नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भयो।
शतक उमेर पुग्न लागेको जीर्ण काया, रोगहरूले गाँजेपछि स्वास्थ्यावस्था थप जटिल बनेको थियो। पछिल्लो समय उनी छोरीको घरमा बस्दै आएका थिए।
व्यथाले च्यापेपछि ओलीलाई शुक्रबार बिहानै गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पताल पुर्याइएको थियो। लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अस्पताल परिसरमा राखिएको छ। आजै बिहान ११ः३० बजे पशुपतिस्थित आर्यघाटमा उनको दाहसंस्कार गरिने छ।
केही समयअघिसम्म टठिला थिए मोहनप्रसाद।
वयोवृद्ध अवस्थामा बुवा फुर्तिलै देखेर अध्यक्ष ओलीले कहिलेकाहीँ विनोदी स्वभावमा भन्ने गरेका थिए- मेरो बुवा भर्खरभर्खर बूढो देखिन थाल्नुभएको छ। म बूढो हुन त समय लाग्छ।
सानै उमेरमा मातृवात्सल्य गुमाएपछि केपी शर्मा ओलीको जीवन बाहिरबाहिरै बित्यो। पिता मोहनप्रसादले दोस्रो बिहे गरेका थिए। दोस्रो परिवारबाट एक छोरा र एक छोरीको जायजन्म भएको थियो।
मोहनप्रसाद तीन सन्तानकहाँ नै पालैपालो बस्दै आएका थिए। बुढ्यौलीले गाँज्दै लगेपछि भने उनी छोरीकहाँ नै बढी आश्रित हुन थालेका थिए।
मोहनप्रसाद पनि छोरा केपी शर्मा ओली जस्तै वाचाल (बोल्नमा सिपालु), वाकपटुताले पूर्ण र प्रत्युत्पन्नमतिका थिए। ठट्यौली गरिरहने स्वभाव थियो। चल्तीका आहान र टुक्कामै जबाफ फर्काउँथे।
मोहनप्रसाद ज्योतिष विद्यामा पनि रूचि राख्थे। कुण्डलीमा ग्रहहरूको गुण, दोष, स्थिति आदिबारे बताइदिने गरेका थिए।
वृद्धावस्था ढल्कँदै गएपछि भने क्रमशः उनी त्यो कामबाट बाहिर आए।
२०७२ सालपूर्व उनी काठमाडौं खासै आउजाउ गर्दैनथे। झापामै रहेको आफ्नै थातथलोमा बसोबास गर्थे।
ग्रामीण आनीबानीमा भिजेका मोहनप्रसादलाई खासमा काठमाडौं बस्ने रहर जागेको थिएन। तर छोरा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि भने उनको काठमाडौं आउजाउ बाक्लियो।
२०७२ असोज ३ गते संविधान सभाबाट संविधान जारी भएको केही समयपछि ओली पहिलो पटक प्रधानमन्त्री बने। त्यसपछि मोहनप्रसाद ढुक्कैले बालुवाटार गएर बसे।
प्रधानमन्त्रीका रूपमा ओलीको त्यो कार्यकाल निकै छोटो रह्यो। ९ महिनामै उनी प्रधानमन्त्रीबाट बहिर्गमित भइहाले।
‘छोरो पहिलो पटक प्रधानमन्त्री निर्वाचित हुँदा म काठमाडौंमै थिएँ, यसपालि प्रधानमन्त्रीबाट मुक्त हुने घडी पनि म काठमाडौं भएकै बेला परेछ,’ सेतोपाटीसँग उनले त्यतिबेला भनेका थिए, ‘कस्तो संयोग भने बालुवाटार जाँदा पनि बाबुछोरा सँगै भइयो, बालुवाटारबाट निस्कँदा पनि सँगसँगै।’
ओली त्यतिबेला झापा पृथ्वीनगरस्थित हिमाली चोकमा रहेको घरमा बस्थे। बिर्तामोड, चन्द्रगढी हुँदै दक्षिण भारतसँग जोडिएको पृथ्वीनगरमा मोहनप्रसादको कान्छो छोराको घर थियो, उनी बसोबास त्यहीँ थियो।
केही वर्षअघि मोतियाबिन्दुको अप्रेसन गर्नुअघि उनी आँखा 'राम्ररी देख्ने गरेको' बताउँथे। अखबार, किताबहरू राम्ररी पढ्न सक्थे। अप्रेसनपछि भने चस्मा नलगाइ अक्षर चिन्न छाडेको दुखेसो उनको थियो।
‘अप्रेसन गरेपछि पो म आँखा नदेख्ने भएँ, घुरमैलो देखिन्छ,’ उनले त्यतिबेला ठट्यौली पालामा सुनाउँथे, ‘कान सुन्दैन भनेर अस्पताल लगेका थिए, मैले उल्टै हकारिदिएँ। कानमा ढ्याङ्ग्रा लगाएर हिर्काउँथे ट्याङ्ट्याङ पारेर, अनि सुनिस् भन्थे, के को नसुन्नु, सुत्दा लामखुट्टे ट्याँट्याँ कराएको सुन्ने मान्छेलाई कान नसुन्ने भन्ने पो भनिदिएँ।’
२०७४ फागुन ३ गते अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि मोहनप्रसाद बालुवाटारमा खुब रमाए। उनी प्रधानमन्त्री निवास बालुवाटारको भित्री कम्पाउण्डमा फेरो मारिरहेका हुन्थे। सुरक्षाकर्मीले एक छिन पिछा छाड्दैनथे।
त्यसो त उनी अध्यक्ष ओली पछिल्लो पटक प्रधानमन्त्री हुँदा पनि प्रायः बालुवाटार नै बसे। जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट बहिर्गमित हुँदा पनि मोहनप्रसाद बालुवाटार नै थिए। अध्यक्ष केपी ओलीसँगै उनलाई पनि नेपाली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याएको थियो।
बालुवाटारको बसाइँमा दिक्क हुँदा उनी गाउँ सम्झिन्थे। आफन्त, नातागोता र छरछिमेकी सम्झिन्थे। हल्का हात हेर्ने ज्योतिष विद्या सिकेका र झारफुक पनि गर्ने गरेका मोहनप्रसादलाई घरमा भेट्न आउनेको कमी हुँदैनथ्यो।
‘तपाईं त बालुवाटार पुगेको मान्छे, हामीसँग उसैगरी पहिलेजस्तै बोल्नुहुन्छ,’ गाउँ पुगेका बेला छरछिमेकीले मोहनप्रसादलाई सोध्दा रहेछन्। तिनलाई मोहनप्रसाद जबाफ दिने गरेका थिए, ‘सुख पाएँ भनेर उक्लिनु हुँदैन, दुःख पाएँ भनेर आत्तिनु हुँदैन।’
२०३१ सालको कुरा हो– मोहनप्रसाद त्यतिखेर चप्रामारी बस्थे। केपी घैलाडुब्बामा रत्नलाल ओलीको घरमा बसेर पढ्थे।
असार–साउनको बेला माइखोलाले चप्रामारीको घरखेत बगायो। मोहनप्रसाद छिमेकीकोमा आश्रित भए। त्यतिबेलै ओली राजनीतिमा हिँडडुल गर्न थालेका थिए। माइखोलाले घरबारविहीन बनाएको त्यो परिस्थितिमा मोहनप्रसादले केपी पक्राउ परेको सुनेका थिए।
‘कहाँ के गर्न सक्थेँ र आफू नै अर्काको टाँढमुनि बसेको बेला,’ मोहनप्रसादले सम्झिए। घरखेत हुँदा अरूलाई अँधिया लगाउँथे। त्यसपछि त पटुवा रोप्न पनि अरूको घरखेत अँधियामा कमाउने दिन आए।
‘म कमजोर भएको बेला लत्याकलुतुक पनि हुन्न, बलियो हुँदा माथि पुगेको धाक पनि पसार्दिनँ,’ मोहनप्रसादले कण्ठ फुकाएर भन्थे, ‘एक दिन कहाँको मान्छे कहाँ पुग्छ, मैले यो सब देखेको छु, त्यसैले धनको घमन्ड गर्नुहुन्न।’
मातृवात्सल्यबाट विमुख भएका ओली परिवारबाट समेत टाढा भए। परिवारबाट टाढा भएरै उनले सामाजिक, शैक्षिक र राजनीतिक चेतना पनि उकासे। त्यसक्रममा बाबुछोराको भेट छुट्दै गयो।
पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेपछि पिता मोहनप्रसाद र ओलीको भेट, संवाद बाक्लिन थालेको थियो।
अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्रीबाट बहिर्गमित हुँदा पिता मोहनप्रसाद दुःखी थिएनन्। ‘किन पिर मान्नु, छ महिनापछि फेरि प्रधानमन्त्री बन्ने पो योग देख्छु म त!,’ उनले त्यतिबेला भनेका थिए।
ओली ६ महिनापछि प्रधानमन्त्री त भएनन्। तर झण्डै १८ महिनापछि प्रधानमन्त्रीका रूपमा बालुवाटार प्रविष्ट भए। त्यसपछि झन्डै ४ वर्ष प्रधानमन्त्रीमै बहाल रहेका ओली चारपटक मुलुकको प्रधानमन्त्री बने। पछिल्लो अवधि उनले १५ महिना प्रधानमन्त्री चलाए।
जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली अब राजकीय सत्तामा फर्कने सम्भावना दुरूह बन्दै गएको छ। हालै भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेपछि ओलीको पार्टी सत्ता पनि संकटमा परेको छ।
अब छोराको राजनीतिक वा राजकीय पुनरागमन हुन्छ कि हुँदैन होला? भविष्यवाणी गर्न नपाउँदै मोहनप्रसादले देह बिसाइहाले।