काठमाडौं निर्वाचन क्षेत्र शृंखला
उत्तरी काठमाडौंको टोखा विक्रम सम्बत् २०३० को दशकदेखि नै तत्कालीन नेकपा माले (अहिलेको एमाले) को सेल्टर थियो।
२०४० सालको पिस्कर काण्डपछि अमृत बोहरा र अष्टलक्ष्मी शाक्य भूमिगत रूपमा यहीँ बसेका थिए। र, संगठन निर्माणमा दिलोज्यान दिएका थिए।
तत्कालीन प्रशासनको आँखा नपरोस् भनेर वामपन्थीहरूले टोखामा न्हुजः पुस्तकालय स्थापना गरेका थिए। नेपालीमा यसको अर्थ 'नयाँ किरण' भन्ने हुन्छ।
यही 'नयाँ किरण' पुस्तकालय भूमिगत मालेको उत्तरी काठमाडौंमा संगठन विस्तारको महत्त्वपूर्ण आधारशीला बनेको थियो।
टोखाको आफ्नै सामाजिक–सांस्कृतिक मूल्य छ। लिच्छविकालीन वैभवको सहरका रूपमा पनि यसलाई बुझ्ने गरिन्छ। गुजुमुज्ज परेका घर, करिब १ हजार २०० घरधुरी र झन्डै ६ हजार जनसंख्या रहेको टोखा प्राचीन नेवार बस्ती र वामपन्थीहरूको आधारशीला पनि हो।
'तत्कालीन समय टोखा वामपन्थीहरूका लागि कतिसम्म सुरक्षित आवास स्थल थियो भने, तीसको दशकमा भूमिगत मालेको बैठक यहीँ बसेको थियो, जति बेला पार्टीमा पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने बहस पेचिलो बनेको थियो। भूमिगत कालदेखि नै विस्तारित भएको संगठन–सञ्जाल अहिलेसम्म खण्डित हुन सकेको छैन,' एमालेका बुद्धिजीवी परिषद्का महासचिव समेत रहेका टोखाका स्थानीय दीपेन्द्र श्रेष्ठले भने।
तत्कालीन मालेनिकट अनेरास्ववियूले पनि २०४४ सालमा आफ्नो राष्ट्रिय सम्मेलन टोखामै गरेको थियो। घनश्याम भूसाल संगठनका जल्दाबल्दा नेता थिए।
वामपन्थीहरूको प्रभाव थलो टोखा समेटिएको काठमाडौं–५ मा एमाले आन्दोलनको लामो विरासत जोडिएका नेता ईश्वर पोखरेल पुनः प्रतिस्पर्धा गरिरहेका छन्। उनी काठमाडौं उपत्यकाका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका शीर्ष नेतामध्ये हुन्। यो निर्वाचनमा काठमाडौं उपत्यकाभित्र धेरै कम शीर्ष नेता प्रतिस्पर्धामा छन्।
चुनाव लडेका शीर्षमध्ये अधिकांश काठमाडौं–५ बाटै प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा पोखरेलका अतिरिक्त नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा प्रतिस्पर्धामा छन्।
पोखरेल यो क्षेत्रबाट छैटौं पटक प्रतिस्पर्धामा छन्। कांग्रेस महामन्त्री पौडेल र कमल थापाले भने दोस्रो पटक प्रतिस्पर्धा गरिरहेका हुन्। अन्य उम्मेदवार प्रायः पहिलो पटक प्रतिस्पर्धामा छन्।
उम्मेदवारहरूको चर्चा गर्नुअघि यस क्षेत्रका अघिल्ला चुनावको विश्लेषण गरौं।
काठमाडौं–५ मा काठमाडौं महानगरपालिकाका चारवटा वडा (वडा नम्बर २, ३, ४ र ५) समेटिएका छन्। गत निर्वाचनमा यी चारैवटा नेकपा एमालेले जितेको थियो। त्यसो त २०७४ सालको निर्वाचनमा पनि यी वडा एमालेले नै जितेका थिए।
त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत ३, ४, ५, ६ र ७ वडा समेटिएका छन्। बुढानीलकण्ठका यी वडामध्ये ३ नम्बर वडा स्वतन्त्र उम्मेदवारले जितेका हुन्। वडा नम्बर ४ र ५ कांग्रेसले जितेको हो भने वडा नम्बर ६ र ७ चाहिँ एमालेले जितेको थियो।
यस निर्वाचन क्षेत्रमा टोखा नगपालिकाका केही वडा (२, ३, ४, ५, ६ र ७) पनि समेटिएका छन्। नगरप्रमुखसहित वडा नम्बर २, ३, ४, ५, ७ नम्बर वडा एमालेले नै जितेको छ। कांग्रेसले उपप्रमुखसहित ६ नम्बर वडा मात्रै जितेको छ।
अर्थात्, यस क्षेत्रभित्र पर्ने १५ वटा वडामध्ये ११ वटा एमालेले, तीनवटा कांग्रेसले र स्वतन्त्रले एउटा वडा जितेको छ।
पछिल्ला संसदीय निर्वाचनमा भने एमालेले २०७४ सालको चुनावबाहेक खासै सन्तोषजनक परिणाम निकाल्न सकेको छैन।
२०६४ सालको संविधानसभा निर्वाचनअघि यो क्षेत्र एमालेको गढजस्तै थियो। २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काठमाडौंबाट नानीमैया दाहाल र जोगमेहर श्रेष्ठले जितेका थिए। २०४३ सालको निर्वाचनमा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधर र विमलमान सिंह निर्वाचित भएका थिए।
२०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन समय उक्त क्षेत्र काठमाडौं–३ मा थियो। त्यस क्षेत्रबाट पद्मरत्न तुलाधर नै निर्वाचित भएका थिए।
२०४३ सालमा पद्मरत्न सूर्य चुनाव चिह्नै लिएर जनपक्षीय उम्मेदवार भएका थिए। २०४८ सालको निर्वाचनपछि एमालेले आफ्नो चुनाव चिह्न सूर्य बनायो। सूर्य चिह्नबाट तुलाधरले दोस्रो पटक चुनाव जिते।
२०५१ सालपछि भने त्यस क्षेत्रबाट एमाले अध्यक्ष मनमोहन अधिकारी निर्वाचित भए। सँगसँगै उनी काठमाडौं–१ बाट पनि निर्वाचित भएका थिए। काठमाडौं–१ छाडेर उनी काठमाडौं–३ मै बसे।
त्यो निर्वाचनपछि एमालेले अल्पमतको सरकार नेतृत्व गर्ने जिम्मेवारी पायो। मनमोहन अधिकारी प्रधानमन्त्री बने। उनी प्रधानमन्त्री बनेका बेला पार्टी केन्द्रीय कमिटी सदस्य रहेका ईश्वर पोखरेल उनका प्रमुख सल्लाहकार थिए।
२०५६ सालको निर्वाचनमा काठमाडौं–३ बाट अधिकारी पुनः उम्मेदवार बनेका थिए। तर चुनावअगावै उनको निधन भयो। २०५६ असारमा सरेको निर्वाचनमा उक्त क्षेत्रबाट अधिकारीको राजनीतिक उत्तराधिकारीका रूपमा पोखरेल उम्मेदवार बनेर विजयी भए। त्यस क्षेत्रसँग पोखरेलको राजनीतिक साइनो त्यति बेलादेखि नै गाँसिएको हो।
२०६४ सालमा काठमाडौं १० वटा निर्वाचन क्षेत्रमा बाँडियो। साबिक काठमाडौं–३ परिवर्तन भएर काठमाडौं–५ बन्यो।
२०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा पोखरेल काठमाडौं–५ बाट दोस्रो पटक उम्मेदवार बने। तर कांग्रेस नेता नरहरि आचार्यसँग उनी पराजित भए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पोखरेल पुनः उम्मेदवार बने र उनै आचार्यसँग हार व्यहोरे।
२०७४ को निर्वाचनमा भने पोखरेल विजयी भएका थिए। अहिले पनि शारीरिक प्रतिकूलतासँग जुधिरहेका आचार्य २०७४ को निर्वाचनमा उम्मेदवार थिएनन्। त्यति बेला कांग्रेसले प्रकाशशरण महतलाई उम्मेदवार बनाएको थियो।
त्यसो त त्यति बेला एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। गठबन्धनबाट उम्मेदवार बनेका पोखरेल २३ हजार २९ मतसहित निर्वाचित भए। महतले १३ हजार १६९ मत प्राप्त गरे।
२०७९ को निर्वाचनमा पोखरेलले पुनः पराजय व्यहोरे। यो निर्वाचनमा नेपाली कांग्रेसले प्रदीप पौडेललाई उम्मेदवार बनाएको थियो। सांसद निर्वाचित भएका पौडेलले १५ हजार २६९ मत ल्याएका थिए भने पोखरेलले १० हजार १९० मत ल्याएका थिए।
यस पटक एमाले, कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले हेभिवेट मैदानमा उतार्दा यहाँको चुनावी परिणाम रोचक र कौतूकमय बनेको छ।
ईश्वर पोखरेल, प्रदीप पौडेल र कमल थापा बाहेक यस निर्वाचन क्षेत्रमा २५ जना उम्मेदवार छन्। यसमध्ये २० जना दलका तर्फबाट उम्मेदवार छन्। पाँच जना मात्रै स्वतन्त्र हुन्।
यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कल्पना शर्मालाई उम्मेदवार बनाएको छ। उनी राजनीतिक घराना र शान्ति प्रक्रियादेखि नै यही भूगोलमा सक्रिय अनुहार हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ। विवेकशील साझा पार्टीका सक्रिय कार्यकर्ता समेत रहेका पोखरेल यस क्षेत्रमा यसअघि पनि उम्मेदवार थिए। उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा काठमाडौं–५ (१) बाट उम्मेदवार बनेका थिए। र, पाँचौं भोट ल्याएका थिए। त्यति बेला लालटिन चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका पोखरेलले १०५२ मत प्राप्त गरेका थिए।
सस्मित पोखरेलले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहको सचिवालयमा समेत काम गरेका थिए। त्यसो त उनले काठमाडौं–८ बाट संघीय सांसद निर्वाचित विराजभक्त श्रेष्ठ समेतको सचिवालयमा रहेर काम गरेका थिए।
यी उम्मेदवारबाहेक गतिशील लोकतान्त्रिक पार्टीले कलाकार निशा अधिकारीलाई उम्मेदवार बनाएको छ। हिमाल आरोही समेतको छवि बनाएकी अधिकारी राजनीति प्रवेशसँगै पहिलो पटक उम्मेदवार बनेकी हुन्। सामुदायिक स्वास्थ्य, वृद्धावस्थाको हेरचाह, महिला अधिकारका विषयलाई सदनमा प्रविष्ट गराउने योजनासहित उनी अहिले घरदैलो गरिरहेकी छन्।
स्थानीय तहमा पार्टीको बलियो जनाधार रहे पनि एमाले उम्मेदवार पोखरेलले त्यसलाई आफ्नो पक्षमा पार्न निकै मिहिनेत गर्नुपरेको छ। यसअघि उनी त्यस क्षेत्रमा तीन पटक पराजित र दुई पटक विजयी भएका छन्।
अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएकाले यसपटक पनि नतिजा सुखद रहने अपेक्षा पौडेलको छ। यसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर विवादरहित छवि बनाएकाले पनि काम गर्न सक्ने विश्वास मतदाताबीच रहेकाले त्यसलाई मतमा बदल्न सक्ने पौडेलको बुझाइ देखिन्छ।
गत भदौ २३ र २४ को जेनजी विद्रोह र त्यसले पैदा गरेको राजनीतिक तरंगले आम मानिस र विशेषतः सहरी मतदाताको मनोविज्ञान बदलेको सस्मितको बुझाइ छ। पुराना पार्टीहरूप्रतिको बढ्दो अलगावलाई आफ्नो पक्षमा पार्न सके परिणाम स्वतः आफ्नो पोल्टामा पर्ने उनको आकलन छ।
यो क्षेत्रसँग विवेकशील आन्दोलनको विरासत पनि जोडिएको छ। उक्त अभियानका संस्थापक उज्ज्वल थापा २०७४ को निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार थिए। त्यसो त उनी २०७० सालदेखि नै यस क्षेत्रमा उम्मेदवार बनेका थिए। २०७४ सालमा भने उनले सम्मानजन मत ल्याएका थिए। त्यति बेला उनको मत ६ हजार ८५३ थियो।
प्रदेशसभा निर्वाचनमा आफैले स्वतन्त्र उम्मेदवारी दिँदा पनि सम्मानजनक मत ल्याएकाले रास्वपाको पछिल्लो 'वेभ' ले जितमा पुर्याउनेमा सस्मित दृढ देखिएका छन्।
२०७९ सालको निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार बनेका रास्वपाका प्रणयशमशेर राणाले ५ हजार ४७७ मत ल्याएका थिए। गत निर्वाचनमा काठमाडौं–५ बाट समानुपातिकतर्फ रास्वपाले पहिलो अर्थात् ११ हजार ६४७ मत ल्याएकाले यसपटक जित्न कठिन नरहेको सस्मित पोखरेलको आकलन छ।
प्राचीन वैभवको सहर टोखादेखि नारायणहिति क्षेत्रसम्म उत्तर दक्षिण फैलिएको काठमाडौं–५ मा सहरी 'एलाइट' हरूको बसोबास देखिन्छ। सुरक्षा निकाय, निजामती तर्फका उच्च पदस्थहरू पनि यहीँ बसोबास गर्छन्। उनीहरू निर्णायक बन्ने गरेका छन्।
काठमाडौं–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति पनि राम्रै छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका रामप्रसाद उप्रेतीले ३ हजार १६२ मत ल्याएका थिए। प्रदेशसभा निर्वाचनमा राप्रपा काठमाडौं–५ (१) मा त विजयी नै भएको थियो। काठमाडौं–५ को १ प्रदेशबाट त्यति बेला राप्रपाका राजेन्द्र प्रजापतिले ४ हजार ३०४ मत ल्याएका थियो। यो प्रदेशसभाको क्षेत्र कोर सहरी क्षेत्र हो।
यस क्षेत्रमा नेकपाको मताधार भने तुलनात्मक रूपमा निकै कमजोर छ। प्रत्यक्षतर्फ २०७४ र २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार थिएनन्। २०७४ मा एमाले र २०७९ सालको निर्वाचनमा कांग्रेससँग गठबन्धन थियो।
समानुपातिकतर्फ भने २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रले १ हजार २२४ र एकीकृत समाजवादीले ६०६ मत प्राप्त गरेको थियो।
***
यी पनि पढ्नुहोस्: