कीर्तिपुर नगरपालिका आसपास केन्द्रबिन्दु भई चार रेक्टर स्केलको परकम्प भएको छ। आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
उनका अनुसार यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प हो। परकम्पको ठूलो धक्का महसुस भएको थियो। यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
त्यसअघि गत माघ ८ गते काठमाडौंको थापाथली केन्द्रबिन्दु भई ३.३ रेक्टरको परकम्प गएको थियो।
बिक्रम सम्वत् २०७२ वैशाख १२ को ७.६ रेक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ।