धनुषाको मझेलिया गाउँकी २५ वर्षीया रूबीकुमारी ठाकुरलाई प्रतिनिधिसभा सदस्य बन्नु नै अनपेक्षित लागेको थियो।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनाएपछि उनी धरान आएकी थिइन्। त्यही बेला उनले सञ्चारकर्मीसँग भनेकी थिइन्, 'यो मेरो लागि सरप्राइज नै हो।'
यसरी श्रम संस्कृति पार्टी अध्यक्षले 'सरप्राइज' दिँदै प्रतिनिधिसभामा सिफारिस गरिएकी उनै रूबीकुमारीलाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरप्राइज दिएको छ। उनी सत्तारूढ रास्वपाको समर्थनमा प्रतिनिधिसभाको उपभामुख बन्ने निश्चित भएको छ। उनी नेपालकी सबभन्दा कान्छी सांसदमध्ये एक हुन्।
उनले रास्वपाको समर्थनमा बिहीबार उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छन्। श्रम संस्कृतिका सांसद आरेन राई प्रस्तावक र रास्वपाका अशोक चौधरी समर्थक छन्।
उपसभामुखमा उम्मेदवारी दर्तापछि उनले फेरि भनेकी छन्, 'यो पनि मेरो लागि सरप्राइज भयो।'
गत प्रतिनिधिसभा निर्वाचनमा नवोदित श्रम संस्कृति देशको पाँचौं शक्ति बनेको थियो। संसदमा श्रम संस्कृतिका सात जना सांसद छन्। प्रतिपक्षी भूमिका निर्वाह गरिरहेको श्रम संस्कृतिलाई सत्तारूढ दल रास्वपाले आश्चर्यजनक हिसाबले उपसभामुखमा समर्थन गर्यो।
उपसभामुख चुनिन बहुमत अर्थात् १३८ सांसद संख्या मात्र भए पुग्छ। तर दुई-तिहाइ नजिक १८२ सिटको रास्वपाले नै समर्थन गरेपछि भुइँबाट उठेकी रूबीकुमारीको यात्रा उपभामुखको कुर्सीसम्म पुग्ने निश्चित देखिएको हो।
रूबी राजनीतिक पृष्ठभूमि बोकेकी नेता होइनन्, न कुनै राजनीतिक परिवारबाटै आएकी हुन्। उनकी आमा रेनुदेवी अहिले पनि ज्याला मजदुरी गर्छिन्। रूबी बालखै हुँदा उनकी आमा इँटाभट्टामा मजदुरी गरेर बनीबुतो गर्थिन्।
रूबीका बुबा सोगरथ ठाकुर पहिले सलुनमा नाइ काम गर्थे। त्यो उनीहरूको पुस्तैनी पेसा पनि हो। पुस्तैनी सीप र जाँगरबाट मात्रै घरायसी गर्जो नटर्ने भएपछि उनले विदेश यात्रा तय गरे। हाल उनी वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन्। उनी साउदी अरब पुगेको १० वर्ष भइसकेको छ।
विप्रेषण आय र आमाको ज्याला मजदुरीबाट मात्रै चुह्लो नतात्ने र जहान–परिवारको पेट नउकासिने भएपछि उनीहरूले अधियाँमा पनि खेती कमाइ गर्न थालेका थिए। उनले गाउँमै दुई बिगाहाजति जग्गामा अधियाँ गरी आयस्ता बढाएको थियो।
यसरी कठोर संघर्षबीच हुर्किएकी रूबीकुमारीले अध्ययनलाई नियमित अगाडि बढाउँदै गइन्। उनी पढाइमा औसतभन्दा माथिकै विद्यार्थी थिइन्।
उनले २०७४ सालमा माध्यमिक तहको शिक्षा पूरा गरेकी हुन्। एसइईसम्मको अध्ययन पूरा गरेपछि उनको चाहना प्राविधिक शिक्षातर्फ जाने थियो। त्यसमा परिवारले पनि भरथेग गर्यो।
माध्यमिक शिक्षापछि उनी धनुषाको बलरा पोलिटेक्निकल इन्स्टिच्युटमा भर्ना भइन्। त्यहाँबाट उनले सिभिल इन्जिनियरिङतर्फ तीनवर्षे डिप्लोमा कोर्ष पूरा गरिन्। त्यसपछि उनको पाइला प्राविधिक कर्मतिर डोहोरियो।
निजी कन्सल्टेन्सीमा काम गर्दै 'टुडी', 'थ्रीडी' डिजाइनमा हात बसाल्दै गरेकी रूबी परिवारको सहयोगी बनेकी थिइन्। उनको मासिक तलब २० हजार रूपैयाँ थियो।
आमाको दुःखमा भरथेग गर्न थालेकी रूबी बुबालाई वैदेशिक रोजगारीबाट फर्काउने सपना पनि देख्न थालेकी थिइन्।
उनलाई राजनीतिप्रति खासै चासो थिएन। जति बेला राजनीतिप्रति चासो बढ्यो, उनलाई हर्क साम्पाङ 'आदर्श' लाग्न थाल्यो। राजनीतिज्ञमा हुनुपर्ने गुण उनीमा निहित भएको लाग्यो।
हर्कले अगुवाइ गरिरहेको श्रम अभियान, श्रम जागरण, श्रम चेतनाले पनि उनलाई आकर्षित गर्यो। उनी पार्टीमा आबद्ध भइन्। र, समानुपातिक सूचीमा पनि समाविष्ट भइन्।
चुनावी प्रचार क्रममा धनुषामा हर्क साम्पाङसँग उनको पहिलो भेट भयो। हर्कको व्यक्तित्व र चिन्तनधाराबाट अझ बढी प्रभावित भइन्। र, निरन्तर घरदैलो अभियानमा जुटिन्।
'पहिलेदेखि नै हर्क साम्पाङका भिडिओहरू हेर्थेँ। उहाँको कामबाट प्रभावित भएको थिएँ,' समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएपछि उनले भनेकी थिइन्, 'धनुषा ४ मा उहाँ चुनाव प्रचारका लागि आएपछि पहिलो पटक भेट भएको थियो। उहाँलाई पहिलो पटक भेटेपछि म प्रभावित भएको थिएँ।'
उनको जिल्ला धनुषालाई मधेसवादी दलहरूको परम्परागत गढ मानिन्थ्यो। कांग्रेस, एमाले, नेकपा जस्ता स्थापित दलहरू पनि आफ्नो आधार क्षेत्र भन्दै दाबी गर्थे। यसपटक त रबि लामिछाने र बालेन शाहको क्रेज बोकेर अघि बढेको रास्वपाको लहर नै चलेको थियो।
यस्तो प्रतिकूलताबीच पनि रूबीकुमारी धनुषामा पूर्वेली जनजाति युवा हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको माटो चुनाव चिह्नका लागि मत माग्न खटिएकी थिइन्।
तर उनले समानुपातिक सांसद बन्छु भन्ने सोचेकी थिइनन्। पार्टीले विश्वास गरेर संसदसम्मको यात्रा गराउला भन्ने आफूले सोच्दै नसोचेको उनी बताउँछिन्।
प्रत्यक्षतर्फ तीन ठाउँ जितेको श्रम संस्कृतिले समानुपातिकतर्फ थप चार सिट हात पार्दा मधेसी क्लस्टरबाट रूबीकुमारीको नाम छानियो। त्यति बेला पार्टीको निर्णय 'सरप्राइज' भएको उनले बताएकी थिइन्।
रूबी अहिले डिप्लोमा इन सिभिल इन्जिनियरिङ सकेर ब्याचलर इन इन्जिनियरिङ पढ्दै छिन्।
राजनीतिमा लामो यात्रा नसोचेकी ठाकुर आफ्ना चार बहिनी र दुई भाइको 'आदर्श' बन्न चाहन्थिन्। परिवारको कुशल सारथि बन्न चाहन्थिन्। कलिलै उमेरमा आएको विवाहको प्रस्ताव लत्याएकी उनले समाजमा अलग्गै छाप छाड्न चाहन्थिन्। कलिलैमा विवाह गरेर पारिवारिक बोझ उठाउनुपर्ने अवस्था अन्त्य होस् भन्ने चाहन्थिन्।
अब यो काम उनले राजनीतिमार्फत पूरा गर्नुपर्नेछ।
गत फागुन २१ गते भएको निर्वाचनमा समानुपातिकबाट सांसद छानिएकी उनी देशको विधायकी थलोमा भर्खरै प्रवेश गरेकी थिइन्। सांसदको काम, कर्तव्य, अधिकारका सीमारेखा ठम्याउँदै गरेकी उनले देशको शासन–प्रशासन, कानुन निर्माणको प्रक्रिया बुझ्दै थिइन्।
सांसद बन्दै गर्दा उनका लागि प्राथमिक मुद्दा स्पष्ट थिए। खासगरी मधेसमा जरा गाडेको दाइजो प्रथा, बालविवाह र बेरोजगारी जस्ता विषयलाई आफूले सदनमा प्राथमिकतापूर्वक उठाउने उनी बताउँथिन्। अब पार्टी र रास्वपा समेतले विश्वास गरेर उनलाई अतिरिक्त जिम्मेवारी काँधमा राख्न लागेको छ। उनले आफूले प्राप्त गर्न लागेको यो भूमिकालाई पनि न्याय गर्ने बताएकी छन्।
'धेरै खुसी लागेको छ। अध्यक्षज्यूले म भुइँको मान्छेलाई यहाँसम्म पुर्याइदिनुभयो, म उहाँलाई भगवान नै मान्छु,' उनले भनिन्, 'मधेसका दाजुभाइ, दिदीबहिनीहरू, सम्पूर्ण नागरिकलाई धन्यवाद दिन चाहन्छु।'
उनले उपसभामुखको जिम्मेवारी आफ्ना लागि ठूलो भए पनि इमानदारीपूर्वक निर्वाह गर्ने बताएकी छन्।
'यो ठूलो जिम्मेवारी भयो, तर म सक्छु,' उनले भनिन्।
हर्क साम्पाङले उनलाई चकित तुल्याउँदै सांसदको जिम्मेवारी दिएका थिए, रास्वपाले पनि सरप्राइज नै दिँदै उपसभामुखको भूमिका दिन लागेको छ।
एउटै दलबाट सभामुख र उपसभामुख दुवै बन्न नमिल्ने नियम अनुसार रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई साथ दिएको हो। राप्रपाबाट सरस्वती लामाको उम्मेदवारी परे पनि रास्वपाको समर्थन श्रम संस्कृतिलाई भएकाले रूबी उपसभामुख बन्ने निश्चित छ।