नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले संसदीय परम्परा मिच्दै नयाँ नजिर स्थापित गर्न खोजेको आरोप लगाएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँन यस्तो आरोप लगाएका हुन्।
उनले संसद बोलाएर पनि स्थगित गर्दै अध्यादेशमार्फत् शासन चलाउन खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यास विपरीत भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने पनि बताए।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको पहिरनको चर्चा गर्दै नयाँ परम्पराको थालनी गर्न खोजिएको हो कि? भन्दै प्रश्न गरे।
उनले भने, ‘सरकार एकातिर पुरानो परम्परा तोड्दै नयाँ जग बसाल्न उद्दत देखिन्छ। पुराना परम्परा र नजिरहरूलाई मिच्दै नयाँ परम्परा र नजिर स्थापित गर्ने दिशामा सरकार गएको देखिन्छ। बोलाइएको संसद स्थगित गरेर चाङ लगाएर अध्यादेश ल्याइएको छ। त्यो अन्तर्राष्ट्रिय परम्परा र संसदीय प्रणालीमा हामीले पनि केही नयाँ कार्यक्रम गर्नुपर्ने हो कि जस्तो लागेको छ। अहिलेसम्म गृह मन्त्रालय खाली छ। अहिले के देखिन्छ भने प्रधानमन्त्रीज्यूको अहिलेसम्मको इतिहास हेर्दा नेपालमा अहिलेसम्म नभएको ड्रेसअप म देख्दैछु। यसमा पनि चर्चा सुरू भएको छ। यसमा पनि नयाँ परम्पराको थालनी सुरू भएको हो कि! नेपालको इतिहासमा नयाँ आयाम थप्न खोजिएको हो कि? संसदले बनाएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ।’
सांसद केसीले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्नेमा जोड दिए। –न्युज एजेन्सी नेपाल