सेतोपाटी चुनाव विश्लेषण–३
वन्दना केसी यसपालि पहिलो पटक मतदान गर्दै छिन्।
२३ वर्षीया 'जेनजी' वन्दनासँग हाम्रो भेट तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरी बजारको केसी पुस्तक पसलमा भएको थियो।
काठमाडौंमा नर्सिङ पढेकी वन्दना अचेल सल्यानमा जागिर खाँदै छिन्।
हामीले जसै उनीसँग चुनावी कुराकानी सुरू गर्यौं, उनले एक सासमा आफ्नो कुरा राखिन् — मेरो आमाबुबाले सधैं एमालेलाई भोट हाल्नुभयो। म पनि सानैदेखि उहाँहरूको पछाडि लागेर एमालेलाई भोट माग्दै हिँडेको मान्छे, तर खासै उपलब्धि भएजस्तो लागेन।
'आमाबुबाको कुरा त थाहा छैन, म चाहिँ एमालेलाई भोट माग्दा माग्दा थाकिसकेँ,' वन्दनाले अगाडि भनिन्, 'त्यसैले यसपालि मेरो भोट घन्टी (रास्वपा) लाई। म प्रत्यक्ष र समानुपातिक दुवै भोट घन्टीलाई दिन्छु।'
घन्टी किन मनपर्यो तपाईंलाई भन्ने हाम्रो प्रश्नको जबाफमा वन्दनाले भनिन्, 'बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा जे काम गरे, प्रधानमन्त्री भए त्यस्तै काम देशभरि गर्न सक्छन्। बालेनलाई प्रधानमन्त्री बनाउन घन्टीको बहुमत चाहियो। बहुमतका साथ सरकार बनाउन सक्यो भने घन्टीले देशमा परिवर्तन ल्याउँछ भन्ने मेरो आशा छ।'
वन्दना जस्ता पहिलो पटक भोट हाल्न लागेका जेनजी मात्र होइन, दाङको निर्वाचन क्षेत्र नम्बर २ घुम्दा हामीले पुराना मतदाता पनि ठूलो संख्यामा 'घन्टी' अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ आकर्षित रहेको पाएका छौं।
वन्दना केसी
तुलसीपुर उपमहानगरपालिका–१६, फचकलुवाका ३७ वर्षीय गणेश खड्का तिनैमध्ये एक हुन्।
२०७९ सालको चुनावमा एमालेलाई भोट हालेका उनी यसपालि रास्वपालाई भोट हाल्ने पक्षमा छन्।
'एमाले–कांग्रेसलाई मात्र कति भोट दिनू, यसपालि मेरो भोट परिवर्तनको पक्षमा,' उनले भने, 'देश परिवर्तनका लागि म नयाँ पार्टीलाई भोट दिँदैछु।'
दाङ–२ मा घोराही उपमहानगरपालिकाका ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ नम्बर वडा छन् भने तुलसीपुर उपमहानगरका १६, १७, १८ र १९ वडा र बंगलाचुली गाउँपालिकाका १ देखि ८ नम्बर वडा छन्।
फागुन २१ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका शंकर पोखरेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निर्मल आचार्य, रास्वपाका विपिन आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ऋषिकेश पोखरेल लगायत विभिन्न दल र स्वतन्त्र उम्मेदवार समेत गरी २३ जना प्रतिस्पर्धामा छन्।
सेतोपाटी टिमले पछिल्ला तीन दिन यो निर्वाचन क्षेत्रका सबै वडा घुमेर धेरैभन्दा धेरै मतदातासँग कुराकानी गरेको छ। चुनावमा उठेका दल र तिनका उम्मेदवारहरूबारे मतदातासँग कुरा गरेको छ। उनीहरूका मुख्य चासोका विषय के के हुन् भनेर सोधेको छ। अनि उनीहरू कसलाई किन मत दिन चाहन्छन् भनेर सोधेको छ।
हामीले मतदातासँग गरेको कुराकानीको विश्लेषण गर्दा यो निर्वाचन क्षेत्रमा रास्वपाका विपिन आचार्य अरू प्रतिस्पर्धीको दाँजोमा धेरै अगाडि रहेको पाएका छौं।
विपिनभन्दा धेरै पछाडि छन् उनका दुई प्रतिस्पर्धी एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरे।
आजका दिनमा विपिनको एमाले र कांग्रेस उम्मेदवारसँग जुन फराकिलो अन्तर हामीले पाएका छौं, त्यसलाई चिर्दै निर्वाचनका दिनसम्म उनलाई उछिन्न एमाले–कांग्रेस उम्मेदवारलाई धेरै नै कठिन छ।
एमाले र कांग्रेसमध्ये यहाँ एमाले उम्मेदवार शंकर केही अगाडि छन्। कांग्रेसका किरणकिशोरसँगको उनको अन्तर साह्रै थोरै छ। त्यस अर्थमा, शंकरको खास प्रतिस्पर्धा दोस्रो स्थानका लागि किरणकिशोरसँग छ।
यी तीन जनाबाहेक अन्य पार्टीका उम्मेदवार कोही पनि प्रतिस्पर्धामा छैनन्।
नेकपाका निर्मल चौथो स्थानमा देखिन्छन्। तर एमाले र कांग्रेस उम्मेदवारको दाँजोमा उनी यति पछाडि छन्, पहिलो, दोस्रो वा तेस्रो कुनै स्थानको 'रेस' मा देखिँदैनन्।
कुल १ लाख ४० हजार ९४६ मतदाता रहेको यो क्षेत्रमा हामीले कुराकानी गरेकामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर टुंगोमा नपुगेका मतदाता पनि निकै छन्। हामीले कुरा गरेका झन्डै २० प्रतिशत मतदाताले कसलाई मत हाल्ने भन्ने निर्णय नगरिसकेको बताए।
यसरी अनिर्णित मतदातामध्ये अधिकांश हिजो एमाले, कांग्रेस वा माओवादीलाई मत दिएकाहरू नै छन्। गत निर्वाचनमा जसले रास्वपालाई मत दिए, उनीहरू त लगभग सबै घन्टीमै मत दिने पक्षमा छन्।
सबभन्दा धेरै अनिर्णित हिजो एमालेलाई मत दिएका मतदाताहरू छन्। त्यसपछि माओवादी र कांग्रेसलाई मत दिएकाहरू छन्।
चुनावसम्म आइपुग्दा उनीहरूको मन पक्कै छ्यांग हुनेछ। उनीहरू सबैले एक ढिक्का भएर एमाले वा कांग्रेसलाई मत दिए भने मात्रै ती दलका उम्मेदवार रास्वपाका विपिनसँग कडा प्रतिस्पर्धामा आउँछन्।
तर व्यवहारमा त्यस्तो हुन सम्भव छैन। यी अनिर्णित मत पनि बाँडिने छन्।
यी अनिर्णितमध्ये कतिले रास्वपालाई मत देलान् भने कतिपय आफूले पहिले दिएकै एमाले, कांग्रेस र माओवादीमा फर्किएलान्।
गणेश खड्का
दाङ– २ मा यसपालि रास्वपा कसरी यति बलियो देखिएको छ? हिजो कुन दललाई गएको मत कसरी रास्वपामा सरेर यो पार्टी यति बलियो बन्दैछ?
२०७९ सालको निर्वाचनमा यहाँ कांग्रेस र तत्कालीन माओवादी मिलेका थिए। उक्त गठबन्धनबाट दाङ– २ मा माओवादीकी रेखा शर्मा विजयी भएकी थिइन्। उनले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव शंकरलाई हराएकी थिइन्। शंकर जम्मा १९६ मतको झिनो अन्तरले पराजित भएका थिए।
त्यति बेला रास्वपाका विशाल अधिकारीले झन्डै १५ हजार मत ल्याएका थिए।
समानुपातिकतर्फ भने २३ हजार ५६८ मत ल्याएर एमाले पहिलो पार्टी बनेको थियो भने दोस्रो स्थानमा रहेको कांग्रेसले १९ हजार ५९१ मत ल्याएको थियो। चुनावको चार महिनाअघि मात्र खुलेको नयाँ दल रास्वपा १३ हजार ३३ मत ल्याएर तेस्रो बनेको थियो। समानुपातिकमा माओवादी १० हजार मत ल्याएर चौथो र राप्रपा ३ हजार ९५ मत ल्याएर पाँचौं पार्टी बनेको थियो।
रास्वपाले अघिल्लो चुनावमा पाएको लगभग सबै मत यसपालि जोगाएर राखेको छ। हामीले कुरा गर्दा कोही मतदाता भेटेनौं जसले गत चुनावमा रास्वपालाई मत दिएको थियो र यसपालि मत बदल्दैछ।
तर अघिल्लो पटक अरू सबै प्रमुख दललाई मत दिएका कतिपय मतदाता यसपालि रास्वपातिर सर्ने हामीले पायौं। यसरी रास्वपातिर सर्ने सबभन्दा धेरै मतदाता अघिल्लो पटक एमालेलाई मत दिएकाहरू छन्। रास्वपालाई यसपालि मत दिन्छु भन्ने झन्डै एकतिहाई मतदाताले गत निर्वाचनमा एमालेलाई मत दिएका थिए।
अघिल्लो पटक दाङ– २ मा कांग्रेस र माओवादीको गठबन्धन थियो। त्यसैले अघिल्लो पटक माओवादीलाई मत दिएका कतिपय मतदाता माओवादी थिए भने कतिपय कांग्रेस थिए। रास्वपालाई यसपालि मत दिन्छु भनेका ४० प्रतिशत तिनै मतदाता हुन् जसले गएको चुनावमा कांग्रेस–माओवादी गठबन्धनलाई मत दिएका थिए।
अघिल्लो पटक राप्रपालाई मत हालेका कतिपय मतदाताले पनि यसपालि रास्वपालाई मत दिने बताए। गत चुनावमा राप्रपालाई मत दिएकाहरू यसपालि लगभग आधा आधा राप्रपा र रास्वपातिर बाँडिने हामीले पाएका छौं।
हामीले भेटेका र पहिलो पटक मत हाल्न लागेका लगभग ८५ प्रतिशत मतदाताले पनि रास्वपालाई नै मत हाल्ने बताए।
यसरी लगभग हिजो सबै दलहरूलाई मत दिएका र नयाँ मतदाताको ठूलो हिस्सा रास्वपातिर जाने हुँदा यसको प्रचुर लाभ यो दललाई हुनेछ।
दाङ– २ मा अरु दलहरूबीच मत साटफेर कम हुने देखिन्छ। यसकारण अरू सबै दलले पाउने मतको आकार घट्नेछ भने रास्वपाले पाउने मतको आकार ह्वात्तै बढ्नेछ।
प्रत्यक्षमा भन्दा समानुपातिकमा रास्वपाको मत झनै बढ्ने सम्भावना छ। यसपालि प्रत्यक्षमा पुराना दललाई मत दिन्छु भनेका कतिपय मतदाताले पनि समानुपातिकमा भने रास्वपालाई मत दिन्छु भनिरहेका छन्। जबकि, रास्वपालाई भोट हाल्छु भन्ने मतदाताहरूमा समानुपातिक भोट कांग्रेस वा एमालेलाई दिन्छु भन्नेहरू धेरै कम रहेको हामीले पायौं। यसले समानुपातिकमा रास्वपालाई थप फाइदा पुग्ने देखिन्छ।
दाङ– २ मा मतदाताहरू रास्वपामा किन यति धेरै आकर्षित छन्? उनीहरूको आकर्षणको कारण के हो?
रास्वपालाई भोट हाल्छौं भन्ने कैयन मतदाताले उम्मेदवार विपिन आचार्यलाई चिनेकासम्म थिएनन्। विपिनका एजेन्डा के हुन् र उनले जितेपछि यो निर्वाचन क्षेत्रका लागि के गर्ने बाचा गरेका छन् भन्ने पनि उनीहरूलाई थाहा थिएन।
कतिसम्म भने, घन्टी (रास्वपा) लाई भोट हाल्छौं भन्ने कतिपय मतदाताले सामाजिक सञ्जालका 'इन्फ्लुएन्सर' लाई नै उम्मेदवार ठानेका थिए। उनीहरूले केवल रास्वपा चिनेका छन्। घन्टी चिनेका छन्। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई चिनेका छन्।
त्यसमध्ये पनि बालेनको 'क्रेज' उनीहरूमा धेरै छ।
रास्वपालाई भोट हाल्ने मन बनाएकाहरू धेरैले बालेन प्रधानमन्त्री भए देशमा परिवर्तन आउने आस गरेका छन्। त्यही आसले उनीहरूलाई घन्टीतिर आकर्षित गरेको छ।
हाम्रो कुराकानीका आधारमा मतदाताहरू ठूलो संख्यामा रास्वपातिर आकर्षित हुनुका पछाडि मुख्य ६ वटा कारण देखिन्छन्।
पहिलो, परिवर्तनको उत्कट चाहना।
धेरै मतदातालाई आफ्नो क्षेत्रमा केही परिवर्तन भएन, केही विकास भएन भन्ने लागेको छ। विगतमा कांग्रेस र एमालेलाई पटक पटक भोट दिएर सत्तामा पुर्याए पनि देशको हालत जस्ताको तस्तै रहेको उनीहरूको भनाइ छ।
आम मतदातामा दुइटा कुराले गहिरो छाप पारेको हामीले पाएका छौं — एउटा परिवर्तनको नारा र अर्को, त्यो परिवर्तन रास्वपाले मात्र ल्याउन सक्छ भन्ने विश्वास।
तुलसीपुर नगरपालिकामा हामीले एमालेका उम्मेदवार शंकरको पुर्ख्यौली घरभन्दा अलिकति माथिको गाउँमा एक वृद्ध आमासँग कुराकानी गरेका थियौं। चुनावी कुराकानी गर्दै जाँदा उनले जिन्दगीभरि एमालेलाई मात्र भोट हालेको बताइन्।
'यसपालि चाहिँ के गर्ने त?' हामीले सोध्यौं।
प्रश्न भुइँमा झर्न नपाउँदै आमाले चुपचाप हातले घन्टी बजाएको इसारा गरिन्।
हामीले 'किन' भनेर सोध्यौं।
उनले मसिनो स्वरमा जबाफ दिइन्, 'परिवर्तनका लागि।'
'के परिवर्तन?'
उनले भनिन्, 'अहिलेसम्म जति पनि भोट हाल्यौं, त्यसले पार्टीका नेता र कार्यकर्ता मौलाए, जनता चाहिँ बौलाए। तर बौलाए भन्दैमा हामी पागलै भएका छैनौं, झन् सचेत भएका छौं। नयाँ पार्टीले सचेत जनतालाई झक्झकाएका छन्। त्यसैले यी पुराना पार्टीलाई यसपालि सबक सिकाउन नयाँ पार्टीलाई भोट दिने हो।'

दोस्रो कारण, विकास त भयो तर त्यति विकासले पुगेन भन्ने भावना।
कतिपय मतदाताले २०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा केही पनि आर्थिक विकास नभएको बताए पनि कतिपयले विकास निर्माण भएको धारणा पनि राखे। तर पछिल्ला ३६ वर्षमा जति विकास भए, उनीहरूको अपेक्षा त्योभन्दा निकै ठूलो रहेको हामीले पायौं।
खासगरी वैदेशिक रोजगारीका कारण विभिन्न मुलुक देखेर, घुमेर फर्केकाहरूमा आफ्नो देश पनि 'विदेशजस्तै' भइदिए हुन्थ्यो भन्ने उत्कट अभिलाषा रहेको हामीले महसुस गर्यौं।
घोराही नगरपालिका–११, हिक्मतपुरका ४३ वर्षीय कृष्ण रोका केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्केका हुन्। २०७९ सालको चुनावमा उनी विदेशमै थिए। लामो समयपछि यसपालि भोट हाल्न पाउँदा उत्साहित रहेको उनले बताए।
रास्वपालाई भोट हाल्ने मन बनाएर बसेका कृष्णले भने, 'सिस्टम भएको, नियम–कानुन भएको देशमा बसेर आइयो। त्यहाँको तौरतरिका देखेर आइयो। अर्काले राम्रो गरेको देखेपछि आफ्नो देश पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने आस लाग्दो रहेछ। त्यहाँको विकाससँग दाँजेर हेर्दा यहाँको अवस्थाप्रति निराशा जाग्दो रहेछ।'
'पुराना पार्टीहरूलाई जनताले पत्याएकै हुन्। उनीहरू सरकारमा गएकै हुन्। तर पटक पटक सरकारमा गए पनि केही गर्न सकेनन्,' कृष्णले अगाडि भने, 'नयाँ पार्टी (रास्वपा) मा पढेलेखेका मान्छे धेरै छन्। उनीहरूले मौका पाए देश बनाउन सक्छन् भन्ने लागेको छ।'
तेस्रो, वैदेशिक रोजगारीले दिएको पीडा।
निर्वाचन क्षेत्रका प्रत्येक वडा घुम्दा हामीले त्यस्तो घर विरलै भेट्यौं, जुन घरका छोरी वा छोरा पढाइ वा रोजगारका लागि विदेश गएका छैनन्।
तुलसीपुर उपमहानगर–१८, फचकलुवाको एउटा घरमा छिर्दा हामीले अधवैंशे उमेरका श्रीमान र श्रीमती मोबाइलमा आफ्ना छोरासँग कुरा गर्दै गरेको भेट्यौं।
हामीले आफ्नो परिचय दिएपछि श्रीमान हामीसँग कुरा गर्न बाहिर निस्के। श्रीमती भने छोरासँग कुरा गरिरहिन्।
उनीहरूका छोरा अघिल्लो दिन मात्र काठमाडौं गएका रहेछन्। वैदेशिक रोजगारीका लागि कुवेत उड्न लागेका उनको फ्लाइट दुई दिनपछि रहेछ।
घर छाडेर विदेश जान लागेका छोराको मुख हेरेर गहभरि आँसु पारेका बाले मलिन स्वरमा हामीसँग भने, 'हामी पहिले कट्टर एमाले हौं। जिन्दगीमा सूर्यबाहेक अन्त भोट हालिएन। तर यो पार्टीले हामीलाई केही दिएन। हुँदाहुँदा लक्का जवान छोरा आफ्नै देशमा बस्ने वातावरण पनि रहेन। नयाँलाई भोट दियो भने विदेश जान लागेको मेरो छोरा केही वर्षमै घर फर्केला र बुढेसकालमा छोरासँग हाँसीखुसी बस्न पाइएला भन्ने आस छ।'
चुनावमा दिने मतलाई वैदेशिक रोजगारमा जानुपर्ने छोराछोरीको नियतिसँग दाँज्ने यस्ता मतदाता हामीले ठूलो संख्यामा भेटेका छौं। उनीहरूले वैदेशिक रोजगार वा शिक्षाका लागि जवान छोराछोरी विदेशिएको व्यक्तिगत पीडालाई राज्यको असफलता र राजनीतिक दलहरूको अक्षमतासँग जोडेका छन्।
र, यसै आधारमा कांग्रेस, एमाले वा माओवादीलाई भोट नदिने मनस्थिति बनाएका छन्।
रास्वपालाई भोट दियो भने कम्तीमा स्वदेशमै रोजगारीको अवसर सिर्जना होला भन्ने उनीहरूको आस छ।
यस्तै आस सँगालेर बसेका एक मतदाता हामीले घोराही नगरपालिका–१५ को मेनरोडमा भेटेका थियौं।
लगभग ५५ वर्ष उमेरकी ती महिलाका दुई जना छोरा छन्। एक जना इन्जिनियर, अर्को डाक्टर। इन्जिनियर छोरा विदेश उडिसके, डाक्टर छोरा उड्ने तयारीमा छन्। घरमा श्रीमान र श्रीमती मात्र बस्छन्।
उनले आफ्नो घरतिरको परिवार कांग्रेस र माइतीतिरको परिवार कट्टर एमाले भएको बताइन्। तर यसपालि उनी न कांग्रेसलाई भोट दिन चाहन्छिन्, न एमालेलाई।
'अनि कसलाई दिने त?'
जबाफमा उनी एकछिन मौन भइन्। दायाँबायाँ हेरिन्। अनि खुसुक्क भनिन्, 'घन्टी!'
चौथो, छोराछोरीको दबाब।
वैदेशिक रोजगारी वा पढाइका लागि विदेश गएका छोराछोरीको दबाब पनि एमाले, कांग्रेस र माओवादीको भोट गुम्नुको एक मुख्य कारण बनेको छ।
उनीहरूले आफू भोट हाल्न नआए पनि नेपालमा रहेका आमाबुबा, दाइदिदी र परिवारका अन्य सदस्यलाई घन्टीमा भोट हाल्न सल्लाह दिइरहेका छन्। कतिपयले त कर नै गरिरहेका छन्।
तुलसीपुर उपमहानगर–१९, बाँसगढीकी ५४ वर्षीया मनसरा बुढाथोकीकी छोरी जापानमा छिन्। छोराबुहारी काठमाडौं बस्छन्। कोरोना महामारीले उनका श्रीमान बितिसके। घरमा एक्लै बस्ने ती आमालाई छोराबुहारी र छोरीले काठमाडौं र जापानबाट घन्टीमा भोट हाल्न सुझाव दिइरहेका छन्।
'बुढेसकालमा छोराछोरीले भनेको मान्नैपर्यो,' एमालेको पुराना मतदाता मनसराले भनिन्, 'घन्टीलाई भोट हाले छोराछोरीसँगै बस्ने वातावरण बन्थ्यो कि!'
विदेशमा भएका मात्र होइन, स्वदेशमै रहेका युवा पनि आफू र आफ्नो परिवारको भोट घन्टीतिर जाने बताउँछन्।
हामीले भेटेकामध्ये पहिलो पटक भोट हाल्न लागेका बहुसंख्यक युवा मतदाता रास्वपाको पक्षमा खुलेका थिए। उनीहरूले एमाले वा कांग्रेसतिर जान सक्ने आफ्ना आमाबुबाको मत पनि घन्टीतिर तान्ने प्रयास गरिरहेको खुलाए।
जेनजी आन्दोलन बेला सरकारको नेतृत्वमा रहेको एमाले र कांग्रेसले खासगरी युवा पुस्तालाई कुनै पनि ढंगमा आकर्षित गर्न नसकेको हामीले पायौं। यसको प्रत्यक्ष फाइदा रास्वपाले उठाउने देखिन्छ।
हामी यो भ्रमण क्रममा तुलसीपुर उपमहानगरको फचकलुवामा एउटा यस्तो घरमा पुगेका थियौं, जहाँ पिँढीमा बसेर दुई जना छोरा आफ्ना आमाबुबासँग भोटको चर्चा गर्दै थिए।
उनीहरूको चुनावी चर्चामा हामी पनि मिसियौं।
२१ वर्षीय 'जेनजी' युवा नारायण वलीले भने, 'बुबा कहिले कांग्रेसलाई दिने भन्नुहुन्छ, कहिले घन्टीलाई नै दिने भन्नुहुन्छ। उहाँ दोमनमा हुनुहुन्छ। मैले चाहिँ मन बनाइसकेँ। मेरो जिन्दगीको पहिलो भोट घन्टीलाई।'
कुराकानी क्रममा आमाले भनिन्, 'खोई यी छोराहरू कराएका करायै छन्। तर बाबु, हामी दुई जना बुढाबुढीले जिन्दगीमा कांग्रेसबाहेक अरूलाई भोट हालेका छैनौं। त्यसैले हामी कांग्रेस छाड्दैनौं, तिमीहरू जे मन लाग्छ, त्यही गर भनेका छौं।'
बुबाले थपे, 'देश र जनताका लागि नेपाली कांग्रेसले धेरै गरेको छ। तर अहिले आएर सब खत्तम भयो। अघिल्लो चोटि माओवादीसँग गठबन्धन गरेकै मलाई चित्त बुझेको थिएन। त्यसैले त्यो बेला प्रत्यक्षतर्फ भोट नै दिइनँ। माओवादीकी रेखा शर्मालाई जिताउन 'हँसिया हथौडा' मा भोट हाल्न हातै गएन। समानुपातिक भोट चाहिँ 'रूख' लाई नै दिएँ। यसपालि कांग्रेसको आफ्नै उम्मेदवार छ। आफ्नै 'रूख' लाई भोट हाल्न पाइएको छ। छोराहरू चाहिँ घन्टी, घन्टी भनिरहेका छन्। साह्रै दोमनमा छु।'

पाँचौं, विगतको चुनावी गठबन्धन।
विगतको चुनावी गठबन्धनले खासगरी नेपाली कांग्रेसलाई ठूलो घाटा पारेको हामीले पाएका छौं। विगतमा कहिले एमाले र कहिले माओवादीसँग गठबन्धन गरेर 'रूख' बाहेक अन्य चिह्नमा मत खसाल्न दबाब दिएको कांग्रेसी मतदाताहरूलाई चित्त बुझेको छैन।
यही कारणले यहाँका कतिपय पुराना कांग्रेसी मतदाताले अघिल्लो चुनावमै पार्टीको निर्देशन मानेका थिएनन्। उनीहरूले प्रत्यक्षतर्फ या त भोट नै खसालेनन्, या रास्वपामा मतदान गरे। त्यही भएर संगठन शून्य हुँदा पनि भर्खरै खुलेको रास्वपाले यहाँ १३ हजारभन्दा बढी भोट ल्याएको थियो।
यसरी अघिल्लो चुनावमै पार्टीबाट विकर्षित कांग्रेस मतदाता यसपालि फेरि रास्वपालाई भोट हालेर पार्टीलाई सबक सिकाउने मूडमा देखिन्छन्।
छैटौं, जेनजी आन्दोलनको प्रभाव र नेतृत्व परिवर्तन।
भदौ २३ र २४ जेनजी आन्दोलनमा भएको गोलीकाण्डले पनि एमाले र कांग्रेसका धेरै मतदातालाई निराश र असन्तुष्ट बनाएको हामीले पायौं।
खासगरी एमालेका पुराना मतदाताले जेनजी आन्दोलनमा भएको दमनको जबाफदेहिता पार्टी नेतृत्वबाट खोजिरहेका छन्। नेतृत्व अहिलेसम्म त्यसबारे मौन रहेको र जेनजी आन्दोलनको मर्म अनुसार पार्टी रूपान्तरण नभएको भन्दै उनीहरूले त्यसको जबाफमा मत फेर्ने निष्कर्ष सुनाए।
अर्कातिर, भदौ २४ को घटना सम्झिँदा 'जलाउनेहरूले देश बनाउँदैनन्' भन्दै एमालेकै पक्षमा भोट हाल्ने मन बनाएका मतदाता पनि हामीले भेट्यौं।
कांग्रेसका हकमा विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वले केही सकारात्मक सन्देश त दिएको छ, तर त्यसले जनताको असन्तोष मेट्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई कांग्रेसी मतदाताहरूले 'अस्थायी उपक्रम' को संज्ञा दिएका छन् र यसैका भरमा पार्टी बदलियो भनेर विश्वास गर्न नसकिने बताउँछन्।
'पछि नियमित महाधिवेशन हुँदा पुरानै नेताहरू नेतृत्वमा नआउलान् भन्न सकिँदैन,' यसपालि रास्वपालाई भोट दिने मन बनाएका एक पुराना कांग्रेस मतदाताले भने, 'हाम्रो मनमा अहिलेसम्म विश्वास जाग्न सकेको छैन।'
यिनै ६ कारणले कांग्रेस, एमाले र माओवादीका पुराना मतदातामा बढेको असन्तोषको फाइदा यसपालि रास्वपाले उठाउने हाम्रो विश्लेषण छ।
यसको सबभन्दा ठूलो मार एमालेका उम्मेदवार शंकर पोखरेललाई पर्न सक्छ।
उनको प्रतिनिधिसभा सांसद बन्ने यात्रा दोस्रो पटक पनि रास्वपाले अवरोध गर्न सक्ने देखिन्छ। यसअघि २०७९ सालको चुनावमा रास्वपा नभइदिएको भए माओवादीसँगको गठबन्धनबाट असन्तुष्ट कांग्रेस मत उनलाई जान सक्थ्यो। थोरै मतले पराजित शंकर थोरै मतले विजयी हुन सक्थे।
यसपालि त झन् एमालेसहित कांग्रेस र माओवादीको भँगालोबाट चुहिएको मत एकोहोरो रास्वपातिर मिसिँदा सबभन्दा अप्ठ्यारो शंकरलाई नै पर्ने स्थिति हामीले देखेका छौं।
तर राजनीतिक रूपले क्षति कांग्रेस र माओवादीलाई पनि हुनेछ।
दाङ– २ मा रूकुम, रोल्पाबाट बसाइँ सरेर आएका धेरै माओवादी मतदाता बस्छन्। अघिल्लो पटक माओवादीकी रेखा शर्मा विजयी हुनुको एउटा बलियो आधार तिनै मतदाता थिए। परम्परागत रूपमा माओवादीलाई मत दिँदै आएका यी मतदाता पनि यसपालि नेकपालाई भोट दिने मूडमा छैनन्।
यो क्षेत्रमा सबभन्दा दुर्गम क्षेत्र बंगलाचुली गाउँपालिका–५, झेलनेटा बजारका ७६ वर्षीय मेघराज खत्रीले हालसम्म माओवादीबाहेक अन्यत्र भोट हालेका छैनन्। तर यसपालि उनी अन्योलमा छन्।
मेघराजका छोरा दिलबहादुर रास्वपातिर लागेका छन्। उनले रास्वपाको चुनाव प्रचार गर्न बजारको मुख्य चोकमा सम्पर्क कार्यालय खोलेका छन्। अर्कातिर, उनकी छोरी शान्ति घर्तीले बजारमै नेकपाको सम्पर्क कार्यालय खोलेकी छन्।
आफ्ना छोरा र छोरीले बजारको आमने–सामने खोलेका दुई प्रतिस्पर्धी पार्टीका सम्पर्क कार्यालय देखाउँदै मेघराजले भने, 'एउटै घरका छोरा र छोरी एक जना 'घन्टी' भन्दै हिँडेको छ, अर्को 'तारा' भन्दै हिँडेको छ, म बूढालाई फसाद छ!'
यसरी रास्वपाले माओवादीदेखि अरू पुराना दलको मत प्रशस्त तानेको छ भने अन्य पार्टीले आफ्नै मत पनि जोगाउन सकेका छैनन्। अरू दलको तान्ने त परको कुरा!
हामीसँग जति जना मतदाताले एमालेका शंकरलाई भोट हाल्छौं भने, तीमध्ये लगभग सबैले विगतमा पनि एमालेलाई नै भोट हालेको बताए।
त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेलाई भोट हाल्छौं भन्नेहरू पनि बहुसंख्यक कांग्रेसका पुरानै मतदाता हुन्। नेकपाका निर्मल आचार्यको अवस्था पनि त्यस्तै छ।
तुलसीपुर उपमहानगरपालिका–१९, बाँसगढीकी ५० वर्षीया मेनका नेपाली पहिले पनि एमाले र अहिले पनि एमालेलाई नै भोट हाल्ने बताउँछिन्। उनी एमालेको कामबाट सन्तुष्ट छिन्।
भन्छिन्, 'शंकर पोखरेलले विकास गर्नुभएकै छ। सिँचाइ ल्याउनुभएकै छ। जनताको मन जित्नुभएकै छ। मेरो भोट त उहाँलाई नै हो।'
उनले यो पनि भनिन्, 'परिवर्तन त मलाई पनि चाहिएको छ। तर परिवर्तन भनेको रातारात आउने होइन, बिस्तारै हुने हो। पहिलेको दाँजोमा धेरै थोक परिवर्तन भएकै छन्। अहिले मान्छेहरूले के परिवर्तन खोजेका हुन्, मैले बुझेको छैन!'
अघिल्लो चोटि माओवादी उम्मेदवार रेखा शर्मालाई भोट हालेका र अब नेकपाका निर्मल आचार्यलाई भोट हाल्ने मन बनाएका २५ वर्षीय केशरबहादुर वली पनि परिवर्तनका नाममा आलाकाँचा र अपरिपक्वहरूलाई देश सुम्पिने लहर चलेको गुनासो गर्छन्।
'सबै जना परिवर्तन ल्याउने भन्छन्, नयाँ पार्टीमा जाने भन्छन्,' उनले भने, 'मलाई व्यक्तिगत रूपमा भने यी नयाँहरूप्रति खासै विश्वास छैन।'
केशरबहादुर वली
पुराना पार्टीबाट भोट चुहिने ट्रेन्डमा यहाँ एउटा अर्को स्थिति पनि देखिएको छ — विगतमा एमाले वा कांग्रेसलाई भोट हालेका, तर यसपालि तिनलाई भोट हाल्ने मन नगरेका र नयाँतिर पनि जान नरूचाएका कतिपय मतदाताले चुनावै बहिष्कार गर्ने योजना हामीलाई सुनाए।
तुलसीपुर उपमहानगरका–१८, बिजौरी चोकमा स्टेसनरी पसल चलाएर बसेका रवीन्द्रनाथ आचार्य यसपालि कसैलाई भोट हाल्ने मन नभएको बताउँछन्।
उनले आफ्ना केही चासो र प्रश्न ठूलो कागजमा लेखेर राखेका छन्। कुनै पार्टीका उम्मेदवार भोट माग्न आए उनी त्यही कागज पढ्न लगाउँछन् र जबाफ खोज्छन्।
'तपाईंलाई भोट किन?' शीर्षकमा लेखिएको उनको ९ बुँदे चासोपत्रमा यस्ता प्रश्न छन् —
१) एउटै देशका नागरिकलाई धेरै परिचयपत्र किन?
२) २०७९ मा गरिएको मतदानको उपलब्धि के हो? र, त्यो कहाँ छ?
३) स्मार्ट सिटी, रेल, पानीजहाज, टरीगाउँ एयरपोर्ट कहाँ गए?
४) खाडीमा गएर कमाइ गरी पठाइएको रेमिटेन्स सदुपयोगको एउटा उदाहरण के हो?
५) तपाईं आफ्नो क्षेत्रमा कुन कुन उद्योग खोल्दै हुनुहुन्छ?
६) कति जना कामदार वा कर्मचारी राख्ने योजना छ?
७) पाँच वर्ष अवधिमा कति जनालाई रोजगारी दिने लक्ष्य छ?
८) विदेशिएका मेरा छोरा, भाइ, भतिज, भानिज, दिदीबहिनी र काका–काकीलाई कहिले वा कति दिनभित्र रोजगारी दिने अठोट गर्नुहुन्छ?
९) प्रदेशको औचित्य के हो, साबित गर्नुहोस्?
रवीन्द्रनाथ आचार्य
यी ९ बुँदे चासो सँगसँगै रवीन्द्रले हामीसँगको कुराकानीमा 'अहिलेको चुनावले जेनजी आन्दोलनको भावना र मर्म कसरी आत्मसात् गर्छ' भन्ने प्रश्न पनि उठाए।
अनि भने, 'जुन दलले मेरा यी चासो र प्रश्नको जबाफ दिन सक्छ, म उसैलाई भोट दिऊँला। नभए भोट दिन्नँ।'
***
यी पनि पढ्नुस्- सेतोपाटी संविधान मान्छ, सर्वोच्च अदालत जान्छ
सेतोपाटी चुनाव विश्लेषण – १ ► चितवन–३ मा सोविता गौतमले जित्ने प्रबल सम्भावना
सेतोपाटी चुनाव विश्लेषण– २ ► काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङबीच