सेतोपाटी चुनाव विश्लेषण–१
घर सुनसान थियो।
'भित्र को हुनुहुन्छ?' हामीले आवाज दियौं।
ढोका खुल्लै भएकाले 'नमस्ते' भन्दै हामी भित्र छिर्यौं।
भान्सामा एक युवती चिया पकाउँदै थिइन्।
हामीले आफ्नो परिचय दियौं र बिनानिम्तो घर आउनुको कारण खुलाउँदै भन्यौं, 'तपाईं यसपालि भोट हाल्दै हुनुहुन्छ?'
प्रश्न भुइँमा झर्न नपाउँदै उनले जबाफ दिइन्, 'किन नहाल्नू, जेनजी हो नि म त!'
२१ वर्षीया 'जेनजी' सरिना तामाङ यसपालि पहिलो पटक भोट हाल्दै रहिछन्। जेनजी आन्दोलनले नवयुवाहरूमा राजनीतिक सचेतना यति हलक्कै बढाएछ, चुनावी माहोलबारे कुरा गर्दा उनी निकै उत्साहित सुनिइन्।
प्लस–टू पास गरेकी सरिना जापान वा कुनै युरोपेली मुलुक जाने तयारीमा छिन्। उनी विदेश गएर काम सँगसँगै पढाइलाई पनि निरन्तरता दिन चाहन्छिन्।
'पढेर मात्र बस्नलाई आर्थिक क्षमता छैन, काम गर्दै पढ्नुपर्नेछ,' उनले भनिन्, 'इच्छा त मेरो नेपालमै बस्ने हो, तर यहाँ न राम्रो काम पाइन्छ, न पढाइ राम्रो छ। त्यसैले केही वर्ष विदेश जान्छु। पैसा पनि कमाइएला, सँगसँगै हातमा डिग्री पनि होला!'
आमाबुबाले वर्षौंदेखि भोट हाल्दा पनि जनताको दैनिक जीवनमा सुधार नदेखेकी सरिनाले आफ्नो जिन्दगीको पहिलो भोट 'परिवर्तनको पक्षमा' दिने मन बनाएकी छन्।
उनी भन्छिन्, 'सानैदेखि आमाबुबालाई भोट हालेको देख्दै आएँ। जसलाई हाले पनि केही भएन। न नेपालमा बस्ने वातावरण छ, न शान्तिसुरक्षा छ। कर र महँगीले जनता पछाडि परेका पर्यै छन्। त्यसैले मेरो भोट यसपालि नयाँ पार्टीलाई।'
उनले 'नयाँ पार्टी' भन्दै गर्दा दाहिने हातले 'घन्टी' बजाएको संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ मत जाहेर गरिन्।
हामीले सोध्यौं, 'नयाँ पार्टीबाट के आश गर्नुभएको छ?'
जबाफमा सरिनाले भनिन्, 'उहाँहरूमा देश बनाउने उत्साह देखिन्छ। बालेन शाहले काठमाडौं महानगरपालिकामा जुन किसिमको विकास ल्याउनुभयो, त्यही विकास देशभरि ल्याउन सक्नुहुन्छ। उहाँमा त्यो क्षमता पनि छ।'
'रवि (लामिछाने) दाइले पनि यो देशमा केही न केही नयाँ गर्नुहुन्छ जस्तो लाग्छ,' उनले अगाडि भनिन्, 'त्यसमाथि अहिले हाम्रो क्षेत्रबाट उठ्नुभएको सोविता गौतम निकै पढेलेखेको, कानुनका जानकार हुनुहुन्छ। हाम्रो देश बिग्रेको नियम–कानुन नभएर हो। भएका नियम–कानुन पनि राम्ररी पालना भएका छैनन्। उहाँजस्तो कानुन बुझेको मान्छेले जित्यो भने कम्तीमा नियम–कानुन राम्रो बनाउनुहुन्छ र त्यसले देशलाई राम्रो गर्छ भन्ने मलाई लाग्छ।'
सरिना तामाङ मात्र होइन, चितवन–३ मा पछिल्ला तीन दिन घुम्दा हामीले जेनजी उमेरका अधिकांश नवयुवामा यस्तै धारणा रहेको पायौं।
उनीजस्तै पहिलो पटक भोट हाल्न लागेका युवाहरूमा सोविताको 'क्रेज' अत्यधिक देखियो। अन्य उमेर समूहका मतदातामा पनि उनले आफ्नो प्रभाव बलियो बनाएको हामीले पायौं।
हामीलाई मतदाताले भनेका कुराबारे थप चर्चा गर्नुअघि मतदाताले हामीलाई भने अनुसार उनीहरू कसलाई मत दिने पक्षमा छन् हेरौं।
त्यसपछि उनीहरू किन, कुनै दल वा उमेदवारलाई मत दिने वा नदिने पक्षमा छन् चर्चा गर्नेछौं।
अहिलेसम्म मतदाताहरूमा २९ वर्षीया सोवितालाई लिएर जुन आशा र प्रभाव छ, चुनावका दिनसम्म त्यो कायम रहे उनले चितवन–३ मा चुनाव जित्छिन् भन्ने हाम्रो विश्लेषण छ।
सेतोपाटी टिमले तीन दिन लगाएर चितवन–३ का करिब ९०० मतदाताका घरटोल गएर उनीहरूसँग कुरा गरेपछिको विश्लेषणका आधारमा हामी यो निष्कर्षमा पुगेका हौं।
सेतोपाटी टिमले मतदातासँग गरेको यो कुराकानी कुनै वैज्ञानिक मत सर्वेक्षण होइन।
सकेसम्म धेरै मतदाताकहाँ पुगेर राजनीतिबारे, स्थानीय मुद्दाबारे, निर्वाचनमा उठेका दल र उमेदवारहरूबारे कुरा गर्ने, उनीहरूले राजनीतिलाई, दलहरूलाई र उम्मेदवारहरूलाई कसरी हेरिरहेका छन्, उनीहरूका लागि कुन कुन मुद्दा महत्त्वपूर्ण छन् र उनीहरू कसलाई, किन मत दिन चाहन्छन् जस्ता तमाम विषयमा मतदाताहरूसँग कुरा गर्नु र बुझ्नु हाम्रो ध्येय हो।
पछिल्ला केही निर्वाचनदेखि हामी सकेसम्म धेरै मतदाता कहाँ पुगेर यी विषयहरूमा कुरा गरिरहेका छौं र उनीहरूका कुरा लेखिरहेका छौं। उनीहरू कसलाई, किन मत दिन चाहन्छन् भन्ने पनि लेखिरहेका छौं। हाम्रो विश्लेषणको आधार यही हो।
वैज्ञानिक रुपमा 'स्याम्पल' छानेर गरिएका मत सर्वेक्षणहरूले पनि कुन दल वा उम्मेदवारले जित्छन् भनेर ठ्याक्कै भन्न सक्दैनन्। कैयन विकसित देश जस्तै अमेरिका, बेलायत र हाम्रै छिमेकी मुलुकमा गरिएका कैयन वैज्ञानिक मत सर्वेक्षणले गरेका प्रक्षेपणहरू मिलेका छैनन्।
त्यसैले हामीले 'र्यान्डम' मतदाताकहाँ गएर गरेका कुराकनीका अधारमा गरेको चुनाव परिणामको विश्लेषण पनि ठ्याक्कै र सधैं मिल्छ भन्ने छैन। तर विगतमा हामीले मतदातासँग गरेको कुराकानीका आधारमा गरेका अधिकांश विश्लेषणहरू मिलेका छन्। मत प्रतिशत केही तलमाथि परे पनि अधिकांशमा मत परिणाम पनि मिलेका छन्।
सेतोपाटीमा हामीले लेखेका सबै समाचार जस्तै निर्वाचन विशलेषणको जिम्मेवारी पनि हाम्रै हुनेछ।
हामीले कुरा गरेका करिब ९ सय मतदातामध्ये करिब ४६ प्रतिशत मतदताले रास्वपाकी सोवितालाई मत दिन्छु भने।
उनलाई मत दिन्छु भन्नेमा गत निर्वाचनमा रास्वपाको चुनाव चिह्न घन्टीमा मत दिएकाबाहेक माओवादी, एमाले र राप्रपालाई मत दिएकाहरू पनि हामीले उल्लेख्य संख्यामा भेट्यौं।
गएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले उम्मेदवार उठाएको थिएन। माओवादी लगायत पाँच दलले चुनाव गठबन्धन गरेर लडेकाले कांग्रेसले माओवादीका उम्मेदवारलाई सघाएको थियो।
यसपालि सोवितालाई मत दिन्छु भन्ने करिव एक तिहाई तिनै मतदाता छन् जसले अघिल्लो पटक माओवादीका उम्मेदवारलाई मत दिएका थिए। ती मतदातामध्ये अधिकांश परम्परागत रूपमा कांग्रेसलाई मत दिँदै आएका मतदाता हुन् र केही माओवादीलाई दिएका मतदाता पनि हुन्।
अघिल्लो चुनावमा एमाले र राप्रपालाई मत दिएका कैयन मतदाताले पनि यसपालि सोवितालाई मत दिने बताएका छन्।
हामीसँगको कुराकानीमा उनलाई मत दिन्छु भनेकामध्ये २१ प्रतिशतले गएको चुनावमा एमालेका उम्मेदवारलाई सूर्यमा मत दिएको बताए। त्यस्तै करिब १७ प्रतिशतले राप्रपालाई मत दिएको बताए।
यो निर्वाचन क्षेत्रबाट गएको चुनावमा राप्रपाका नेता विक्रम पाण्डले जितेका थिए। सधैं यही क्षेत्रबाट चुनाव लड्दै आएका विक्रमले यसपालि निर्वाचन नलड्ने घोषणा गरेपछि राप्रपाका अधिकांश मतदाता सोवितातर्फ मोडिएका छन्। केहीले नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई पनि मत दिने बताए।
हामीसँग कुरा गरेका पहिलो पटक मत खसाल्न लागेका अधिकांश मतदाताको रोजाइमा सोविता नै परेकी छन्। पहिलो पटक मत हाल्न लागेका मतदाताको सानो संख्याले भने हाल भरतपुरकी निवर्तमान मेयर रेनुको काम मन पराएर उनलाई मत दिने बतायो।
हाम्रो विश्लेषणमा सोवितापछि दोस्रो धेरै मत रेनुले नै ल्याउने छिन्। तर उनी सोविताभन्दा धेरै पछि छन्।
हामीसँग कुरा गरेकामध्ये २३ प्रतिशत मतदाताले रेनुलाई मत दिने बताए। तीमध्ये अधिकांश अघिल्लो पटक माओवादीलाई नै मत दिएका छन् भने मेयरका रूपमा उनले गरेका काम मन पराएर मत दिने अरू दलका मतदाता पनि छन्। उनलाई यसपालि मत दिन्छु भन्ने मध्येका ९ प्रतिशत मतदाताले अघिल्लो पटक राप्रपालाई मत दिएका थिए।
विघटित संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले प्रति भने यो क्षेत्रमा मतदाताको आकर्षण खासै देखिएन।
कांग्रेसले २०७४ साल र २०७९ सालका दुई आम निर्वाचनमा चितवन–३ बाट उम्मेदवार उठाएन। २०७४ सालमा राप्रपाका विक्रम पाण्डे र २०७९ सालमा माओवादी केन्द्रका भोजराज अधिकारीलाई नेपाली कांग्रेसले सघाएको थियो। त्यसैले यो निर्वाचन क्षेत्रमा कांग्रेसको प्रभाव घट्दो क्रममा थियो।
यसपालिको निर्वाचनमा पनि कांग्रेस उम्मेदवार टेकप्रसाद गुरूङ प्रति मतदाता खासै आकर्षित देखिएनन्। हामीले कुरा गरेका ९ सय मतदातामध्ये करिब १३ प्रतिशतले मात्र कांग्रेसको चुनाव चिह्न रूखमा मत दिने बताए।

विघटित संसदको दोस्रो ठूलो दल एमालेको हालत यो क्षेत्रमा झनै खराब छ। हामीले कुरा गरेकामध्ये करिव ६ प्रतिशत मतदाताले मात्र एमालेलाई मत दिन्छु भने।
त्यसैले विक्रमले निर्वाचन नड्ने घोषणा गरेपछि राप्रपा प्रतिको आकर्षण यो निर्वाचन क्षेत्रमा धेरै कम भएको छ। करिब ३ प्रतिशत मतदाताले मात्रै राप्रपालाई मत दिने बताए।
हामीले कुरा गरेकामध्ये करिब ९ प्रतिशत मतदाताले अझै कसलाई मत दिने निर्णय नगरिसकेको बताए। यसरी अनिर्णीत रहेकामध्ये अधिकांश परम्परागत रूपमा कांग्रेसका मतदाता हुन्। उनीहरूले अन्तिम समयमा गर्ने निर्णयले उम्मेदवारहरूले पाउने मतसंख्या केही मात्रामा तलमाथि पर्न सक्छ।
तर हाम्रो विश्लेषणमा चितवन–३ को निर्वाचनमा पहिलो र दोस्रो हुने उम्मेदवार फरक पर्ने सम्भवाना लगभग छैन। रास्वपाकी सोविता सबभन्दा धेरै मत ल्याएर निर्वाचित हुनेछिन् भने रेनुले दोस्रो धेरै मत ल्याउने छिन्।
अब हामी चितवन–३ का २८ वटै वडाका मतदातासँग गरिएको कुराकानीका आधारमा सोविता र रेनुका केही बलिया र केही कमजोर पक्षबारे चर्चा गरौं। चितवन–३ मा भरतपुर महानगरपालिकाका ६, ८, ९ र १३ देखि २८ वडा गरी १९ वटा वडा र माडी नगरपालिकाका १ देखि ९ वडा पर्छन्। हामीले पछिल्ला तीन दिनमा यी सबै वडामा गएर करिब साढे ९ सय मतदातासँग कुराकानी गरेका छौं।
सोविताको सबभन्दा बलियो पक्ष मतदाताहरूमा रास्वपाप्रति उर्लिएको विश्वास र आशा हो।
हामीले भेटेका अधिकांश मतदातामा पुराना पार्टीबाट केही भएन र आगामी पाँच वर्ष नयाँ पार्टीलाई अवसर दिने धारणा बलियो रहेको पायौं।
खासगरी सुशासन, आर्थिक विकास र रोजगारीको सवालमा कांग्रेस, एमाले लगायत पुराना पार्टीप्रति मतदाताले ठूलो असन्तुष्टि व्यक्त गरे। आफ्नो देशमा काम नपाएर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताले पनि मतदाताहरू पुराना पार्टीबाट विकर्षित भइरहेका छन्।
यी सबै असन्तुष्टिको ओखती उनीहरू नयाँ पार्टीमा खोजिरहेका छन्।
रास्वपाले सुशासन र विकासको पक्षमा जगाएको आशालाई एकचोटि अवसर दिनुपर्ने मतदाताहरूको धारणा बुझिन्छ। यहको लाभ सोविताले पाउने छिन्।
सुशासन र विकास मात्र होइन, विदेश गएका नेपालीलाई फर्काउनेदेखि कृषिको विकास गर्ने अति अपेक्षा मतदाताको रास्वपासँग छ।
'किसानका लागि रास्वपाले गर्छु भनेको छ। गरेन भने पाँच वर्षपछि हेरौंला,' भरतपुर–२० नयाँबजारका मीनबहादुर भुजेलले भने, 'रवि लामिछानेले केही काम भएन भने मेरो कठालो समात्नुस् भनेका छन्। हामी त कठालो समात्न जाने हो।'
'जेनजी आन्दोलनमा दुई दिनमै सरकार ढलेको देख्नुभएन? यिनीहरूले पनि सकेनन् भने त्यही हुन्छ,' उनले भने।
दोस्रो, रास्वपाको जगमा उभिए पनि सोविताको व्यक्तिगत प्रभाव कम छैन।
पछिल्लो समय युवा र पढेलेखेका उम्मेदवार छान्नुपर्छ भन्ने जुन लहर छ, त्यसमा उनको पल्ला भारी देखिन्छ। यहाँका मतदाता सोविताको कानुनी शिक्षाबाट प्रभावित छन्। त्यसैले उनी सांसद बन्न योग्य छिन् भन्ने धेरै मतदाताको राय छ। त्यसमाथि उनले अहिलेसम्म यहाँका जुन–जुन वडामा भाषण दिएकी छन्, त्यहाँका मतदातामा गहिरो छाप छाडेको हामीले पायौं।
तेस्रो, चुनावअघि मात्र काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका वरिष्ठ नेता बालेन शाहको प्रभाव यहाँका मतदातामा अत्यधिक देखिन्छ।
बालेनले मेयरका रूपमा काठमाडौंमा राम्रो काम गरेका छन् भन्ने उनीहरूले ठानेका छन्। उनी नेतृत्वमा आए देशैभरि परिवर्तन हुने आशा मतदाताहरूमा छ। यसको फाइदा पनि उनलाई भइरहेको छ।
'बालेन शाहले काठमाडौंमा राम्रो काम गरेका छन् रे, यहाँ पनि गर्लान् कि!' माडी नगरपालिका–२ का ६५ वर्षीय दिनेश महतोले भने।
भैंसी चराएर घर फर्किँदै गर्दा बाटोमा भेटिएका महतोले अगाडि भने, 'पुरानो पार्टी सबैलाई भोट दिएर हेरियो, घन्टी (रास्वपा) नयाँ छ, यसलाई पनि दिन्छु यसपटक। केही काम गर्छ भन्ने आशा छ, गरेन भने पुरानो आफ्नो घर त छँदैछ, अर्कोचोटि उसैलाई दिऊँला।'

चौथो, वैदेशिक रोजगारी र पढाइका निम्ति विदेशमा रहेका छोराछोरीले यसपालि 'घन्टी' मा भोट हाल्नू भनेर दिएको सुझाव पनि सोविताका निम्ति सकारात्मक पक्ष बनेको छ।
'हामी बूढाबूढी मात्र घरमा छौँ। छोरी विदेशमा छ, उसले नयाँलाई भोट देऊ भनेको छ,' भरतपुर– २७ मेघौलीकी ८१ वर्षीया मनकुमारी श्रेष्ठले भनिन्, 'बालेन कस्तो छ थाहा छैन, कम बोल्ने स्वभावको रहेछ, रवि धेरै बोल्छ। तर जे भए पनि यसपटक उनीहरूलाई नै हेर्ने हो।'
सोविताको कमजोरीको कुरा गर्दा, खासगरी प्रतिस्पर्धी उम्मेदवारलाई भोट दिन्छु भन्नेहरूले उनी यो निर्वाचन क्षेत्रका लागि नयाँ भएको बताएका छन्।
त्यस्ता मतदाताको रायमा उनी उमेर र शिक्षाको हिसाबले योग्य भए पनि चितवनको स्थानीय समस्यासँग परिचित छैनन्।
उनलाई मत दिन्नँ भन्ने कतिपय मतदाताले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा र वरिष्ठ नेता बालेन शाहको कसैसँग बोलचाल नगर्ने स्वाभावबारे पनि बताए। हामीले भेटेका कतिपय मतदाताले यी दुई कारण देखाउँदै सोवितालाई भोट नहाल्ने बताएका थिए।
त्यस्तै, जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएका हिंसात्मक घटनासँग रास्वपालाई जोडेर पनि कतिपय मतदाताले सोविताको आलोचना गरेका छन्। खासगरी एमालेलाई भोट दिन्छु भन्नेहरू 'जलाउने होइन, बनाउनेलाई भोट हाल्ने' भन्दै उनीविरूद्ध उभिएका देखिन्छन्।
'जेनजी आन्दोलनले ध्वंश गर्ने काम गर्यो, यसपालिको चुनाव ध्वंशको समर्थन गर्ने र विरोध गर्नेहरूबीचको हो,' भरतपुर महानगरपालिका–२२ का दामोदर अधिकारीले भने, 'भदौ २३ गते माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेकालाई नयाँबानेश्वरको संसद भवनमा आगो लगाउन कसले उक्सायो? भोलिपल्ट देशभरिका राष्ट्रिय सम्पदामा आगजनी र लुटपाट कसले गर्यो? यसपालिको चुनावमा त्यसको पनि हिसाब हुनेछ।'
'नयाँ भनिएका पार्टीहरू भदौ २३ र २४ का गतिविधिमा कुनै न कुनै रूपले संलग्न छन्। त्यसैले उनीहरूलाई भोट दिन सकिँदैन,' उनले अगाडि भने, 'त्यसैले मेरो भोट एमालेलाई हो।'
अब रेनुको सकारात्मक र नकारात्मक पक्षको कुरा गरौं।
उनको सबभन्दा सकारात्मक पक्ष भरतपुरको मेयरका रूपमा गरेका विकास निर्माण हुन्, जसको कदर यहाँका मतदाताले खुलेर गरेका छन्। हामीले निर्वाचन क्षेत्रभरि घुमेर कुराकानी गरेका कुनै पनि मतदाताले उनीबारे नराम्रो कुरा भनेनन्।
भरतपुरको विकासका निम्ति कुनै कसर बाँकी नराखेको र सडक, पुल, बिजुलीबत्ती लगायत पूर्वाधार विस्तारमा मनग्गे काम गरेको मतदाताहरूले स्वीकार गरे। ४९ वर्षीया रेनुले अन्य महानगरको दाँजोमा पूर्वाधार विकासमा राम्रो काम गरेको जस पनि खुलेरै दिए।
तर जहाँसम्म प्रतिनिधिसभा सांसद चुनेर पठाउने सवाल छ, त्यसमा धेरै मतदाताले रेनुभन्दा सोविता नै उपयुक्त छिन् भने।
'रेनुजीले विकास गर्नुभएन भन्दैनौं, आफ्नो कार्यकालमा मनग्गे काम गर्नुभयो। उहाँले गर्नुभएका कामको लाभ स्थानीयवासीले पाइरहेकै छन्,' भरतपुर महानगरपालिका–२४ ध्रुव बजारका दीपेन्द्र अर्यालले भने, 'तर मेयरको काम र सांसदको काम त फरक हो नि! सांसदले गर्ने भनेको संसदमा बसेर कानुन बनाउने हो। त्यो काममा सोविताजी नै ठिक हुन्छ भन्ने मलाई लाग्छ।'
उनले यो पनि भने, 'हरेक चुनावमा एउटै पार्टीलाई मात्र कति भोट हाल्ने? रेनुजीको काम त हामीले देखिहाल्यौं। अरू पुराना पार्टीलाई पनि विगत ३६ वर्षदेखि भोट हाल्दै आएको हो, त्यसैले यसपालि नयाँ पार्टी (रास्वपा) लाई हेरूँ भन्ने लागेको छ।'
त्यसैले कामको कदर गर्नेहरू पनि सबै रेनुलाई भोट हाल्ने पक्षमा छैनन्।
उनको सबभन्दा ठूलो कमजोरी भनेको उनी नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी हुनु हो।
विगतमा प्रचण्ड सधैं सत्ताको केन्द्रमा रहेकाले मात्र रेनुले यहाँ विकास गर्न सकेको धेरै मतदाताको राय छ। आगामी दिन प्रचण्ड सत्तामा आउने सम्भावना कम भएकाले रेनुको प्रभाव त्यसै पनि कम हुने उनीहरू बताउँछन्।
कतिपयले रेनुले मेयरका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरेको र राज्यस्रोतकै बजेटबाट विकास गरेकाले त्यसैलाई खासै ठूलो उपलब्धि मान्न नपर्ने तर्क गरे। उनले आफ्नै सिर्जनशीलताबाट कुनै काम नगरेको र अन्य महानगरमा जे भएका छन्, उनले तिनै काम मात्र गरेको मतदाताहरू बताउँछन्।
कतिपय नवयुवा र अन्य मतदाताले रेनुलाई 'नेपो–बेबी' का रूपमा पनि प्रस्तुत गरे।
'नेपो–बेबीहरूले सत्ता र स्रोतसाधनमा गरेको हालिमुहाली विरूद्ध जेनजी आन्दोलन भएको हो। रेनुले विकास निर्माण गरेकै भए पनि उनी प्रचण्डकी छोरी हुन्। उनलाई भोट हाल्नु भनेको नेपो–बेबीहरूलाई फेरि पनि स्वीकार गर्नु हो,' भरतपुर–२७ का २९ वर्षीय शिवराज पौडेलले भने।
चितवन–३ मा यसपालि आफ्नै उम्मेदवार उठाए पनि कांग्रेसको प्रभाव घटिसकेको देखिन्छ।
विगतमा यो कांग्रेसको बलियो क्षेत्र भएर पनि पटक पटक गठबन्धन गरेको भन्दै स्थानीय नेता कार्यकर्ताले विरोध जनाएका थिए। दुईवटै निर्वाचनमा यहाँबाट कांग्रेसका बागी उम्मेदवार उठेका थिए। यसरी गठबन्धनका कारण 'रूख' चिह्नमा भोट हाल्न नपाएका कांग्रेस मतदाताहरू अहिले छिन्नभिन्न भइसकेका देखिन्छन्।
हामीले भेटेका पुराना कांग्रेस मतदातामा यसपालि आफ्नै उम्मेदवार हुँदा पनि 'रूख' मा भोट हाल्ने खासै जाँगर देखिएन। केही क्रियाशील सदस्य र पार्टीका 'कोर' कार्यकर्ता र समर्थकबाहेक विगतमा सधैं कांग्रेसलाई भोट दिँदै आएकाहरू पनि यसपालि सोविता र रेनुबीच बाँडिएका छन्।
विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा पार्टी 'बदलिएको' भन्दै केही मतदाता कांग्रेसलाई नै भोट हाल्ने पक्षमा पनि देखिएका छन्। कांग्रेस बदलिए पनि यसपालि सोवितालाई नै भोट दिएर पाँच वर्ष 'परीक्षण' गर्ने मुडमा कतिपय देखिए।
कांग्रेसमा नेतृत्व परिवर्तन नभएको भए टेकप्रसाद गुरूङको अवस्था झनै खराब हुने थियो।
'पुरानै अवस्था भइदिएको भए म कुनै हालतमा कांग्रेसमा भोट हाल्दिनँ थिएँ। तर अहिले गगनको नेतृत्वमा पार्टी सुधारिएको छ। उनी लामो समयसम्म पार्टीभित्र परिवर्तनका लागि लडे र लामो समयको राजनीतिक अनुभवबाट खारिएका नेता हुन्। देश बनाउने भिजन पनि छ,' भरतपुर महानगर– २१ का ६० वर्षीय अमर गुरूङले भने, 'हामीले लामो समयपछि रूख चिह्नमा भोट हाल्ने मौका पनि पाएका छौं। यसपालि त्यसको सदुपयोग गर्छौं।'
टेकप्रसाद यहाँका पुराना कांग्रेसी नेता हुन्। लामो समयदेखि जनतासँग भिजेर काम गरेकाले खासगरी कांग्रेसी मतदाताहरूमा उनको प्रभाव बलियो छ।
व्यक्तिगत रूपमा मन पराइएका भए पनि नयाँ र पुरानोको प्रतिस्पर्धामा नयाँप्रति लहर आउनु उनका लागि ठूलो चुनौती बनेको छ।
अर्कातिर, विगतमा गठबन्धनका कारण माओवादी उम्मेदवारलाई भोट हाल्न बाध्य पारिएकाले कांग्रेसी मतदाताहरू अहिले एक ठाउँ छैनन्। यहाँ कांग्रेसको संगठन मात्र छिन्नभिन्न भएको छैन, मतदाताहरूको आस्था पनि छिन्नभिन्न भएको छ।
चुनावैपिच्छे चिह्न बदल्दा 'रूख' प्रति माया मरेको कांग्रेस मतदाताहरू बताउँछन्। यस्ता मतदाता कांग्रेसप्रति सहानुभूति राखे पनि मत भने नयाँ पार्टीलाई नै दिने मन बनाएर बसेका छन्।
कांग्रेसभन्दा एमालेको प्रभाव त झनै तीव्र रूपमा घटेको हामीले पायौं।
हामीले कुराकानी गरेकामध्ये एमाले उम्मेदवार शंकर थपलियालाई भोट हाल्छु भन्नेहरूमा करिब ६ प्रतिशत थिए। विगतका चुनावमा एमालेलाई भोट हालेका धेरै मतदाता यसपालि सोविताको पक्षमा खुलेको र उनलाई नै भोट हाल्ने मन बनाएको हामीले पायौं।
अघिल्लोचोटि चितवन–३ बाट विजयी राप्रपाको अवस्था झनै कमजोर छ। यहाँ ३५ हजार मत ल्याएर राप्रपाका विक्रमले अघिल्लो प्रत्यक्ष निर्वाचन जितेका थिए। उनलाई भोट हालेका धेरै मतदाता यसपालि सोविता र रेनुतिर बाँडिएका देखिन्छन्।
यो विश्लेषणको अन्तिममा अब हामी अघिल्लो निर्वाचनको मत परिणामलाई अहिलेको अवस्थासँग दाँजेर हेरौं।
२०७९ सालको निर्वाचनमा राप्रपाका विक्रमसँग पराजित तत्कालीन माओवादी केन्द्रका डा. भोजराज अधिकारीले कांग्रेसको समर्थनमा २५ हजार ८ सय मत ल्याएका थिए। यसमा कांग्रेसको मतसमेत जोडिएको थियो। यसपालि योमध्ये धेरै मत रास्वपा र बाँकी मत नेकपा र कांग्रेसबीच बाँडिने देखिन्छ। यसको प्रत्यक्ष लाभ सोवितालाई नै हुनेछ।
माओवादीले समानुपातिकमा १६ हजार मत पाएको थियो। तर तत्कालीन माओवादीको यो मत पूर्ण रूपमा रेनुलाई जाने अवस्था देखिँदैन। विगतमा माओवादीलाई भोट हालेका कतिपय मतदाता पनि यसपालि ठूलो संख्यामा रास्वपाका पक्षमा खुलेका छन्।
अघिल्लो चुनावमा प्रत्यक्षतर्फ राप्रपाका विक्रमले ३५ हजार मत ल्याए पनि समानुपातिकमा राप्रपाले आधाभन्दा कम अर्थात् १६ हजार ७ सय मत ल्याएको थियो।
तर यसपालि हामीले राप्रपाका पुराना मतदाता निकै कम भेट्यौं। यसका पछाडि एउटा कारण हुन सक्छ।
अघिल्लो चुनावमा एमालेले अन्तिम समय कांग्रेसका 'बागी' उम्मेदवारलाई समर्थन गरेको थियो। यसबाट रूष्ट एमालेका धेरै मतदाताले राप्रपालाई भोट हालेका हुन सक्छन्। कांग्रेसका मतदाताले पनि माओवादीसँग साझेदारीबाट असन्तुष्ट हुँदै प्रतिरोधी मत राप्रपातिर खसालेका हुन सक्छन्।
यति मात्र होइन, कांग्रेस र एमालेको समानुपातिक मत पनि अघिल्लो निर्वाचनमा आधाभन्दा बढी घटेको थियो।
२०७४ को चुनावमा समानुपातिकमा २६ हजारभन्दा बढी मत पाएको कांग्रेसले २०७९ को चुनावमा साढे १० हजार मत ल्याएको थियो। एमालेले पनि २०७४ सालमा २४ हजार १५५ मत ल्याएको थियो भने २०७९ सालमा साढे १४ हजार मत पायो।
यसले चितवन–३ मा कांग्रेस र एमाले जनाधार अघिल्लो निर्वाचनमै कमजोर भइसकेको देखिन्छ।
जहाँसम्म रास्वपाको कुरा छ, २०७९ सालमा चुनावको सात महिनाअघि मात्र गठन भएको रास्वपाले यो क्षेत्रमा राम्ररी चुनाव प्रचार पनि गरेको थिएन। त्यति हुँदाहुँदै रास्वपाकी उम्मेदवार जिता बरालले झन्डै १५ हजार मत पाएकी थिइन्।
चितवनभरि समानुपातिक भोट पाउने पहिलो पार्टी पनि रास्वपा नै थियो। चितवन–३ मा पनि रास्वपाले २८ हजार ४०१ मत पाएर पहिलो बनेको थियो।
यसले रास्वपाको प्रभाव यहाँ अघिल्लो चुनावदेखि नै मजबुत बनेको थियो।
त्यसमा अहिलेको नयाँलाई दिने लहर, चितवनमा रास्वपा प्रतिको आकर्षण र सोविता गौतमको व्यक्तित्वले मतदातालाई थप आकर्षित गरेको देखिन्छ।