नेपाली कांग्रेसले पार्टीमा नयाँ संरचना बनाएको छ- निर्वाचन ब्युरो।
यसअघि निर्वाचन तयारीका लागि निर्वाचन परिचालन समिति बनाउने गरे पनि त्योभन्दा भिन्न संरचना कांग्रेसले बनाएको हो।
चुनावका बेला मात्र नभई निरन्तर काम गर्न निर्वाचन ब्युरो बनाइएको कांग्रेसले जनाएको छ।
अब प्रदेश र स्थानीय तह निर्वाचन आउँदैछ। त्यसका लागि निर्वाचन ब्युरोले काम गर्नेछ।
उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन ब्युरो गठन भएको छ। जसमा सभापति गगन थापाले १७ जना नेताहरूलाई सदस्य मनोनीत गरेका छन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार निर्वाचन ब्युरोलाई कार्यादेश (टिओआर) सहित जिम्मेवारी दिइएको छ।
निर्वाचन ब्युरोमा निवर्तमान सहमहामन्त्री जीवन परियार, नेताहरू अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज बिनोद पौडेल, जगनाथ लामिछाने, मिलनराज बर्तौला छन्।
यस्तो छ कार्यादेश-
• पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने,
• निर्वाचन तयारीलाई तथ्याङ्क-आधारित र वैज्ञानिक बनाउने,
• ७५३ स्थानीय तह, ६,७४३ वडा र ७ प्रदेश स्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने,
• मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने,
• स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय गर्ने,
• पार्टीको निर्वाचन अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्ने।
निर्वाचन व्यूरोअन्तर्गत ७ जना विज्ञहरूको प्राविधिक समिति रहने कांग्रेसले जनाएको छ। व्यूरोअन्तर्गत कार्य समूह र इकाइ रहनेछन्।प्रदेश स्तरमा प्रदेश संयोजकहरू रहने र उनीहरूले सूचना संकलन तथा व्यवस्थापनको कार्य गर्नेछन्।
प्रदेश संयोजक अन्तर्गत जिल्ला तथा स्थानीय तहमा सूचनादाता रहनेछन, जसले नियमित रूपमा स्थानीय स्तरका जानकारी उपलब्ध गराउने कांग्रेसको भनाइ छ।
कार्यविवरण भने ७ प्रदेश, ७५३ गाउँ-नगरपालिका र ६,७४३ वडाको विस्तृत निर्वाचन तथ्याङ्क तयार गर्ने, पछिल्लो निर्वाचन र अघिल्लो निर्वाचनको तुलनात्मक अध्ययन, मत परिवर्तन विष्लेषण, मतदान सहभागिता विश्लेषण र मतदाता मनोविज्ञान विष्लेषण गर्ने रहेको छ।
साथै देशव्यापी सर्वेक्षण सञ्चालन गर्ने, मतदाता भावना, विश्वास स्तर र प्राथमिकता मापन गर्ने, मनोविज्ञान विश्लेषण गर्ने, सर्वेक्षणका आधारमा नीति तथा घोषणापत्र सुधार गर्न सुझाव दिने कार्य गर्नेछ।
प्रत्येक वडा, गाउँ नगरपालिका र प्रदेशका लागि छुट्टै निर्वाचन रणनीति तयार गर्ने, जनताको वास्तविक मनोभाव, असन्तुष्टि, प्राथमिकता तथा स्थानीय स्तरका मुद्दाहरूको निरन्तर पहिचान र विश्लेषण गरी व्युरोलाई प्रतिवेदन उपलब्ध गराउने, यस अन्तर्गत प्रदेश स्तरमा प्रदेश संयोजकहरू रहनेछन्, जसले आफ्नो प्रदेशभित्र सूचना संकलन तथा व्यवस्थापनको कार्य गर्ने पनि कांग्रेसको भनाइ छ।
प्रदेश संयोजक अन्तर्गत जिल्ला तथा स्थानीय तहमा सूचनादाता रहनेछन, जसले नियमित रूपमा स्थानीय स्तरका जानकारी उपलब्ध गराउने पनि उल्लेख छ।
चुनावी तयारी, उम्मेदवार छनोट तथा अभियान रणनीतिमा आवश्यक समायोजन गर्न सहयोग गर्ने, गाउँ-नगरपालिका तथा वडास्तरसम्म फैलिएको सञ्जालमार्फत जनमत, स्थानीय मुद्दा, राजनीतिक धारणा तथा तत्कालका मुद्दाको निरन्तर संकलन गर्ने, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट पनि जनमतको प्रवृत्ति विश्लेषण गर्ने, नियमित रूपमा तयार गर्ने, कुनै विशेष क्षेत्र वा विषयमा देखिएको असन्तुष्टि वा राजनीतिक परिवर्तनलाई प्रारम्भमै पहिचान गर्ने, साप्ताहिक रूपमा संक्षिप्त निर्वाचन ब्युरोलाई उपलब्ध गराउने, मासिक रूपमा विस्तृत विश्लेषणात्मक प्रतिवेदन तयार गर्नेलगायत कार्य छन्।
साथै इकाइले विशेष वा संवेदनशील विषयहरूमा तुरुन्त तयार गरी जानकारी दिने, कार्य समूह र इकाइले आफ्नो कार्यसम्पादनमा तथ्यपरकता, निष्पक्षता तथा गोपनियता कायम राख्ने, संकलित सूचनाहरू कुनै पनि प्रकारको व्यक्तिगत वा राजनीतिक प्रभावबाट मुक्त रहँदै यथार्थपरक रूपमा प्रस्तुत गर्नुपर्ने भनिएको छ।
यसबाट देशव्यापी निर्वाचन डाटाबेस निर्माण हुने, वैज्ञानिक उम्मेदवार छनोट प्रणाली हुने, मतदाता भावना आधारित घोषणापत्र निर्माण हुने, स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय हुने र पार्टीको निर्वाचन प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुने कांग्रेसको विश्वास छ।