नेकपा एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ।
एमालेको आठौं सचिवालयअन्तर्गत् आइतबार सकिएको बैठकले कलंकीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने गुरूङ दम्पतीको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुमा आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनले सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार बल्खुमा कार्यालय भवन बनाउन बाधा नरहेको पनि बताए।
२०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने भन्दै शिलान्यास समेत गरेका थिए। यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो।
सचिवालयको निर्णय विरोध गरेको भन्दै नेताहरू डा. विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई ६ महिना पार्टी जिम्मेबारीबाट निलम्बन गरिएको थियो।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनीमा आगजनी गरिएपछि गुरूङ नै आफ्नो प्रस्तावबाट फिर्ता भइसकेको नेताहरूले बताएका थिए।
यद्यपि एमालेले अब त्यो जग्गा नलिने र बल्खुस्थित आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको हो। बल्खुमा नयाँ कार्यालय भवन नबनुञ्जेल भाडामा घर खोज्ने पनि सचिवालय बैठकले निर्णय गरेको छ।
२०७२ वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसयता एमाले भाडाको घरमा बस्दै आएको छ।
सुरूआतमा धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भाडामा बसे पनि विवाद भएपछि त्यहाँबाट हटेको थियो। चक्रपथ विस्तारका कारण भवनको केही भाग भत्कने भन्दै प्रतिष्ठानले सर्न भनेको थियो।
त्यसपछि एमाले थापाथली हाइटमा रहेको एक व्यवसायीको घरमा भाडामा बसेको थियो।
त्यहाँबाट २०७९ सालमा सर्दै च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा भाडामा बस्न पुगेको थियो।
भोगाधिकार लिजमा परिणत नगरेकाले सरकारले प्रतिष्ठानलाई घर खाली गर्न भनिसकेको छ।