सेतोपाटी चुनाव विश्लेषण– २
काठमाडौंको कागेश्वरी नगरपालिकामा पर्छ गागलफेदी गाउँ।
हामी पुग्दा बिहानको घाम गाउँमा भर्खरै पसेको थियो। ३० वर्षीय सोनम लामा आफ्नो घरको पिँढीमा घोप्टो परेर बसेका थिए।
उनको हात मोबाइलमा तलमाथि सरिरहेको थियो।
हामीले नमस्कार भनेपछि हामीतिर हेरे।
पिँढीमा भएको कुर्सीमा हामी बस्यौं र कुराकानी सुरू गर्यौं — फोन हेरिरहनुभएको रहेछ, इन्टरनेट राम्रो छ गाउँमा?
'इन्टरनेट छ तर राम्ररी टिप्दैन। कहिले त फोनै टिप्दैन,' उनले भने, 'हामीले कति कुरा राख्यौं तर कसैले सुनेन।'
जोरपाटीबाट करिब १४ किलोमिटर टाढाको यो गाउँमा बिजुली र बाटो भने राम्रो छ।
सोनम केही वर्ष मलेसियामा काम गरेर दुई वर्षअघि फर्केका युवा हुन्। फेरि वैदेशिक रोजगारमा जाने योजना बनाइरहेका छन्।
'गाउँमा केही काम छैन। तल सहरतिर पनि तलब नै राम्रो छैन। महँगी यस्तो छ। विदेश नगइ होला जस्तै भएन,' उनले भने।
यसपालि उनी पहिलो पटक चुनावमा भोट हालेर विदेश जाने मन बनाइरहेका छन्।
चुनावको प्रसंग उठ्ने बित्तिकै उनले कसलाई मत दिने, किन दिने भन्ने सुनाए।
'पहिलेका चुनावमा त म विदेशमै थिएँ। यसपालि मेरो पहिलो भोट हो, नयाँलाई दिने हो,' सोनमले निर्णय गरिसकेका छन्, 'कुलमान घिसिङले केही गर्लान् कि भन्ने लागेको छ।'
चुनावकै कुरा चलिरहेका बेला उनकै गाउँका ३३ वर्षीय कौशल लामा आइपुगे।
उनले भने कसलाई भोट दिने भनेर निर्णय गरिसकेका छैनन्।
'पहिला त एमालेलाई दिएको हो। अहिले त कसलाई दिने, कसलाई,' उनले भने।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ घुम्दा कौशल जस्तै दोधारमा परेका वा कसलाई भोट दिने भनेर अहिलेसम्म निर्णय गर्न नसकेका मतदाताहरू पनि हामीले उल्लेख्य संख्यामा भेट्यौं।
सेतोपाटी टिमले यो निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनहरा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ का गागलफेदी, सुन्दरीजल, आरूबारी, गोकर्ण, जोरपाटी र काठमाडौं महानगरपालिको वडा नम्बर ६ का बौद्ध क्षेत्र पुगेर धेरै भन्दा धेरै मतदातासँग कुरा गरेको छ।
फागुन २१ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका नेता रामेश्वर फुयाल, नेपाली कांग्रेसका रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निरज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. सुन्दरसिंह बोहरा (सुन्दरराम) लगायत विभिन्न दलबाट १६ जना प्रतिस्पर्धामा छन्।
मतदातासँग कुरा गरेपछिको हाम्रो विश्लेषणमा यहाँ मुख्य प्रतिस्पर्धा रास्वपाका राजु र उज्यालोका कुलमानबीच छ।
हाम्रो विश्लेषणमा राजु कुलमानभन्दा केही अगाडि छन्। तर दुई जनाबीच नतिजा जता पनि जान सक्ने 'रेन्ज' भित्रको अन्तर मात्र छ।
त्यसमाथि अझै पनि कसलाई मत दिने भन्ने निर्णय नगरिसकेका मतदाताको संख्या ठूलो छ। अन्तिमा समयमा उनीहरूले गर्ने निर्णयले मतपरिणाम फैसला हुनेछ।
राजुलाई मत दिन्छु भन्ने कैयन मतदाताले उनलाई भेटेका छैनन्, कतिले चिनेका समेत छैनन्।
काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएर चुनावमा होमिएका उनले के के मुद्दा उठाएका छन् र यसअघि के, कस्ता काम गरेका थिए भन्ने पनि मतदातालाई थाहा छैन। उनीहरूलाई यसमा खासै चासो पनि देखिएन।
खासमा मतदाताले यहाँ राजुलाई होइन, घन्टी (रास्वपाको चुनाव चिह्न) रोजेको देखिन्छ।

घन्टीलाई मत हाल्न तयार भएका मतदातासामु रास्वपाले काठमाडौं–३ मा राजु पाण्डे, शर्मा वा अधिकारी जसलाई उम्मेदवार बनाएको भए पनि फरक पर्दैन थियो। किनभने, मतदाताहरू यहाँ उम्मेदवार होइन, दललाई चुन्न तयार देखिन्छन्।
कतिपय मतदाताले भने बालेन शाह रास्वपामा गएकाले घन्टीमा मत दिने निर्णय गरेको बताए। घन्टीमा मत दिने निर्णय गरेका धेरै मतदाताले आफूहरूलाई रवि लामिछाने र बालेन शाहको टिममा विश्वास भएको बताए।
रविको पासपोर्ट र मुद्दाहरूका कारण केही प्रश्न रहे पनि उनी र बालेन सँगै उभिएकाले उनीहरूलाई रोजेको पनि कतिपय मतदाताले बताए।
६४ हजार ४७९ मतदाता रहेको यो क्षेत्रमा रास्वपाले पहिले कांग्रेस र एमालेलाई मत दिएका मतदातालाई नै आफूतिर धेरै आकर्षित गरेको देखिन्छ। यसपालि घन्टीमा मत दिन्छु भनेर हामीसँग जति मतदाताले भने, त्यसमध्ये दुई–तिहाईले गत निर्वाचनमा कांग्रेस र एमालेलाई मत दिएको बताए।
यो दुई–तिहाईमा पहिले कांग्रेस र एमालेलाई मत दिएका लगभग बराबरको संख्यामा छन्।
कांग्रेस–एमालेलाई गत निर्वाचनमा मत दिएका मतदाताको यति ठूलो संख्या किन यसपालि रास्वपालाई मत दिन चाहिरहेका छन्?
काठमाडौं महानगर–६ सुविधा गाउँकी बासिन्दा चिना तिमिल्सिनाले भनिन्, 'कांग्रेस र एमालेले केही गर्न नसकेकाले म यसपालि रास्वपालाई भोट दिन्छु।'
सुविधा गाउँमा पानीको असाध्यै अभाव छ। जुन चुनावमा पनि यहाँका मतदाताले उठाउने मुद्दा यही हो। तर अहिलेसम्म यो क्षेत्रमा पानी ल्याएर जनताको समस्या समाधान कसैले नगरेको उनको गुनासो छ।
'हाम्रोमा पिउने पानी मात्र होइन, भाँडा माझ्ने, लुगा धुने पानी पनि अभाव छ,' चिनाले भनिन्, 'पुरानाले केही गरेनन्। नयाँले केही गर्लान् कि!'
यहाँ रास्वपाको अग्रताको अर्को कारण पहिलो पटक मत हाल्न लागेका मतदाता पनि हुन्। हामीले भेटेका अधिकांश नयाँ मतदाताको रोजाइमा रास्वपा नै छ।
गोकर्णेश्वर–६ कि सृष्टि चापागाईं यसपालि १८ वर्ष पुगिन्। उनले मतदाता नामावलीमा नाम लेखाइसकेकी छन् र पहिलो पटक भोट हाल्दै छिन्। उनले कसलाई भोट हाल्ने निर्णय पनि गरिसकेकी छन्।
सृष्टि जस्तै रास्वपालाई मत दिन्छु भन्ने कतिपय बालेनले फुटपाथमा व्यवसाय हटाएको, पार्किङ व्यवस्थित गरेको र शिक्षामा राम्रो गरेको सुनाए।
'घन्टीमा भोट हाल्ने हो,' उनले भनिन्, 'किनभने रास्वपामा बालेन छ। उसले पहिलो पटक देशमा सिस्टम ल्यायो नि त! फोहोरमैला हटायो। काम गर्न खोज्यो।'
काठमाडौं–३ मा उम्मेदवारको व्यक्तित्वका हिसाबले यहाँ मतदाताको धेरै आकर्षण कुलमान घिसिङ प्रति छ।
कुलमानलाई भोट दिन्छौं भन्नेहरू लगभग सबै जनाले १८ घन्टा लामो लोडसेडिङ हटाएको जस उनैलाई दिए।
कागेश्वरी मनोहरा वडा नम्बर–२ आलापोटका प्रशान्त धिमाल तीमध्ये एक हुन्।
'हामीले मोबाइल बोक्न सक्ने भएका छौं नि, कुलमानले बिजुली बालेर होइन?,' उनले भने, 'नत्र त लोडसेडिङले मोबाइल चार्ज गर्न पनि गाह्रो थियो।'
कतिपयले भने उनले चुनावी सरकारमा आएपछि काठमाडौं–३ का कतिपय क्षेत्रमा बिजुली, बाटोका लागि बजेट ल्याएको समेत बताए।
उनले लोडसेडिङ हटाउन जस्तो काम गरे, अरू विकास निर्माणमा पनि त्यस्तै काम गर्लान् भन्ने आश लागेरै भोट दिन्छु भन्नेहरू धेरै थिए। कुलमान काठमाडौं– ३ मा प्रतिस्पर्धी हुनुको मुख्य कारण उनको विगतको कामको 'ट्र्याक रेकर्ड' र उनले भोलि पनि काम गर्न सक्छन् भन्ने अपेक्षा नै हो।
भर्खरै खुलेको उनको नेतृत्वको पार्टी उज्यालो पार्टी नेपालबारे बरू मतदातालाई खासै चासो छैन। तर कुलमानलाई उनीहरू मत दिन चाहन्छन्।
त्यसैले यो क्षेत्रमा एउटा बलियो 'व्यक्ति' र बलियो 'दल' बीच प्रतिस्पर्धा छ। कुलमान र रास्वपाबीच प्रतिस्पर्धा छ।
यसपालि कुलमानलाई मत दिने कि रास्वपामा दिने भनेर अहिले पनि निर्णय गरिनसकेका (अनिर्णित) धेरै मतदाता हामीले भेट्टायौं। उनीहरूलाई उम्मेदवार कुलमान मनपरेको छ। दल रास्वपा मनपरेको छ। कतिले आफूहरू अझै दोधारमा रहेको बताए।
गोकर्णेश्वर– ६ का एक जना मतदाता त्यस्तै दोधारमा छन्।
उनले यसअघि सधैं कांग्रेसमा भोट हालेका थिए। यसपालि नयाँलाई दिने सोचेका छन्। तर कुलमानको पार्टीलाई भोट दिने कि बालेनकोलाई भन्नेमा आफू बहुत दोधारमा परेको सुनाए।
'कुलमान मनमा हुनुहुन्छ, बालेनमा विश्वास छ,' उनले भने, 'यसपालि पुरानालाई त नदिने हो तर नयाँ कसलाई दिने निर्णय गरिसकेको छैन।'
कुलमानले पाउने भोट कहाँबाट आउँदैछ?
कुलमानलाई मत दिन्छु भनिरहेका बहुसंख्यक मतदाता हिजो कांग्रेस र एमालेलाई मत दिएका मतदाता हुन्।
हाम्रो विश्लेषणमा कुलमानलाई मत दिने मतदातामध्ये झन्डै तीन–चौथाईले हिजो कांग्रेस र एमालेलाई नै मत दिएका हुन्। एमालेको तुलनामा हिजो कांग्रेसलाई मत दिएका धेरै मतदाता कुलमानतर्फ आकर्षित भएका छन्।
यो निर्वाचन क्षेत्रमा संसदीय चुनावमा कांग्रेसका सन्तोष चालिसेले जितेका थिए। त्यसैले यहाँ हिजो नेपाली कांग्रेसले पाएको मत नै धेरै थियो। र, यसपालि रास्वपा र कुलमानले पाउने मत पनि कांग्रेसबाटै धेरै जाने हाम्रो विश्लेषण छ।
कागेश्वरी मनोहरा–२ का प्रशान्त धिमालले यसअघि सन्तोषलाई नै भोट हालेका थिए। स्थानीय चुनावमा पनि कांग्रेसकै उम्मेदवारलाई भोट दिएको बताए।
तर आफ्नै घरअघिको पर्ति जग्गा व्यक्तिको नाममा पुर्याउँदा पनि स्थानीय सरकार र सांसदले केही गर्न नसकेको र 'उल्टै मिलेको' देखेर आफूलाई वाक्क लागेको उनले बताए।
'यही हो त्यो जग्गा,' उनले आफ्नो घरअगाडिको जग्गा देखाउँदै भने, 'यस्ताले त देश बनाउँदैनन्, बदल्दैनन्। यिनीहरूले यत्रो पैसा थुपारेर राखेका रहेछन्। बरू, अब घिसिङकै छोराले खाओस्। म त उसैलाई भोट दिन्छु।'
गोकर्णेश्वर– ३ मा पर्ने तारेभिरबाट सुन्ताखानतिर जाँदै गरेका एक जना पुरूषले यसपालि कुलमानलाई भोट दिने निर्णय गरिसकेको बताए।
'म यसपालि दायाँबायाँ गर्दिनँ। सिधै उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिम (बल्ब) मा भोट हाल्ने हो,' उनले भने, 'लोडसेडिङबाट उसैले मुक्त गराएको हो।'
उनका अनुसार तारेभिरमा बिजुलीका पोलहरू केही समयसम्म अस्तव्यस्त थिए।

'तीन महिना मन्त्री हुँदा उसले यहाँका बिजुली पोलहरू तुरून्तै मिलाउन लगायो। अनि उसलाई मत नदिने?' नाम बताउन नचाहेका उनले भने।
यसअघि उनले एमालेलाई मत दिँदै आएका थिए। अहिले एमालेको नाम समेत सुन्न नचाहने पनि उनले बताए।
'जेनजी आन्दोलनमा भएको घटनाले म एमालेबाट दिक्दार भएको छु,' उनले भने।
काठमाडौं– ३ मा कुलमानका केही क्षेत्रगत भोट पनि रहेको हामीले पायौं।
काठमाडौं– ३ को गागलफेदी, तारेभिर, सुन्ताखान र सहरका कतिपय तामाङ बस्तीहरूमा कुलमानप्रति ठूलो आकर्षण भएको हामीले पायौं।
मुख्य रूपमा कांग्रेस र एमालेमा गएको मत नै रास्वपा र कुलमानले यसपालि तान्ने हुनाले यो चुनावमा यी दुई दलको मत पहिलेभन्दा धेरै नै घट्ने छ। यसअघिका चुनावमा यो क्षेत्र कांग्रेस र एमालेले आलोपालो जित्दै आएका थिए।
२०५६ सालमा एमाले, २०६४ सालमा कांग्रेस, २०७० र २०७४ सालमा एमाले अनि यसअघिको चुनावमा कांग्रेसले जित्यो।
हामीसँगको कुराकानीमा यसपालि एमालेलाई मत दिन्छु भन्ने मतदाताको तुलनामा कांग्रेसलाई मत दिन्छु भन्ने मतदाता नै धेरै छन्।
यसमा अर्को आयाम पनि छ।
अहिले पनि अनिर्णित मतदातामध्ये धेरै पहिले कांग्रेस र एमालेलाई मत दिएका मतदाता नै छन्। ती मतदाता कांग्रेसमै फर्किए भने कांग्रेस पनि प्रतिस्पर्धामा माथि उक्लिन्छ। एमालेका मतदाता पनि फर्किए भने उसले पनि सम्मानजनक मत ल्याउने छ।
एमालेलाई यसअघि मत दिएका धेरै मतदाताले अहिले कसलाई मत दिने भन्ने निर्णय गर्न सकेका छैनन्। अन्तिम समयमा उनीहरू एमालेमै फर्किन्छन् वा अरू दललाई मत दिन्छन् भन्नेमा पनि एमालेले पाउने कुल मत निर्धारण हुनेछ।
गोकर्णेश्वर नगरपालिका– ६ का एक मतदाता जेनजी आन्दोलनपछि कांग्रेसले नेतृत्व परिवर्तन गरे पनि एमालेले पुरानै नेतृत्व कायम राखेकामा निराश छन्।
नेतृत्व परिवर्तन गरेकाले यसपालि कांग्रेसलाई मत दिने उनले बताए। उनले आफ्नो नाम भने गोप्यनै राख्न चाहे।
'कांग्रेसले नेतृत्व परिवर्तन गरेर देखायो। गगन थापाले राम्रो गर्यो। आँट भएको मान्छे हो। त्यही भएर यसपालि म कांग्रेसलाई भोट दिने हो,' उनले भने, 'नयाँबाट त मलाई केही आश छैन।'
गोकर्णेश्वर–७ निवासी कांग्रेसका एक वृद्ध क्रियाशील सदस्यले आफूले दल छाड्न लागे पनि गगन थापा सभापति निर्वाचित भएपछि कांग्रेसमै बस्ने बताए।
'कांग्रेस सकिनै लागेको थियो। अब चाहिँ बिउ जोगाउने भयो। शेरबहादुर देउवा नै सभापति भएका भए नयाँ दलमा हाल्थेँ। गगन भएकाले कांग्रेसमै हाल्छु,' उनले भने।
यसपालिका एमाले उम्मेदवार रामेश्वर फुयालको गाउँ गागलफेदी हो। यो गाउँबाट उनलाई धेरै भोट आउने देखिन्छ। क्षेत्रैभरि घुम्दा रामेश्वरको आलोचना कसैले गरेको हामीले भेटेनौं।
उनले २०७० सालमा सांसद हुँदा राम्रो काम गरेको भनेर धेरैले सम्झिए।
४५ वर्षीया निर्मला लामा तिनैमध्ये एक हुन्। उनले २०६० सालमा आफू सुत्केरी हुन नसकेर पाएको दु:ख सम्झिइन्।
'त्यो बेला अस्पताल जान सुन्दरीजलसम्म हिँडेरै जानुपर्थ्यो। अहिले त यहाँ सुत्केरी हुन नसके गाउँमै एम्बुलेन्स आउँछ,' उनले भनिन्, 'अस्पतालमा बीमा छ, स्कुल पनि राम्रै छन्। सहिदपार्क बनेको छ। रामेश्वर फुयालले धेरै गरेका हुन्। अहिले मान्छेले नयाँ नयाँ भन्छन् के, उनीहरूले के गर्लान्! त्यसैले म त चिनेको मान्छेलाई मत दिने हो।'
जेनजी आन्दोलनमा युवाहरू मारिएको घटनामा दोष यहाँका धेरै मतदाताले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई दिएको हामीले पायौं। त्यही कारण धेरै मतदाताको एमाले प्रति रोष थियो।
भदौ २४ गते शेरबहादुर देउवाको घरमा जलिरहेको अवस्थामा भेटिएको पैसाको पनि धेरै मतदातालाई चासो रहेछ। देउवाको घरमा जलेका नोटको भिडिओ हेरेका धेरै मतदाताले कांग्रेसलाई भोट नहाल्ने बताए।
गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानकी ५३ वर्षीया इन्दिरा भण्डारीले अब पुराना दलका नेतालाई हेर्नसम्म पनि मन नलागेको बताइन्।
'देशमा जे जस्तो घटना भए पनि प्रधानमन्त्री जबाफदेही हुन आवश्यक हुन्छ। तर ओलीले आफ्नो जिम्मेवारी देखाएनन्। अभिभावकको भूमिका निर्वाह गरेनन्,' इन्दिराले भनिन्, 'कतिको कोख रित्तियो। कतिको सिन्दुर पुछियो। त्यो देखेर पुरानो दल मन पर्न छोड्यो।'
पुराना दलहरू समाजप्रति बफादार र जिम्मेवार नहुँदा उनीहरूप्रति विश्वास लाग्न छाडेको उनी बताउँछिन्।
पहिले कांग्रेसलाई मत दिएका तर अहिले अनिर्णित मतदाताहरू तीन दिशामा तानिएका छन्।
कतिपयलाई कांग्रेसमै हालौं कि भन्ने छ।

कतिलाई रास्वपा वा कुलमान कसलाई दिऊँ भन्ने छ।
अनि कतिपयले कांग्रेसमा नेतृत्व परिवर्तन भएर गगन थापा सभापति निर्वाचित भएपछि केही आशा बढेको बताए। तर अझै पनि कसलाई मत दिने भन्ने टुंगो गरिसकेका छैनन्।
'गगन थापाले राम्रै गरेको छ। ऊ लडेर आएको मान्छे हो, मुलुक सम्हाल्न सक्छ भन्ने लाग्छ। बालेन पनि ठिकै हो, डाङडुङ गरेर आएको हो। मैले नयाँ, पुरानो भनेर त हेर्दिनँ। जसले पत्यारलाग्दो कुरा गर्छ, उसैलाई दिने हो,' रामहिटीको एउटा पसलमा भेटिएका युवा मतदाताले भने।
उनी जस्तै दोधारमा परेका अरू तीन जना युवा हामीले भैट्यौं। उनीहरू कांग्रसलाई मत हाल्ने कि कुलमानलाई भन्ने दोधारमा थिए।
ती मतदातामध्येका एक जना हुन् विजय लामा।
उनले भने, 'घन्टीमा त हाल्ने होइन। देख्नुभएन, महानगरमा कसरी ठेलाहरूलाई लछारपछार गर्यो! काम गरी खानेको पेटमा लात हान्यो! सिस्टम चाहिँ बनाएन। यो राजा बस्ने सहर हो भनेजस्तो पो गर्यो। मजाले बुझाइ बुझाइ काम गरे पो हुन्छ। काम गरेर खाने वातावरण नबनाउनेलाई त हामी भोट हाल्दैन। हाम्रो क्षेत्रमा कांग्रेसको रमेश दाइ छ। काम गर्ने मान्छे हो। विकास गर्छ। कुलमान पनि छ। हामी कसलाई दिने दोधारमा छौं। अहिलेसम्म निर्णय गरेको छैन।'
रास्वपालाई मत दिन चाहेका धेरैले 'उनीहरूलाई पनि एक पटक हेरौं न' भनेका थिए।
'पुरानाले केही गरेनन्, नयाँले केही गर्ला कि, एक पटक हेरौं न!,' सबैजसोले हामीसँग भनेको पहिलो वाक्य यही हो।
रास्वपा सरकारमा गयो भने के काम गर्ला, तपाईंहरूलाई यो दलसँग के अपेक्षा भन्ने प्रश्न सोध्दा भने धेरै जना अलमल परे।
केही सम्झेजस्तो गरेर पछि उनीहरूले 'विकास गर्छ, भ्रष्टाचार गर्नेलाई कारबाही गर्छ' भने। कतिपयले त पुराना दलको मेख मार्न पनि रास्वपालाई भोट दिन लागेको बताए।
कुमारीगालका ६४ वर्षीय शम्भु पौडेलले आफूले अहिलेसम्म एमालेलाई नै भोट हालेको बताए। तर यसपालि कुनै हालतमा एमालेलाई भोट नहाल्ने बताए।
'जेनजी आन्दोलनमा कलिला नानीबाबुहरूमाथि गोली हानिएपछि एमाले र ओलीले माफी माग्नुपर्दैन? उनीहरूको बदमासी विरूद्ध बोल्दा गोली हानियो, कति आमाबुबाको काख रित्तियो! आफू सरकारमा बस्दा गोली चलेपछि घुसपैठ भयो भन्न कुन नैतिकताले दिन्छ?,' उनले भने, 'आफ्नो कमजोरी भयो भनेर स्वीकार्नुपर्छ कि पर्दैन? यिनीहरूको मेख मार्न भए पनि यो पटक घन्टीलाई नै भोट दिने हो।'
गोकर्णेश्वर–९ की शर्मिला पौडेलले भने पुरानाले केही काम नगरेकाले भोट हाल्न मन नलागेको बताइन्।
'कसैलाई भोट दिएर केही नहुँदो रहेछ। न शिक्षा राम्रो छ, न स्वास्थ्य उपचार सस्तो छ। पैसा नभए छोराछोरी पढाउन पहाड फुटाउनुभन्दा चर्को छ,' उनले भनिन्, 'त्यसैले यो पटक त भोट नै नदिने सुर छ। हेरौं के हुन्छ?'
पाँच वर्षमा रास्वपाले पनि तपाईंहरूले आशा गरेजस्तो काम गरेन भने के हुन्छ भनेर हामीले सोधेका थियौं।
गोकर्णेश्वर – ४ का सन्तबहादुर तामाङले भने, 'अब नयाँलाई दिने हो, केही गर्छन् कि! यसपालिको भोटले पाँच वर्ष थेगिहाल्छ।'
उनी यत्ति मात्र भनेर हाँसे।
हाम्रो प्रश्नमा प्रायः मतदाताको टिप्पणी थियो — एक पटक रास्वपालाई मौका दिन लागेको हो। राम्रो काम गरेनन् भने विकल्प खोज्ने हो।
काठमाडौं–६ का चिरञ्जीवि केसीले भने, 'यिनले पनि नटेरे जनताले लघारेर ल्याउँछन्। यिनीहरूको आँखा खुलेकै होला।'
काठमाडौं–६ कै सिता सापकोटाले पनि एक पटक रास्वपामा भोट हालेर केही नबिग्रिने बताइन्।
'यसपालि त चुपचाप घन्टी छाप नै हो। यतिका वर्ष त कसैले गर्ला कि भनेर हेर्यौं, अब एक पटक घन्टीलाई दिएर के बिग्रिन्छ?'
गोकर्णेश्वर–३ का मिङ्ग्मा शेर्पा कांग्रेसका सदस्य हुन्। यसपालि निर्वाचनमा उनी पनि आफ्नो मत परिवर्तन गर्न चाहन्छन्।
'कांग्रेसी हुँ, तर सरकार रास्वपाले नै चलाओस्। कुनै पनि दलले ५ वर्ष हो चलाउने। बरू काम नगरे अर्को चुनावमा मत फेरौंला,' उनले भने।
यसरी नयाँ दललाई मत दिने लहर र बालेनसहितको रास्वपा प्रतिको आकर्षणका कारण काठमाडौं– ३ मा मुख्य रूपमा रास्वपाका राजु पाण्डे र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
यो पनि पढ्नुस्- सेतोपाटी संविधान मान्छ, सर्वोच्च अदालत जान्छ