केटाकेटीलाई मोबाइल दिने कि नदिने?
यसले उनीहरूलाई सुधार्छ कि बिगार्छ? विद्यालयमा मोबाइल कसरी प्रयोग गर्ने भनेर सिकाउन सकिन्छ? मोबाइल सिकाइको विकल्प हो वा विकृतिको बाटो?
यी प्रश्नले आजभोलि आमाबाबुलाई पिरोलेको छ। अर्कातर्फ यिनै कुरामा विद्यालय पनि रूमलेको छ।
मोबाइल दिने कि नदिने भन्ने विषय विवादमा छँदैछ तर घरमा उनीहरूलाई मोबाइल नचलाउन नदिई बस्न पनि सकेका छैनौं जुन कुरा सत्य हो।
तिनै बालबालिकालाई विद्यालयमा मोबाइल प्रयोग गर्न दिन हुँदैन, पढाइ बिग्रन्छ भन्ने धारणा धेरैको छ। के मोबाइल सिकाइको बाधक हो? या हामीले यसको प्रयोग गर्न जानेनौं वा सिकाउन सकेनौं? या हामी चाहिनेभन्दा धेरै डराएका त होइनौं? कक्षाकोठामा मोबाइलबाट सिकाउन हुन्छ कि हुँदैन भन्ने विषयमा मैले यो आलेखमा चर्चा गर्ने प्रयास गरेको छु।
घटना – १
गत शुक्रबार म आफ्नो तालिम सकेर काठमाडौंबाट सुर्खेत फर्कने क्रममा थिएँ। प्लेन ३ बजेको थियो तर विमानस्थलको चेक-इन भरिभराउ थियो। मौसममा आएको खराबीको कारण उडान भएको थिएन र भएको एक दुई उडान पनि गन्तव्यमा बस्न नसकी काठमाडौं फर्केका थिए।
करिब २ बजेको हुँदो हो म आफ्नो झोला राख्न भनेर टिकट काउन्टरमा पुग्नै लागेको थिएँ, पछाडि कसैको मोबाइल भुइँमा खसेको आवाज आयो। फर्केर हेर्दा अन्दाजी ९/१० महिनाको बाबु समातेको एउटा महिला मोबाइल टिप्दै थिइन्। उनलाई गाह्रो भएको जस्तो मानेर मैले मोबाइल टिपेर दिएँ। उनले धन्यवाद दिइन्। यस्तैमा थप्दै उनले भनिन् - मोबाइल बाबुको हातमा थियो खस्यो। झन्डै बच्यो, फुटेन। उनी मोबाइल बचेकोमा खुसी थिइन्। मैले सोधेँ- किन दिनु भएको हो त यति सानो बाबुलाई? उनले थपिन् – बाबु मान्दै मान्दैन, रून्छ। के गर्ने दिनै पर्छ। आमाको मन। मैले केही भन्न सकिनँ, अलिक हाँसेँ र आफ्नो काउन्टरतर्फ लागेँ।
घटना – २
मेरो प्लेन पनि ढिला भयो। यताउता डुल्ने र कुर्ने काम बाहेक केही बाँकी रहेन। त्यस्तैमा एउटी महिला आफ्ना दुई बच्चासहित थिइन्। छोरी १०/११ वर्ष जतिकी थिइन् होली। उनकी छोरी तिनै महिलाको कपाल बाट्दै थिइन् र ५/६ वर्षको बाबु मोबाइल भित्तामा अडाएर टिकटक भिडिओ बनाउँदै थिए। आमा उनलाई निर्देशन दिँदै थिइन्। अलि अगाडि उभियौं – अब घुम। बच्चा खुसी हुँदै नाच्दै थियो। हाँस्दै रमाएको पनि थियो। मैले सोधेँ – ‘बाबुले के गर्दैछन्?’ भिडिओ बनाउन सिकाएको। उनले थप्दै भनिन् – ‘अर्को कुरा पनि छ - उनलाई व्यस्त राख्न।’ मोबाइल दिएन भने उनी कहाँ जान्छन कहाँ। भेट्नै सकिँदैन। हराउने पनि हुन् सक्छ। यो जमानामा कसैको विश्वास हुँदैन। कि दौडेर हैरानै पार्छन् कि सताएर कुनै कामै गर्न दिँदैनन्। यिनलाई आँखै अघि सुरक्षित राख्न र व्यस्त बनाउने यही एउटा माध्यम त छ – मोबाइल। मैले पनि त्यो बाबुको चर्तिकला हेरेँ र त्यसपछि यसो नजर लगाएँ। सबैजसो मोबाइलमै व्यस्त थिए।
घटना – ३
करिब २ हप्ताअघि म एउटा शिक्षक तालिममा गएको थिएँ। त्यहाँ विभिन्न विद्यालयका शिक्षकहरू सहभागी थिए। खाजा ब्रेकमा शिक्षकहरू केटाकेटीलाई मोबाइलले पारेको प्रभावका बारेमा कुरा गर्दै थिए। कोही मोबाइल दिनुपर्छ भन्दै थिए त कोही दिन नहुने भन्ने बारेमा बहस गर्दै थिए। यस्तैमा एउटा शिक्षकले भने– हाम्रो विद्यालयमा पढाउँदै गर्दा कक्षामा पछाडि बस्ने विद्यार्थीले मोबाइलमा व्यस्त भएर मेरो कुरा सुन्दै सुन्दैनन्।
यसमा विद्यालयले खासै वास्ता गर्दैन। विद्यार्थीहरू बिग्रेर खत्तम छन्। के गर्ने अप्ठेरो परेको छ। अर्कोले भने - हाम्रोमा त मोबाइल प्रतिबन्ध छ। आनन्दै छ। तै पनि विद्यार्थीको ध्यान पढ्नमा छैन। गृहकार्य पनि गर्दैनन्। अलि जोडबल गरेर गृहकार्य ल्याऊ भनी दबाब दियो भने सारेर त ल्याउछन् तर आफै गर्दैनन्। उनीहरूका अभिभावकका कुरा सुन्ने हो भने उनीहरू घरमा पुग्ने बित्तिकै मोबाइलमा टाँसिएर बस्छन्। खान पनि थाहा पाउँदैनन्।
घटना – ४
एक दिन एक जना ६-८ को अभिभावकले मलाई भेटेर भन्नुभो – सर मेरो छोरी पढ्नमा त ठिकै छिन् तर स्कुलबाट घर गएपछि मोबाइलमा झुण्डी रहन्छिन्। एकछिन गाली गरेपछि सम्हालिन्छिन् तर पछि उस्तै हो। के गर्ने होला? यो लत कसरी हटाउने होला ? केही उपाय भन्दिनु पर्यो। बोलाएर रिसाइदिनु पर्यो। मैले केही भन्न सकिनँ। मैले बुझेर पछि कुरा गरौंला भनी टारिदिएँ किनकि मसँग कुनै ठोस उत्तर र उपाय थिएन।
घटना – ५
विद्यालयको पढाइमा बाधा पुर्याउने बुझाइले हामीले पनि विद्यार्थीहरूलाई मोबाइल चलाउन दिँदैनौं। उनीहरू आवासमा बस्छन्। महिनामा दुईपटक घर जाने आउटिङ हुन्छ।
एक पटक मैले कक्षा –९ मा पढ्ने विद्यार्थीलाई आउटिङमा जाँदै गर्दा सोधेँ – ‘तिमी घरमा गएर के गर्छौ?’ उनले पहिला त ‘पढ्ने, लेख्ने र घुम्ने काम गर्छु’ भने। त्यसपछि मैले भनेँ – ‘तिम्रो अभिभावकले अर्कै कुरा भन्नुभाको थियो त!’ उनले मेरो अनुहारमा हेरे, एकछिन चुपचाप भए। उनलाई मैले सबै थाहा पाएको जस्तो लाग्यो होला। त्यसपछि विस्तारै कुरा खोले। ‘कोठामा बसेर मन भरून्जेल मोबाइल चलाउँछु। गेम खेल्छु। खाना पनि आफ्नै कोठामा खान्छु।’
मैले सोधेँ- तिम्रो घर जानुको उद्देश्य यति हो त ? उनले खासै बोलेनन्। यत्तिकैमा उनको साथी आए त्यसपछि उनले मसँग बिदा मागे र झोला बोकेर घरतर्फ लागे। म सोचमग्न भएँ।
मेरो मनमा अनेक प्रश्नहरू उब्जिए। मोबाइल केटाकेटीलाई दिन हुने कि नहुने ? मोबाइल दिँदा के हुन्छ र नदिँदा के हुन्छ? के मोबाइल बिगार्ने साधन हो? धेरै शैक्षिक क्षेत्रमा मोबाइल प्रतिबन्धित गरिएको छ। के यो ठिक उपाय हो? के केटाकेटीलाई मोबाइलबाट बन्चित गर्न सम्भव छ? मोबाइल विकृतिको साधन हो कि सिकाइको विकल्प हो? के विद्यालयमा पनि मोबाइलबाट सिकाउने दिन आयो?
आजको यो आलेखमा मेरो यिनै प्रश्नको उत्तर खोज्ने प्रयास हुनेछ। पहिले चर्चा गरौ मोबाइलको प्रसार र प्रयोगका बारेमा।
विश्वमा पहिलो मोबाइल मोटोरोला कम्पनीका कार्यकारी इन्जिनिएरले ३ अप्रिल १९७३ मा प्रयोग गरेको मानिन्छ। त्यसको १० वर्षपछि मात्र अर्थात् १९८४ पछि मोबाइल बजारमा आएको थियो।
नेपालमा मोबाइलको प्रयोग २०५६ वैशाख १ गतेबाट जिएसएम मोबाइलको रूपमा भएको कुरा हामी धेरैलाई थाहा छ। सोही वैशाख ३० देखि पोस्टपेड मोबाइल तथा २०६० भदौ ६ देखि प्रिपेड मोबाइल सेवाको सुरूआत भएको हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ७२.९४% को पहुचमा स्मार्ट मोबाइल पुगेको छ र ३७.७२% परिवारले इन्टरनेट प्रयोग गरिरहेका छन्। डाटा रिपोर्ट अल २०२५ का अनुसार नेपालमा ३ करोड ९० लाख मोबाइल फोनहरू संचालनमा छन् भने १ करोड ६५ लाख व्यक्तिले इन्टरनेटको प्रयोग गरिरहेका छन्।
तर हामी नीतिगत रूपमा केटाकेटीलाई मोबाइल प्रयोग गर्न दिन गलत हो भनी हिँडेका छौं। विशेषगरी विद्यालयमा विद्यार्थीलाई मोबाइल दिने हुँदैन भनेर अडान कसेका छौं। किन त भन्दा, यसले बिगार्छ रे। अनावश्यक र छाडा साइट हेरेर बिग्रन्छन्। समस्यै समस्या ल्याउँछन्, त्यसैले प्रतिबन्ध गर्नुपर्छ। यो जबर्जस्त भास्य हो अभिभावक र धेरै अन्यहरूले पनि।
हुन त केटाकेटीलाई मोबाइल दिएमा उनीहरूको बानी र व्यवहारमा नकारात्मक प्रभाव पर्छ भनी एक अमेरिकन लेखिका तथा मनोविद डा. जिन एम ट्वेनजले भनेकी छन्।
मोबाइल चलाउने केटाकेटीहरूको सामाजिकीकरणमा कमी आएको कुरा उनले आफ्नो ३० वर्षको अध्ययन प्रतिवेदनमा उल्लेख गरेकी छन्।
लामो समय मोबाइलमा बिताउँदा त्यसले सामाजिक व्यवहारमा पार्ने प्रभाव एक खालको होला तर हामीले उपलब्ध साधनलाई उपयोग गर्ने कि जसरी चलेको छ त्यसरी अघि बढ्न दिने भन्ने प्रश्न आजको चासो हो।
यदि केटाकेटीलाई मोबाइल चलाउन मनपर्छ भने हामीले त्यसै माध्यमबाट सिकाउने बारेमा किन नसोच्ने भन्ने धारणा मेरो अहिलेको चासो हो।
कक्षाकोठामा कुनैबेला कालोपाटी नै सिकाइको प्रमुख माध्यम थियो जो स्कटल्याण्डका प्रधानाध्यापक जेम्स पिलंसले सन् १८०१ मा पहिलो पटक प्रयोग गरेका थिए। हाम्रो देशमा पनि शिक्षाको माध्यम धुलौटो, स्लेट आदि हुँदै कालोपाटी र सेतोपाटी बन्दै अघि बढेको इतिहास छ।
विज्ञानको आविष्कारसँगै परिवर्तन हुँदै अहिले विद्यालय इन्टरएक्टिभ बोर्ड र स्मार्ट बोर्ड राख्ने अवस्थामा आइपुगेको छ। हिजो लेख्ने कागज आज स्क्रिनमा बदलिँदै गएको छ।
शिक्षकले लेख्ने र सिकाउने साधन बदलिएको छ। आफैले बोलेर सिकाउने ठाउँमा बनिबनाउ तस्बिर र भिडिओ देखाउन मिल्ने भएको छ तर हाम्रो सोच विद्यार्थीले कागजबाट मात्र सिक्नु पर्छ मोबाइलबाट होइन भन्नेमा छ।
हामी भन्दैछौं कि केटाकेटीलाई मोबाइल दिनु हुँदैन। यसले बिगार्छ। कतिपयले मोबाइल उमेर र परिपक्वतासँगै दिनुपर्छ भन्ने पनि गर्छन्। कसै कसैले आफ्ना छोराछोरीले मोबाइल प्रयोग नगरेकोमा गर्व पनि गर्छन तर के मोबाइलविनाको जीवन सम्भव होला त अबको दिनमा?
यो एक/दुई व्यक्तिको कुरा पनि होइन। समग्रमा शिक्षा र सिकाइमा बालबालिकालाई मोबाइलसँग जोड्ने कि नजोड़ने भन्ने आजको बहसको विषय बन्नु र बनाइनु पर्छ। सिकाइलाई प्रविधिसँग जोड्नु पर्छ भन्ने कुरामा कसैको दुईमत छैन। यसको मतलब के शिक्षकको गतिविधि मात्र प्रविधिसँग जोड्ने तर विद्यार्थीको सिक्ने कामलाई प्रविधिसँग जोड्नु पर्दैन? के मोबाइलभित्र किताब अटाउन सक्दैन?
यो मोबाइललाई विद्यालयमा प्रयोग गर्न दिनु हुँदैन भन्ने विषयको जड खोज्दै जाँदा यो त हाम्रो सामाजिक सोच, परम्परा र संस्कृतिसँग जोडिएको रहेछ। ज्ञानको कमी, डर र आफ्नो सहजतासँग सम्बन्धित रहेछ। एकपटक यसको बारेमा चर्चा गरौं।
हाम्रो सामाजिक चिन्तन डरका कारण निषेधबाट अघि बढेको रहेछ। सुरूमा जे नयाँ आए पनि केटाकेटीलाई दिन डर मान्ने रहेछ - कि त साधन बिग्रन्छ कि बच्चा। त्यो डरको मूल कारण ज्ञानको कमी रहेछ। थाहा नपाएको विषय भएमा सिलसिलेवार प्रक्रिया सिकाउने त कुरै भएन। यसरी ज्ञान नभएको विषयमा जोखिम नलिने कुराले बालबालिकालाई सुरक्षित त गराउला तर सिकाउँछ कि सिकाउँदैन भन्ने प्रश्न महत्वपूर्ण छ।
मलाई याद छ हामी सानो हुँदा हामीलाई रेडियो छुन दिइँदैनथ्यो। त्यसको कारण केटाकेटीले बिगार्छन् भन्ने रहेछ। त्यसपछि टिभीलाई पनि त्यस्तै गरियो। हामीलाई कसैले सिकाएन। जति देखेर सिकियो, सिकियो। तर हामी लुकीलुकी चलाउने गर्थ्यौं। कुनै पनि काम मान्छेले लुकेर गर्दा र बन्देजमा गर्दा धेरै र अनियमित तरिकाले गर्दो रहेछ। त्यसैले प्रश्न अव्यवस्थित तरिकाले चित्त दुखाइ दुखाइ मोबाइल प्रयोग गर्न दिने कि यसलाई शिक्षामा जोड्ने भन्ने हो। शिक्षामा जोड्दा यसको तलतल पनि घट्न सक्छ र सिकाइ पनि सहज हुन सक्छ।
हामीले कहिले पनि बालबालिकालाई मोबाइल कसरी र के का लागि प्रयोग गर्ने भनेर सिकाएकै छैनौं अनि कसरी उनीहरूले गर्छन् त सिक्नका लागि मोबाइलको प्रयोग? उनीहरूले जे ठिक लाग्यो त्यही गरे। जे मन लाग्यो त्यही खेले। जे रमाइलो लाग्यो त्यही हेरे। यदि उनीहरूको खेल, मनोरञ्जन र बानीलाई सिकाइ गतिविधिसँग जोड्न सकेको भए के हुन्थ्यो होला? यदि शिक्षकले दिने काम पनि मोबाइलमा र सिकाइ पनि मोबाइलमा हुने भएको भए घरमा मोबाइल नचलाऊ बाबु/नानी भन्नु पर्थ्यो होला?
शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने नारा सबैको ओठओठमा झुन्डिएको छ। शिक्षकले स्मार्ट बोर्डमा पढाउनु पर्ने तर विद्यार्थीलाई कक्षामा स्मार्ट फोनमा गतिविधि गर्न किन नहुने? के हामीले मोबाइल र इन्टरनेटको विस्तारलाई रोक्न सक्छौं? यसको प्रयोगलाई घटाउन सक्छौं? के अबको केही वर्षपछि धेरै कार्यालयका काम मोबाइलबाट हुने होइनन् र ? यदि सक्दैनौं भने त्यो मोबाइलबाट गर्ने कामलाई आजैदेखि मोबाइलमा गर्न किन नसिकाउने? सरकार विद्युतीय सुशासनको कार्यान्वयनमा लागेको छ। त्यसको प्रत्यक्ष उपभोक्ताले मोबाइलबाट सिक्नु किन नपर्ने?
सन् २००२ मा नै किगन भन्ने व्यक्तिले ‘अबको दिनमा मोबाइल सिकाइको अग्रदूत हुनसक्छ’ भन्ने प्रक्षेपण पहिले नै गरिसकेका छन्। त्यसैले यो सर्वव्यापी मोबाइल सिकाइमा बाधक नभई साधक बनाइनु पर्छ।
माथिका पहिलोदेखि पाँचौं घटनासम्म हेर्यौं भने वास्तविकतामा हामीले मोबाइललाई केटाकेटीको जीवनबाट टाढा राख्न सकेका छैनौं।
आज त्यो ९/१० महिनामा मोबाइल सुरू गरेको बाबुले विद्यालयमा पढ्न आउँदा सेतोपाटीमा मात्र भट्याएर सिक्ला? उसलाई कापीमा लेखाउन सजिलो होला कि ट्याबमा? स्मार्ट बोर्डमा गरिने गतिविधि र क्रियाकलाप कापीमा दिन ठिक होला कि मोबाइलमा? अब सोच्ने बेला आएको छ।
हामीले प्रतिबन्ध होइन, सिकाइमा मोबाइललाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारेमा सोच्नुपर्ने भएको छ। यदि यस्तै प्रतिबन्ध लगायौं भने कहिलेसम्म रोक्न सकिन्छ होला? के अबको दश वर्ष पछिको सिकाइमा आजको जस्तै कागजको प्रयोग होला? हामीले पठन सामग्री डिजिटल र सफ्टकपी किन बनाउँदै लागेका छौं। त्यो केमा प्रयोग गर्नलाई हो? यदि सस्तो, सजिलो र बोक्न पनि सजिलो हुने मोबाइलमा सिकाउँदा र पढाउँदा के फरक पर्छ? घरमा मोबाइल प्रयोग गर्न दिन सकिने तर विद्यालयमा मोबाइलबाट सिकाउन र पढाउन नहुने किन?
त्यसैले अझै पनि हामीले मोबाइल निषेध गर्नुभन्दा यसलाई सूचना, सिकाइ, सिर्जना र मनोरञ्जनमा कसरी प्रयोग गर्न सकिन्छ भनी बहस थाल्नुपर्ने भएको छ। त्यसैले मोबाइललाई विद्यालय र घरमा पनि सिकाइको साधनको रूपमा हेर्न र प्रयोग गर्न जरूरी भैसकेको छ। मोबाइलको प्रयोग संसारमा सुनामी जसरी अघि बढेको छ। तर हामीले यसलाई बाधकका रूपमा व्याख्या गरेका छौं। समस्या सुनामी नहुन सक्छ किनकि त्यो आउने नै हो तर त्यसमा हामी पौडिन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न अझै टड्कारो बनी हाम्रा सामु ठडिएको छ।
अतः हामी जति छिटो मोबाइल विकृति होइन विकल्प हो भनी बुझ्छौं त्यति सजिलै मोबाइल सिकाइको साधनमा परिणत हुन्छ।
(लेखक सैनिक आवासीय महाविद्यालय सुर्खेतका प्रिन्सिपल हुन्।)