गोरखाको न्याउली खोलामा पुल निर्माण गरिएको छ।
धार्चे गाउँपालिका वडा नम्बर ७ लापुस्थित न्याउली खोलामा पुल बनाइएको हो।
उक्त पुलको आज धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङले उद्घाटन गरेका हुन्।
यो पुल बनाएपछि बेनिघाट-आरूघाट-लार्के सडकखण्डमा थप सहज भएको छ।
गण्डकी प्रदेश सरकारको बजेटमा यो पुल बनाइएको हो।
यो पुल बनाउन २०७९ साउन २३ गते ठेक्का सम्झौता भएको थियो। सूर्यदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता भएको थियो।
यो पुल चार करोड ३४ लाख ७५ हजार ३ सय ५९ रुपैयाँमा ठेक्का लागेको थियो। यो पुल २०८१ साउनमै सकिनुपर्ने भए पनि ढिला गरी निर्माण सम्पन्न भएको छ।
न्याउली खोलामा बर्खामा पानीको वहाव बढ्ने गर्छ। बर्खाका बेला गाडी खोला वारपार गर्न सक्दैनथ्यो। पुल बनेसँगै अब बर्खामा पनि यात्रा गर्न सहज हुने गाउँपालिकाले जनाएको छ।