अमेरिका र इसराइलले अन्ततः इरानमाथि सैन्य आक्रमण गरेका छन्।
अमेरिका र इसराइलको संयुक्त आक्रमणको सुरूआतमै शनिबार सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको मृत्यु भएको इरानले पुष्टि गरेको छ। खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरूलाई पनि मारेको इसराइलले दाबी गरेको छ।
अहिले अमेरिका र इसराइलले इरानमाथि लगातार हवाई आक्रमण गरिरहेका छन् भने जबाफमा इरानले पनि इसराइलमाथि हमला गरिरहेको छ। साथै, विभिन्न खाडी राष्ट्रमा रहेका अमेरिकी सैन्य अखडा र ती देशका भौतिक संरचनाहरूमा पनि इरानले आक्रमण गरिरहेको छ।
यसरी अमेरिकाले विदेशमा अनावश्यक सैनिक हस्तक्षेप गरेको भन्दै राजनीति सुरू गरेका डोनाल्ड ट्रम्पले मध्य–पूर्वमा युद्धको सुरूआत गरेका छन्। करिब दुई महिनाअघि सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेर हौसिएका ट्रम्पले मध्य–पूर्वको सबभन्दा शक्तिशाली मुस्लिम राष्ट्रमाथि पनि धावा बोलेका छन्।
ट्रम्पले देखाउनका लागि इरानसँगको समस्याको कूटनीतिक समाधानका निम्ति केही दिन अघिसम्म पनि वार्ता गरे। तर भेनेजुएलामा सफलता हात पारेपछि इरानमाथि आक्रमण गर्न उनले अठोट गरिसकेको देखिन्छ।
पछिल्ला हप्ताहरूमा खाडी क्षेत्रमा ठूलो संख्यामा युद्धपोत र लडाकु विमानहरू पठाएपछि अमेरिकाले इरानमाथि हमला गर्ने निश्चित जस्तै थियो। तैपनि ट्रम्पले विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरलाई पठाएर ओमानको मध्यस्थतामा इरानसँग वार्ता गर्न लगाए।
भन्नका लागि इरानले आणविक हतियार कार्यक्रम रोक्न नमानेकाले आक्रमण गरिएको अमेरिकाको जिकिर छ। तर आणविक हतियार कार्यक्रमबारे कुनै पनि विज्ञ नपठाई त्यस सम्बन्धी प्राविधिक ज्ञान नभएका विटकफ र कुश्नरलाई ट्रम्पले वार्तामा पठाएकाले नै वार्ता सफल नहुने लक्षण देखिएको थियो।
अमेरिकाले इरानलाई ऊर्जाका लागि चाहिने परमाणु इन्धन सधैंका लागि निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरे पनि इरानले आणविक कार्यक्रम बन्द नगर्ने अडान राखेको अमेरिकाको दाबी छ। तर आणविक कार्यक्रमबारे अमेरिकाका सबै सर्त मानेको भए पनि ट्रम्पको चित्त बुझ्ने सम्भावना कमै थियो।
वार्ता सफल नहुनुको मुख्य कारण ब्यालेस्टिक मिसाइल निर्माण र मध्य–पूर्वमा रहेका अमेरिका–इसराइल विरोधी विभिन्न समूहलाई सहयोग बन्द गर्न इरानले नमान्नु रहेको केही इरानी विज्ञहरूले खुलाएका छन्। आफूलाई खाडी क्षेत्रको सबभन्दा शक्तिशाली राष्ट्र ठान्ने इरानका लागि अमेरिकाको त्यस्तो सर्त मान्नु आत्मसमर्पण जस्तै हुने थियो।
अमेरिका र इसराइलको विरोध गर्दै झन्डै चार दशकदेखि शासन गरेका ८६ वर्षीय खमेनीले जीवनको उत्तरार्धमा अमेरिकासामु घुँडा टेक्नुभन्दा सामना गरेर साहसी मृत्युवरण गर्न रोजेको देखिन्छ।
इरानले ब्यालेस्टिक मिसाइल बनाउन नरोके पनि अमेरिकालाई तत्काल खतरा थिएन। अझै एक दशकसम्म पनि इरानले अमेरिकासम्म प्रहार गर्न सक्ने मिसाइल बनाउन नसक्ने अमेरिकी सेना र गुप्तचर निकायहरूको आकलन भए पनि ट्रम्पले इरानमाथि आक्रमण गरेको द वासिङटन पोस्टले लेखेको छ।
यस अर्थमा, ब्यालेस्टिक मिसाइल बनाउन बन्द गर्ने सर्त मानेको भए पनि ट्रम्पले अन्ततः इरानमा आक्रमण गर्ने नै थिए भन्न सकिन्छ।
अब ट्रम्पले किन कुनै पनि हालतमा इरानमाथि आक्रमण गर्न खोजेका हुन् भन्नेबारे चर्चा गरौं।
आफ्नो सीमा नजोडिएको इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकी मुलुकहरूमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ।
यसका निम्ति इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) को 'कुद्स फोर्स' ले विदेशी समूहहरू परिचालन गर्छ।
इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेसिस्टेन्स' भनिन्छ। बसर अल–असदले शासन गरेको सिरिया पनि यो मोर्चाबन्दीको हिस्सा थियो।
तर सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमाथि हमला गरेपछिका घटनाक्रमले मध्य–पूर्वको शक्ति सन्तुलनमा ठूलो उथलपुथल ल्यायो। इसराइलले बिस्तारै पहिले हमास र त्यसपछि हिजबुल्लाहलाई धराशायी बनायो।
असदको शासन टिकाउन उनको तर्फबाट सिरियाको गृहयुद्ध समेत लडेको हिजबुल्लाह कमजोर भएकाले सन् २०२४ को डिसेम्बरमा असदको शासन समेत ढल्यो।
यसरी ठूलो खतराका रूपमा रहेको नजिकैको हिजबुल्लाह धराशायी भएको र सिमाना जोडिएको सिरियामा इरान–निकट असदको शासन ढलेपछि गत जुनमा इसराइलले इरानमाथि हमला गर्यो।
इरानको आणविक हतियार कार्यक्रम रोक्न भनेर गरिएको सो हमलामा इसराइलले इरानका धेरै वरिष्ठ जनरल र अधिकारीहरूको हत्या गर्यो। त्यति मात्र नभएर इरानको 'एयर डिफेन्स' प्रणाली समेत ध्वस्त पारिदियो।
इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाइएको आणविक भट्टी इसराइलले ध्वस्त पार्न नसकेपछि अमेरिका पनि त्यति बेला युद्धमा होमिएको थियो। अमेरिकाको मिजोरीबाट करिब १८ घन्टा उडेर गएका बी–२ बमवर्षक विमानले बङ्कर–भेदी बमले ती आणविक भट्टीमा प्रहार गरे।
इरानको आणविक हतियार कार्यक्रम पूर्ण रूपमा ध्वस्त पारेको दाबी त्यति बेला ट्रम्पले गरेका थिए। उनले दाबी गरे जस्तो पूर्ण रूपमा ध्वस्त नभए पनि त्यसपछि इरानको आणविक कार्यक्रम धेरै पछि धकेलिएको मानिन्छ।
यसरी इरानको आणविक हतियार कार्यक्रममा धेरै ठूलो धक्का लागे पनि अहिले पुनः आणविक कार्यक्रमकै बहानामा ट्रम्पले इरानमा आक्रमण गरेका छन्।
यसो गर्नुको सबैभन्दा मुख्य कारण इरान अहिले अभूतपूर्व रूपमा कमजोर हुनु हो। अमेरिका र इसराइलसँग राम्रो सम्बन्ध रहेको शाह पहलवी वंशको शासन सन् १९७९ को इस्लामिक क्रान्तिमा ढलेपछि इरान लगातार उनीहरूका लागि समस्या बनेको छ।
'एक्सिस अफ रेसिस्टेन्स' चलाएर इसराइललाई दुःख मात्रै नदिई इरानले सिधै अमेरिकालाई नै चुनौती दिइरहेको छ। त्यसैले इरान धेरै कमजोर भएको मौका छोपेर अहिले अमेरिकाले आक्रमण गरेको देखिन्छ।
यसका लागि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लगातार ट्रम्पलाई अनुरोध गरेर मनाएका छन्। वर्षौंदेखि नेतन्याहुले अमेरिकालाई इरानसँग युद्ध गर्न मनाउन खोजिरहेका थिए। तर सद्दाम हुसेनलाई सत्ताच्युत गरेपछि इराकमा देखिएको सुरक्षा चुनौतीका कारण रिपब्लिकन र डेमोक्र्याटिक कुनै पनि दलका राष्ट्रपतिले यो कुरा मानेका थिएनन्।
इरान ज्यादै कमजोर रहेको बेला भने अस्थिर स्वभावका ट्रम्पलाई अन्ततः मनाउन उनी सफल भएका छन्।
इरानमाथि आक्रमण गर्न ट्रम्पलाई साउदी अरेबियाले समेत मनाएको देखिन्छ।
सुन्नी मुसलमान बहुल साउदी अरेबिया र सिया मुसलमान बहुल इरानबीच धेरै पहिलेदेखि दुश्मनी छ। इस्लामिक क्रान्तिपछि अमेरिकासँगको दुश्मनीका कारण पश्चिमा देशहरूले लगाएको नाकाबन्दीले इरान आर्थिक रूपमा साउदीभन्दा धेरै कमजोर छ। तर सैन्य शक्तिको मामिलामा इरान साउदीभन्दा धेरै नै शक्तिशाली छ।
अमेरिकासँग युद्ध भएमा इरानले आफ्ना तेलखानी लगायत संरचनामा आक्रमण गर्ने खतराप्रति साउदी सचेत छ। त्यसैले सार्वजनिक रूपमा साउदीले इरानमाथि हमला नगर्न अमेरिकालाई आग्रह गरिरहेको थियो। साउदीमा शासन चलाइरहेका युवराज मोहम्मद बिन सलमानले इरान विरूद्धको आक्रमणमा आफ्नो भूमिको प्रयोग गर्न नदिने घोषणा नै गरेका थिए।
भित्री रूपमा भने इरानमाथि आक्रमण गर्न साउदीले ट्रम्पसँग पछिल्लो समयमा निरन्तर आग्रह गरेको द वासिङटन पोस्टले जनाएको छ। अहिले कमजोर भएको बेला इरानलाई परास्त नगर्ने हो भने पछि शक्ति आर्जन गरेर यसले झन् धेरै समस्या खडा गर्ने जिकिर साउदीले गर्यो।
इरानमाथि ट्रम्पले आक्रमण गर्नुमा व्यक्तिगत कारण पनि छ। केही हप्ताअघि इरानमा विरोध प्रदर्शन भएको बेला प्रदर्शनकारीमाथि धेरै बल प्रयोग नगर्न उनले इरानलाई चेतावनी दिएका थिए। साथै, चाँडै अमेरिकी सहायता आउने आश्वासन पनि उनले विपक्षीलाई दिएका थिए।
तर प्रदर्शन बढ्दै गएर आफ्नो सत्ता नै ढल्ने खतरा देखेपछि खमेनीले शान्तिपूर्ण प्रदर्शन दबाउन व्यापक बल प्रयोग गरे। पश्चिमा मानव अधिकारवादी संस्थाहरूका अनुसार गोली चलाएर केही दिनमै इरानले दसौं हजार निहत्था जनताको हत्या गरी स्थिति नियन्त्रणमा लियो।
यसरी आफ्नो चेतावनीको बेवास्ता गर्दै प्रदर्शनकारीमाथि व्यापक बल प्रयोग गरेको रिस फेर्न समेत ट्रम्पले इरानमाथि हमला गरेको देखिन्छ।
साढे चार दशकदेखि अमेरिकी आँखामा कसिंगर बनेको इस्लामिक शासन ढालेमा इतिहासमा उच्च मूल्यांकन हुने लोभका कारण समेत उनले आक्रमण गरेका हुन सक्छन्। इरानमाथि आक्रमण गर्दा अमेरिकालाई हुन सक्ने नोक्सानीबारे आफ्ना जनरलहरूले सचेत गराए पनि उनले हमलाको निर्णय लिए।
अब अमेरिका र इसराइलले शनिबार नै किन हमला गरे भन्नेबारे चर्चा गरौं।
इरानमाथि आक्रमण गर्न ट्रम्प केही हप्ताअघि नै तयार भएको मानिन्छ। दुई वटा विमान–वाहक युद्धपोतसहित कैयौं युद्धपोत, सयौं लडाकु विमान र दसौं हजार सैनिक खाडी क्षेत्रमा जम्मा गरेपछि ट्रम्प हमला गर्न कुरेर बसेका थिए।
शनिबार बिहान सर्वोच्च नेता खमेनीसहित वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरूले बैठक राखेको खुफिया सूचना पाएपछि इरानमाथि आक्रमण भएको देखिन्छ। सिआईएले सो बैठकबारे सूचना दिएपछि अमेरिका र इसराइलले आक्रमण गरेको द न्यूयोर्क टाइम्सले लेखेको छ।
सामान्यतया कुनै पनि देशमा सैन्य आक्रमण रातको समयमा गरिन्छ। तर सो बैठकबारे सूचना पाएपछि दिनको उज्यालोमै आक्रमण गरिएको हो। राति आक्रमण गर्लान् भन्ने ठानेर इरान बसेको बेला बिहानको उज्यालोमा अप्रत्याशित आक्रमण गर्दा अमेरिका र इसराइललाई फाइदा समेत भयो।
पहिलो प्रहारमै खमेनीसहित आइआरजिसीका प्रमुख र रक्षामन्त्री जस्ता वरिष्ठ अधिकारीहरूको हत्या गरिएको छ। खमेनीलाई मार्न इसराइली लडाकु विमानले ३० वटा बम खसालेको द वाल स्ट्रिट जर्नलले लेखेको छ।
गत जुनमा पनि खमेनी कहाँ लुकेका छन् भन्ने थाहा भएको र चाहेको भए उनलाई मार्न सकिने दाबी ट्रम्पले गरेका थिए। त्यति बेला खमेनीको हत्या गर्नबाट इसराइललाई ट्रम्पले नै रोकेको मानिन्छ। तर अहिले भने इरानमा सत्ता पल्टाउन उनले खमेनीको हत्याको अनुमति दिएका छन्।
अब युद्ध कसरी अघि बढ्ला भन्नेबारे चर्चा गरौं।
युद्ध चलिरहेको बेला के हुन्छ भनेर यकिन साथ भन्न मुस्किल हुन्छ। तैपनि धेरै लामो समयसम्म युद्ध तन्काउन दुवै पक्षको हितमा नहुने भएकाले यो युद्ध धेरै नचल्ने देखिन्छ।
इरानले अहिले इसराइल र खाडी राष्ट्रहरूमा प्रहार गरे पनि लामो समयसम्म त्यसो गर्न कठिन छ। इरानले हरेक पटक मिसाइल प्रहार गर्दा अमेरिका र इसराइलले प्रहार गरेको स्थान थाहा पाएर त्यहाँ हमला गर्ने खतरा हुन्छ।
मिसाइल प्रहार गरेपछि 'लन्चर' तुरून्तै अर्को ठाउँमा सार्न नसकिने भएकाले मिसाइल आक्रमण जारी राख्दा बिस्तारै इरानका लन्चरहरू ध्वस्त हुँदै जानेछन्। अमेरिका र इसराइलले मिसाइल भण्डारमै प्रहार गरेकाले लामो समयसम्म मिसाइलहरू पनि बाँकी रहने छैनन्।
अर्कोतर्फ, युद्ध चलिरहँदा अमेरिका र इसराइलको पनि हतियार भण्डार रित्तिँदै जानेछ। विशेष गरी इरानी मिसाइलबाट जोगाउन 'एयर डिफेन्स' प्रणालीमा प्रयोग हुने 'इन्टरसेप्टर' को अमेरिकासँग अहिले नै कमी छ।
रूससँग लड्न युक्रेनलाई र गत जुनमा इरानसँगको युद्धका बेला इसराइललाई दिएका कारण अमेरिकासँग रहेको इन्टरसेप्टर कम हुँदै गएको मानिन्छ। ताइवानका कारण चीनसँग युद्ध हुन सक्ने खतरा भएकाले अमेरिका इन्टरसेप्टर मात्र नभई मिसाइल लगायतका अन्य आक्रामक हतियार पनि धेरै खर्च नहोस् भन्ने चाहन्छ।
यसरी दुवै पक्षले चाहेर पनि लामो समयसम्म युद्ध तन्काउन नसक्ने देखिन्छ।
अर्कोतर्फ, इरानले आफ्नो नजिकै रहेको समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भई अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्नेछ।
लामो समयसम्म स्ट्रेट अफ हर्मुज बन्द भएमा विश्वका प्रायः सबै देशलाई घाटा हुनेछ। तेल आयातमा निर्भर रहेको चीनलाई सबैभन्दा धेरै घाटा हुनेछ। त्यसैले लामो समयसम्म यो मार्ग बन्द नगर्न चीनले इरानमाथि दबाब दिन सक्छ।
खमेनीलाई मारेपछि के गर्ने भन्ने विस्तृत योजना नबनाई इरानमाथि आक्रमण गरेको भन्दै अमेरिकाभित्रै पनि ट्रम्पको आलोचना भएको छ। ट्रम्पले योजना राम्ररी नबनाएकाले इरानमा अब के हुन्छ भन्न सकिँदैन।
इरानमाथि आक्रमणको शनिबार घोषणा गर्दा नै उनले इरानको शासन हातमा लिन त्यहाँका जनतालाई आह्वान गरेका थिए। तर प्रदर्शन दमन गर्ने राज्यका संरचनाहरू बाँकी रहुन्जेल ठूला प्रदर्शन हुन कठिन हुनेछ। त्यसैले विपक्षीको सरकार बन्ने सम्भावना तत्काल धेरै देखिँदैन।
त्यस्तै सन् १९७९ को इस्लामिक क्रान्तिमा सत्ताच्युत भएका मोहम्मद रेजा पहलवीका छोरा रेजा पहलवी सत्तामा आउन सक्छन्। आफ्नो वंशको शासन ढलेपछि अमेरिकामा रहँदै आएका रेजाको पछिल्ला दिनमा लोकप्रियता बढिरहेको छ।
खमेनीको धार्मिक शासनभन्दा रेजाले उदारवादी शासन चलाउने जनताले आशा गरेका छन्। तर अझै पनि धेरै जनता राजतन्त्र फर्काउन नहुने पक्षमा छन्। फेरि, उनको शासन फर्काउन अहिले शक्तिशाली रहेको आइआरजिसी र सेनाले पनि नमान्ने लक्षण देखिन्छ। त्यसैले अहिलेका सुरक्षा संयन्त्र शक्तिशाली रहुन्जेल रेजा गद्दीमा फर्कन मुस्किल पर्नेछ।
युद्धका बेला सर्वोच्च नेता खमेनीको मृत्यु भएकाले तुरुन्तै अर्को सर्वोच्च नेता चयन हुने सम्भावना पनि कम छ। यद्यपि अमेरिकाले आक्रमण गर्ने निश्चित प्रायः भएकाले खमेनीले पहिले नै आफ्नो मृत्यु भएमा वा लुकेर सम्पर्कविहीन भएमा शासन कसरी चलाउने भन्ने निर्देशन दिइसकेको मानिन्छ।
आफ्नो मात्र नभई हरेक उच्च सैनिक जनरलको कम्तीमा चार तहको उत्तराधिकारी टुंगो लगाउन केही समयअघि नै खमेनीले निर्देशन दिएको अमेरिकी मिडियाले जनाएका छन्। तर युद्धका बेला ती उत्तराधिकारीहरूको पनि हत्या भइसकेको हुन सक्छ। त्यसैले शासन कसले चलाउँछ भन्ने यकिन साथ भन्न सकिँदैन।
त्यस्तै मदुरोलाई पक्राउ गरेपछि भेनेजुएलामा तत्कालीन उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई शासन चलाउन दिए जस्तै ट्रम्पले इरानमा पनि सत्तापक्षकै कसैलाई अन्तरिम रूपमा शासन चलाउन दिन सक्छन्। अमेरिकाप्रति तुलनात्मक रूपमा नरम मान्छे नआउन्जेल अमेरिका र इसराइलले शासन चलाउनेहरूको हत्या गरिरहनेछन्।
यस्तोमा ढिलो–चाँडो अमेरिकी चाहना अनुरूप अहिलेको सत्ता पक्षकै कसैले सत्ताको बागडोर लिने बढी सम्भावना छ।
अर्कोतर्फ, अप्ठ्यारो परेको बेला रूस वा चीन कसैले पनि इरानलाई मद्दत नगरेकाले अहिलेको सत्ता पक्षले अमेरिकासँग सम्बन्ध सुधार्ने प्रयास गर्ने सम्भावना पनि छ।
युक्रेनसँग लड्न इरानले रुसलाई शाहिद ड्रोन मात्र नभई धेरै गोलाबारुद दिएको थियो। चीनको आर्थिक र प्राविधिक सहयोगपछि इरानको सहायता नै रूसका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। आफूले त्यत्रो भरथेग गर्दा पनि रुसले केही नगरेकाले अमेरिकासँग दुश्मनी गरिराख्नु आफ्नो हितमा नहुने निष्कर्ष इरानले निकाल्न सक्छ।
अमेरिकासँगको घोषित दुश्मनी छोडेमा इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी अन्त्य हुनेछ। विभिन्न समूह चलाएर छिमेकीलाई दुःख दिन छोडेर आफ्नो आन्तरिक मामिलामा मात्र ध्यान दिएमा तेल बेचेर इरानले द्रुत विकास पनि गर्न सक्छ।
त्यस्तो भएमा ढिलो–चाँडो प्यालेस्टिनी समस्या समाधान गर्न इसराइलमाथि खाडी राष्ट्र र अमेरिका दुवैले थप दबाब समेत दिन सक्छन्। प्यालेस्टिनी समस्याको पनि हल भएमा मध्य–पूर्वमा दीर्घकालीन शान्ति आउनेछ।
***