उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७ विषयगत उपसमितिमा संयोजक तोकेको छ।
सभापति गगन थापाको उपस्थितिमा बुधबार बेलुकी बसेको बैठकले ७ वटा उपसभापतिमा संयोजक तोकेको हो।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार अर्थ योजना: पार्टीको नीति, दृष्टि र योजना उपसमिति संयोजकमा प्रा. डा गोविन्दराज पोख्रेल संयोजक छन्। यो उपसभापतिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत समग्र वित्तीय क्षेत्रबारे अध्ययन गर्नेछ।
साथै अनौपचारिक क्षेत्रका श्रमिक : नीति र न्याय सम्बन्धी उपसमिति संयोजकमा पूर्वसहमहामन्त्री महेन्द्र यादव छन् भने जलवायु परिवर्तन सचेतना उपसमितिमा रोशनी गिरी, नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिमा मीनबहादुर भाम, बाल अधिकार उपसमितिमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह : नीति र थिती संवाद उपसमितिमा गोपालप्रसाद पोख्रेल र गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमितिमा अञ्जु झा संयोजक तोकिएका हुन्।
बैठकमा उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पेश गरेका थिए।
साथै यसअघि बैठकबाट चयन भएका ६ जना संयोजकहरूले आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए।