आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) बाट निशा अधिकारी प्रतिस्पर्धामा छिन्।
फिल्म अभिनेता, हिमाल आरोही तथा सञ्चारकर्मी समेत रहेकी ३९ वर्षीया अधिकारीले सामुदायिक स्वास्थ्य, वृद्धावस्थाको हेरचाह र महिला अधिकारका विषय उठाइरहेकी छन्। आफू संसदमा पुगेपछि यिनै काम गर्ने उनको योजना छ।
कला क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी निशाले आफ्नो योजना पूरा गर्न नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्व तहमा पुगेका नेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। काठमाडौं–५ मा एमालेबाट ईश्वर पोखरेल र नेपाली कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल उम्मेदवार छन् भने राप्रपाबाट कमल थापा उठेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यहाँ जेनजी पुस्ताका उम्मेदवार सस्मित पोखरेललाई उठाएको छ।
'हेभीवेट' उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दै चुनावी मैदानमा उभिएकी अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश —
तपाईंको चुनाव प्रचार कस्तो चलिरहेको छ?
सुरूदेखि नै हामीले एकदमै शान्त खालको अभियान गर्ने योजना बनाएको थियौं। मैले जति पनि नागरिकहरूलाई भेटेको छु, उहाँहरू मलाई देखेर उत्सुक भएको पाउँछु। मेरा कुरा ध्यान दिएर सुन्नुहुन्छ। त्यही मौकामा मैले आफ्नो घोषणापत्रको एजेन्डा र पार्टीबारे राम्ररी भन्न पाइरहेको छु।
मेरा कुरा सुनेपछि उहाँहरूले नयाँ विचार आयो, राम्रो छ भन्नुहुन्छ। आफ्ना कुरा पनि मलाई सुनाउनुहुन्छ। दोहोरो बातचित हुने भएकाले एकदमै राम्रो महसुस भइरहेको छ मलाई।
तपाईंको क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेबाट नेतृत्व तहकै व्यक्ति प्रतिस्पर्धामा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जेनजी उम्मेदवार उठाएको छ। मिडिया, सामाजिक सञ्जालमा उनीहरूको पार्टी र उम्मेदवारीको ज्यादा चर्चा भइरहेको हुन्छ, त्यसलाई कसरी हेरिरहनुभएको छ?
हो, बलियो संगठन भएका पार्टीहरू प्रतिस्पर्धामा छन्। रास्वपा पनि एक–दुई पटक सरकारमा गइसकेको पार्टी भयो। उहाँहरूको जुन एउटा लहर छ, त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु। हामीले त चुनावमा हुने लहर पहिले पनि देखेको हो, भोगेको हो। तर म यसपालि राजनीतिको मैदानमा आफै उठ्नुको कारण छ।
कारण के भने, उहाँहरू सबैले सत्तामा हुँदा वा प्रतिपक्षमा हुँदा राम्रो काम गरेको भए जेनजीहरूले त्यत्रो आन्दोलन गर्दैनथे। देशमा यस्तो घटना हुँदैनथ्यो। मुलुक बनाउने जिम्मेवारी हामीले दिएर पठाएका मान्छे र दलहरूले राम्ररी काम नगरेपछि हामीजस्ता मान्छे अघि बढ्नुपर्ने रहेछ।
त्यसैले म आफ्ना एजेन्डा बोकेर आएको छु। मलाई ठूलो संगठन, पपुलिजम वा चुनावी लहरको खासै मतलब लागेको छैन।
आफै राजनीतिमा आउनुपर्छ भनेर तपाईंलाई के कुराले ट्रिगर गर्यो?
जेनजी आन्दोलनअघि नै मलाई देशको राजनीतिमा भइरहेका कामकुरा खासै चित्त बुझिरहेको थिएन। मैले धेरै मानिससँग भेटेर यसबारे कुराकानी गरिरहेको थिएँ। अर्को चुनाव २०८४ मा हुन्छ, त्यतिञ्जेल बरू पढ्छु भनेर म एमफिल गर्न त्रिभुवन विश्वविद्यालयमा गएँ।
त्यसैबीच जेनजी आन्दोलनमा जे भयो, मलाई त्यो सबै रोक्न सकिन्थ्यो भन्ने महसुस भयो। हाम्रै कालखण्डमा यस्तो देख्नु/भोग्नुपर्यो भन्ने कुराले पनि मलाई केही नगरी बस्ने अवस्था छैन भन्नेमा पुर्यायो। देश, नागरिक र हाम्रो पुस्ताबारे उत्तरदायी भएर अघि बढ्नुको, मुलुकका लागि काम गर्नुको विकल्प छ जस्तो मलाई लागेन।
हामी सबैले आफ्नो तर्फबाट जे गर्न सक्छौं, गर्ने बेला यही हो भन्ने भएपछि म राजनीतिमा आएँ। त्यसैले मेरो लागि चुनावको लहर, संगठनको नम्बर वा पपुलिस्ट कुरामा को मान्छे हिरो भन्ने कुराले खासै अर्थ राख्दैन। मलाई मुलुक बनाउने नीति–नियमबारे कुरा गर्नुछ। त्यसैले राजनीतिमा हाम्रो हिरो एजेन्डा हो। एजेन्डालाई अगाडि राखिन्थ्यो भने मुलुक यस्तो अवस्थामा हुन्नथ्यो।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडेलले एमालेका ईश्वर पोखरेललाई ५ हजार मतान्तरले हराउनुभएको हो। यसपालि फेरि दुवै जनाको प्रतिस्पर्धा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी उम्मेदवार अघि सारेको छ। यस्तो प्रतिस्पर्धाबीच तपाईंको त दल पनि नयाँ छ, राजनीतिमा तपाईं आफै नयाँ हुनुहुन्छ? चुनाव लड्न कति सजिलो/कति गाह्रो भइरहेको छ?
अहिले चुनाव प्रचार प्रसारमा हिँडिरहँदा मलाई आफ्नो क्षेत्र वा मुलुकप्रति आफूले बोध गरेको जिम्मेवारी निभाइरहेको छु भन्ने लागिरहेको छ। चुनावमा जित–हारको संख्या वा सम्भावना के छ भन्नेले होइन, चुनावी मैदानमा गएर मुलुकका लागि यसरी काम गर्नुपर्ने हो, यी मुद्दामा यसरी काम हुनपर्छ भनेर हिँडेको छु भन्ने कुराले सन्तोष दिएको छ। म चुप लागेर बसेको भए, यही आवाज पनि नउठाएको भए त्यो मेरो लागि हार हुन्थ्यो।
अनि यही बेला जतिसुकै पुरानो संगठन भए पनि, जतिसुकै नयाँ पार्टी भए पनि महिला उम्मेदवार खोई त? मैले त एकदमै अन्तिम क्षणमा आएर उम्मेदवारी दर्ता गरेको हो। त्यति बेलासम्म मैले कुरिरहेको थिएँ, को–कोले महिला उम्मेदवार ल्याउँछ भनेर।
पहिला पनि मलाई महिला सहभागिताको प्रश्नलाई लिएर एकदमै चित्त दुख्ने गरी मनमा खट्केको थियो। चुनावमा उम्मेदवार बनाएको हेर्दा महिलालाई भित्तामै पुर्याएको जस्तो लाग्छ। जनसंख्याको आधाभन्दा बढी ५१ प्रतिशत महिला छन्। उनीहरूको प्रतिनिधित्व पनि त्यही हिसाबले हुनुपर्ने होइन? हाम्रै ५ नम्बर क्षेत्रमा पनि महिला उम्मेदवारले चुनाव जितेको रेकर्ड छैन रहेछ। उम्मेदवार बनाएको पनि एकदमै कम। मैले पहिलो पटक उम्मेदवारी दिएको यो क्षेत्रले कुनै दिन त महिला उम्मेदवारलाई जिताएर इतिहास बनाओस् भन्ने कामना छ।
प्रतिस्पर्धीहरूका कुरा पनि तपाईं सुनिरहनुभएकै होला। उहाँहरूलाई जित्ने तपाईंको बलियो पक्ष के हो?
मेरो क्षेत्रमा पुरानो दलका ठूला नेताहरू हुनुहुन्छ। उहाँहरू तथा उहाँहरूको पार्टी सरकारमा भएर पनि हाम्रो मुलुक यो संकटको मुखमा आएको छ। उहाँहरूले प्रतिपक्षमा बस्दा राम्रो भूमिका खेल्दिनुभएको भए पनि म जस्तो मान्छे राजनीतिमा आज आउनु पर्दैन थियो।
अर्को नयाँ दल रास्वपा कुरा गरौं। ऊ पनि सरकारमा गयो। सभापति रवि लामिछाने गृहमन्त्री हुँदै गर्दा निर्माला पन्त हत्याकाण्ड १० दिनभित्र सल्टाउँछु भन्नुभयो। उहाँले त्यसमा केही काम गर्नुभएन। यो त एउटा मात्र उदाहरण भयो।
म सदनमा गएर राम्ररी सुशासनमा कसरी काम गर्न सकिन्छ भन्न सक्छु। मैले पढेको पनि यही हो। मैले द्वन्द्व शान्ति र विकास पढिरहँदा एउटा देशमा शान्तिपूर्ण ढंगले काम गर्न के–के कुरा आवश्यक छ भन्ने हेक्का भयो। भ्रष्टाचार निर्मूल पार्ने कुरामा बोल्दा मलाई पार्टीले ह्विप लगाउँदैन। यो मेरो बलियो पक्ष हो। तपाईंले जस्तो राम्रो उम्मेदवार पठाए पनि पार्टीले ह्विप लगायो भने सकियो नि। मेरो हकमा त्यस्तो हुने छैन।
मेरो अर्को सबल पक्ष भनेको, म ५२ प्रतिशत जनसंख्यालाई राम्ररी प्रतिनिधित्व गर्न सक्छु। अझ बालबालिकाको सन्दर्भमा त कति कुराहरू भोगाइका आधारमा मैले बुझ्न सक्छु। महिनावारीको कुरा भयो, महिला स्वास्थ्यको कुरा भयो, त्यसलाई मैले आफ्नो एजेन्डामा राखेको छु। पछि राज्यको नीति बनाउँदा यी कुरा कसरी, कहाँ जोड्ने भन्ने मलाई उहाँहरूलाई भन्दा बढी ज्ञान हुन्छ। ५१ प्रतिशन जनसंख्याको अर्थपूर्ण सहभागिता मेरो एजेन्डामा छ। त्यसलाई पनि मैले नै राम्ररी सम्बोधन गर्न सक्छु।
अर्को एउटा सबभन्दा बलियो कुरा भनेको, मेरो पार्टीमाथि अहिलेसम्म कुनै पनि भ्रष्टाचारको भारी छैन। आचारसंहिता उल्लंघन गरेको भारी छैन। भ्रष्टाचार भन्ने कुरा पैसाको मात्र हुँदैन, नैतिक भ्रष्टाचारको पनि हिसाब गर्नुपर्छ। उत्तरदायित्वको सवालमा हाम्रो पार्टी र मेरो उम्मेदवारी काठमाडौं क्षेत्र नम्बर ५ मा सबभन्दा स्वच्छ, उत्तरदायी र पारदर्शी छ।
राजधानी सहरकै एउटा हिस्सा हो तपाईंको क्षेत्र। धेरै बजेट भएको महानगर नै यो क्षेत्रमा पर्छ। यहाँ भौतिक विकास र सामाजिक विकाससम्बन्धी के–के समस्या छन्? मतदातासँग भेटघाट गरिरहनुभएकै छ? उनीहरूले कस्ता समस्या सुनाइरहेका छन्?
धेरैलाई आधारभूत कुरा लाग्ला, तर मतदाताहरूले अझै बाटोकै कुरा गर्नुहुन्छ। मेलम्चीको पानी हाम्रोमा आएन भनेर आमाहरू गुनासो गर्नुहुन्छ। अहिलेसम्म जारको पानीमै निर्भर हुनुपरेको अवस्था छ। नक्सा नै नभएको सात तले घर उठाइदिँदा छिमेकीले दुःख पाएका उदाहरण छन्।
पर्यटनको कुरा पनि छ। हाडीगाउँलाई पर्यटनमा अझै विकास गर्न पाए हुन्थ्यो, हाम्रो मूल्य–मान्यता अझै देखाउन पाए हुन्थ्यो भन्ने मलाई लाग्छ। भौतिक संरचनाको कुरा गर्दा खानेपानीदेखि स्वास्थ्य सेवासम्म, समग्रमा नेपालमा जे–जे समस्या छन्, काठमाडौं क्षेत्र नम्बर ५ को सहरी क्षेत्रमा पनि तिनै गुनासा छन्।
भौतिक विकासमा मात्र होइन, सामाजिक विकासमा पनि समस्या छन्।
यी समस्याको समाधान कसरी गर्ने हो?
स्थानीय स्तरका भित्री बाटो र खानेपानीजस्ता समस्या प्रत्यक्ष संसदको अधिकारमा नपरे पनि सरकारलाई दबाब दिन सकिन्छ। प्रत्यक्ष काम संसदले गर्न सक्दैन, तर मुद्दा संसदमा उठाउने भूमिका हुन्छ।
तीनै तहका सरकारमा भ्रष्टाचारको समस्या छ। भ्रष्टाचार माथिबाट तलसम्म फैलिएको छ, जसले हाम्रो विकास रोकेको छ। राम्रो काम गर्ने मान्छेलाई सम्मान र गलत काम गर्ने मान्छेलाई कारबाही भयो भने भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ।
मैले आफ्ना एजेन्डा सार्वजनिक गरिसकेको छु, जसमा महिलाको स्वास्थ्य र अर्थपूर्ण सहभागिताका कुरा छन्। युवाहरूलाई एउटै हबमा ल्याएर नेटवर्कको वातावरण बनाउनुपर्छ। वातावरणमैत्री पूर्वाधार चाहिन्छ। चक्रपथ र राजमार्गहरू वातावरणमैत्री हुनुपर्छ। बाटो विस्तार गर्दा राम्रोसँग परीक्षण गरिने प्रणाली अपनाउनुपर्छ।
अर्को विषय, खेलकुद र कला हो। नेपाललाई 'न्युट्रल भेन्यू' बनाएर खेलकुद र कला विकास गर्न सकिन्छ। हाम्रो पेन्टिङ, हस्तकला, माटोको कला जस्ता परम्परागत कला हराउँदै गइरहेका छन्। संगीत सहित यस्ता सबै कलालाई समेट्नुपर्छ।
क्षेत्र नम्बर ५ अस्पतालहरूको हब पनि हो। यहाँ शिक्षण अस्पताल, गंगालाल जस्ता अस्पताल यहाँ छन्। यस्तो ठाउँमा महिलाको स्वास्थ्य प्रवर्द्धन गर्न सजिलो हुने मैले देखेको छु। नीतिगत रूपमा लागू गर्न सके हर्मोन प्याकेजदेखि सचेतनासम्म धेरै काम गर्न सकिन्छ। महिलाको स्वास्थ्यमा कम अनुसन्धान भएको छ। त्यसमा काम गर्न र गराउन मन छ मलाई। मैले उठाएका मुद्दाले यहाँका यस्ता धेरै समस्या सम्बोधन गर्छन्।
अर्को कुरा, चुनाव जितेपछि सांसद आफ्नो क्षेत्रबाट गायब हुने प्रवृत्ति हटाउनमा पनि काम गर्नुछ। मैले सधैं क्षेत्र नम्बर ५ मा भोट हालेको छु। त्यसपछि कहिले पनि उम्मेदवारलाई यो क्षेत्रमा आएर कुरा गरेको देख्न पाइनँ। अहिले मतदाताहरू पनि त्यही भनिरहनुभएको हुन्छ। सांसद भएपछि त बेला बेला आफ्नो क्षेत्रमा आउनुपर्यो, जनतासँग जोडिनुपर्यो, छलफल गरिरहनुपर्यो। मैले यस्तो नीति बनाउने काम गरेँ, यो क्षेत्रको बारेमा यस्तो कुरा उठाएँ भनेर पनि जनतालाई सूचना दिइरहनुपर्ने होइन र?
आम नागरिकको प्रत्यक्ष चासो जोडिएका के मुद्दा तपाईंले उठाउनु हुन्छ?
स्वास्थ्यको मैले माथि भनिहालेँ, मेरो क्षेत्रमा जस्तै मुलुकभरी स्वास्थ्य, महिलाको स्वास्थ्यमा काम गर्नु आवश्यक छ।
शिक्षामा सुधार गर्नुपर्ने धेरै कुरा छन्। शिक्षकहरूलाई दक्ष र तालिमप्राप्त बनाउने, अपडेटेड बनाउने विषयमा प्राथमिकताका साथ काम गर्नुपर्छ।
मेरा पाँच एजेन्डा छन्। घोषणापत्रमा मैले स्पष्ट लेखिसेको छु। त्यसमध्ये म यहाँ सामाजिक न्यायको कुरा गर्छु। अरू सबै कुरा मैले माथि पनि भनेको छु।
आम नागरिक र महिलाहरूलाई कसरी राखिएको छ, कसरी व्यवहार गरिन्छ, उनीहरूको अवस्था के छ भनेर समाजमा हेरियो भने त्यो देश कस्तो छ भनेर देखिन्छ। त्यसैले समाज नै देशको दर्पण हो भनिन्छ।
युवा महिला र पुरूषहरूको कुरा गरौं। उनीहरूलाई रोजगारीको प्रमुख समस्या छ भनिन्छ। महिलाले बच्चा हेर्नुपर्ने जस्तै युवायुवतीले आफ्ना बुबाआमाको बुढेसकालमा हेरचाह गर्नुपर्ने जिम्मेवारी पनि छ। बालबच्चा र आमाबुबा हेर्ने जिम्मेवारी केही हदसम्म राज्यले लिने हो भने मात्र युवायुवतीले अर्थतन्त्रमा रोजगारीका साथै अरू योगदान गर्न सक्थे भन्ने मलाई लाग्छ।
तपाईंले अघि भ्रष्टाचारले नै सबै कुरा रोकेको हो, त्यसलाई निर्मूल नपारी हुन्न भन्नुभएको थियो। अरूले पनि यही भन्छन्। भ्रष्टाचार हटाउने तपाईंको आइडिया के हो? तपाईं भोलि सांसद हुनुभयो भने, कुनै दिन मुलुकको प्रधानमन्त्री हुनुभयो भने तपाईले यसलाई कसरी हटाउनु हुन्छ?
भ्रष्टाचार निर्मूल गर्ने भन्ने कुरा मुलुकको माथिल्लो तहदेखि सुरू गरेर तलसम्मै गर्ने हो। तलबाट गर्ने पहिलो काम भनेको त राजनीतिक साक्षरता बढाउने हो।
नागरिकले आफ्ना हक–अधिकारका कुरा थाहा पाउनुपर्यो। कुन ठाउँमा हामीले कसरी आवाज उठाउने वा नउठाउने त्यो थाहा पाउनुपर्यो। हाम्रोमा एकदमै बलियो नागरिक समाज छैन। त्यो चाहिन्थ्यो।
माथिल्लो तहबाट भ्रष्टाचार निर्मूल गर्ने कुरा गर्दा पहिलो काम गर्ने भनेको विभिन्न संस्थामा गरिने नियुक्ति पारदर्शी र योग्यताका आधारमा गर्ने नै हो।
भ्रष्टाचार नियन्त्रण गर्ने संस्था अख्तियार, निर्वाचन गराउने आयोग लगायतका संवैधानिक अंगहरू छन्, तिनको नियुक्ति सिफारिस संवैधानिक परिषदले गर्छ। त्यसमा सभामुख, उपसभामुख, विपक्षी दलका नेता छन्। मलाई लाग्छ त्यो संरचना त तटस्थ हुनुपर्यो।
अर्को कुरा, क्षमताका आधारमा नियुक्ति सिफारिस गर्न त उसले संयन्त्र बनाउनुपर्यो। नियुक्तिमा राजनीतिक पार्टी हाबी हुनु भएन। हामीकहाँ न्यायाधीश पनि पार्टीगत नियुक्ति हुन्छ भन्छन्। त्यस्तो हुनुभएन। नियामक निकायहरू स्वतन्त्र र स्वच्छ बनाउनुपर्ने छ।
कर्मचारीहरू दलीय राजनीतिमा सहभागी हुनै नपाइने गरी काम गर्नुपर्छ। कर्मचारी नै कुनै दलको पक्ष लिएर बस्यो भने उसले नागरिकलाई कति न्यायपूर्ण सेवा दिन्छ?
यी र यस्ता यावत् कुरामा सुधार गरेर हाम्रो प्रणाली बलियो बनाउनुपर्छ। अनि बल्ल भ्रष्टाचार नियन्त्रण हुन सक्छ।
तपाईं र तपाईंको पार्टीको आर्थिक पारदर्शिताको विषयबारे कस्तो नीति लिनुभएको छ? चुनावमा लाग्ने खर्चको स्रोत कसरी जुटाउनुभएको छ?
हामीले सुरूमा बुझ्नुपर्छ, राजनीतिक दल किन खोलिन्छ? कुनै मूल्य–मान्यताका आधारमा देश बनाउँछु भनेर खोलिने हो। त्यसरी नै देश बन्छ भनेर विश्वास गर्ने मान्छेहरूले चन्दा दिएर आर्थिक स्रोत जुटाउने हो। म लिबरल डेमोक्रेसीमा विश्वास गर्छु। मैले स्वत: लिबरल डेमोक्रेटिक पार्टीलाई नै चन्दा दिन्छु नि। मुद्दाहरूका आधारमा राजनीति गर्नेलाई मुद्दामा काम गर्नका लागि पनि चन्दा आउनुपर्छ जस्तो मलाई लाग्छ।
हाम्रो पार्टी नयाँ भएकोले बिस्तारै मुद्दाहरू उठाइरहेका छौं। अहिले त हाम्रो जनमत छैन। हामीले हाम्रा मूल्य–मान्यता र मुद्दाहरू स्थापित गर्दै गयौं भने मान्छेहरूले हामीलाई विश्वास गरेर चन्दा पनि देलान्। अहिले त जति छ, त्यो वेबसाइटमा पारदर्शी नै छ।
अनि मेरो सवालमा पनि म आफूले सक्ने जति मात्र गर्ने हो। चुनावी अभियान सकिएपछि सबै हिसाब पारदर्शी गर्ने हो।
अहिले संविधान संशोधन पनि बहसको विषय छ। शासकीय व्यवस्थादेखि दलहरूको रूपान्तरणसम्मका विषय चर्चामा छन्। तपाईंको विचारमा संविधानदेखि नै सुधार गर्नुपर्ने विषय के हुन्?
भ्रष्टाचार निर्मूल गर्ने संरचना निष्पक्ष बनाउन संविधानदेखि नै सुधार गर्न आवश्यक छ। अरू पनि धेरैमा सुधार गर्नुपर्ने छ।
तपाईं कला क्षेत्रमा करिअर भएको मान्छे, राजनीतिमा आउनुभयो। चुनावपछि जित–हार जे भए पनि तपाईंले सक्रिय राजनीतिलाई नै अब निरन्तरता दिने हो कि होइन?
नीति, एजेन्डा, रणनीतिहरू कसरी बनाउने भन्ने कुरा जहाँ बसेर पनि गर्न पाइन्छ। म अहिले ३९ वर्षको भएँ। अझै १० वर्ष सक्रिय राजनीतिलाई नै निरन्तरता दिन्छु। मैले दिने 'प्राइम टाइम' यही हो। त्यसपछि अर्को पुस्ता आउला, आउनु पनि पर्यो।
मैले राजनीति छाड्ने बेलासम्म नेतृत्वमा पुग्ने युवाहरूलाई राजनीति क्षेत्रमा ल्याउन मन छ। खासगरी महिलाहरूको विकासमा काम गर्न मन छ। संगठनहरूले महिलालाई जहिले पनि झन्डा, प्लाकार्ड बोक्न लगाउँछ, तर अगाडि ल्याउँदैन। महिला भनेको प्लाकार्ड बोक्न होइन, नेतृत्व गर्न पनि हो भनेर बुझाउनपर्ने छ।