महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गरेकी छन्।
उनकाअनुसार जलवायुजन्य विपद्का कारण पर्यटन क्षेत्र प्रभावित हुँदा त्यसको सबभन्दा ठूलो मार महिलाहरूमाथि परिरहेको हो।
उनले भनिन्, ‘नेपालको पर्यटन क्षेत्र हाम्रो प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको छ। तर हिमताल विस्फोट, अनियमित हिमपात र ट्रेकिङ सिजन पदमार्ग अवरूद्ध गर्ने पहिरो, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधताको क्षय र सम्पदाको क्षति जस्ता गम्भीर जलवायुजन्य घटनाहरूले पर्यटनलाई बढ्दो रूपमा प्रभावित पारेको छ र जब पर्यटन घट्छ सबभन्दा बढी असर त्यसले महिलालाई पारेको छ।’
उनले अगाडि भनिन्, ‘धेरै टुरिजम डिपेन्डेन्ट कम्युनिटीमा महिलाहरू अनौपचारिक तथा सिजनल आम्दानीमा निर्भर हुन्छन्। होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, लज तथा होटलमा काम, लोकल ठाउँको गाइडिङ, खाना पकाउने वा सांस्कृतिक सेवा प्रदान गर्नेमार्फत। जब जलवायुको इम्प्याक्ट पर्यटनमा परेर यसलाई अवरूद्ध गर्छ, यी आयआर्जनका अवसरहरू हराउँछन्। महिलामुखी परिवारहरू विशेष रूपमा बढी यसबाट प्रभावित हुन्छन्।’
नेपालको पर्यटन क्षेत्र प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरूद्ध गरिरहेको बताइन्।
पर्यटनमा आधारित समुदायका महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर हुने बताइन्।
होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटलमा काम र सांस्कृतिक सेवामार्फत उनीहरूले जीविकोपार्जन गरिरहेका छन्। जलवायु परिवर्तनका कारण पर्यटन अवरूद्ध हुँदा यी अवसरहरू गुम्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ।
मन्त्री श्रेष्ठले जलवायु वित्तपोषणमा रहेका संरचनात्मक समस्याहरू औंल्याउँदै अधिकांश ‘रेजिलेन्ट फण्ड’ पूर्वाधार विकासमा मात्र केन्द्रित रहेको बताइन्।
उनले यसलाई ‘जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ’ को संज्ञा दिइन्।
ग्रामीण पर्यटन अर्थतन्त्र अझै पनि अनौपचारिक रहेकाले धेरै महिलाहरू सामाजिक सुरक्षा बिना नै जोखिमपूर्ण अवस्थामा काम गरिरहेको उनले बताइन्।
जलवायु परिवर्तनले बसाइँसराइ बढाएको र धेरैजसो पुरूषहरू रोजगारीका लागि बाहिरिँदा महिलाहरूमाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको ‘त्रिगुणीय बोझ’ थपिएको मन्त्री श्रेष्ठले उल्लेख गरिन्।
यस्तो अवस्थामा पर्यटन क्षेत्र उनीहरूको लागि जीवनरेखा बन्ने गरेको छ। जलवायु सहनशील पर्यटनका लागि वित्तपोषण भनेको केवल सडक र भवन निर्माण मात्र नभई यो मानिसमा, विशेष गरी महिलामा गरिने लगानी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन्।
उनले महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँचयोग्य जलवायु कोष, सहकारी सुदृढीकरण र नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी आवश्यक रहेको बताइन्।
पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षणमा योगदान पुर्याउने महिलाहरूलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ। —न्युज एजेन्सी नेपाल