अमेरिका र इसराइलले दुई हप्तादेखि लगातार सैन्य आक्रमण गरी इरानलाई धराशायी पारेका छन्।
संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरू मारिए। इरानका प्रायः सबै महत्त्वपूर्ण सैन्य संरचना र मिसाइल कारखाना ध्वस्त भएका छन्।
तर पनि इरानको इस्लामिक सत्ता अझै ढलेको छैन।
इरानले जबाफमा इसराइलमाथि मात्रै होइन, विभिन्न खाडी राष्ट्रमा रहेका अमेरिकी सैन्य अखडा र ती देशका भौतिक संरचनामा पनि आक्रमण गरिरहेको छ। साथै, इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ।
यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
इरानसँग युद्ध सुरू हुनुअघि नै अमेरिकी सेना प्रमुख जनरल ड्यान केनले डोनाल्ड ट्रम्पलाई अमेरिकाले आक्रमण गरे इरानले हर्मुज बन्द गर्न सक्ने बताएका थिए। केनले धेरै ब्रिफिङहरूमा इरानले विश्वको सबभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्ग बन्द गर्न ड्रोन र मिसाइल प्रहार गर्ने तथा समुद्रमा बम (माइन) राख्ने भन्दै सचेत गराएका थिए।
तर त्यसलाई बेवास्ता गर्दै ट्रम्पले इरानसँग युद्ध सुरू गरेको भनी त्यसबारे जानकार अमेरिकी अधिकारीहरूको हवाला दिँदै वाल स्ट्रिट जर्नलले लेखेको छ। त्यस्तो जोखिम रहेको ट्रम्पले स्वीकार गरे पनि इरानले हर्मुज बन्द गर्नुअघि नै आत्मसमर्पण गर्ने जिकिर गरे। इरानले हर्मुज बन्द गर्ने प्रयास गरिहाले पनि अमेरिकी सेनाले त्यसलाई रोक्न सक्ने दाबी गर्दै उनले इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई आदेश दिए।
युद्धको दुई हप्तामा भौतिक क्षति मात्रै नभएर भयावह मानवीय क्षति भएको छ। इरानको स्वास्थ्य मन्त्रालयले मार्च १३ सम्म कम्तीमा १,४४४ इरानीहरूको मृत्यु भइसकेको जनाएको छ। त्यसमा आक्रमणको सुरूआतमै एक प्राथमिक विद्यालयमा भएको अमेरिकी आक्रमणमा मारिएका १६८ जना बालबालिका पनि पर्छन्।
इरानी हतियारको निशाना ज्यादै नराम्रो भएकाले सो घटना इरानले नै गरेको ट्रम्पको दाबी छ। तर अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले सो हमलामा टमाहक मिसाइल प्रयोग भएको भन्दै अमेरिकाले नै आक्रमण गरेको पुष्टि गरेको छ।
विगतमा इरानी नौसेनाले प्रयोग गरेको संरचनामा झन्डै एक दशकअघि स्कुल बनाइएको पनि न्यूयोर्क टाइम्सले जनाएको छ। आक्रमणका लागि अमेरिकी सेनाले पुरानो नक्सा प्रयोग गरेकाले अहिले स्कुल भएको ठाउँलाई नै सैन्य संरचना ठानेर प्रहार गरिएको लेखेको छ।
त्यस्तै इरानद्वारा सञ्चालित हिजबुल्लाह समूहले इसराइलमाथि प्रहार गरेकाले इसराइलले लेबननमा पनि आक्रमण गरेको छ। इसराइली आक्रमणका कारण लेबननमा ७०० भन्दा बढी मानिसको ज्यान गएको छ। आठ लाख जनाभन्दा बढी विस्थापित भएका छन्।
इरान र हिजबुल्लाहले इसराइलमाथि गरेको आक्रमण र इरानले अरू छिमेकी राष्ट्रमा गरेको प्रहारका कारण ६० भन्दा बढी मानिस मारिएका र सयौं घाइते भएका छन्। अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ।
युद्धका कारण मानवीय क्षति मात्रै नभएर हर्मुज बन्द गरेका कारण सारा संसारलाई आर्थिक नोक्सानी भएको छ। इरानले हर्मुज बन्द गर्न सक्ने खतरा पहिल्यैदेखि भए पनि इरानले अहिलेसम्म त्यसो गरेको थिएन।
आणविक हतियार कार्यक्रम रोक्न भन्दै गत जुनमा इसराइलले इरानमाथि हमला गरेको थियो। इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाइएको आणविक भट्टी इसराइलले ध्वस्त पार्न नसकेपछि अमेरिका पनि त्यति बेला युद्धमा होमिएको थियो। अमेरिकाको मिजोरीबाट करिब १८ घन्टा उडेर गएका बी–२ बमवर्षक विमानले बंकर–भेदी बमले ती आणविक भट्टीमा प्रहार गरेका थिए।
त्यति बेला समेत इरानले हर्मुज बन्द गरेको थिएन। इसराइलले धेरै वरिष्ठ जनरल र अधिकारीहरूको हत्या गरेर इरानको 'एयर डिफेन्स' प्रणाली ध्वस्त पार्दा समेत हर्मुज बन्द भएन। हर्मुज बन्द गरे अमेरिकाले ध्वस्त पार्ने डरले अहिलेसम्म इरानले त्यसो गरेको थिएन।
यस पटक भने अमेरिका र इसराइलको संयुक्त आक्रमणको सुरूआतमै सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी मारिए। जुनमा जस्तो आणविक भट्टी केन्द्रित नभएर यस पटकको आक्रमण इरानको इस्लामिक सत्ता ढाल्ने नियतले गरिएको थियो। आक्रमणको घोषणा गर्दा नै ट्रम्पले इरानको शासन हातमा लिन त्यहाँका जनतालाई आह्वान गरेका थिए। त्यसपछि पनि इरानको धार्मिक सत्ता ढाल्न अमेरिका र इसराइलले इरानका विभिन्न कुर्द समूहलाई हतियार दिएर इरानभित्र स्थलगत आक्रमणको तयारी गरेको समाचार आए।
यसरी यस पटक इरानका शासकले अरू सबै थोक गुमाइसकेको र सत्ता नै ढल्ने खतरा समेत भएकाले हर्मुज बन्द गरिएको हो। ठूला कुरा गर्ने ट्रम्पका अभिव्यक्तिले समेत आगोमा घिउ थप्ने काम गर्यो।
उनले आफूले चाहेको व्यक्ति मात्रै इरानको नयाँ शासक हुने बताए। त्यसभन्दा अघि बढेर युद्धपछि इरानको अहिलेको सिमाना नै परिवर्तन हुन सक्ने भन्दै देश टुक्र्याउने गैरजिम्मेवार अभिव्यक्ति दिए। ट्रम्पले देश टुक्र्याउने धम्की दिएका कारण तानाशाही शासनको विरोध गर्ने बहुसंख्यक इरानी जनता समेत झस्किएका छन्।
यस्तोमा सत्ता टिकाउन इरानले हर्मुज बन्द गर्ने र छिमेकी देशहरूमा प्रहार गर्ने कदम चालेको छ। अलि खमेनीभन्दा निर्दयी मानिने उनका माइला छोरा मोज्तबा खमेनीलाई सर्वोच्च नेता घोषणा गरिएको छ।
फेब्रुअरी २८ को इसराइली हमलामा सर्वोच्च नेता अलि खमेनीसहित उनकी श्रीमती, छोरी–ज्वाइँ र उनीहरूकी १४ महिने छोरी मारिएका थिए। मोज्तबाकी श्रीमती र एक किशोर छोरा पनि मारिएका थिए।
नजिकैको कोठामा रहेका मोज्तबा आफै गम्भीर घाइते भएको समाचार आएका छन्। उनको खुट्टा, हात र जीउमा चोट लागेको र उपचार भइरहेको मानिन्छ। सायद त्यसैले सर्वोच्च नेता घोषणा भएयता उनको कुनै पनि तस्वीर वा भिडिओ सार्वजनिक भएका छैन।
आफ्नो परिवारका त्यति धेरै सदस्यको सहादत भएका कारण पनि उनलाई नयाँ सर्वोच्च नेता बनाइएको मानिन्छ। इरानको सत्ता चलाउने भनिएको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) सँग राम्रो सम्बन्ध भएकाले मोज्तबालाई पहिल्यैदेखि सर्वोच्च नेताको दाबेदार मानिन्थ्यो।
सन् १९७९ मा इस्लामिक क्रान्ति गरेर शाह पहलवी वंशको शासन ढालेको इरानमा सर्वोच्च नेताको पद वंशमा नसर्ने आकलन भने थियो। इस्लामिक क्रान्तिपछिका पहिला सर्वोच्च नेता आयातोल्लाह रूहोल्लाह खोमेनी पनि राजतन्त्र फालेर ल्याएको धार्मिक शासनमा सत्ता वंशमा सर्न नहुने कुरामा दृढ थिए। त्यसैले सन् १९८९ मा खोमेनीको मृत्युपछि उनका छोरा सर्वोच्च नेता भएनन्। अलि खमेनीलाई सर्वोच्च नेता बनाइयो। अलि खमेनी आफै पनि मोज्तबालाई सर्वोच्च नेता बनाउन नहुने पक्षमा थिए भनिन्छ।
तर अलि खमेनीको मृत्युपछि आइआरजिसीसँग राम्रो सम्बन्ध भएका मोज्तबालाई नै सर्वोच्च नेता बनाइयो। बुबाको पालामा सत्ता कसरी चल्छ भनेर नजिकबाट देखेकाले मोज्तबा सर्वोच्च नेता हुँदा सत्तामा निरन्तरता हुने भएकाले पनि उनलाई नियुक्त गरिएको हो। तर मुख्यतः उनको परिवारका धेरै सदस्यको मृत्यु भएकाले उनको नेतृत्व स्वीकार्य हुने ठानेर नै उनलाई सर्वोच्च नेता बनाइएको मानिन्छ।
बिहीबार मोज्तबाको नाममा जारी विज्ञप्तिमा हर्मुज अझै बन्द राख्ने र रगतको बदला लिने प्रतिज्ञा गरिएको छ। आफ्नो परिवारका धेरै सदस्यको मृत्यु भएकाले पनि सत्ताको बागडोर सम्हालेपछि मोज्तबा झन् कडा हुने सम्भावना छ।
यसले ट्रम्पलाई अप्ठ्यारोमा पारेको छ।
अमेरिका र इसराइलले अहिले इरानी आकाशमा पूर्ण नियन्त्रण राखेर जहाँ चाह्यो त्यहाँ हवाई हमला गरिरहेका छन्। उनीहरूले इरानको धेरैजसो मिसाइल र मिसाइल लन्चर ध्वस्त पारेको दाबी गरेका छन्। पछिल्ला दिनमा इरानले इसराइल र खाडी राष्ट्रहरूमा प्रहार गर्ने ड्रोन र मिसाइलको संख्या पनि कम हुँदै गएको छ।
कतिपयले इरानले आफ्ना हतियार जोगाउन अहिले हमला कम गरेको जिकिर गरेका छन्। अमेरिका र इसराइलले एयर डिफेन्स प्रणालीमा प्रयोग गर्ने महँगा र सीमित संख्यामा रहेका 'इन्टरसेप्टर' सकिँदै गएपछि धेरै नोक्सान गर्न तिनको प्रयोग गर्ने अनुमान गरिएको छ।
समग्रमा, पछिल्ला दिनमा इरान झन् कमजोर हुँदै गएको छ। तर इरानभन्दा धेरै शक्तिशाली अमेरिका र इसराइलका लागि युद्ध जित्नु मात्रै पर्याप्त हुने छैन। इरानको सत्ता नै पल्टाए वा सबै सर्त मान्न लगाए मात्रै उनीहरूले जितेको ठहरिनेछ।
अर्कोतर्फ, इस्लामिक सत्ता टिकाइराखे मात्रै पनि इरानका लागि जित हुनेछ। त्यसैले धार्मिक सत्ता टिकाइराख्न उसले निरन्तर हर्मुज बन्द गरिरहनेछ। पछिल्ला दिनमा इरानले केही तेल बोक्ने जहाजमा आक्रमण गरेको छ। आक्रमण नै नगरे पनि डरले हर्मुजमा जहाज चल्ने छैनन्।
हवाई आक्रमणले मात्रै इरानको धार्मिक शासन नढल्ने देखिएको छ। इरानभित्र अमेरिकी सेना पठाएर स्थलगत आक्रमण गराए अमेरिकाभित्रै विरोध हुने र अमेरिकी सैनिक मारिने खतरा भएकाले त्यसो गर्न ट्रम्पलाई मुस्किल हुनेछ। तर स्थलगत आक्रमण नै गरेर सत्ता नढालेसम्म इरानले हर्मुज बन्द गरिरहनेछ। हर्मुज बन्द भइन्जेल तेलको भाउ आकाशिएर विश्व अर्थतन्त्रलाई प्रभाव पारिरहनेछ।
इरानमाथि आक्रमण गर्न खाडी क्षेत्रमा अमेरिकाले सेना जम्मा गर्नुअघि तेलको अन्तर्राष्ट्रिय मूल्य करिब ७० डलर प्रति ब्यारेल थियो। हर्मुज बन्द भएपछि त्यो एक पटक झन्डै १२० डलर पुगेको थियो। त्यसपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले संकटका बेलाका लागि जम्मा गरेर राखेको भण्डारबाट तेल आपूर्ति गर्ने भनेपछि केही घटेको थियो। तर अझै १०० डलरभन्दा बढी छ।
हर्मुज बन्द भएर तेल बेच्न नपाएकाले साउदी अरेबिया लगायत खाडी देशको तेल भण्डार भरिएका छन्। अहिले उनीहरूले तेल खानी बन्द गरेर उत्पादन ठप्प पारेका छन्। तेल बेच्न नपाएर हुने घाटा बाहेक लामो समयसम्म नचले खानी बिग्रेर नोक्सान हुनेछ। त्यसो भए हर्मुज खुलेपछि पनि उत्पादन सुरू गर्न समय लाग्नेछ।
हर्मुज बन्द हुँदा अमेरिकालाई भने खासै नोक्सान हुँदैन। पहिलेको जस्तो अमेरिका अहिले खाडीको तेलमा निर्भर छैन। पछिल्लो दशकमा त अमेरिका पेट्रोलियम पदार्थको खुद निर्यातकर्ता भएकाले भाउ बढ्दा उसलाई फाइदा नै हुन्छ।
खाडी क्षेत्रबाट सबैभन्दा धेरै तेल चीनमा जान्छ। कुल तेल आयात अनुपातको हिसाबले अमेरिकी कित्तामा रहेका एसियाली मुलुकहरू जापान, दक्षिण कोरिया र ताइवानमा पनि धेरै जान्छ। भारतमा पनि ठूलो हिस्सा त्यहीँबाट आउँछ। युरोपेली देशहरूमा त्यहीँबाट ग्यास जान्छ। रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि रूसी ग्यासमा निर्भर युरोप अहिले मध्यपूर्वकै ग्यासमा भर पर्छ।
पछिल्ला दिनमा भारतमा तेल लैजान इरानले केही जहाजलाई छुट दिएको समाचार आएका छन्। चीनले पनि इरानसँग कुरा गरेर आफ्नोमा केही मात्रामा तेल लगिरहेको मानिन्छ। तर युद्ध नरोकिएसम्म तेलको आपूर्ति सामान्य हुने छैन।
हर्मुज बन्द भएर अमेरिकालाई खासै घाटा नभए पनि तेलको अन्तर्राष्ट्रिय मूल्य बढ्दा अमेरिकी उपभोक्ताका लागि तेल महँगो हुनेछ। ढुवानी खर्च बढ्ने भएकाले अमेरिकामा विदेशबाट आयात हुने उपभोग्य वस्तुको भाउ बढ्नेछ। नोभेम्बरमा संसदीय चुनाव हुने भएकाले मूल्यवृद्धिले ट्रम्पको रिपब्लिकन पार्टीलाई ठूलो नोक्सानी पुर्याउन सक्छ।
संसदको अनुमति समेत नलिई इरानमाथि आक्रमण गरेको भनेर सुरूदेखि नै ट्रम्पको विरोध भएको थियो। तेल र उपभोग्य वस्तुको भाउ बढेमा युद्ध रोक्न ट्रम्पमाथि थप दबाब बढ्नेछ। त्यसैले केही दिन मात्रै हर्मुज बन्द गरिरहन सके ट्रम्पले आफै युद्ध बन्द गर्नेछन् भन्ने इरानको आकलन छ।
अहिले ट्रम्पलाई गलाउन सके अमेरिकाले फेरि कहिल्यै पनि आक्रमण नगर्ने ठानेर पनि इरानले अन्तिमसम्म हर्मुज खोल्ने छैन।
अर्कोतर्फ, इरानलाई ध्वस्त पारेर पनि हर्मुज खोल्न नसके अमेरिकाका लागि लाजमर्दो हुनेछ। त्यति मात्रै नभएर इरानले भविष्यमा फेरि हर्मुज बन्द गर्ने खतरा बढ्नेछ। यही बुझेर सुरूमा युद्धको विरोध गरेका केही पश्चिमा विज्ञहरूले पनि अहिले हर्मुजका कारण युद्ध रोक्न नहुने भन्न थालेका छन्।
त्यसैले ट्रम्पले अहिले नै युद्ध नरोक्ने देखिन्छ। तेलको भाउ धेरै बढ्न नदिन उनले रूसी तेलमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा हटाएका छन्। त्यसो गरे युक्रेनसँगको युद्धमा रूसलाई फाइदा हुने भन्दै युरोपेली देशहरूले विरोध गरे पनि उनले सो कदम चालेका हुन्।
पछिल्ला दिनमा ट्रम्प झन् आक्रामक भएका छन्। इरानको ९० प्रतिशत तेल निर्यात हुने खर्ग टापूमा शुक्रबार भीषण आक्रमण गरेर सबै सैन्य संरचना ध्वस्त गरेको उनले घोषणा गरेका छन्।
त्यहाँका सैन्य संरचना ध्वस्त भएपछि हर्मुजमा हमला गर्न इरानलाई मुस्किल हुने ठानेर उनले त्यसो गरेका हुन सक्छन्। त्यहाँ आक्रमण गरेर इरानको तेलबाट हुने आम्दानी बन्द गर्ने पनि उनको मनसाय हुन सक्छ। अमेरिकाले खाडी क्षेत्रमा शुक्रबार हजारौं थप सेना पनि पठाउने निर्णय गरेको छ।
विश्व अर्थतन्त्रमा समस्या आउन नदिन ट्रम्पले युद्धपोतले 'स्कर्टिङ' गरेर भए पनि हर्मुज खुलाउने भनेका छन्। हर्मुज खुलाउन युद्धपोत पठाउन शनिबार उनले चीन, बेलायत लगायत देशलाई आग्रह गरेका छन्।
चीनले युद्धपोत पठाउने सम्भावना कम देखिन्छ। बेलायत लगायत पश्चिमा देशले पठाए पनि हर्मुज खुलाउन धेरै मुस्किल पर्नेछ। साँघुरो ठाउँमा भेला भएका युद्धपोत र तेल बोक्ने जहाजमाथि हमला गर्न इरानलाई सजिलो हुनेछ।
एयर डिफेन्स प्रणालीलाई पनि टाढाबाट प्रहार गरेका भन्दा नजिकैबाट प्रहार गरेका मिसाइल खसाउन झन् मुस्किल हुनेछ। धेरैवटा युद्धपोतले बिना कुनै क्षति स्कर्टिङ गरे पनि त्यो प्रक्रिया खर्चिलो हुन्छ।
इरानी आक्रमण रोक्न सके पनि स्कर्टिङ गरेर सामान्य अवस्थाको जस्तो धेरै जहाजमा तेल बोक्न अप्ठ्यारो हुनेछ। स्कर्टिङ गरेर सामान्य अवस्थाको १५ प्रतिशत जति तेल आपूर्ति गर्न पनि मुस्किल हुने मानिन्छ।
त्यसैले इरानले आक्रमण गर्ने डर रहुन्जेल हर्मुज सामान्य अवस्थामा फर्किने छैन। इरानमा सत्ता नपल्टाएसम्म वा त्यहाँ हुने आक्रमण रोक्न नसकेसम्म तेलको आपूर्तिमा समस्या रहिरहनेछ।
इरानबारे अमेरिका र इसराइलको स्वार्थ बिस्तारै अलग हुन थालेकाले पनि समस्या सिर्जना हुन सक्छ। अमेरिका अहिलेको सत्ता ढले पनि इरान धेरै कमजोर र अस्थिर नहोस् भन्ने चाहन्छ। त्यति ठूलो देश अस्थिर भए मध्यपूर्वमा अमेरिकाका लागि सुरक्षा चुनौती झन् बढ्नेछ। त्यसैले इरान अस्थिर हुनुभन्दा बरू अहिलेकै सत्ताले आणविक कार्यक्रम रोकेर आफूसँग सम्बन्ध सुधारोस् भन्ने उसको चाहना छ।
अर्कोतर्फ, इस्लामिक शासकले इसराइल ध्वस्त गर्ने घोषणा नै गरेकाले इरान ध्वस्त र अस्थिर भए पनि इसराइललाई फरक पर्दैन। इरान जति कमजोर भयो, इसराइलको सुरक्षा खतरा त्यति कम हुनेछ। तेल खानी र प्रशोधन केन्द्र ध्वस्त भए पनि इरान कमजोर हुने भएकाले इसराइललाई फाइदै हुनेछ।
ट्रम्प भने तेल खानीहरू इरानी जनताको भविष्यसँग जोडिएकाले तिनको क्षति नहोस् भन्ने चाहन्छन्। नयाँ शासन आएपछि पनि इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि तेल चाहिन्छ भन्ने उनलाई थाहा छ। बरू आफू अनुकूल शासन आए इरानी तेलमा चीनको निर्भरता हुनु अमेरिकाका लागि फाइदाजनक ठान्छन्। त्यसैले अहिलेसम्म अमेरिकाले इरानको तेल संरचनामा आक्रमण गरेको छैन। केही दिनअघि इसराइलले आक्रमण गरेपछि पनि फेरि नगर्न उनले सचेत गराएको समाचार आएका छन्।
हर्मुज बन्द भएकाले युरोपेली देशहरूलाई धेरै असर परेकाले त्यो खुलाउन फ्रान्स र इटालीले इरानसँग गोप्य संवाद थालेको समाचार आएका छन्। तर अमेरिकाले आक्रमण बन्द नगरूञ्जेल इरानले हर्मुज खोल्ने देखिँदैन।
लामो समयसम्म हर्मुज बन्द भइरहे ट्रम्पलाई पनि युद्ध जारी राख्न मुस्किल हुनेछ। तेलको भाउ अझै बढेर अमेरिकाभित्र विरोध चर्किएमा उनले युद्ध रोक्नुपर्ने छ। त्यस्तो अवस्थामा उनले इरानको सर्वोच्च नेता मारेको, आणविक भट्टी र मिसाइल कारखानाहरू लगायत सैन्य संरचनाहरू ध्वस्त पारेर विजय हासिल गरेको दाबी गर्दै युद्ध रोक्न सक्नेछन्। इरानले आणविक हतियार बनाउन खोजे फेरि आक्रमण गर्न सक्ने पनि औंल्याउनेछन्।
तर हर्मुज नखोल्दै वा सत्ता नढाल्दै युद्ध रोकेमा इरानले भविष्यमा हर्मुज बन्द गर्ने खतरा अमेरिकाका लागि सधैं रहनेछ।
***