राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही असार पहिलो साता हुने आफ्नो पहिलो अधिवेशनको तयारी सुरू गरेको छ।
यसका लागि बुधबार बसेको सचिवालय बैठकले मौजुदा केन्द्रीय समिति विघटन गरी त्यसलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरिएको छ।
पार्टी सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन भएको हो।
केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारका अनुसार केन्द्रीय समितिको परिभाषित काम यही समितिले गर्नेछ।
केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको हो।
६ जनप्रतिनिधि रास्वपामा स्वतः महाधिवेशन प्रतिनिधि
रास्वपामा हाल जनप्रतिनिधिका रूपमा रहन गएका ६ जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएका छन्।
रास्वपामा कायम हुन आएका फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी, उपाध्यक्ष नीलम शाह, काठमाडौं महानगरपालिका १६ की वडाध्यक्ष रोजिना श्रेष्ठसहित ४ जना वडाध्यक्ष स्वतः प्रतिनिधि हुने भएका छन्।
फेटा गाउँपालिकामा तत्कालीन विवेकशील साझा पार्टीका रूस्तम अन्सारी अध्यक्ष र उपाध्यक्ष नीलम अन्सारी निर्वाचित भएका थिए।
प्रदेश अधिवेशनको कार्यतालिका
आज बसेको रास्वपा केन्द्रीय समिति बैठकले प्रदेश अधिवेशनको मिति तोकेको छ। केन्द्रीय समितिको निर्णयानुसार जेठ २६ गते बागमतीको अधिवेशन हुनेछ। २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकीको प्रदेश अधिवेशन हुनेछ। त्यस्ते ३० गते लुम्बिनी, ३१ गते कर्णालीर असार १ गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुनेछ।
प्रवास नेपाली सम्पर्क विभागबाट न्यूनतम ३ देखि अधिकतम ११ जनासम्म प्रतिनिधित्व गराइने रास्वपाले बताएको छ। अधिवेशन हुन नसकेका पालिकालगायत कमिटीबाट तदर्थ या मौजुदा कमिटीबाटै प्रतिनिधित्व हुने गरी प्रबन्ध मिलाइने रास्वपाले बताएको छ।
सभापतिको उम्मेदवार बन्न ५१ हजार शुल्क
रास्वपामा सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुत तोकिएको छ। केन्द्रीय समिति बैठकले पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार उम्मेदवारी शुल्क तोकेको हो।
यस्तै सहमहामन्त्री विपिन आचार्यको संयोजकत्व विधान संशोधन समिति गठन गरेको छ। जसमा प्रकाशचन्द्र परियार लगायत सदस्य छन्।
यस्तो छ तहगत समिति अधिवेशन तालिका
रास्वपाको यसअघि बसेको सचिवालय बैठकले भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गरेको थियो। जसअनुसार तदर्थ समिति गठन नभएका वडाहरूमा जेठ २ वडा भेला हुनेछन्। वैशाख २० अगावै समिति गठन भएका वडाको हकमा जेठ ३ गते वडा अधिवेशन हुनेछ। यसअघि तदर्थ समिति गठन नभएका पालिकाहरूमा जेठ ९ पालिका भेला हुनेछ।
वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते अधिवेशन गर्ने सचिवालयले निर्णय गरेको छ। जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते वडा अधिवेशन हुनेछ। जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकामा जेठ १७ गते पालिका अधिवेशन हुनेछ। जेठ २३ र २४ जिल्ला अधिवेशन गर्ने सचिवालयको निर्णय छ।