सभामुख डोलप्रसाद अर्यालले सासूको मृत्यु भएपछि प्रतिनिधि सभाको बैठक स्थगित गर्दै बुधबारका लागि सारेका छन्।
प्रतिनिधि सभाको बैठक मंगलबार १ बजेका लागि डाकिएको थियो।
बिहानै सासू शिवकुमारी केसीको निधन भएपछि सभामुख अर्यालले बैठक भदौ १० गते बुधबार दिउँसो १ बजेका लागि सारेका हुन्।
९० वर्षीया केसीलाई काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरी शनिबार घर लगिएको थियो।
सासूको निधन भएपछि सभामुख अर्यालले संसद सचिवालयलाई बैठकको समय परिवर्तन भएको सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए।
प्रतिनिधि सभा नियमावली २०८३ को नियम ६ मा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने व्यवस्था छ।
तर सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थिति परी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन वा सभामुखले प्रारम्भ गरेको बैठकको स्थगनको घोषणा गर्न सक्ने व्यवस्था छ।
अर्थात् सभामुख अर्यालले मंगलबारका लागि डाकिएको बैठक स्थगित नगरी उपसभामुखलाई लिखित रूपमा बैठक सञ्चालनको जिम्मेवारी तोक्न सक्ने प्रावधान नियमावलीमा छ।
तर सभामुख अर्यालले काबु बाहिरको परिस्थिति उत्पन्न भएको विषयमा उपसभामुख रुबी कुमारीसँग परामर्श गरेका थिएनन्।
'मलाई अचानक बैठक स्थगित भएको थाहा भयो', उपसभामुखले सेतोपाटीसँग भनिन्, 'हाम्रो नियमावलीले 'इमरजेन्सी' भएको अवस्थामा बैठक स्थगित गर्न सक्ने व्यवस्था गरेको छ।'
संसद सचिवालयका एक अधिकारीले उपसभामुखले 'बैठक प्रारम्भदेखि स्थगनसम्म' सञ्चालन गर्ने गरी क्षमता विकास नगरिसकेको दाबी गरे।
'सभामुखले उहाँलाई अहिले बीचबीचमा बैठक सञ्चालनका लागि अवसर दिइरहनु भएको छ। उहाँले पनि बैठक सञ्चालन गर्ने आत्मविश्वास बढाउनुभएको छ', ती अधिकारीले भने, 'तर अहिले बैठकको पूर्ण कमान्ड लिइहाल्न सक्ने अवस्थामा हुनुहुन्न।'
संसद सचिवालयका ती अधिकारीका अनुसार उपसभामुखले अहिले नेपाली भाषाको अध्ययन गरिरहेकी छिन्। उनको मातृभाषा मैथली हो।
'उहाँले निकै मिहेनत गरेर भाषा सिकिरहनु भएको छ', ती अधिकारीले भने, 'बैठक सञ्चालनमा परिपक्कता बढ्दो छ। भाषाको कमाण्ड पनि बलियो हुँदै गएको छ।'
उपसभामुख र उपाध्यक्षले चलाएका छन् बैठक
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधि सभाको बैठक सञ्चालन गरेकी थिइन्।
सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणीको मुद्दामा जेल परेका थिए। त्यसपछि सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।
तुम्बाहाङ्फे सभामुखको आकांक्षी थिइन्। संविधानले सभामुख र उपसभामुख एउटै पार्टीको हुन नमिल्ने व्यवस्था गरेको छ। जसका कारण सभामुख चयनका लागि उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने परिस्थिति बनेको थियो।
त्यस्तै प्रतिनिधि सभा नियमावली २०७४ ले सभामुखले बैठकको सञ्चालन र अन्त्य गर्नुपर्ने व्यवस्था गरेको थियो।
तुम्बाहाम्फेले भने सभामुखको अनुपस्थितिमा उपसभामुखले काम कारबाही सञ्चालन गर्ने व्यवस्था भएकाले सोहीअनुसार आफूले बैठक चलाउने अडान लिएकी थिइन्। राजनीतिक रस्कास्सीबीच उनले एउटा बैठक सञ्चालन गरेर सोही बैठकबाट पदबाट राजीनामाको घोषणा गरेकी थिइन्।
त्यस्तै राष्ट्रिय सभामा पनि उपाध्यक्षले बैठक सञ्चालन र अन्त्य गरेको रेकर्ड छ।
२०८० साल असार १८ गते राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले बैठकको प्रारम्भ र अन्त्य गरेकी थिइन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लिखित रूपमा नै असार १८ र १९ गतेको बैठक सञ्चालनका लागि अनुमति दिएका थिए।
उनी काठमाडौं बाहिर भएको र उपत्यकामा आउन नसक्ने भएपछि बैठक सञ्चालनका लागि अनुमति दिएका हुन्। उक्त दिन प्रतिनिधि सभाबाट पारित भएको विनियोजन विधेयक बजेट माथि छलफल भएको थियो।
त्यस्तै २०७५ साल भदौ २२ गते अध्यक्ष तिमिल्सिना बैठक सुरू गरेर बाहिरिएका थिए। उक्त बैठकको अन्त्य उपाध्यक्ष शशीकला दाहालले गरेकी थिइन्। त्यतिबेला राष्ट्रिय सभाको नियमावलीमा बैठकको सुरूआत र अन्त्य उपाध्यक्षले गर्ने व्यवस्था थिएन।
पहिलो बैठक उपाध्यक्ष दाहालले अन्त्य गरेपछि सोही दिनको दोस्रो बैठक उनले चलाउन खोजेकी थिइन् तर विपक्षमा रहेको नेपाली कांग्रेसले नियमावलीमा व्यवस्था नभएको उल्लेख गर्दै बैठक चलाउन दिएको थिएन।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा सभामुख/अध्यक्षले बैठक सञ्चालन गर्न नसक्ने काबु बाहिरको परिस्थिति उत्पन्न हुने देखिएपछि उपसभामुख र उपाध्यक्षले बैठक सञ्चालन गर्न सक्ने व्यवस्था नियमावलीमा भित्रिएको थियो।