श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले आज पनि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोजेका छन्।
बैठक सुरू हुनेबित्तिकै उनले पर्चा देखाएर विरोध गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिए।
साम्पाङले प्रधानमन्त्री बालेन शाहले रक्षा र गृह मन्त्रालय पनि सम्हालिराखेकोले संसदमा आफूसहित सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन आउनुपर्ने बताए।
‘सभामुखमार्फत् म प्रश्न गर्न चाहन्छु- उहाँ (प्रधानमन्त्री) यो संसदको सदस्य हो कि होइन? यो देशमा संसद छ कि छैन। हामी सबै जनाले यो लोकतन्त्र र यो संसदको गरिमालाई जोगाइराख्न पर्छ कि पर्दैन?,’ उनले प्रश्न गरे, ‘यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दा राम्रो। नेपाली लोकतन्त्र र जनताको मतद्वारा स्थापित संसदप्रति उहाँ जबाफदेही नभए कोप्रति हुनुहुन्छ, शंका गर्ने ठाउँ छ यहाँ।’
उनले प्रतिनिधि सभा नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्री सदनमा आएर सांसदहरूले उठाएका प्रश्नमा जबाफ दिनुपर्ने पनि बताए।