सेतोपाटी चुनाव विश्लेषण – ४
दाङको स्थलगत रिपोर्टिङ सकेर रूपन्देही क्षेत्र नम्बर २ आउँदा हामीले एउटा खास कुरा 'नोटिस' गर्यौं।
दाङ– २ का मतदातासँग आसन्न चुनावबारे कुरा गर्दा उनीहरूलाई खुल्न समय लाग्थ्यो। अरू धेरै कुरा गरेपछि मात्रै उनीहरू बिस्तारै खुल्दै आउँथे र कुन पार्टीलाई भोट दिन चाहेका छन् भनेर बताउँथे।
रूपन्देही– २ मा भने जसै हामी मतदाता भेट्थ्यौं र आफ्नो परिचय दिएर चुनावी चर्चा सुरू गर्थ्यौं, धेरै मतदाताहरूले सुरूमै भन्थे, 'यसपालि हाम्रो भोट परिवर्तनको पक्षमा। पुराना पार्टीलाई धेरै हेर्यौं, अब नयाँको पालो।'
कतिले त कुराकानी सुरू नगर्दै भन्थे, 'यसपालि घन्टी (रास्वपा)!'
हामीले कुरा गरेका धेरै मतदातारू त्यतिमै रोकिन्थेनन्। टुटी खोलेको नलबाट लगातार पानी झरेझैं नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका 'पुराना' पार्टीबाट आजित हुनुको कारण र 'नयाँ' पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिको आकर्षणबारे खुलेरै चर्चा गर्थे। र, उनीहरू धेरैको भनाइ दाङ– २ का मतदाताकै जस्तो थियो।
दुई दिन यो निर्वाचन क्षेत्र घुम्ने क्रममा सुरूका केही घन्टामा भेटेका मतदाताबाट एकोहोरो यस्तो जबाफ सुनेपछि हामीलाई लाग्यो — कतिपय यी मतदाता यसपालि रास्वपाको माहोल देखेर मनमा जे सुकै भए पनि मुखले घन्टी त भनिरहेका छैनन्? अरू दललाई भोट हाल्छु भन्न धक त मानिरहेका छैनन्?
खासमा आफ्नो मनसुबा लुकाएर लहर अनुसारको कुरा गर्ने मतदाता संसारभरि नै हुन्छन्। राजनीतिशास्त्री/समाजशास्त्रीहरूले यस्ता मतदाताहरूलाई 'शाई भोटर्स' (लजालु मतदाता) भन्छन्।
हामीले पनि रूपन्देहीमा 'शाई भोटर्स' छन् कि भन्ने शंका लागेपछि टिममा सल्लाह गर्यौं। र, रास्वपालाई भोट हाल्छु भनेर खुलिसकेका मतदातालाई पनि उनीहरू वास्तवमै सही बोल्दै छन् कि माहोल हेरेर भन्ने थाहा पाउन थप प्रतिप्रश्नहरू सोध्ने निधो गर्यौं।
प्रतिप्रश्न सोध्दै जाँदा केहीले आफ्नो मन खोले र भने, 'खोई सबै घन्टी घन्टी भन्छन्, म चाहिँ आफ्नै पार्टीलाई भोट हाल्छु होला!'
केहीले यो पनि भने, 'लहर त घन्टीकै छ, म पनि अहिलेसम्म यही भनेर बसेको छु, तर २१ गते के हुन्छ भन्न सकिँदैन!'
यसले के देखायो भने रूपन्देही–२ मा केही 'शाई भोटर्स' रहेछन् र उनीहरूलाई खुलेर आफू कसलाई मत दिन्छु भन्न गाह्रो परिरहेको रहेछ।
तर यो संख्या धेरै सानो भएको हामीले पायौं। हामीले प्रतिप्रश्न सोध्दै कुराकानी गरेका अधिकांश मतदाता आखिरीसम्म आफ्नो सुरूको निर्णयमै कायम रहे।
कुराकानीको आखिरीमा पनि धेरैले यही भने, 'हामी परिवर्तनको पक्षमा!'
रूपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडा छन् भने तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडा पर्छन्।
फागुन २१ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल), रास्वपाका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे, जनता समाजवादी पार्टी (जसपा) का दीपक गुरूङ, जनमत पार्टीका रमेश लोध लगायत विभिन्न दलका र स्वतन्त्र उम्मेदवार समेत गरी ३९ जना प्रतिस्पर्धामा छन्।

सेतोपाटी टिमले पछिल्ला दुई दिन यो निर्वाचन क्षेत्रका सबै वडा घुमेर धेरैभन्दा धेरै मतदातासँग कुराकानी गरेको छ। चुनावमा उठेका दल र तिनका उम्मेदवारबारे मतदाताहरूको राय बुझेको छ। उनीहरूका मुख्य चासो के के हुन् र उनीहरू कसलाई किन मत दिन चाहन्छन् भनेर सोधेको छ।
मतदातासँगको कुराकानीका आधारमा विश्लेषण गर्दा यो निर्वाचन क्षेत्रमा रास्वपाका सुलभ खरेल अरू प्रतिस्पर्धीको दाँजोमा धेरै अगाडि रहेको हामीले पाएका छौं।
सुलभको तुलनामा उनका दुई प्रतिस्पर्धी एमालेका विष्णु र कांग्रेसका चुन्नप्रसाद धेरै पछाडि छन्।
आजका दिनमा एमाले र कांग्रेस उम्मेदवारको दाँजोमा सुलभको जति फराकिलो अन्तर हामीले पाएका छौं, त्यसलाई चिर्दै चुनावका दिनसम्म उनलाई उछिन्न एमाले–कांग्रेस उम्मेदवारलाई धेरै नै कठिन छ।
रूपन्देही–२ मा यसपालि रास्वपा अगाडि हुनु धेरै अनौठो कुरा भने होइन।
गत निर्वाचनमा यहाँ समानुपातिकतर्फ सबभन्दा धेरै मत रास्वपाले नै पाएको थियो। र, प्रत्यक्षतर्फ पनि रास्वपा एमालेसँग कडा प्रतिस्पर्धामा हारेको थियो। यसरी गत निर्वाचनमै समानुपातिकतर्फ पहिलो र प्रत्यक्षतर्फ दोस्रो भएको रास्वपाप्रति यसपालि मतदातामा सबभन्दा धेरै आकर्षण देखिएको हो।
एमाले र कांग्रेसमध्ये यहाँ एमालेका विष्णु अगाडि छन् भने कांग्रेसका चुन्नप्रसाद धेरै पछाडि छन्।
यी तीन जनाबाहेक अन्य पार्टीका उम्मेदवार कोही पनि यहाँ प्रतिस्पर्धामा नरहेको हामीले पायौं।
नेकपाका विश्वदीप चौथो स्थानमा देखिन्छन्। तर विश्वदीप विष्णु र चुन्नप्रसादको दाँजोमा यति पछाडि छन्; पहिलो, दोस्रो वा तेस्रो कुनै पनि स्थानको 'रेस' मा देखिँदैनन्।
एक लाख ३५ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा हामीले कुराकानी गरेकामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर टुंगोमा नपुगेका मतदाता १८ प्रतिशत छन्।
यस्ता अनिर्णित मतदातामध्ये अधिकांश अघिल्लो पटक एमालेलाई भोट दिएकाहरू छन्। त्यसपछि कांग्रेस र माओवादीलाई मत दिएकाहरू छन्।
चुनावसम्म आइपुग्दा उनीहरूले आफ्नो मत पक्कै निधो गर्नेछन्। सबैले एक ढिक्का भएर एमालेलाई मत दिए भने मात्रै विष्णु प्रतिस्पर्धामा आउन सक्छन्।
तर व्यवहारमा त्यस्तो हुन सम्भव छैन। किनभने, यी अनिर्णित मत पनि बाँडिने छन्। तीमध्ये कतिले रास्वपालाई, कतिपय आफूले पहिले दिएकै कांग्रेस, एमाले वा माओवादीलाई देलान्।
रूपन्देही–२ मा रास्वपा कसरी यति बलियो देखियो? हिजो कुन दललाई गएको मत कसरी रास्वपामा सर्दैछ?
२०७९ सालको निर्वाचनमा यहाँ एमालेका विष्णु विजयी भएका थिए। उनले २७ हजार १६५ मत ल्याएर रास्वपाका गणेश पौडेललाई हराएका थिए। गणेश जम्मा १ हजार ३७० मतले हारेका थिए।
त्यति बेला यो क्षेत्र गठबन्धनका तर्फबाट माधवकुमार नेपाल नेतृत्वको तत्कालीन एकीकृत समाजवादीको भागमा परेको थियो। तर एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरलाई समर्थन गर्यो। तेस्रो स्थानमा रहेका केशवले २२ हजार २७ मत ल्याए।
समानुपातिकतर्फ २५ हजार ६७३ मत ल्याएर रास्वपा पहिलो पार्टी बनेको थियो। दोस्रो स्थानमा एमालेले २१ हजार १८३ मत पाएको थियो। कांग्रेसले १३ हजार ४५० मत ल्याएर तेस्रो बनेको थियो।
अघिल्लो निर्वाचनको प्रत्यक्ष र समानुपातिक मत परिणाम हेर्दा रूपन्देही–२ मा यसअघि नै रास्वपाले निकै बलियो स्थान हासिल गरेको देखिन्छ।
हामीले मतदातासँग गरेको कुराकानीका आधारमा हेर्दा, रास्वपाले अघिल्लो चुनावमा पाएको लगभग सबै मत यसपालि जोगाएर राखेको छ। हामीले कुरा गर्दा त्यस्ता मतदाता विरलै भेट्यौं, जसले गत चुनावमा रास्वपालाई मत दिएका थिए र यसपालि मत बदल्दै छन्।
तर अघिल्लो पटक सबैजसो प्रमुख दललाई मत दिएका धेरै मतदाता यसपालि रास्वपातिर सर्ने हामीले पायौं।

एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायत दललाई मत दिएका धेरै मतदाताले यसपालि रास्वपालाई मत दिने बताए। त्यसमध्ये पनि एमाले र कांग्रेसलाई अघिल्लो पटक मत दिएका मतदाताको ठूलो संख्या यसपालि रास्वपाप्रति आकर्षित छ।
अर्कातिर, हामीले भेटेका र पहिलो पटक मत हाल्न लागेका ८५ प्रतिशतभन्दा बढी मतदाताले रास्वपालाई नै मत हाल्ने बताए।
यसरी लगभग हिजो अरू दलहरूलाई मत दिएका र नयाँ मतदाताको ठूलो हिस्सा रास्वपातिर जाने हुँदा यसको भरपुर लाभ रास्वपालाई हुनेछ।
अर्कातिर, रूपन्देही–२ मा अरू दलहरूबीच मत साटफेरको सम्भावना कम देखिन्छ। हामीसँग जति जना मतदाताले एमालेका विष्णुलाई भोट हाल्छौं भने, तीमध्ये लगभग सबैले विगतमा पनि एमालेलाई नै भोट हालेको बताएका थिए।
त्यस्तै, कांग्रेसका चुन्नप्रसादलाई भोट हाल्छौं भन्नेहरू पनि बहुसंख्यक कांग्रेसका पुरानै मतदाता हुन्। नेकपाका विश्वदीपको अवस्था पनि त्यस्तै छ।
यसरी रास्वपाले एमाले, कांग्रेस, माओवादी लगायत अरू पुराना सबै दलबाट मत तानिरहेको छ। गत निर्वाचनमा आफूलाई मत दिएका मतदाता भने आफैसँग कायम राखेको छ।
अर्कातिर एमाले, कांग्रेस, माओवादी लगायत कुनै पनि दलले अर्को दलबाट मत तान्ने सम्भावना यहाँ एकदमै न्यून छ। यसले अरू सबै दलले पाउने मतको आकार घट्नेछ भने रास्वपाले पाउने मतको आकार धेरै नै बढ्नेछ।
प्रत्यक्षमा भन्दा समानुपातिकमा रास्वपाको मत झनै बढ्ने सम्भावना छ।
यसपालि प्रत्यक्षमा पुराना दललाई मत दिन्छु भनेका कतिपय मतदाताले पनि समानुपातिकमा भने रास्वपालाई मत दिन्छु भनिरहेका छन्। जबकि, रास्वपालाई भोट हाल्छु भन्ने मतदाताहरूमा समानुपातिक भोट कांग्रेस वा एमालेलाई दिन्छु भन्नेहरू धेरै कम रहेको हामीले पायौं। यसले समानुपातिकमा रास्वपालाई थप फाइदा पुग्ने देखिन्छ।
रूपन्देही–२ मा मतदाताहरू रास्वपामा किन यति धेरै आकर्षित छन्? उनीहरूको आकर्षणको कारण के हो?
दाङ– २ मा जस्तै रूपन्देही– २ मा पनि मतदाताहरू ठूलो संख्यामा रास्वपातिर आकर्षित हुनुका पछाडि केही मुख्य कारण छन्।
मतदाताहरूले हामीसँग परिवर्तनको उत्कट चाहना व्यक्त गरे। अपेक्षित विकास नभएको गुनासो गरे। त्यसैले परिवर्तनका निम्ति रास्वपालाई एकचोटि सत्तामा पुर्याउने र वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने चाहना भएको उनीहरूले बताए। वैदेशिक रोजगारीले दिएको पीडा र छोराछोरीको दबाब पनि अर्को कारण देखियो। विगतमा यहाँ भएको चुनावी गठबन्धनले दिक्क भएर यसपालि मत परिवर्तन गर्न लागेको पनि मतदाताहरूले बताए। जेनजी आन्दोलनपछि सत्तामा जाने दलहरू परिवर्तन हुनुपर्छ भन्ने आफूलाई लागेको पनि कतिपय मतदाताहरूको भनाइ थियो।
यसरी आफ्ना मत राख्ने मतदाताहरूको प्रतिनिधिमूलक भनाइहरू हामीले तल समेटेका छौं।
बुटवल उपमहानगर–१२, नयाँगाउँका ३६ वर्षीय मधु खनाल माओवादीका पुराना मतदाता हुन्। तर शान्ति प्रक्रियामा आएपछि माओवादीले देखाएको सत्तामोहबाट वितृष्णा उत्पन्न भएर अघिल्लो चुनावमा भोट नै नहालेको उनी बताउँछन्।
यसपालि भने घन्टीमा भोट हाल्ने र रास्वपालाई सत्तामा पुर्याउने मन भएको बताए।
'२०६४ सालमा आम जनताले नेकपा माओवादीलाई अत्यधिक मत दिएर सरकारमा पुर्याएका हुन्। तर त्यो पार्टीले जनताको अपेक्षा अनुसार काम गर्न सकेन। सत्तामा पुगेपछि अरू पार्टीजस्तै भयो। अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) ले गठबन्धन फेरी फेरी प्रधानमन्त्री हुने लोभ देखाए। अहिले त्यो पार्टीको कुनै हैसियत छैन। भएभरका साना कम्युनिस्ट पार्टी जोडेर नयाँ समूह बनाउनुपर्ने अवस्थामा पुगेको छ,' उनले भने, 'त्यसैले यसपालि म नयाँ पार्टी (रास्वपा) लाई हेर्ने पक्षमा छु।'
पछिल्लो समय अन्य राजनीतिक दलप्रति आम जनतामा जति वितृष्णा जागेको छ र रास्वपाप्रति जस्तो आकर्षण छ, त्यसलाई हेर्दा यो पार्टीलाई एकचोटि सत्तामा पुर्याएर सरकार चलाउने अवसर दिनैपर्ने उनको भनाइ छ।
'देशव्यापी लहर हेर्दा रास्वपालाई एकचोटि सत्तामा पुर्याउनैपर्छ, सरकार बनाउन दिनैपर्छ। त्यसपछि बल्ल यो पार्टी कस्तो हो, यसले बोलेजस्तो काम गर्छ कि गर्दैन भन्ने थाहा हुन्छ,' मधुले अगाडि भने, 'सरकारमा गएर पनि केही गर्न सकेन भने रास्वपाको त्यही हविगत हुन्छ, जुन अहिले माओवादीको भएको छ।'
मधु खनाल
तिलोत्तमा नगरपालिका–६, बिपी मार्गका कमल पाण्डे रास्वपालाई पहिलेको कांग्रेससँग तुलना गर्छन्।
कांग्रेसका यी पुराना मतदाताका अनुसार पहिले कांग्रेसजस्तै अहिले रास्वपामा पनि युवा, जुझारू र सपना देख्ने क्षमता भएका नेताहरू धेरै छन्। उनले बालेन, रवि, स्वर्णिम वाग्ले र सोविता गौतम आफूलाई मनपर्ने नेता भएको बताए।
'म कांग्रेसको पुरानो मतदाता हुँ। तर पार्टीको गतिविधि देखेर दिक्क लाग्यो। स्वार्थका लागि जोसँग पनि गठबन्धन गर्न पछि नपर्ने प्रवृत्ति देखेर मैले अघिल्लोचोटि नै घन्टीमा भोट हालेको हुँ,' यसपालि पनि घन्टीमै भोट हाल्न लागेका पाण्डेले भने, 'कम्तीमा एकचोटि रास्वपालाई सरकारमा पुर्याउन र बालेनलाई प्रधानमन्त्री बनाउन पाए देशमा केही परिवर्तन होला कि भन्ने आस छ। पुराना पार्टीले गर्न नसकेका काम नयाँ युवाहरूले गर्लान् कि भन्ने लागेको छ।'
बालेनलाई पाँच वर्ष सरकार चलाउने अवसर दिन रास्वपालाई बहुमत चाहिने भन्दै धेरै मतदाताले आफ्नो मत घन्टीमा जाने बताएका छन्। बालेनले काठमाडौं महानगरपालिकामा मेयर हुँदा 'राम्रो काम गरेको' र त्यस्तै काम देशभरि हुन सक्ने आशा रास्वपालाई मत दिन्छु भन्नेहरूको छ।
'एउटा मेयरका रूपमा राजधानी सहरको कायापलट गर्न सक्ने व्यक्तिले प्रधानमन्त्री हुन पाए कति धेरै काम गर्लान् भन्ने मलाई लागेको छ,' बुटवल उपमहानगर–११ बुद्धनगरका ५७ वर्षीय विष्णुकुमारी श्रेष्ठले भनिन्, 'सिट पुगेन भने बालेनलाई सरकार चलाउन गाह्रो हुन्छ। पुराना दलहरूसँग सम्झौता गर्नुपर्छ। त्यसैले यसपालि प्रत्यक्ष, समानुपातिक दुवै भोट रास्वपालाई दिने हो।'
'रवि र बालेन मिलेर काम गरे देश बन्छ भन्ने लाग्छ,' उनले भनिन्।
यो निर्वाचन क्षेत्रका प्रत्येक वडाका अधिकांश घरका छोरी वा छोरा पढाइ वा रोजगारका लागि विदेशमा छन्। रास्वपालाई भोट दियो भने कम्तीमा स्वदेशमै रोजगारीको अवसर सिर्जना होला भन्ने पनि उनीहरूको आस छ।
विदेशमा भएका मात्र होइन, स्वदेशमै रहेका युवा पनि आफू र आफ्नो परिवारको भोट रास्वपातिर जाने बताउँछन्।
हामीले भेटेकामध्ये पहिलो पटक भोट हाल्न लागेका बहुसंख्यक युवा मतदाता रास्वपाको पक्षमा खुलेका थिए। उनीहरूले एमाले वा कांग्रेसतिर जान सक्ने आफ्ना आमाबुबाको मत पनि घन्टीतिर तान्ने प्रयास गरिरहेको खुलाए।
जेनजी आन्दोलन बेला सरकारको नेतृत्वमा रहेको एमाले र कांग्रेसले खासगरी युवा पुस्तालाई कुनै पनि ढंगमा आकर्षित गर्न नसकेको हामीले पायौं। यसको प्रत्यक्ष फाइदा रास्वपाले उठाउने देखिन्छ।
विगतको चुनावी गठबन्धनले खासगरी नेपाली कांग्रेसलाई ठूलो घाटा पारेको हामीले पाएका छौं।
तिलोत्तमा नगरपालिका–३ का ४५ वर्षीय शिवप्रसाद खनाल कांग्रेसका पुराना मतदाता हुन्। पुर्खौंदेखि कांग्रेसलाई नै भोट हाल्दै आएको उनी बताउँछन्। तर कांग्रेसले सत्ताको लोभमा कहिले एमाले, कहिले माओवादीसँग गठबन्धनको राजनीति सुरू गरेपछि अघिल्लो चुनावमै घन्टीमा भोट हालेको उनको भनाइ छ।
'२०७२ सालपछि नै कांग्रेस बिग्रियो। अब यो सप्रिने संकेत मैले देखेको छैन,' उनले भने, 'विशेष महाधिवेशनपछि पार्टीले एउटा सकारात्मक लाइन त समातेको छ, तर त्यसले निरन्तरता पाउँछ कि पाउँदैन भन्न सकिन्न।'
'जेनजी आन्दोलनपछि बेलैमा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेको भए र त्यसपछि चुनावमा गएको भए स्थिति फरक हुन्थ्यो। कांग्रेसको जनाधारमा अहिलेजस्तो क्षति हुन्थेन। म आफै पनि रूखमा भोट हाल्थेँ,' दोस्रो पटक घन्टीमा भोट हाल्ने मन बनाएका शिवप्रसादले भने।
एमालेका पुराना मतदाताले जेनजी आन्दोलनमा भएको दमनको जबाफदेहिता पार्टी नेतृत्वबाट खोजिरहेका छन्। नेतृत्व अहिलेसम्म त्यसबारे मौन रहेको र जेनजी आन्दोलनको मर्म अनुसार पार्टी रूपान्तरण नभएको भन्दै उनीहरूले त्यसको जबाफमा मत फेर्ने निष्कर्ष सुनाए।
हामीले रूपन्देही–२ का मतदातासँग कुरा गर्दा एमालेका विष्णुको खासै ठूलो आलोचना कसैले गरेनन्। स्थानीय स्तरमा उनले गरेका योगदानको धेरैले खुलेरै प्रशंसा गरे।
बुटवल उपमहानगर–११, बुद्धनगरका ३० वर्षीय शिव शर्मा यसपालि पहिलो पटक मतदान गर्दै छन्। उनले आफ्नो पहिलो भोट एमालेका विष्णुलाई दिने बताए।
'पहिले बुद्धनगर आउँदा कति सकस थियो! मानिसहरू झोलुंगे पुलबाट आउन मिले पनि गाडी लिएर आउन धेरै घुम्नुपर्थ्यो। अहिले पक्की पुल र पक्की सडक बनेको छ। यो सबै विष्णु पौडेलको देन हो,' उनले भने, 'त्यसैले मेरो पहिलो भोट उहाँलाई नै जान्छ।'
तर सबै मतदाताले यसरी सोचेका छैनन्।
स्थानीय स्तरमा उनको कामबाट सन्तुष्ट भए पनि राष्ट्रिय स्तरमा उनको भूमिकाप्रति एमालेकै धेरै मतदाता असन्तुष्ट रहेको हामीले पायौं।
खासगरी पार्टीको केन्द्रीय तहमा अध्यक्ष केपी शर्मा ओलीको 'व्यक्तिवादी प्रवृत्ति' विरूद्ध उभिन नसकेको र जेनजी आन्दोलनपछि पार्टीलाई परिवर्तनतर्फ अघि बढाउन भूमिका नखेलेको भन्दै एमाले मतदाताहरूले नै विष्णुको आलोचना गरे।
'पार्टी हामीले सोचेजस्तो भएन। विष्णु पौडेलले आफ्नो क्षेत्रका लागि राम्रो काम गरेका हुन्, तर केन्द्रीय स्तरमा सही पोजिसन लिन सकेनन्। पार्टीलाई सुधारतर्फ डोहोर्याउन भूमिका खेल्न सकेनन्,' बुटवल उपमहानगर–११ देवीनगरका ५६ वर्षीय ध्रुव केसीले भने, 'नेताले आवश्यक पर्दा पार्टीलाई दिशा दिन सक्नुपर्छ।'
अघिल्लो पटक एमालेलाई भोट हालेका र यसपालि रास्वपालाई भोट हाल्ने मन बनाएका ध्रुवले भने, 'आम जनताले यसपालि पुराना पार्टीहरूलाई परिवर्तनको सन्देश दिँदैछन्। तिमीहरू बदलिएनौ भने सक्किन्छौ भन्ने सबक सिकाउँदै छन्।'
***
यी पनि पढ्नुस्– सेतोपाटी संविधान मान्छ, सर्वोच्च अदालत जान्छ
सेतोपाटी चुनाव विश्लेषण – १ ► चितवन–३ मा सोविता गौतमले जित्ने प्रबल सम्भावना
सेतोपाटी चुनाव विश्लेषण– २ ► काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङबीच
सेतोपाटी चुनाव विश्लेषण– ३ ► दाङ–२ मा रास्वपाका विपिन आचार्य अरूभन्दा धेरै अगाडि