नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जसको केही छैन र कोही छैनन्, राज्य उनीहरूका लागि आवश्यक भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन राख्दै इलाम–२ बाट निर्वाचित नेम्वाङले कोही नहुनेका लागि राज्य हुन्छ भन्ने भाव सरकारले बुझ्नुपर्ने बताएका हुन्।
‘राज्य वा सरकार सबैभन्दा बढी उनीहरूलाई चाहिन्छ, जसको केही छैन र कोही छैनन्। कोही नहुनेका लागि राज्य हुन्छ भन्ने मान्यताले नै विधिको शासनलाई जीवन्त, चिरस्थायी, र बलियो बनाउँछ। जसको स्रोत छैन वा पहुँच छैन, उनीहरूका लागि राज्य नै अन्तिम भरोसा हुनुपर्छ। उनीहरूलाई अपमानित गरेर देश बनाउने सपना हामी किन देखिरहेका छौं,’ उनले प्रश्न गरे।
आफू समर्थन वा विरोध पूर्वाग्रहमा होइन, तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताए।
‘यो सरकार जुन जनअपेक्षा, भरोसा र प्रश्नहरूको जगमा उभिएको छ, त्यसैको आधारमा यस पटकको नीति तथा कार्यक्रम पनि त्यही उचाइ र गरिमाको हुनेछ भन्ने मेरो अपेक्षा थियो। तर, त्यो उचाइको आशा, उत्साह र भरोसा जगाउने कार्यक्रमहरूसँग मेरो जम्काभेट भएन,’ उनले भने।
उनले रास्वपा नेतृत्वका सरकारलाई प्रश्न गर्दै नीति तथा कार्यक्रम ती तपाईंहरूकै प्रश्नहरू, दाबीहरू, बाचाहरू र अपेक्षालाई सम्बोधन गर्ने गरी आएको छ? भनेर सोधे।
संविधान जारी भएको १० वर्षमा यसको समीक्षा गर्ने प्रावधान संविधानमै उल्लेख भएको भन्दै संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई, जनताले प्राप्त गरेका अधिकारहरूको कसीमा राखेर ‘अग्रगमन’ का लागि हुनुपर्ने धारणा राखे।
‘यो संविधान केवल अक्षरहरूको संग्रह होइन, रगत र पसिनाले लेखिएको साझा सहमति दस्तावेज हो। संविधान अंकगणितको जोडघटाउ मात्रै होइन यो त राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी हो, गणितले संशोधन त गर्ला, तर साझा भावनाले मात्र स्थायित्व दिन्छ। संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन, त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ भरिनुपर्छ। तब मात्र त्यो कालजयी र साझा बन्छ,’ उनले भने।
देश किन बनेन? भन्ने विषय बहसको केन्द्रमा रहेको उनले बताए। यसबारे लामा–लामा विमर्श, दाबीहरू पेस भइराखेको उनले बताए।
‘तर, हामीले कहिल्यै यो वस्तुगत हिसाब गरेनौं, आखिर बन्यो चाहिँ कति र कस्तो? के–के छन् बन्न बाँकी? हामीले स्वीकार गर्नैपर्छ कि, आर्थिक परनिर्भरता हाम्रो एउटा नमीठो इतिहास र बाध्यता दुवै बनेको छ। परनिर्भर अर्थतन्त्रको जगमा उभिएर कुनै पनि देश समृद्ध भएको इतिहास विश्वमा कतै छैन। दुःखको कुरा, प्रस्तुत नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ संकल्प कतै देखिँदैन,’ उनले भने।
यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न नसक्ने उनले बताए।
‘बजारको कुरा गर्छौं र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौं, तर प्रश्न उठ्छ— जब उत्पादन नै छैन, तब बजार र वितरणको मात्रै सपना बाढेर हुन्छ के? के हामी बजारको नाफामा मात्र बाँच्ने हो वा सधैँ विदेशी अनुदानको वैशाखी टेकेर देश विकास गर्ने हो?,’ उनले प्रश्न गरे।