क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो विरूद्ध अमेरिकामा पक्राउ पुर्जी जारी भएको छ।
सन् १९९६ को घटनालाई लिएर अमेरिकाले क्यास्ट्रोमाथि हत्या अभियोगमा मुद्दा दर्ता गरी उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
सन् १९९६ मा क्युबाले आफ्नो हवाइ क्षेत्रमा आएको भनेर एउटा सानो विमान खसालेको थियो।
त्यो घटनामा चार जनाको मृत्यु भएको थियो। त्यतिबेला कार्लोस कोस्टा, अर्मान्डो अलेजान्द्रे जुनियर, मारियो दे ला पेना र पाब्लो मोरल्स नाम गरेका व्यक्तिहरू मारिएका थिए।
घटनामा मारिएकाहरू क्युबाबाट भागेर अमेरिकाको शरणमा बसेका थिए।
मायामीमा बस्ने उनीहरू ब्रदर्स टु रेस्क्यू नाम गरेको समूह नै बनाएर क्युबाबाट भागेर आउनेहरूलाई सहयोग गर्थे।
क्युबाले बारम्बार चेतावनी दिए पनि विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका कारण लडाकू विमानले सो विमान खसालेको भनेको थियो।
त्यतिबेलाको घटनालाई लिएर अमेरिकाले अहिले क्यास्ट्रोमाथि मुद्दा दर्ता गरेको हो। सन् १९९६ को घटनाका बेला क्यास्ट्रो रक्षा मन्त्री थिए।
बुधबार सार्वजनिक गरिएको अभियोगपत्रअनुसार ९४ वर्षीय क्यास्ट्रोमाथि अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्रको एउटा मुद्दा, चारवटा हत्या मुद्दा तथा दुईवटा विमान विनाशसम्बन्धी अभियोग लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
मुद्दा लगाइएपछि उनीविरूद्ध पक्राउ पुर्जीसमेत जारी भएको हो।
क्यास्ट्रो पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका भाइ पनि हुन्।
यद्यपि उनी हालै यसै महिनाको सुरूआतमा क्युबामा सार्वजनिक रूपमा देखिएका थिए। क्युबा बाहिर गएको वा अमेरिकालाई सुपुर्दगी गरिने कुनै संकेत नदेखिएको भनेर रोयटर्सले लेखेको छ।
अमेरिकाले विदेशी राष्ट्र प्रमुख वा पूर्वनेताविरूद्ध आपराधिक अभियोग दायर गर्नु दुर्लभ मानिन्छ। ट्रम्प प्रशासनले क्युबामाथि दबाब बढाउने तथा पश्चिमी गोलार्द्धमा अमेरिकी प्रभाव विस्तार गर्ने रणनीतिक प्रयासको अर्को कदमका रूपमा यसलाई हेरिएको छ।
बुधबार कोस्ट गार्ड एकेडेमीमा आयोजित कार्यक्रममा ट्रम्पले हाभानाको किनारादेखि पनामा नहरसम्म कानुनहीनता, अपराध र विदेशी हस्तक्षेपका शक्तिलाई हटाइने बताएका
उता मायामीमा सन् १९९६ को घटनाका पीडितहरूको सम्मानमा आयोजित कार्यक्रममा कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले राउल क्यास्ट्रो कुनै दिन अदालतमा आफै उपस्थित हुने अपेक्षा रहेको बताए।
क्यास्ट्रोलाई पनि अमेरिकी सेनाले पक्राउ गर्ने हो भनेर उनलाई प्रश्न सोधिएको थियो।
'पक्राउ पुर्जी जारी भएको छ। त्यसकारण उहाँ आफ्नै इच्छाले वा अर्को कुनै माध्यमबाट यहाँ आउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ,' क्युबाली-अमेरिकी समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उनले भने।
क्यास्ट्रोविरूद्ध हत्या अभियोगमा मुद्दा र पक्राउ पुर्जीबारे क्युबाली राष्ट्रपति मिगेल डियाज कनेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
उनले सन् १९९६ मा विमान खसाल्ने कार्य क्युबाको क्षेत्रीय सुरक्षाका लागि वैध कदम भएको दाबी गरेका छन्। उनले उक्त अभियोगलाई कानुनीभन्दा पनि राजनीतिक चालका रूपमा टिप्पणी गरेका छन्।
क्युबामाथि सम्भावित सैन्य कारबाहीका लागि अमेरिकाले बहाना खोजेको राष्ट्रपति मिगेलको आरोप छ।
गत जनवरी ३ मा अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेर अमेरिका लगेको थियो। उनीविरूद्ध अहिले लागुऔषध तस्करी मुद्दा चलाइएको छ। मदुरोले आफूमाथिको आरोप स्वीकार गरेका छैनन्।
सन् १९३१ मा जन्मिएका राउल क्यास्ट्रोले आफ्ना दाजु फिडेलसँगै अमेरिकी समर्थित तानाशाह फुलगेनसिओ बाटिस्टाविरूद्ध गुरिल्ला आन्दोलनको नेतृत्व गरेका थिए।
क्रान्तिपछि फिडेल क्यास्ट्रोले सोभियत संघसँग गठबन्धन गर्दै अमेरिकी स्वामित्वका उद्योग र सम्पत्ति राष्ट्रियकरण गरेका थिए। त्यसयता अमेरिकाले करिब एक करोड जनसंख्या भएको क्युबामाथि आर्थिक प्रतिबन्ध कायम राखेको छ।
फिडेल नेतृत्वको कम्युनिस्ट शासन उल्ट्याउन सन् १९६१ को अप्रिलमा फिडेल क्यास्ट्रोको विरोधमा रहेका लगभग १ हजार ५०० क्युबाली निर्वासितहरूले हमला गरेका थिए। अमेरिका समर्थित उक्त हमला असफल बनाउन राउल क्यास्ट्रोले भूमिका खेलेका थिए।
राउल लामो समय रक्षा मन्त्री रहे र सन् २००८ मा फिडेलपछि राष्ट्रपति बनेका थिए। सन् २०१८ मा उनी पदबाट हटे पनि क्युबाली राजनीतिमा उनलाई पर्दा पछाडिको शक्तिशाली प्रभाव कायम रहेको मानिन्छ।