भारत, बिहारको मुख्यमन्त्रीका १० औं पटक शपथ लिएको चार महिना पनि नबित्दै नितिश कुमारले बिहीबार राज्य सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका छन्।
पहिलो पटक सन् २००० मा सात दिनका लागि बिहारका मुख्यमन्त्री बनेका नितिश कुमार सन् २००५ पछि लगातार जस्तो बिहारको सरकार प्रमुख छन्।
बिहीबार भारतको माथिल्लो सदन राज्यसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका उनले आगामी साता चुनाव जितेपछि मुख्यमन्त्रीबाट राजीनामा दिने छन्।
यसरी बिहारको मुख्यमन्त्रीका रूपमा १० औं पटक शपथ लिएको चार महिना पनि नबित्दै उनी अब बिहारको सरकार प्रमुख नरहने निश्चित भएको छ।
भारतीय जनता पार्टीसँगको (भाजपा) गठबन्धनका तर्फबाट चार महिनाअघि मात्रै भएको निर्वाचनमा उनी मुख्यमन्त्रीका उम्मेदवारका थिए। उनले यति छिटो मुख्यमन्त्री छाड्ने भएपछि विभिन्न अड्कलबाजी हुन थालेका छन्। उनले आफै छोड्न लागेका हुन् कि भाजपाको दबाबमा भनेर प्रश्न उठेको छ।
उसो त नितिशले आफ्नै खुसीले मुख्यमन्त्री छाड्न लागेको बताएका छन्।
'मेरो संसदीय यात्राको सुरूदेखि नै बिहार विधानमण्डलका दुवै सदन र (संघीय) संसदका दुवै सदनको सदस्य बन्ने इच्छा मेरो हृदयमा थियो। यही आकांक्षा अनुरूप, यस पटक हुन गइरहेको निर्वाचनमा म राज्य सभाको सदस्य बन्न चाहन्छु,' विगतमा धेरै पटक लोकसभा सदस्य भइसकेका नितिशले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
उनले यसो भने पनि आफ्नो राजीखुसीभन्दा भाजपाको दबाबकै कारण मुख्यमन्त्री छाड्न लागेको अड्कल काटिन थालेको छ। विशेष गरी सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि शक्तिशाली भएको भाजपाले विभिन्न राज्यमा गठबन्धन साझेदारले बिस्तारै कमजोर बनाएको छ। त्यस्तै नितिशको जनता दल (युनाइटेड) लाई कमजोर पार्न यस्तो गरेको टिप्पणी केहीले गरेका छन्।
धेरैले यसलाई महाराष्ट्रमा लामो समयसम्म भाजपाको साझेदार रहेको शिव सेनालाई कमजोर पारेको इतिहाससँग जोडेर हेरेका छन्। भाजपाको जस्तै हिन्दु कट्टरवाद अँगालेको शिव सेना राज्यमा मराठी वर्चस्व वकालत गरेका कारण लामो समयसम्म महाराष्ट्रमा धेरै शक्तिशाली थियो। तर भाजपासँगको गठबन्धनका कारण बिस्तारै कमजोर बन्यो।
भाजपा र शिव सेनाको गठबन्धन सन् २०२४ मा भएको महाराष्ट्र विधानसभा निर्वाचन शिव सेनाका एकनाथ शिन्डेको नेतृत्वमा लडेको थियो। निर्वाचनपछि भने भाजपाका देवेन्द्र फडणावीसलाई महाराष्ट्रको मुख्यमन्त्री बनाइयो।
चार महिनाअघि भएको बिहार विधानसभा निर्वाचन पनि गठबन्धन नितिशकै नेतृत्वमा लडेको थियो। तर नितिशको जनता दल (युनाइटेड) भन्दा भाजपाले बढी सिट जितेर सबभन्दा ठूलो दल बन्यो। त्यो बेला भाजपाले उनलाई मुख्यमन्त्री बनाउँदैन कि भनेर चर्चा चले पनि नितिश मुख्यमन्त्री भए। अब भने उनको ठाउँमा भाजपाकै मुख्यमन्त्री बन्ने देखिन्छ।
७५ वर्षीय नितिशलाई मनाउन भाजपाले उनका छोरा निशान्त कुमारलाई बिहारको उपमुख्यमन्त्री बनाउन लागेको भारतीय मिडियाहरूले लेखेका छन्।
राज्यसभाको सदस्य भएपछि बिस्तारै नितिशको राजनीतिक अवकाश हुने मानिन्छ। लामो समयसम्म बिहारमा हावी भएका र सन् २०२४ को लोकसभा निर्वाचनमा भाजपाले अपेक्षाकृत सफलता हासिल नगरेपछि प्रधानमन्त्रीका 'किङमेकर' बनेका नितिशको भूमिका अब बिस्तारै खुम्चिने देखिन्छ।
राजनीतिमा पटक पटक 'यू टर्न' मारेर भए पनि १० पटक बिहारको मुख्यमन्त्री बनेका ‘पल्टुराम’ अन्ततः बिहारको राजनीतिमा अब बिस्तारै प्रभावहिन हुँदै जाने छन्। राज्यसभा सदस्य निर्वाचित भएपछि केन्द्रीय मन्त्री नै भए पनि उनको बिहार मार्फत राष्ट्रिय राजनीतिमा रहेको प्रभाव क्रमश क्षीण हुँदै जाने देखिन्छ।
नितिशको राजनीतिक इतिहास
इलेक्ट्रिकल इन्जिनियरिङ पढेका नितिशले पढाइपछि केही समय बिहार इलेक्ट्रिसिटी बोर्डमा जागिर खाएका थिए। पछि जागिरै छाडेर समाजवादी राजनीतिमा लागे।
जयप्रकाश नारायणले सन् १९७४ देखि चलाएको आन्दोलनमा उनी सहभागी भएका थिए। त्यति बेलादेखि नै नितिशले विद्यार्थी राजनीतिबाट उदाएका लालु यादवसँग सहयात्रा गरे।
नितिश र लालु दुवै जयप्रकाश नारायण र राम मनोहर लोहिया जस्ता सामाजिक न्याय र पिछडिएका वर्ग–समुदायको मुद्दा उठाउने नेताबाट प्रभावित थिए। त्यसैले उनीहरूले पनि बिहारमा पिछडिएका जातिको उत्थानका लागि राजनीति गरे।
तर नितिश लालुभन्दा झन्डै तीन वर्ष कान्छा थिए। लालुले केही वर्ष अघिदेखि नै विद्यार्थी राजनीति सुरू गरेकाले पनि नितिश सधैं पछि रहे।
विपक्षीलाई दवाउन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा इमरजेन्सी लगाइन्। लालु र नितिश दुवै त्यसको विरोधमा लागे। इमरजेन्सीको विरोध गरेर जेल परेका बेला नितिश केही समय नेपालमा हवाइजहाज अपहरण गरेका कारण भारतीय जेलमा रहेका नेपाली कांग्रेसका नेता सुशील कोइरालासँग एउटै जेल बसेका थिए।
इमरजेन्सीपछि, सन् १९७७ को लोक सभा चुनावमा कंग्रेसविरूद्ध लहर चलेको थियो। त्यहीमाझ लालु २९ वर्षको उमेरमा लोक सभा सदस्य बने। जनता पार्टीले नेतृत्व गरेको मोरारजी देसाइको केन्द्रीय सरकार आन्तरिक कलहका कारण दुई वर्षमै ढल्यो।
सन् १९७० दशकमा बिहारमा चलेको समाजवादी आन्दोलनले दशकौंका लागि पिछडिएको समुदायको शासनको जग भने बसाल्यो।
बिहारका बहुसंख्यक भए पनि यादवहरू पिछडिएका थिए। उनीहरूलाई बिहारमा 'अन्य पिछडिएको वर्ग' मा गनिन्छ। उनीहरूकै मतका कारण लालुले लामो समयसम्म बिहारमा राज गरे। नितिशले भने यादवपछिको सबभन्दा ठूलो पिछडा वर्ग कुर्मीको प्रतिनिधित्व गर्छन्।
लालु पहिलो पटक सन् १९९० मार्चमा बिहारको मुख्यमन्त्री भए। त्यसै साल अप्रिलमा नितिश बिपी सिंह नेतृत्वको केन्द्रीय सरकारका राज्यमन्त्री भए। त्यही साल नोभेम्बरमा बिपी सिंहको सरकार ढलेपछि उनको पद गइहाल्यो।
यता लालुले भने मुख्यमन्त्रीका रूपमा बिहारमा शक्ति आर्जन गर्दै मनपरी गर्न थालिसकेका थिए। तत्कालीन भाजपा अध्यक्ष लालकृष्ण आडवाणीले अयोध्यामा बाबरी मस्जिद भएको ठाउँमा राम मन्दिर बनाउन गुजरातको सोमनाथबाट अयोध्यासम्म पुग्न रथयात्रा निकालेका थिए। सन् १९९० सेप्टेम्बर २३ मा त्यो रथयात्रालाई बिहारको समस्तीपुरमा लालुले रोके र लालकृष्णलाई गिरफ्तार गरे। यसपछि लालु यादव भारतभरि नै चर्चित भएका थिए।
नाम र शक्ति आर्जन गर्दै गएपछि लालुले केन्द्रको राज्यमन्त्रीको पद फुस्किसकेका नितिशलाई वास्ता गर्न छाडे। बिस्तारै पार्टीमा पनि उनलाई शक्तिबिहीन पारे।
लालुले पिछडिएको समुदायको उत्थान गर्ने क्रममा यादवहरूलाई मात्रै ध्यान दिएको कुर्मी समुदायका नितिशले गुनासो गर्न थाले। त्यतिञ्जेल लालुको परिवार र ससुरालीले व्यापक भ्रष्टाचार गर्न थालिसकेका थिए।
संकर्षण ठाकुरले लेखेको ‘सिंगल म्यानः द लाइफ एन्ड टाइम्स अफ नितिश कुमार अफ बिहार’ किताबका अनुसार सन् १९९२ को अन्त्यसम्ममा नितिश र लालुको सम्बन्ध ज्यादै नै बिग्रिसकेको थियो।
कतिसम्म भने, लालु मुख्यमन्त्रीका रूपमा दिल्ली गएका बेला नितिश सहितको टोलीसँग उनको गालीगलौज नै भएको थियो। नितिशले लालुसँगै बसेर काम गर्न नसक्ने निष्कर्ष निकाल्दै एउटा पत्र लेखे। त्यसको भनक पाएपछि तत्कालीन जनता दल प्रमुख शरद यादवले त्यो पत्र पढ्न मागे र लालुसँग सुलह गराउन प्रयास गरे। लालु माफी माग्न पनि राजी भएका थिए तर नितिशले वास्ता गरेनन्।
तर पनि नितिश त्यसपछि झन्डै दुई वर्ष जनता दलमै रहे। लालुको अझै पेलाइ भोगेपछि बल्ल सन् १९९४ मा उनी पार्टीबाट अलग भए।
संकर्षण ठाकुरका अनुसार नितिश एकदमै जोखिम नलिने खालका मन्छे हुन्। अवसर सामुन्ने हुँदा पनि जोखिम लिन हिच्किचाउँछन् र आफ्नो कदमको परिणामबारे लामो समयसम्म सोचविचार गरेर बस्छन्।
अरूले पनि उनी कुनै पनि निर्णय त्यसका सबै पक्षबारे गहिरोसँग सोचेर मात्रै लिन्छन् भन्छन्। उनीहरूले नै बताए अनुसार पार्टी छाड्नुअघि नितिशले दुई वर्ष कसरी बहुसंख्यक यादवको समर्थन पाएका लालु यादवलाई बिहारमा सत्ताच्युत गर्न सकिन्छ भनेर योजना बनाएर बसे।
सन् १९९२ को अन्त्यमा बाबरी मस्जिद ढलाएपछि अचानक कंग्रेसपछिको दोस्रो ठूलो राष्ट्रिय दल बनेको हिन्दु अतिवादी भाजपासँग उनले योजना अनुसारै बिहारमा तालमेल गरे। जनता दल फुटाएर राष्ट्रिय जनता दल (आरजेडी) बनाएका लालु यादवले सन् २००० को विधान सभा चुनावमा बिहारमा बहुमत पुर्याएनन्।
त्यसपछि तत्कालीन प्रधानमन्त्री भाजपाका अटल बिहारी बाजपेयीको सल्लाहमा पहिलो पटक नितिश मुख्यमन्त्री बने। तर बहुमत पुर्याउन नसकेपछि उनको सरकार एक हप्तामै ढल्यो।
सन् २००४ को लोकसभा चुनावमा भाजपाले नेतृत्व गरेको गठबन्धन पराजित भयो। कंग्रेस गठबन्धनले जित्यो। सन् २००५ मा भएको बिहारको विधान सभा चुनाव भने भाजपाको गठबन्धनले जित्यो। नितिशको जनता दल (युनाइटेड) सबभन्दा ठूलो दल बन्यो र उनी दोस्रो पटक मुख्यमन्त्री बने। उनले बिहारमा व्याप्त अपराध नियन्त्रण गर्दै र विकास निर्माणका धेरै राम्रा काम गरे।
भाजपासँग गठबन्धन सुरू गरेपछि सन् २००४ सम्म पटक पटक केन्द्रीय मन्त्री समेत भएका नितिशले अविकसित बिहारमा सुशासन गरेपछि धेरै चर्चा कमाए। उनको उचाइ देशभरि बढ्यो। पाँच वर्ष राम्रो काम गरेपछि सो गठबन्धन सन् २०१० को विधान सभा चुनावमा झन् धेरै बहुमतका साथ विजयी भयो। तेस्रो पटक मुख्यमन्त्री भएपछि पनि उनले सुशासनलाई निरन्तरता दिए।
सन् २०१४ को चुनावअघि मोदीको विरोध गर्दै गठबन्धन छोडेका नितिशले उक्त लोकसभा चुनावमा बिहार राज्यमा आफ्नो दलले नराम्रो पराजय भोगेपछि हारको जिम्मेवारी लिँदै मुख्यमन्त्री पदबाट राजीनामा दिए। तर सन् २०१५ को विधान सभा चुनावअघि फेरि चौथो पटक मुख्यमन्त्रीका रूपमा फर्के।
मोदी प्रधानमन्त्री भएपछि नितिश लालु यादवको आरजेडी, कंग्रेस लगायतसँग महागठबन्धन गरेर विधान सभा चुनाव लडे। लालुसँग अलग्गिएको दुई दशकपछि दुई जना सँगै भए।
महागठबन्धनले चुनाव जित्यो र नितिश पाँचौं पटक मुख्यमन्त्री बने। लालुको आरजेडी सबभन्दा ठूलो दल बने पनि नितिश नै मुख्यमन्त्री भए र लालुका छोरा तेजस्वी यादव उपमुख्यमन्त्री भए।
सन् २०१७ मा तेजस्वीलाई भ्रष्टाचारको आरोप लागेपछि नितिशले उनलाई राजीनामा दिन भने। तेजस्वीले नमानेपछि उनले महागठबन्धन छाडेर राजीनामा दिए र तुरून्तै भाजपा गठबन्धनको समर्थनमा छैटौंपटक मुख्यमन्त्री बने।
सन् २०२० को विधान सभा चुनाव भाजपा गठबन्धनले जितेपछि कुमारको दल तेस्रो ठूलो मात्रै भयो। तैपनि उनी सातौं पटक मुख्यमन्त्री भए।
तर सन् २०२२ अगस्ट ९ मा उनले भाजपासँगको गठबन्धन छाडेको घोषणा गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिए। अनि तुरून्तै लालु यादवको आरजेडीकै समर्थनमा आठौं पटक मुख्यमन्त्री बने।
उनले २०२४ जनवरीमा फेरि विपक्षी गठबन्धन छाडेको घोषणा गर्दै राजीनामा गरे। त्यसपछि भाजपा सहितको समर्थनमा नवौं पटक मुख्यमन्त्री बनिहाले।
चार महिनाअघि भएको विधान सभा निर्वाचनमा भाजपासँगको गठबन्धनले बहुमत ल्याएपछि उनी दसौं पटक मुख्यमन्त्री बने।
राज्यसभा सदस्य निर्वाचित भएपछि भने पछिल्लो २१ वर्ष बिहारको राजनीतिमा हावी रहेको नितिशको पकड कम हुँदै जानेछ।
***