आन्तरिक परिवेशको जटिलता हेरेर नेपालको समस्यालाई समग्रतामा सम्बोधन गर्न सकिएन भने सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र यो देश र भावी पुस्ताको भविष्य थेग्न सक्दैन,' उनले चुनावी प्रचारप्रसारमा भन्ने गरेका छन्।
रोचक के छ भने, यसपालि काठमाडौं-१ मा रास्वपाले सामाजिक आन्दोलनकी परिचित अनुहार रञ्जु दर्शनालाई उम्मेदवार बनाएको छ। उनी उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली अभियानबाट राजनीतिमा आएकी हुन्। विवेकशील र साझा पार्टी एकतापछि रञ्जु र रवीन्द्र केही समयका लागि एउटै पार्टीमा आबद्ध हुन पुगेका थिए।
३० वर्षीया दर्शना २०७४ सालमै काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बनेर चर्चामा आएकी थिइन्। त्यतिबेला २३ हजार ४३९ मत ल्याएर उनी तेस्रो बनेकी थिइन्। निर्वाचनमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरी मेयर निर्वाचित भएका थिए। दोस्रो भएका कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका थिए।
२०७९ सालको निर्वाचनमा विवेकशील अभियान छिन्नभिन्न बनेपछि रञ्जु काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार बनेकी थिइन्। सेलरोटीको चाङ चिह्न लिएर मैदानमा प्रस्तुत भएकी दर्शनाले नगन्य मत प्राप्त गरिन्। उनले त्यति बेला जम्मा ६०० मत ल्याएकी थिइन्।
निर्वाचनपछि विवेकशील साझा पार्टीलाई पुनः लयबद्ध गर्दै उनी महासचिव बनेकी थिइन्। निर्वाचनअघि विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भयो।
सुरूमा रास्वपाको समानुपातिक सूचीमा रहेकी दर्शनाले त्यहाँबाट नाम फिर्ता लिएर प्रत्यक्ष उम्मेदवार बनेकी हुन्। साढे आठ महिनाकी गर्भवती समेत रहेकी दर्शना अहिले भीमकाय पेट बोकेर घरदैलो गरिरहेकी छन्। दर्शनाले यो निर्वाचन परिणामलाई मातृत्व प्राप्ति र जितको संगम बनाउने प्रयत्न गरिरहेकी छन्।
प्रशवको सम्मुखमा रहेकी उम्मेदवार मैदानमा ओर्लिनुलाई धेरैले यो निर्वाचनको विशेष सौन्दर्यका रूपमा पनि बुझेका छन्।
२०६४ को निर्वाचनयता लगातार पछि पर्दै आएको एमालेले काठमाडौं–१ मा पूर्व लेखा व्यवसायी मोहनराज रेग्मीलाई उम्मेदवारका रूपमा अघि सारेको छ।
उनी चार्टर्ड एकाउन्टेन्ट तथा नेपाल अडिटर्स एसोसिएसन (अडान) का पूर्वअध्यक्ष समेत हुन्। भुइँतहसम्म रहेको एमाले संगठनको बलमा जित निकाल्ने ध्याउन्नमा रेग्मी देखिएका छन्। लगातार हार व्यहोर्दै आएको र कांग्रेसका परिचित प्रतिस्पर्धी समेत पाखा लागेकाले जित निकाल्न सहज हुने एमाले आकलन देखिन्छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौं–१ मा मेनुका भण्डारीलाई उम्मेदवार बनाएको छ। कृतु भण्डारीका रूपमा परिचित भण्डारी पूर्वसञ्चारकर्मी समेत हुन्। रसिया–युक्रेन युद्धपछि उनले आफ्नो छवि विस्तार गर्दै सामाजिक अभियन्ताका रूपमा परिचय बनाएकी थिइन्।
विशेष गरी रूसबाट युद्धमा सामेल भई मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन पहलकदमी लिने, उनीहरूको परिवारका तर्फबाट विषयको पैरवी गर्ने काममा समेत उनको सक्रियता देखिएको थियो।
यसबाहेक जसपा नेपालले प्रकाश नायजूलाई उम्मेदवार बनाएको छ। त्यस्तै, उज्यालो नेपाल पार्टीले मंगललाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृति पार्टीबाट समीर लामा तामाङ उम्मेदवारका रूपमा छन्।
सानो निर्वाचन क्षेत्रमा पुराना र नयाँ पार्टीबीचको सघन प्रतिस्पर्धा बीचबाट को विजेता बन्छ, आम चासोको विषय बनेको छ।
***
यी पनि पढ्नुहोस्: