चरम गरिबी र त्यही गरिबीले निम्त्याइरहने अभाव र दुःखको बोझले थिचिएको एउटा सामान्य परिवार।
दुःख र अभावका ती दिन सम्झँदा जनकपुरधाम-१४ मझेलियाका ४८ वर्षीय सोगरथ ठाकुरको मन अहिले पनि कटक्क हुन्छ। आठ जनाको परिवारमा हातमुख जोरजामको प्रबन्धदेखि हुर्किँदै गरेका छोराछोरीको शिक्षादिक्षाको चिन्ताले नसताएको कुनै दिन हुँदैन थियो।
आज शुक्रबार आफ्नी २५ वर्षीया साइँली छोरी रूबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख चुनिँदै गर्दा सोगरथ सेतोपाटीसँग विगत सम्झिँदै थिए।
'हाम्रो कुनै दिन सजिलो भएन,' मैथिली लवजको नेपालीमा उनी भन्दै थिए, 'दुःख गर्न आफ्नो जमिन थिएन। आयस्रोतको कुनै भरपर्दो बाटो पनि थिएन।'
रूबीका बुबा सोगरथले लामो समय इँटाभट्टामा काम गरे। त्यसपछि सलुनमा नाइ काम पनि गरे। त्यो उनीहरूको पुस्तैनी पेसा हो।
पुस्तैनी सीप र जाँगरबाट मात्रै घरायसी गर्जो नटर्ने भएपछि उनले विदेश यात्रा तय गरे।
सोगरथले साउदी अरबमा पसिना चुहाउँदै गर्दा उनकी पत्नी रेणुदेवी गाउँमा ६ जना छोराछोरी हुर्काउँदै, ज्याला मजदुरी गर्दै परिवार धानिरहेकी थिइन्।
कक्षा ७ सम्म पढेका सोगरथ र जीवनमा कहिल्यै विद्यालयको आँगन नटेकेकी रेणुदेवीको बिहे हुँदा उनीहरूको उमेर क्रमशः १६ र १५ वर्षको थियो। महोत्तरीको रतनपुरकी रेणुदेवी र सोगरथबीच मागी बिहे भएको थियो।
किशोरावस्थामै विवाह गरेपछि उनीहरूको जीवनमा उमेरजन्य सहजता हरायो र संघर्षले भरिएको दिनचर्या सुरू भयो।
'परिवार बढ्दै गयो, जिम्मेवारी थपिँदै गयो,' रेणुदेवी भन्छिन्, 'त्यसपछि त दुःखै दुःख!'
यसबीच उनीहरूका ६ जना छोराछोरी भए। तीमध्ये साहिँली छोरी रूबीकुमारी आज प्रतिनिधिसभाको उपसभामुखको आसनमा पुग्दै गर्दा विगतका ती सारा दुःखले सार्थकता पाएको अनुभव यी आमाबाबुले गरेका छन्।
'हामी खुसी छौं,' आमा रेणुदेवीको आवाज द्रवित थियो।
सायद छोरीको सफलताको खबरले उनलाई उनलाई लगातार रूवाइरहेको छ!
जीवन चलाउन कहिले अँधियामा खेती, कहिले इँटाभट्टामा तर्तरी पसिना, अनि अन्ततः परदेशको बाटो। सन्तानको जिम्मेवारी एक्लै काँधमा बोक्ने हिम्मत गर्ने रेणुदेवीको संघर्ष झन् कहालीलाग्दो थियो। हुर्किँदै गरेका बालबच्चालाई स्कुल पठाउने, तिनलाई लालनपालन गर्नेदेखि बिरामी पर्दा औषधोपचार गर्ने अनि अँधियाको खेतबारीसँगै ज्याला मजदुरी पनि भ्याउन पर्थ्यो।
संघर्षको सगरमाथा उक्लेका यी अभिभावकले सोचेका पनि थिएनन् रे, यस्तो दिन आउला भन्ने!
'कहिल्यै सोचेको थिइनँ, मेरो छोरी यस्तो ठाउँमा पुग्छे भनेर,' सोगरथले भने।
उनले यसो भनिरहँदा स्वरमा आश्चर्य र गर्व मिसिएको प्रस्ट थाहा पाउन सकिन्थ्यो।
रूबीका बुबा सोगरथको जीवनको सुरूआत नै अभावसँग जुध्दै भएको थियो। बाल्यकालदेखि नै श्रम उनको नियति बन्यो। इँटाभट्टाको धुलो र घामपानीसँगै बितेका वर्षहरू धेरै थिए।
'पहिला त जिन्दगी एकदमै गाह्रो थियो,' उनले भने, 'त्यही अभावसँग जुध्न रोजगारीका लागि सन् १९९८ मा पहिलो पटक कतार पुगेँ।'
त्यहाँ भनेजस्तो नभएपछि घर फर्केर दुई वर्षपछि साउदी अरबतिर लागेको उनी बताउँछन्।
'बीस वर्ष साउदीमा बसेँ, कमाएको सबै छोराछोरीकै पढाइमा लगाएँ,' उनी सम्झन्छन्।
चार छोरी र दुई छोराको जिम्मेवारी — छ जनाको भविष्य बोकेको काँध कहिल्यै हलुका भएन। घरमा श्रीमतीले खेतीपाती सम्हालिन्, बटैयामा खेती गर्नेदेखि बालबच्चा हुर्काउनेसम्म गरिन्। उनी विदेशमा पसिना बगाउँदै पैसा पठाइरहे।
'पैसा म पठाउँछु, काम उनले सम्हाल्छिन्,' सोगरथले भने।
जतिसुकै गरिबी भोग्नुपरे पनि यी आमाबुबा दुवैमा छोराछोरीलाई पढाउने अठोट स्पष्ट थियो। बुबा सोगरथले कक्षा ७ भन्दा माथि पढ्न पाएनन्। आमा रेणुदेवीले स्कुल जानै पाइनन्। सन्तानले त्यस्तो भोग्न नपरोस् भन्ने चाहना दुवैको थियो।
ठाकुर दम्पतीको यो चाहना पूरा गर्ने हुटहुटी र सघंर्षकै कारण सबै छोराछोरीले राम्रो पढेका छन्। सबैलाई सकेसम्म धेरै पढाउने उनीहरूको प्रयास पनि छ। उनीहरूले आफ्ना सन्तानमध्ये केहीलाई बोर्डिङ, केहीलाई सरकारी विद्यालयमा पढाए। रूबी भने सरकारी विद्यालयमै पढेकी थिइन्।
सोगरथका अनुसार जेठी छोरीले स्नातक तहसम्म अध्ययन गरेकी छन् भने रूबीभन्दा माथिल्लो अर्की छोरीले स्नात्तकोत्तर पूरा गरेकी छन्। रूबीले सरकारी विद्यालयबाट अध्ययन गरेर इन्जिनियरिङमा स्नातक गरिरहेकी छन्।
रूबीले २०७४ सालमा माध्यमिक तहको शिक्षा पूरा गरेकी हुन्। एसइईसम्मको अध्ययन पूरा गरेपछि उनको चाहना प्राविधिक शिक्षातर्फ जाने थियो। त्यसमा परिवारले पनि भरथेग गर्यो।
माध्यमिक शिक्षापछि उनी धनुषाको बलरा पोलिटेक्निकल इन्स्टिच्युटमा भर्ना भइन्। त्यहाँबाट उनले सिभिल इन्जिनियरिङतर्फ तीनवर्षे डिप्लोमा कोर्ष पूरा गरिन्। त्यसपछि उनको पाइला प्राविधिक कर्मतिर डोहोरियो।
निजी कन्सल्टेन्सीमा काम गर्दै 'टुडी', 'थ्रीडी' डिजाइनमा हात बसाल्दै गरेकी रूबी परिवारको सहयोगी बनेकी थिइन्। उनको मासिक तलब २० हजार रूपैयाँ थियो। त्यही तलबबाट आमाको दुःखमा भरथेग गर्न थालेकी रूबी बुबालाई वैदेशिक रोजगारीबाट फर्काउने सपना पनि देख्न थालेकी थिइन्।
रूबीभन्दा सानी छोरीले कक्षा १२ को पढाइ पूरा गरेकी छन्। छोराहरूमध्ये जेठोले यसपटक एसइई दिएका छन् भने कान्छो छोरा कक्षा ७ मा पढ्दै छन्।
'रूबी पढाइमा पनि ठिकै थिई, व्यवहार पनि राम्रो,' बुबा सोगरथ सम्झन्छन्, 'उसले हाम्रो दुःख बुझेकी थिई। आफ्नो दायित्व पनि सम्झेकी थिई।'
यसपटक रूबी सांसद बनेको खबर सोगरथले साउदीमै सुनेका थिए। त्यो क्षण अझै पनि उनलाई अविश्वसनीय लाग्छ।
'सुरूमा पत्याउनै गाह्रो भयो,' उनी भन्छन्, 'सबैले भनेपछि विश्वास लाग्यो। छोरीको फोन आएपछि मात्र त्यो खबर वास्तविक जस्तो लाग्यो।'
आज उनै छोरी उपसभामुख बन्दै गर्दा कस्तो लागेको छ भनेर सोध्दा उनले छोटो उत्तर दिए, 'धेरै खुसी लाग्यो।'
यो छोटो जबाफमा गहिरो भावनाको वजन महसुस गर्न सकिन्थ्यो!
अहिले सोगरथ साउदीबाट दुई महिनाको बिदामा घर फर्किएको ११ दिन भएको छ। उनी अहिले गाउँमै छन्। घरमा चहलपहल बढेको छ। छिमेकी, आफन्त सबै बधाई दिन आइरहेका छन्।
'यो परिवारले आफ्ना सन्तानको लालनपालन र शिक्षामा गरेको लगानी र दुःख जोकोहीका लागि अनुकरणीय छ,' जनकपुर-१४ कै उनीहरूका छिमेकी पुण्यप्रसाद यादव भन्छन्, 'सन्तानको शिक्षामा दिलोज्यान दिने अभिभावक सधैं गौरवका भागीदार हुन्छन् भन्ने प्रमाण हो यो ठाकुर परिवार।'
यसबीच छिमेकी र आफन्तले उनलाई सोधिरहेका छन्, 'अब फेरि विदेश जाने कि नजाने?'
अरूले सोधेजस्तै सेतोपाटीले पनि त्यही प्रश्न दोहोर्याएको थियो।
जबाफमा उनले आफ्नो योजना सुनाए, 'बिदा सकिएपछि फेरि जाने।'
उनले अगाडि भने, 'अझै केही वर्ष काम गर्ने, घरको आर्थिक अवस्था उकास्ने र यसपटक एसइई दिएका जेठा र ७ मा पढिरहेका कान्छा छोराको शैक्षिक दायित्व पूरा गर्ने विचार छ।'
छोरीको यात्रामा साथ दिनेहरूप्रति उनी कृतज्ञ छन्। विशेषगरी हर्क साम्पाङप्रति उनी आभारी छन्।
'मेरो छोरीलाई यहाँसम्म पुर्याउनुभएकोमा धेरै धन्यवाद,' उनले भने।
उपसभामुख बनेकी छोरीलाई उनको एक लाइनको सुझाव मात्रै छ, 'राम्रो काम गर, सबैका लागि काम गर।'
***
यो पनि पढ्नुहोस्: