ताप्लेजुङ पाथीभरा माताको जिल्ला। पाथीभरा पूर्वकी प्रसिद्ध देवी। त्यहाँ एक चोटि सबैले पुग्ने इच्छा राख्छन्। मेरो पनि थियो। २०७६ साल कात्तिकमा बल्ल पाथीभरा जाने मौका जुर्यो। पाथीभरा पाथीजस्तै चुलिएकी। आफू मात्र होइन, ताप्लेजुङ जिल्लालाई पनि प्रसिद्धिले चुलाएकी। प्रकृति पनि त्यस्तै मनोरम। वरिपरि टलक्क टल्किएका हिमशैल। एकातिर तमोर। एकातिर कावेली। बिचमा पाथीभराको आकर्षक पहाड।
मैले पाथीभरा देवीको दर्शनको निहुँमा पहिलो चोटि ताप्लेजुङ टेकेँ। कञ्चनजङ्घाको काखबाट बगेको कावेलीखोला तरेँ। पहिलो चोटि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालसँग साक्षात्कार गरेँ। हेरिरहूँ लाग्ने पहाड तरेली, खोल्साखोल्सी र हरिया रूख बुट्यानहरूसँग मौन संवाद गरेँ।
जागिरको क्रममा म ताप्लेजुङ आउँछु भनेर एक मनले पनि सोचेको थिइनँ। कहिलेकाहीँ नसोचेका कुराहरू हुन्छन् जीवनमा। पाथीभरा दर्शनको तीन वर्षपछि जागिरको क्रममा म ताप्लेजुङ पुगेँ। मैले जान चाहेको जिल्ला अर्कै थियो। तर अचानक पुगेँ ताप्लेजुङ। आफूले चाहेर मात्र हुँदैन। माताले आफैँले नबोलाएसम्म पाथीभरा पुग्न सकिँदैन भन्ने जनविश्वास छ। मलाई पाथीभरा माताले ताप्लेजुङ बोलाएजस्तो लाग्यो। माताको काखमा बसेर काम गर्ने मौका मिलेकोमा मलाई एक किसिमको खुसी लाग्यो।
२०७९ असार २३ गते जिल्ला प्रशासन कार्यालयमा हाजिर भएँ म। त्यतिखेर महेश पोखरेल हुनुहुन्थ्यो सिडिओ। अत्यन्त नम्र, भलाद्मी र धार्मिक व्यक्तित्वका हुनुहुन्थ्यो उहाँ। सहायक सिडिओको निवास हेलिप्याडभन्दा अलि माथि थियो। तर उहाँले १५ दिन जति सिडिओ क्वाटरमा नै राख्नुभयो। त्यसपछि आफ्नै क्वाटरमा सरेँ। जिल्ला प्रशासनको जागिर मेरो पहिलो अनुभव। महेश सरबाट मैले धेरै सिक्ने मौका पाएँ। उहाँको भद्र, शालीन र आध्यात्मिक व्यक्तित्व अनि समन्वयकारी भूमिकाबाट म निकै प्रभावित भएँ।
असार-साउनको महिना। जतिखेरै पानी परिरहने। कुहिरो लागिरहने। चिनजान कोहीसँग छैन। सुरू-सुरूमा त निकै वैराग लाग्यो। सोलु छोडेपछि झन्डै २२ वर्ष म काठमाडौँ बसेँ। काठमाडौँको खाल्डोबाट उम्किन पाइएन। काठमाडौँ सहर यस्तो खाल्डो हो जहाँ गाडिएपछि हत्तपत्त निस्किन सकिँदैन। मलाई पनि त्यस्तै भयो।
बिस्तारै सम्बन्धहरू बढ्दै गए। ठाउँहरू घुम्दै गइयो। पहाडमा जन्मेको मान्छे पहाड नै मन पर्दो रहेछ। लेक-बेसी, उकाली-ओराली, खोला-खोल्सी, धारा-पँधेरा, बारीका पाटा र खेतका गराहरूले मन हर्दै गए। त्यसमाथि कञ्चनजङ्घा, कुम्भकर्ण लगायत थुप्रै हिमशृङ्खलाहरूले त झनै लोभ्याउन थाले। पाथीभरा माताको कृपाले सबै कुराहरू प्रिय हुँदै गए। मनभित्र एक किसिमको नयाँ ऊर्जा भरिँदै गयो। हृदय कोमल, प्रेमिल र सृजनशील हुँदै गयो। यसो भनौँ, ताप्लेजुङको बसाइ मिठो बन्दै गयो।
‘हाउ सर! के छ? सञ्च-सुबिस्तै हो? हाउ! चिया खाऊँ हौ! हाउ! ताप्लेजुङलाई माया नमार्नू है?’ यस्तै-यस्तै खालका लिम्बु लवजहरू बिस्तारै कर्णप्रिय हुँदै गए। कामको सिलसिला होस् या अनौपचारिक बस-उठ, खानपिन आदि इत्यादि कुराहरूले सम्बन्धहरू आत्मीय हुँदै गए। ताप्लेजुङको माटो र मान्छेहरूसँग माया-पिरती बढ्दै गयो।
मेरो निवास हेलिप्याड मास्तिर, आर्मी क्याम्प मुनि। सबभन्दा माथि पाँचौँ तलामा। वरिपरि कौसी। त्यहीँबाट देखिने उत्तरतर्फको पाथीभरा देवी अवस्थित पहाड। पश्चिमतर्फ मिक्वाखोलाको खोक्लिङ गाउँ। मिक्वाखोलामै रहेको मानाभरा देवी अवस्थित पहाडको चुचुरो। मेरिङ्देन गाउँपालिकाका थुकिमा, खाम्लुङ, लिङतेप र सान्थाक्रा गाउँ अनि गुराँसे पोखरी। पाथीभरामुनिको फुरुम्बु र हाङ्देवा गाउँ। फक्ताङलुङतिर छिर्ने मित्लुङ गाउँ। त्यसको उता फक्ताङलुङ प्रवेश मार्गतिर उभिएका अग्ला-होचा पहाडहरू।
तमोरको खोँच अनि अलि तलतिर देखिने तमोरको प्रवाह। तमोरमै मिसिने मेवाखोला। सानिमा मिडल तमोर हाइड्रोपावर, युनाइटेड मेवा हाइड्रोपावर। मैवाखोला गाउँपालिकाको थोरै भाग। अनि वरिपरि लहरै उभिएका अग्ला-अग्ला पर्वत तरेलीहरू। हानिँदै झरेका खोल्साखोल्सीहरू। अनि नजिकै उँभोपट्टि सैनिक क्याम्प, उँधोपट्टि भानु स्कुल, भानुको खेलमैदान, हेलिप्याड, हेलिप्याड मास्तिरको दिलमायाको चिया दोकान।
कौसीबाट घुमी घुमी म यी दृश्यहरू हेर्थेँ। कहिले घर सम्झेर भावुक बन्थेँ। कहिले त्यसै-त्यसै फुरूङ्ग हुन्थेँ। त्यो पहाडी दृश्य जति हेरे पनि मन नभरिने। गाउँघरको तिर्सना जति गरे पनि नमेटिने।
बर्खाको बेला कुहिरोले डाँडा पाखा र गाउँघरलाई डम्म ढाक्ने। त्यो बेला मनमा एक किसिमको विरहले छाउँथ्यो। साँझपख झ्याउँकिरी बास्थ्यो। झ्याउँकिरीको मोहिनी आवाज त्यही कौसीमा बसेर म सुनिरहन्थेँ। पानी झमझम बर्सिँदाको आवाज अत्यन्त सङ्गीतमय लाग्ने। म साँझ ढल्केर अँध्यारो नहुन्जेलसम्म पानी परेको हेरिरहन्थेँ। कोठाभित्र पसेपछि पनि पानी दर्केको आवाजले तानिरहन्थ्यो। प्रकृतिले प्रदान गरेको यो बर्खे झरीको आनन्द लिँदालिँदै म कतिखेर भुसुक्क निदाउँथेँ।
गोधूलि साँझमा आकाशमा खेल्दै गरेका बादलका फूलजस्ता आकृतिहरू हेरेर म टोलाउँथेँ। बादल सँगसँगै मन पनि कता-कता दौडिन्थ्यो। बर्खा हटेपछि शुक्लपक्षको रातको जून त्यस्तै मनोहर। कोठाबाट निस्केर राति अबेरसम्म त्यही बार्दलीबाट त्यो टहटह जून म हेरिरहन्थेँ। म त्यो जून हेरेर मेरो गाउँघर सम्झिन्थेँ। मेरी घरकी उनीलाई सम्झिन्थेँ। अनि मेरो जीवनसँग जोडिएका जूनजस्तै पात्रहरूलाई सम्झिन्थेँ। उनीहरूसँग बिताएका पलहरू सम्झेर भावुक हुन्थेँ। जून हेर्दा जून राम्रो। निस्पट्ट रातमा तारा चम्किएको पनि त्यस्तै राम्रो। आखिर सबै कुराहरू आफ्नो हेर्ने नजरमा फरक पर्दो रहेछ। मन सङ्लो र सकारात्मक भएपछि जे हेर्यो त्यही राम्रो। मन अँध्यारो भएपछि जे हेरो त्यही नराम्रो।
गाडीको कोलाहल र मान्छेको आवाज आउन छोडेपछि सुनसान रातको समयमा झ्यालबाट चनाखो भएर सुन्दा तल स्वा... गर्दै बगेको तमोरको आवाज सुनिन्थ्यो। प्रायः राति १२ बजेपछि पिसाब फेर्न निस्किँदा म तमोर बगेको आवाज ध्यान दिएर सुन्थेँ। राति दुई-तीन मिनेटसम्म तमोरको सङ्गीतमय मधुर आवाज सुन्ने मेरो बानी नै परेको थियो। त्यसपछि त्यही आनन्दमा तरङ्गित हुँदै म मस्तसँग निदाउँथेँ।
बिहानी भ्रमणमा निस्कँदा चैत-वैशाखको याममा ऐँसेलु त कति खाइयो कति। त्यो बेला डाँडा पाखाहरू ऐँसेलुले पहेँलपुर देखिन्थे। कति खानु, खाएर सकिए पो! एक चोटि तत्कालीन सिडिओ गोमा चेम्जोङसहितको सुरक्षा टिमसँग दोखु, नाम्लेपाटी, नाङ्खोल्याङ हुँदै हामी हिँडेर ऐँसेलु खाँदै र ऐँसेलुको झ्याङमा फोटो खिच्दै पाथीभरा याङबरक, थेचम्बुसम्मै पुगेका छौँ। अनि फेरि ऐँसेलु खाँदै, गीत गाउँदै र रमाइला बात मार्दै हिँडेरै त्यही बाटो फुङलिङ बजार फर्किएका छौँ। कम्ती मजा भएको होइन त्यो बेला।
हरेक बिहानको भ्रमणमा मेरो साथी हुनुहुन्थ्यो, नवराज गिरी। उहाँ त्यहीँको स्थानीय। जिल्ला हुलाकका हाकिम (नासु)। बिहानको भ्रमणमा पनि उहाँ चटक्क परेर निस्किने। हातमा मोबाइल बजाउँदै सर्ट, पाइन्ट अनि ढाका टोपीका साथ धेरै छिटो हिँड्ने। छिटो-छिटो बोल्ने। हरेक बिहान ५ बजेपछिको त्यो स्वच्छ अनि ताजगीपूर्ण हिँडाइमा फुङलिङ बजारका कुना-कुना सबै ठाउँ घुमाउनु भएको छ। कहिले हाङदेवा, कहिले दोखु, कहिले भिन्तुनाडाँडा यलम्बरपार्क हुँदै सुकेटारमुनिकी पाथीभरा, कहिले भानु स्कुलमुनि तेर्सो बाटो सशस्त्र क्याम्प हुँदै ऐश्वर्यचोक निस्केर भुँडी नै पहेँलपुर हुने गरी ऐँसेलु खाएका छौँ। यसरी घुम्ने क्रममा धेरै घरहरूमा स्वागत स्वरूप हामीले दूध खाएका छौँ। आलु उसिनेर खाएका छौँ। हरिया मकै खाएका छौँ। काँक्रा, अम्बक र सुन्तलाको कोसेली भेट्टाएका छौँ। नाङ्खोल्याङसम्म पुगेर खिर खाएका छौँ।
हेलिप्याडमुनि ओरालो झरेर सशस्त्र क्याम्पमाथि लभडाँडोले चिनिने साह्रै राम्रो ठाउँ। त्यहाँबाट पाथीभरा, मानाभरा अनि तमोर, मेवा र मेवाखोला बगेको राम्रोसँग देखिन्थ्यो। मिक्वाखोला, मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोलाका विभिन्न गाउँहरू स्पष्ट देखिन्थ्यो। घामको झुल्को र घाम अस्ताउँदाका बखत त्यो डाँडामा बसेर वारिपारि नियाल्दाका दृश्यहरू बहुत मनोहर देखिने। उठेर हिँड्नै मन नलाग्ने। बेलुकीपख त त्यो डाँडोभरि केटाकेटीको जोडी, प्रेमालाप गरिरहेका, प्रेमिल हाउभाउले मस्त। त्यही भएर त्यो ठाउँ लभडाँडोले चिनिएको। सशस्त्र क्याम्पमा बेलुका ओखती सहितको डिनर खाएर हामी धेरै चोटि जुनेली रातमा त्यो लभडाँडाको बाटो भएर हाँस्दै, बोल्दै र गीत गाउँदै हेलिप्याडसम्म आएका छौँ।
तोक्मेडाँडामा शनिवारको हाट लाग्ने। बिहान चार बजेदेखि नै चहलपहल। फुङलिङ नजिकका गाउँहरूबाट सिजनअनुसारका अर्ग्यानिक उत्पादनहरू आउने। बर्खाको बेला सिस्नो, निगुरो, काफल, काँक्रो, तरकारी खाने बाँसको तामा, लिची, कटहर, आँप, आरु, नास्पाती, आलुबखडा, इस्कुस, छ्यान्द्रे आलु। दसैँ छेक खल्पी हाल्ने लामा-लामा काँक्रा, अम्बक, हलुवाबेद। हिउँदमा सुन्तला, उखु, सख्खर, घोरेमास, इस्कुसका जरा, कालो मास, गहत।
बजारका छाप्राहुँदि च्वाइँरोटीको मगमग वासना। कोही रक्सी, छ्याङ पिइरहेका। कोही तोङ्वा तानिरहेका। बाटामाथि सुँगुर, पाडो काटिरहेका। कोही खसी-बोका मोलमोलाइ गरिरहेका। मान्छेहरू हाँसिरहेका। बोलिरहेका। आपसमा बात मार्दै रमाइरहेका। परबाट सुन्दा माहुरीको गोलोजस्तो आवाज।
ऋतुपिच्छे फेरिएका रङसँगै ताप्लेजुङ जति घुमो उति रमाइलो। प्रकृतिका बान्कीहरू जति हेरो उति राम्रो। हिमाल राम्रो। पहाड राम्रो। लेक-बेसी, डाँडापाखा, खोलानाला, छाँगा छहरा, तालपोखरी, वन वनेली सबै राम्रा। हावासँगै बयली खेलेका अलैँची घारी, बर्खाको बेला खेतबारीमा हलक्क बढेका मकैका बोट, कात्तिक-मङ्सिरको बेला खेतका गरा र फाँटहरूमा लहलह धानका बाला, हिउँद यामको पहेँलपुर तोरी, चैत-वैशाखको बेला भुईँतिर लरक्क लर्किएका गहुँ र जौका बाला त्यस्तै मनोहर। हेरिरहूँ लाग्ने।
असार-साउनको बेला लामा-लामा खालका हरिया काँक्रा, हरिया मकै र फर्सीका मुन्टाको स्वाद बिर्सी नसक्नुको छ। दोखुको सिरान र सुकेटारतिर त असोजसम्मै पाइने। बाँसबोटे टेक निरौला र ऐश्वर्यचोक परतिर खगेन्द्र सिटौलाको घरमा सिलौटामा पिसेको हरियो खोर्सानी र नुनसँग एक थाल काँक्राका चिरा, सानो डोकाको आधि डोको जति पोलेका हरिया मकै, आधा कराही मुन्टा र एक डेक्ची मोही खाएर राति बरन्डामा सिलोक भन्दै सुतेको, भुँडी बिझाएर राति छेरपाटे चलेको अनि वसन्त निरौला र इन्द्रनारायण/इन्दिरा भट्टराईका घरमा पटक-पटक गरी घोगा दशेक मकै र मोही फुर्की-फुर्की खाँदा भुँडी चर्किएको त झन् कहाँ बिर्सी सक्नु छ र।
ताप्लेजुङमा सुन्तला पनि त्यस्तै फल्ने। मङ्सिर-पुसतिर फुङलिङ बजार मुन्तिरका गाउँघर सुन्तलै-सुन्तलाले पहेँलपुर। लटरम्म फलेका झरिला सुन्तलाका बोटहरू भुईँतिर लत्रेका। जिल्ला प्रशासनमुनि वसन्त निरौला, वल्लो दोखुस्थित नेत्र घिमिरे, खगेन्द्र सिटौला र टेक निरौलाको घरमा सुन्तला त कति खाइयो कति। उहाँहरू डालाभरि ठुला-ठुला सुन्तला टिपेर मेरा अगाडि राखिदिनु हुन्थ्यो। म हाँस्दै बात मार्दै सबै सक्थेँ। उहाँहरू छक्क पर्नुहुन्थ्यो। उहाँहरूको घरमा परपरी भुटेको आलु र इस्कुसका चानासँग घिउसरि खीर र ढकनी पनि मैले निकै चोटि खाएको छु।
तोबा-सुकुटीको कुरा त झन् के गर्नु। ताप्लेजुङको तोङ्बा-सुकुटी निकै नाम चलेको। यसका गीत पनि धेरै बनेका छन्। रुबिना इजम (राम साइँली) को टहरोमा पित्तलले बानेको काठको भाँडोमा तोङबासँग पाडाको सुकुटी र फ्राई गरेको लसुन त कति खाइयो कति। सुकेटारस्थित ओम राईको सिरेटो होटेल, ग्रिन भिलेज होटेल लगायत धेरै ठाउँहरूमा तोङ्बा, सुकुटी अनि सुँगुरको मासु खाएर साथीहरूसँग सल्लेरी डाँडै डाँडा गीत गाउँदै-गाउँदै झरेको याद ताजा बनेर आइरहन्छ। सुकेटारमाथि नवीन भट्टराई र सुरेन्द्र कार्कीको कालिज कटेजमा बेलाबेला मध्यरातसम्म खाइयो। पिइयो। नाचियो। गाइयो। डाँडै उचाल्ने गरी हाँसियो। हेलिप्याडस्थित इकोभ्यू होटेलको सुँगुरको मासुको स्वाद त जिब्रोमै झुन्डिएको छ।
तोक्मेडाँडामुनि दोखु जाने बाटामा लहरै कफी हाउस। घोटेको कफी र लोकल रक्सीमा घिउ, मह र कफी हालेर झानेको मुस्ताङे झनुवा खुबै चर्चित। बेलुकीपख किशोर-किशोरीहरूको भीड। छतमा बसेर वारिपारि हेर्दै कफी पिउनुको मजा बेग्लै। म कहिले साथीहरूसँग त कहिले एक्लै साँझपख घुम्दै त्यहाँ पुग्थेँ। छेउको नेपाल भाइको कफी हाउसको छतमा बसेर उँभो तिरको भीर र सल्लाका रूखहरू हेर्दै कफीका साथ टोलाउँथेँ। नोस्टाल्जिक बन्थेँ।
वीरेन्द्रचोकको विग्स क्याफे, तोक्मे परतिरको डिभाइन क्याफे, हेलिप्याडको फ्रेण्ड्स क्याफे र इकोभ्यू होटेल पनि कफी र खाजाको लागि निकै नाम चलेका। म बेलाबेला फ्रेण्ड्स क्याफेको माथिल्लो तलाको बाहिरपट्टि बरन्डामा बसेर साँझपख कफी पिउँथेँ। मनभित्रका तरङ्गहरू कफीको तातो बाफसँगै मिसिएर उँभोतिर उड्थे। यादहरू बाफिएर आँखाको डिलबाट ओर्लिन खोज्थे। बिस्तारै कफी रित्तिएपछि मन पनि रित्तो-रित्तो भएर आउँथ्यो। उदास मन लिएर म बाटो लाग्थेँ।
डिभाइन क्याफेमा मेसिनले दाना पेलेर बनाएको अम्रिकानो कफी खुब पिइयो। इलामबाट आएका नव दम्पती निशा र दीपकले त्यो क्याफे खोलेका। सानी खालकी चकलेटी परेकी निशाले त्यहीँ एउटा छोरो पाइन्। फुङलिङ बजारमा त्यो क्याफे पनि निकै चल्यो।
दिलमायाको चिया दोकान।
यसको कथा छुट्टै छ। सेविका पौडेल अर्थात् दिलमाया। पहिला उनको चिया पसल हेलिप्याड नजिकै थियो, आरजु गेस्ट हाउसको मुनि तल्लामा। त्यहीँ नै हो मैले सेविकाको नाम दिलमाया राखेको। उनी काली-काली भएकीले सुरु-सुरुमा दिलवाली हुँदै पछि दिलमाया भएकी। जिल्ला प्रशासनका तत्कालीन नासु बिहान बेलुका जहिल्यै त्यही ठाउँमा बसेर फुटानी लाइरहने। उनकै कारणले त्यो ठाउँको नाम ‘फुटानी चोक’ रहेको थियो। उनी सरुवा भएपछि मैले पहिला नै नाम जुराएअनुसार त्यो होटेलको नाम ‘दिलमायाको चिया दोकान’ राख्ने सल्लाह भएको हो।
पछि त्यो चिया पसल त्यहीँ मास्तिरको डाँडामा तमोर रेडियो अगाडि सर्यो। दिनेश लिङ्खिम, हर्क पालुङ्वा, काजी गुरुङ, युवराज घोर्साईं, सन्तोष पुर्कुटी, खगेन्द्र अधिकारीसँग ठट्टैठट्टामा त्यही ठाउँमा ‘दिलमायाको चिया दोकान’ नामको बोर्ड झुन्डाइयो। बोर्डको प्रायोजन हर्क पालुङ्वाले गर्नुभयो। प्रायः हरेक साँझ-बिहान चिया पिउँदै हाँस्दै बात मार्दै जाँदा ख्याल ख्यालमै ‘दिलमायाको चिया दोकान’ गीत लेखियो। त्यही दोकानमा गीतको भव्य छायाङ्कन भयो। यसको विषयमा पनि छुट्टै आलेख तयार हुनेछ।
पाथीभरा पूर्वको प्रसिद्ध शक्तिपीठ। महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकालीका पाँच वटा रूप भएकी अटल सौभाग्यकी प्रतीक हुन् पाथीभरा देवी। सुकेटारदेखि उँभो लागेदेखि नै अत्यन्त रमणीय पदमार्ग। बाटाभरि अनेकौँ प्रजातिका गुराँस र चिमलका रूखहरू, लेकाली अँगेरी, गोब्रेसल्लो, चाँप, कटुस, लोठसल्ला, धुपीसल्ला, निगालो, मालिङ्गो, सुनाखरीजस्ता बहुमूल्य जडीबुटी, वृक्ष-वनस्पतिहरू। रेडपाण्डा, भालु, मृगजस्ता आकर्षक जीवजन्तुहरूको क्रिडास्थल। पाथीभरा चुलीबाट देखिने कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, ल्होत्से, नोत्से, काङ्वाचेन हिमालहरूको मनमोहक दृश्य।
म पाथीभरा चौध चोटि पुगेँ। अगाडि एक चोटि र ताप्लेजुङ बस्दा १३ चोटि। ताप्लेजुङ जागिरको सिलसिलामा पुग्ने बाहिरका कर्मचारीहरू सुरुमा एक चोटि र सरुवा भएपछि एक चोटि पाथीभरा दर्शन गर्न जाने प्रचलन नै बसेको छ। जिल्ला प्रशासनमा हाजिर भएको एक हप्तापछि गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठ र सिरिजङ्घा गाउँपालिकाका पूर्व अध्यक्ष टीका गुरुङसँग पाथीभरा दर्शन गर्न गएँ। यो संयोग सिडिओ महेश पोख्रेलले मिलाइदिनुभयो। त्यही क्रममा वीरेन्द्रजीसँग समग्र ताप्लेजुङको एउटा गीत बनाउने योजना बन्यो। त्यही सल्लाह मुताबिक पाथीभरा माताको कृपाले ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ गीत बन्यो। जुन गीत अहिले ताप्लेजुङबासीको मन मुटुमा बस्न सफल भएको छ।
ढकनी कमलाको हातै मिठो। मान्छे पनि रसिली। घरेलु कार्यालयनेरि उनको घर। होटेलै नभए पनि घरेलु कर्मचारीहरूको चिया-खाजा खाने ठाउँ। घरेलु हाकिम युवराज घोर्साईंसँग म बेलाबेला त्यहाँ जान्थेँ। वीरेन्द्र, खगेन्द्र, दिनेश, लोकेश अनि घरेलुका साथीहरूसँग बसेर उनका हातले बनाएका कुराहरू निकै चोटि खाएको छु मैले। खिरजस्तै ढकनीसँग रक्सी खान त नमिल्ने तर घरेलु हाकिमको लहलहैमा ढकनीसँगै झानेको तीनपाने खाएका छौँ हामीले। उनले बनाएको खल्पी त्यस्तै मिठो। दसैँमा घर आउँदा खल्पी हालेर कोसेली पठाइदिन्थिन्। नाम कमला विष्ट। तर उनले बनाएको घिउसरि ढकनी जिब्रोमै झुन्डिने भएकोले उनको नाम मैले ढकनी कमला राखेको।
वीरेन्द्रचोकमै रहेको ब्युटिपार्लरमा ब्युटिसियन उजेली (मनिषा धिताल पोखरेल) ले बनाएको पान पनि निकै खाइयो। उनको मुस्कानै मिठो भएकोले पान पनि मिठो भएको होला।
ताप्लेजुङ रहँदा मलाई त्यहाँका सबै गाउँपालिकाहरू घुम्ने मौका मिल्यो। सिदिङ्वा गाउँपालिकाको साब्लाखु भन्ज्याङ, आङ्खोप, कालीखोला, तिम्बुङपोखरी। तिम्बुङपोखरी जाँदा पोखरी नजिकै अमिर राईको ‘रेडपाण्डा होमस्टे’ मा बेलुका बास बस्दा सिञ्जिमामुनिको छेर गोठमा जस्तै लेक लागेर निकै साह्रो पार्यो मलाई। त्यहाँबाट राति नै हिँडियो। हिँड्न त कहाँ सक्नु, साथीहरूले बोक्नुभयो। नवीन भट्टराई, राम भट्टराई, रमेश सुवेदी, कालीखोलाका भरत बुढाथोकी, हरि भण्डारी अनि कालीखोलाकै अरू गाउँलेहरूको सहयोग नपाएको भए कहाँ बाँच्न सकिन्थ्यो र! नजिकै झन्डै ५०० मिटर वर पुगेर पनि तिम्बुङको यात्रा सिञ्जेमाको जस्तै अधुरै रह्यो। यसको बारेमा छुट्टै संस्मरण लेखिसकेको छु।
सरकारी कामको सिलसिलामा सिरिजङ्घाको तेल्लोक दुई चोटे पुगेँ। पछिल्लो चोटि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु नेपाली सहितका कर्मचारी साथीहरू र उपाध्यक्ष तथा साहित्यकार डा. चित्र मावोसँग राति अबेरसम्म बेस्मारी बात मारियो। मजैले रमाइयो। फेरि अर्को चोटि याम्फुदिन (कञ्चनजङ्घाको पुरानो रुट) जाने योजना चाहिँ अधुरै रह्यो।
मैवाखोला गाउँपालिका चार चोटि पुगेँ। एक चोटि चैत-वैशाखको बेला सिडिओ गोमा चेम्जोङ, मेजर पवन नगरकोटी, डिएसपी राजन लिम्बु, डिएसपी विनोद थापा (सशस्त्र), डिएसपी दुर्गा चापागाईं (अनुसन्धान) सहितको सुरक्षा टिमसँग गुफापोखरीको कार्यक्रममा जाँदा बाटोमा गोमा म्याडमलाई गुराँस टिपेर दिएको, कार्यक्रम सकेर फर्किँदा गाउँपालिका अध्यक्ष विजय वनेमसँग बाटोभरि ऐँसेलु खाएको, डराउँदै चिलढुङ्गा चढेको, चिलढुङ्गामाथिको भ्यूटावरबाट घामको गोधूलि किरणमा मनोरम देखिएको वरिपरिको गाउँ, मनोरम प्रकृति अनि जननेता मदन भण्डारीको घर हेरेको, साँझपख साँघु झरेर विजय वनेमको आतिथ्यमा ट्राउट माछा र तोङ्वा पिउँदै राति अबेरसम्म बात मारेको क्षण अत्यन्त यादगार छ।
२०८१ नयाँ वर्षको दिन लोकेश लिवाङ, रमला, करुणा फेम्बु लगायतका साथीहरूसँग मैवाखोलाको ढुङ्गेसाँघु, साँघु, गुफापोखरी, मिल्के जलजलेका गुराँस हेर्दै गुराँसको राजधानी तीनजुरेसम्म पुगेर रङ्गीबिरङ्गी गुराँसै-गुराँसको बिछट्ट सौन्दर्यमा मोहित हुँदै पाखै-पाखा डुलेको, तीनजुरेकी पाथीभरा भगवतीको दर्शन गरेको क्षण कति रमाइलो र आनन्ददायक। त्यसपछि रमला लिम्बुले घरमा बनाएर ल्याएको कोदोको तीनपाने, लोकल कुखुरा र बङ्गुरको सितन गुराँसे चउरमा बसेर बात मार्दै खाएको कति मिठो। हुन त रमलाको हातै मिठो।
उनले बनाएको तोङ्बा, चामल र घिउसँग झानेर त्यसमा मह र कफी घोली बनाएको तीनपाने अनि बङ्गुरको मासुको स्वाद त बिर्सिनसक्नुको छ। त्यो गुराँसे डाँडामा घाम अस्ताउने बेलासम्म खाँदै, डुल्दै र फोटो खिच्दै मन-मुटुमा त्यही रङ्गी-विरङ्गी गुराँसे सपना बोकेर बाटाभरि हाँस्दै, रमाउँदै उबडखाबड कच्ची बाटोमा गाडीसँगै उफ्रिँदै र एकअर्कामा ठोक्किँदै राति १ बजे फुङलिङ फर्केको सम्झना त झन् यो एक बारको जुनीमा कहाँ मेटिन सक्छ र।
मेरिङ्देन त चार-पाँच चोटि नै पुगियो होला। असारको बेला युनाइटेड हाइड्रोपावरमा जाँदा गाउँपालिका अध्यक्ष मृदु र शालीन व्यक्तित्व डम्बर हाङबाङ, उपाध्यक्ष दुर्गा श्रेङ चङबाङ, आशिष् केदेमसँग बाटोमा घोडताप्रे टिपेर खाएको, यसको विशेषता बताएर बेस्मारी हाँसेको अनि युनाइटेड हाइड्रोपावरको बेसक्याम्पमा आशिष् केदेमको आतिथ्यमा रमाइलो गर्दै रात बिताएर बिहानै गुराँसे पोखरीको सौन्दर्यमा रमाएको सम्झना विशेष छ।
मिक्वाखोलाको फुङफुङे झरना त तीन-चार चोटि नै पुगियो। पर-परसम्म सेतो पछ्यौरी फिँजाएर छमछम नाच्ने स्वर्गकी परीझैँ देखिन्छ फुङफुङे झरना। आहा! झरनाको त्यो सुन्दरता, त्यो सङ्गीत, त्यो नृत्य कति मोहक छ। कति अद्वितीय छ। बर्खाको बेला त छेउमा जानै नसकिने। चार-पाँच सय मिटर तलको बाटोसम्मै झरनाको पानीले निथ्रुक्कै भिजाउने। झरनाको त्यो भयङ्कर स्वरूप अनि छिनछिनमा फेरिरहने त्यो भयानक आवाजसँगै उडेको पानी र त्यसैबाट निस्केको बतासको तीव्र झोक्काले बबुरो छाता त के मान्छे नै उडाउला जस्तो। प्रकृतिको रूप पनि कस्तो-कस्तो! साउनको बेला फुङफुङे झरनाको यो अलौकिक छटा हेर्दै पारिपट्टिबाट ट्याक्टर चढेर पापुङसम्म पुगेको सम्झना बेलाबेला आँखैअगाडि आइरहन्छ।
ताप्लेजुङ बसाइको अन्तिमतिर अमरपुर ढुङ्गेसाँघु प्रसारण लाइनको मुआब्जा निर्धारण गर्ने क्रममा मालपोत हाकिम निर्मल शेर्पा सहितको टिम आठराई त्रिवेणी गाउँपालिकाको चाँगे, हाङपाङ र फूलबारी गएका थियौँ। गाउँपालिका अध्यक्ष दिपेन पोमुले हाङपाङस्थित गाउँपालिकाको कार्यालयमा न्यानो स्वागत गर्नुभयो। हाङपाङकै वडा नं. ५ स्थित रमणीय धार्मिक तथा पर्यटकीय पोखरी (माछा पोखरी) को सुन्दरतामा केही बेर रमाउँदै दोभान बजारमा बेलुकाको खानपिनपछि तमोर तरेर बाटाभरि हाँस्दै गाउँदै राति १० बजेतिर फुङलिङ फर्केको सम्झना पनि विशेष खालको छ।
फक्ताङलुङतिरको सम्झना त अझ धेरै छ।
सानिमा हाइड्रो, सिंवा बजार, छिरुवा, तापेथोक, रानीपुल, हेल्लोक, लेलेप पटक-पटक पुगियो। लुङथुङको हल्लिने ढुङ्गा कति रहस्यमयी। एकै जनाले बडेमानको ढुङ्गा हल्लाउन सकिने। लिम्बुहरूको उत्पत्ति कथासँग जोडिएको यसको रहस्य बढो रोचक रहेछ। इलाडाँडा, सुकेपानी, जोङिम, दाङमाटार हुँदै तमोरको किनारै-किनार ओलाङचुङगोलाको बास। भोलिपल्ट बिहानै दिकिछ्योलिङ गुम्बाको परिक्रमा गरी परम शान्ति र आनन्दमा डुब्दै त्यहाँबाट ओलाङचुङगोला बजार, तमोरको नागबेली प्रवाह र वरिपरिको प्राकृतिक सौन्दर्यलाई मनभरि मुटुभरि अटायौँ। त्यसपछि तमोरै-तमोर सिन्जेमाको यात्रा गर्ने क्रममा छेरगोठमा रात बस्दा हाइअल्टिच्युडले समातेको अनि मित्र छेतेन शेर्पाको सहयोग र समन्वय (अरू गोठाला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोलाबासीहरूको मद्दतको लागि) मा पुनर्जन्म लिएको घटनाको विषयमा ‘एक पथिकको अपूरो यात्रा’ शीर्षकमा छुट्टे लेखेको छु।
उच्च हिमाली क्षेत्रमा जान नसके पनि फक्ताङलुङतिरको यात्रा मैले निकै चोटि गरेको छु। लेलेपबाट हिँडेर दुई दिनभन्दा बढी लाग्ने घुन्सामा कैलाश हेलिकोप्टरबाट गएको छु। घुन्साखोलाबाट विद्युत् उत्पादन गर्न सुरु गरिएको रेमिट हाइड्रो र घुन्सा रेमिटको मुआब्जा निर्धारण गर्न जाने क्रममा घुन्साखोलाको किनारै किनार साथीहरूसँग ५-६ घण्टासम्म हिँडेका छु। यी दुवै हाइड्रोपावरको बेस क्याम्पमा खोलाको आवाज सुन्दै त्यो एकान्त स्थलमा छुट्टाछुट्टै बास बसेको छु। त्यो प्रकृतिको सुन्दरतामा डुब्दै र खोलाको आवाज सुन्दै बेस्सरी रमाएको छु।
हेल्लोकको सिरानमा गएर सुशिला फेम्बुकोमा घिउसँग झानेको तीनपानेमा जङ्गली मह हालेर पिएको छु। छिप्पेको तोङ्बा तानेको छु। लुङथुङको हल्लिने ढुङ्गाबाट फर्किने क्रममा डा. मणिराज पोख्रेल र इ. सुनिल लामाको आतिथ्य सत्कारमा रमाउँदै राति अबेरसम्म तमोरको सुसाइसँगै बाटुले चौतारीमा नाचेर हाँस्दै फुङलिङ बजार फर्केको याद झलझली छ।
हरेक वर्ष गाईजात्राको छेक फुङलिङ बजारमा एक महिनासम्म लाखे जात्रा चल्ने। हरेक दिन साँझपख बाजागाजा सहितको लाखे नाचको बजार परिक्रमाले फुङलिङ बजार आफैँ नाचेजस्तो। झुमेजस्तो। बजारभरि मान्छेको भीड। वीरेन्द्र चोकभरि स्थानीय स्वादका अनेक खाले खानाका परिकारहरू। विशेष गरी नेवारी परिकार। राति १० बजेसम्म भव्य रमझम। हाउजी खेल। सांस्कृतिक कार्यक्रमहरू। जात्राभरि हरेक बेलुका त्यो रमझममा सहभागी भइयो। पालामा नबुझे पनि त्यसैको लयमा गरगहनाले सजिएका परितुल्य लिम्बु युवतीहरूको हात समातेर खुबै धान नाचियो। बजाउन नजाने पनि च्याब्रुङ बोकेर खुट्टा उचाल्दै गोलो घेरामा घुमियो।
त्यही जात्राकै क्रममा भानु स्कुलमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको आयोजना हुने। लाखे जात्रा ताप्लेजुङको विशिष्ट सांस्कृतिक सौन्दर्य। सांस्कृतिक सम्मिलनको अनुपम नमुना। लाखे नेवारहरूको जात्रा भए पनि त्यो जात्रामा लिम्बुहरूको धान नाचले छुट्टै सौन्दर्यता थपेको। च्याब्रुङ नाचले छुट्टै रौनकता बढेको। अनि धार्मिक सद्भाव पनि त्यस्तै। लाखे जात्राकै क्रममा कृष्ण जन्माष्टमीको दिन राति नेवारहरूले रामायण वाचन गर्ने। समापनको दिन कृष्णले कंस मार्ने।
लिम्बूहरूको मौलिक तथा प्रसिद्ध संस्कृति चासोक तङनाम। बालीनाली भित्राउने बेलाको न्वागी अर्थात् उँधौली पर्व। गाउँ-गाउँमा आफ्नै रीतिअनुसार मनाइने यो पर्व फुङलिङस्थित भानुजन मा.वि.को खेलमैदानमा अनेक कार्यक्रमका साथ भव्य रूपले मनाउने चलन रहेको। यो बेला पनि राष्ट्रिय स्तरको फुटबल तथा भलिबल प्रतियोगिताको आयोजना हुने गरेको। राष्ट्रिय स्तरका कलाकार बोलाएर गरिने सांस्कृतिक कार्यक्रमको आकर्षण त्यस्तै। पालामा, धान नाच र च्याब्रुङ नाचका प्रतियोगिताहरू भव्य रूपमा सम्पन्न हुने। २०८० सालको चासोक तङ्नामको बेला मलाई पनि लिम्बु सांस्कृतिक अगुवाहरूले धान नाच र च्याब्रुङ नाचको निर्णायक मण्डलमा राखेको र त्यो उत्सवमा रातिको ११ बजेसम्म सांस्कृतिक कार्यक्रम सकेर बिहान ४ बजेसम्म खाँदै-पिउँदै धान नाचेको कुरा त जीवनभरि कहाँ बिर्सन सकिएला र।
यस्तै विशेष अवसरहरूमा माननीय लिला बोखिम, माननीय निर्मला तावा, रमला लिम्बु, मिरा लावुङ, इन्दिरा मेन्याङ्वो, कमला पालुङ्वा लगायतका व्यक्तित्वहरूसँग फुङलिङ बजारमा हात समाएर धान नाचेको याद त झन् अविस्मरणीय छ। यो मृदु सम्झना तरेलीले मन मुटुमा बेला-बेला झकझक्याइरहन्छ। यही मिठो स्पर्श अनुभूतिलाई सँगालेर मैले कसैको विशेष यादमा 'धान नाचकी धानबाला' शीर्षकको कविता त्यही बेला नै लेखेको छु।
ताप्लेजुङको फुङलिङमा हरेक वर्ष जसो उद्योग, व्यापार तथा पर्यटन मेला लाग्ने गर्दछ। त्यो बेला ताप्लेजुङका विभिन्न जातजाति विशेष स्थानीय स्तरका औद्योगिक उत्पादनहरूको प्रदर्शनीका साथ हरेक दिन विभिन्न कार्यक्रम र औद्योगिक प्रतियोगिताहरू सम्पन्न हुने गर्दछ। ताप्लेजुङको पर्यटन प्रवर्द्धनको लागि आयोजना हुने त्यो मेलामा मैले पनि २ वर्ष सहभागी हुने मौका पाएँ। बेस्सरी रमाइयो। नाचियो, गाइयो, कविता भनियो। २०३१ सालदेखि सुरु भएको दोभान बजारको पुसे मेलामा पनि एक चोटि आधा रातसम्म बसेर रमाइलो गरियो।
म अढाई वर्ष ताप्लेजुङ रहँदा साहित्यिक कार्यक्रमहरू पनि धेरै भए। २०८० को भानु जयन्तीको अवसरमा वरिष्ठ साहित्यकार द्वय प्रा.डा. लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्य र श्रीओम श्रेष्ठ ‘रोदन’ को विशिष्ट आतिथ्यमा पाथीभरा होटेलको हलमा कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। २०८० माघमा तुलसी दिवस, अशेष मल्ल, गोविन्दराज भट्टराई लगायतका अग्रज स्रष्टाहरूको उपस्थितिमा साहित्य कला डट कमको आयोजनामा राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम पनि भयो सिटी हलमा।
पाथीभरा मन्दिरमा पहिलो चोटि औपचारिक कार्यक्रमका साथ झापाकी टीका भट्टराई नेपालको गीत सङ्ग्रह ‘मूर्च्छना’ को विमोचन भयो। पाथीभरा मन्दिर परिसरमा थुप्रै स्रष्टाहरूका साथ औपचारिक रूपले भएको यो कीर्ति विमोचन पहिलो चोटि नै भएको रहेछ। मैले त्यस कार्यक्रमको प्रमुख अतिथि हुने सौभाग्य पनि पाएँ। त्यसै गरी २०८० को असोजमा मेरो उपन्यास ‘ठाँटीको घाम’ को विमोचन पनि फुङलिङमा भव्य रूपमा सम्पन्न भयो। ताप्लेजुङमा विगत लामो समयदेखि क्रियाशील ‘कञ्चनजङ्घा साहित्य प्रतिष्ठान’ को आयोजनामा जिल्ला स्तरमा धेरै साहित्यिक कार्यक्रम र प्रतियोगिताहरू भए। ‘खुला आकाश’ लगायत विभिन्न कृतिहरूको विमोचन कार्य सम्पन्न भए।
कर्मचारी मिलन केन्द्रबाट पनि बेलाबेला साहित्यिक कार्यक्रमहरू भए। अहिलेसम्मकै खोजपूर्ण र महत्त्वपूर्ण साहित्यिक खुराक भएको ‘मिलन’ पुस्तक २०८० मा प्रकाशित भयो। पाथीभरा जाने बाटो माथ्लो फेदीमाथिको ठाडो उकालो (पहिले मिलन केन्द्रले नै बनाएको तर भत्केको) ठाउँमा नयाँ धर्मपाटी ‘मिलन चौतारी’ २०८० सालमै निर्माण गरियो। फुङलिङ बजारमै रहेको कर्मचारी मिलन केन्द्रको भवन मर्मत-संहारको लागि विभिन्न ठाउँमा पहल गर्दागर्दै त्यो काम भने अधुरै रह्यो। आशा छ, बाँकी काम साथीहरूबाट चाँडै पूरा हुनेछ।
इन्जिनियर पेसाका अतिरिक्त पछिल्लो समय गायन क्षेत्रमा ख्याति कमाएका सहृदयी मित्र वीरेन्द्र श्रेष्ठ काठमाडौँ-ताप्लेजुङ गरिरहने। उहाँको घर ताप्लेजुङ र काठमाडौँ दुवै ठाउँ। ताप्लेजुङ आउँदा भने उहाँ मेरै निवासमा बस्नुहुन्थ्यो। त्यो बेला फुङलिङ बजारमा जता गए पनि हामी सँगै हुन्थ्यौँ। सँगै खान्थ्यौ। राति अबेरसम्म बात मार्थ्यौ। उहाँसँगको भेट र सम्बन्ध सधैँ मिठो रह्यो। ताप्लेजुङका लागि गीत-सङ्गीतका अविस्मरणीय कामहरू गरियो। सधैँ-सधैँ रहने कृति छोडियो। यो संयोग पनि पूर्व निर्धारित नै हो कि जस्तो लाग्छ।
दिनेश लिङखिम केही समयअघि बेलायत लाग्नुभयो। यस्तो लाग्छ दिनेश लिङखिमबिनाको फुङलिङ बजार शून्य होला। दिनेशजी मिठो बोल्ने। त्यतै-कतै कार्यक्रम चलाइरहेको भेटिने। अरूको धेरै आदर गर्ने। जस्तै दुःख, पिरमा पनि हाँसिरहने। बोलिरहने। जतिखेरै चरिचट्ट परेर हिँड्ने। कहिले कालो सुट। कहिले नीलो सुट। कहिले थरिथरिका लङकोट। खुट्टामा जहिल्यै कालो बुट। कोटको दाहिनेतिर चाँदीको आकर्षक सिलाम साक्पा। चट्ट परेको जुल्फी। मान्छे होचो-होचो चकलेटी खालको। होचै भएकाले होला जिन्स पाइन्टको तल निकै दोबारेको हुन्थ्यो।
कहीँ कतै चिया-कफी पिउन भेट हुनुपर्यो भने भनेको बेला कहिल्यै नआउने। 'लु आइहालेँ' भनेको निकै समयपछि मात्रै बल्ल सुरुवाल तान्दै आउने। 'ताप्लेजुङको शिरैमा' गीतको छायाङ्कन गर्न सिङ्जेमा ताल जाँदा छायाङ्कन टोलीका साथ दिनेश लिङखिम, हर्कराज गुरुङ, युवराज घोर्साईं हामी सँगै गयौँ। त्यही बेला म झन्डै बितेको थिएँ। जिन्दगी भोग्न अझै लेखेको रहेछ। बाँचियो।
उहाँ सँगैको कावेली रेडियो टिम लोकेश लिवाङ, एलिना दियाली, तेञ्जिङ शेर्पा, फुर्वा शेर्पा, सहारा लङ्घ्वा, पवित्रा लिम्बु, प्रियसा शेर्पा (मैले बोलाउने नाम प्रेयसी) सँगसँगै काम गरेका क्षणहरू बहुत प्रीतिकर छन्। लोकेश लिवाङ, दिनेश लिङ्खिमपछि निकै प्रखर र सक्रिय रेडियोकर्मी एलिना रेडियो कावेलीको स्टेसन म्यानेजर पनि भइन्। सञ्चालनमा आएको एक महिनापछि २०७९ कात्तिकदेखि मैले रेडियो कावेलीमा ‘कावेलीका लहर’ कार्यक्रम चलाउन सुरु गरेको हुँ। मै
ले २४ महिना यो कार्यक्रम चलाउँदा ताप्लेजुङ र ताप्लेजुङ बाहिर रहेका धेरै स्रष्टासँग म जोडिएँ। कावेलीका लहरसँगै ताप्लेजुङमा अलि सुस्ताएको साहित्य बिस्तारै ब्युँझँदै गएको अनुभूति भयो। साहित्य मात्र नभएर ताप्लेजुङको गीत, सङ्गीत, कला, संस्कृतिको विषय पनि कावेलीका लहरमा लहरिए।
सुकेटारमुनि आलु कटेजका मालिक तथा ताप्लेजुङका चर्चित फोटोग्राफर हर्कराज गुरुङ, घरेलु कार्यालयका तत्कालीन हाकिम युवराज घोर्साईं. सक्रिय, जुझारु र ताप्लेजुङका चर्चित पत्रकार खगेन्द्र अधिकारी, बाँसुरी वादक काजी गुरुङ, हर्क पालुङवा, ज्ञानु तामाङ, पत्रकार आनन्द गौतम, सुवास आचार्य, चन्द्र पन्धाक, कृष्ण फुरुम्बु, देवेन्द्र बानिया लगायत साथीहरूका सम्झनाहरू पनि यो मनमा धेरै गढेर बसेका छन्। खगेन्द्र अधिकारी त ताप्लेजुङको एउटा ब्रान्ड नै हो। प्रखर वक्ता, जतिखेरै हँसाइरहने जोक मास्टर। ताप्लेजुङ रहुन्जेल उहाँसँग मजाक गर्दै कति हिँडियो, कति हाँसियो, कति खाइयो त्यसको साध्य नै छैन।
घरेलु हाकिम युवराज घोर्साईं (इलाम) पनि निकै मजाको मान्छे। ठुलो भुँडी। भात धेरै खाने। शाकाहारी तर ओखती (रक्सी) चाहिँ मजाले खाने। जतिखेरै हाँसिरहने। अरूलाई सहयोग गर्नमा निकै अघि सर्ने। फोटो खिच्नमा निकै माहिर। सिञ्जेमा, तिम्बुङ लगायत ताप्लेजुङका धेरै ठाउँहरूमा मैले उहाँलाई लिएर सँगै घुमेको छु। उहाँसँगै घरेलुका अरू कर्मचारीहरू नवीन भट्टराई, मनकुमार सङ्ग्रौला (जेठा भानिज), चन्द्र रिजाल र विपुल कार्की (काइँलो) सँगका रमाइला क्षणहरू पनि धेरै जोडिएका छन् ताप्लेजुङ रहँदा बस्दा।
जिल्ला सुरक्षा टिमसँगको घुलमिल त विशेष खालको रहने नै भयो। महेश पोखरेलदेखि गोमादेवी चेम्जोङ, हिरादेवी पौडेल र रविन्द्र आचार्यसम्मका चार जना सिडिओको नेतृत्वमा रहेको जिल्ला सुरक्षा टिमसँग बसेर काम गरियो। नेपाल आर्मीतर्फ अदित श्रेष्ठ (हाल कर्णेल), पवन नगरकोटी, वरुण दर्शनधारी, मदन घिमिरे (हाल कर्णेल), विक्रम खड्का, केशव खड्का, डिएसपीहरू नेपाल प्रहरीतर्फ कैलाश राई, राजन लिम्बु (हाल एसपी), रवि रावल, सशस्त्र प्रहरीतर्फ विनोद थापा, रविन सिलवाल र नरेश महर्जन अनि राष्ट्रिय अनुसन्धानतर्फ रमेश अधिकारी, दुर्गा चापागाईं र अजय मण्डल (हाल एसपी) सँगै बसेर काम गरियो।
समितिका आफ्नै जिम्मेवारी त छँदै थिए। त्यसका अतिरिक्त घुमी-फिरी एक-अर्काकोमा सँगै खाने-पिउने, जिल्लाका विभिन्न ठाउँहरूमा सँगै घुमफिर गर्ने कामहरू प्रशस्त हुन्थे। यस क्रममा कति बात मारियो। कति हाँसी मजाक गरियो त्यसको यहाँ उल्लेख गरेर साध्य छैन। जागिरका क्रममा ती क्षणहरू सबैका मनमा विशेष यादगार बनेर रहेका छन्।
मेरो नेतृत्वमा रहेको कर्मचारी मिलन केन्द्रको टिमले ताप्लेजुङमा विविध ऐतिहासिक काम गरेको छ। उपाध्यक्षहरू प्रेमकुमार लिम्बु (कोलेनिका प्रमुख), गणेशकुमार पोखरेल (कोलेनिका प्रमुख), सचिवहरू सुरेन्द्रराज दाहाल (जिल्ला प्रशासन), विज्ञान बन्जारा (नापी प्रमुख), रजिता श्रेष्ठ (नापी प्रमुख), सह-सचिव रञ्जना खड्का, कोषाध्यक्ष नवराज गिरी (हुलाक हाकिम), सदस्यहरू दिनेश खनाल (निर्वाचन प्रमुख), जय नारायण खनाल (प्रप्रअ फुङलिङ न.पा.), युवराज घोर्सोईं (घरेलु हाकिम), योगेश्वर भट्टराई (शिक्षा तथा समन्वय इकाई प्रमुख), दीपेन्द्र पोखरेल (कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रमुख), विनोद गुरुङ (शाखा प्रमुख नेपाल बैङ्क), बसुन्धरा आचार्य (शाखा प्रमुख नेपाल बैङ्क) र निर्मल शेर्पा (नापी हाकिम) सँगै मिलेर विभिन्न अवसरहरूमा फुटबल, कविता प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, वनभोज कार्यक्रम, मिलन ग्रन्थको प्रकाशन, पाथीभरा क्षेत्रमा मिलन चौतारीको निर्माण, कर्मचारीहरूको स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सम्झनायोग्य धेरै कामहरू भए।
जिल्ला प्रशासन कार्यालय जहाँ मैले जागिरको क्रममा पहिलो चोटि त्यत्रो लामो समय सहायक प्रजिअको भूमिका निर्वाह गरेँ। त्यो अनुभव मेरो लागि विशेष बन्यो। जनतालाई नजिकबाट सेवा प्रवाह गर्दा कर्मचारीको बोली, व्यवहार र कार्यशैलीले कति फरक पार्छ र जनतामा कसरी अमिट छाप छोड्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ राम्रै सिकेँ। कार्यालयको कामको अतिरिक्त एउटा कर्मचारीले आफ्नो कार्यक्षेत्र रहेको जिल्लामा आफूसँग रहेको रचनात्मक क्षमतालाई उपयोग गरेर कसरी जनताको प्रिय बन्न सक्छ भन्ने कुरा पनि मेरो लागि एउटा सिकाइको पाठशाला बन्यो ताप्लेजुङ।
मैले त्यहाँका कर्मचारीहरूबाट पनि धेरै कुरा सिक्ने मौका पाएँ। रमेश सिग्देल, कुलमणि दाहाल, सुरेन्द्रराज दाहाल, चूडामणि निरौला, रमेश सुवेदी, रमेश अधिकारी, एबिन बास्तोला, वसन्त निरौला, रमला (सानी), सङ्गीता भण्डारी (उजेली), विशाल सिग्देल, रमेश घिमिरे (आर.के.), कावेली काका, अनिता दाहाल (दुलही), ममता विष्ट (पातली), रुविना इजम (रामसाइँली), तारानाथ अधिकारी (स्टार), हवलदार राजवीर तामाङ, युवराज थापा लगायतका सबै कर्मचारी साथीहरूसँग सधैँ हाँसी-खुसी भएर आपसी मिलापका साथ काम गरियो।
कार्य वातावरणलाई बहुत रमाइलो बनाइयो। जङ्ग लिम्बु (गाडी चालक) ले म बसुन्जेल खाना पकाएर मलाई ऋणी बनाउने काम गरेका छन्। मेरो ठाउँमा सरुवा भएर आउनुभएकी सहायक प्र.जि.अ. सन्दीपा खड्कासँग पनि एक हप्ता सँगै रहने मौका पाइयो। उहाँ पनि साह्रै मजकी, रसिली अनि टिकटक कलाकार। भविष्य उज्ज्वल छ।
अब रह्यो बिदाइको कुरो।
राष्ट्रिय महिला आयोगमा मेरो सरुवा भएको कुरा असोज ३ गते बिहान थाहा भयो। त्यही दिनबाट सुरु भएको मेरो बिदाइको शृङ्खला असोज २० सम्म (१८ दिन) चल्यो। ज्ञानु तामाङ, खगेन्द्र सिटौला परिवार, साउने पानीका वसन्त निरौला परिवार, मोहन न्यौपाने (वडाध्यक्ष- फु.न.पा.२), इन्द्रनारायण भट्टराई परिवार, पाथीभरा क्षेत्र विकास समिति, फुङलिङ नगरपालिका, किरात याक्थुम टिम (खगेन्द्र फेम्बो, सरोज कङ्लिवा, डम्बर पालुङ्वा, कमला पालुङ्वा लगायत), राजेन्द्र महत (माथ्लो फेदी), रमला लिम्बुको परिवार (करुणा/सुशिला), कञ्चनजङ्घा साहित्य प्रतिष्ठान, डिभाइन क्याफे (दीपक/निशा), कवि रिता घिमिरे, सानु इङ्देन, किरात धर्म तथा साहित्य उत्थान समिति, दिलमायाको चिया दोकान (सेविका/अमर), साना तथा घरेलु उद्योग महासंघ, सशस्त्र प्रहरी बल, ओम प्रकाश राई (सुकेटार), लिटल बुद्ध स्कुल (युवराज गिरी लगायत), कर्मचारी मिलन केन्द्र, जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन कार्यालय, मेरिङ्देन गाउँपालिका (अध्यक्ष डम्बर हाङ्गाम), रेडियो कावेली परिवार लगायत संघ-संस्थाहरू र सहृदयी व्यक्तिहरूबाट हार्दिकतापूर्वक बिदाइ (फेरि भेटौँला) कार्यक्रमहरू भए।
एउटा कर्मचारीको लागि झन्डै तीन हप्ता लामो बिदाइ कार्यक्रम हुनु चानचुने कुरो थिएन। अझ कति आत्मीय जनहरूले आफ्नो घरमा खाना खुवाएर बिदाइ गर्नको लागि पटक-पटक गर्नुभएको निमन्त्रणालाई अति व्यस्तताको कारण मैले समय दिन सकिनँ। त्यसको लागि क्षमा प्रार्थी छु। हिँड्ने अघिल्लो दिन २० गते त राति झन्डै १ बजेसम्मै बिदाइ कार्यक्रम चल्यो।
अन्तमा,
ताप्लेजुङबासीको अपार माया र साथ मेरो जीवनको ठुलो सम्पत्ति हो। म ताप्लेजुङ र ताप्लेजुङबासीहरूबाट कहिल्यै टाढा हुने छैन। मेरो भौतिक देह जता भए पनि मेरो मन त्यतै हुनेछ। मेरो हाँसोका तरङ्गहरू त्यतै हुनेछन्। मेरा शब्दहरू कावेलीका लहरमा लहरिँदै हुनेछन्। सम्झनाका तरेलीमा म त्यतै कतै कहिले डिभाइनतिर, कहिले वीरेन्द्रचोकको बिग्स क्याफेतिर, कहिले इकोभ्यूतिर, कहिले तोक्मेमुनिको कफी हाउसतिर र कहिले दिलमायाको चिया दोकानतिर कफी/चिया पिइरहेको हुनेछु। बात मारिरहेको हुनेछु। हाँसिरहेको हुनेछु।
कहिले सुकेटारका नागी र गुराँसे डाँडाहरूमा रमाउँदै ओम राईकोमा तोङ्बा तानेर साँझपख गीत गाउँदै-गाउँदै सल्लेरी डाँडै डाँडा सेते चौतारो र भिन्तुना डाँडा हुँदै फुङलिङ बजारतिर ओरालो झरिरहेको हुनेछु। कहिले हेलिप्याडमुनिको लभडाँडोमा एक्लै बसेर बिहानको सूर्योदय र बेलुकीपख गोधूलि सूर्यास्त हेर्दै आफैँलाई भुलिरहेको हुनेछु। गोल्डेनभ्यू गेस्ट हाउसको माथिल्लो तला (म बसेको क्वाटर) को बार्दली वरिपरि घुम्दै तल तमोरको सुसेली सुनिरहेको हुनेछु। बर्खाको बेला कुहिरोको घुम्टो ओढेको ताप्लेजुङलाई हेर्दै म पनि त्यतै हराइरहेको हुनेछु। साँझपख झ्याउँकिरीको गुञ्जन सुनेर आनन्द लिइरहेको हुनेछु। त्यसै गरी ताप्लेजुङको शिरैमा सेतो जुहार’, ‘दिलमायाको चिया दोकान’ र ओलाङचुङगोला गीतको शब्द सङ्गीतमा म त्यतै झुमिरहेको हुनेछु।
पाथीभराले बास गरेको ताप्लेजुङको पवित्र माटो मेरो लागि प्रिय छ। प्रिय छन् मेरो मन–मुटुसँग जोडिएका ताप्लेजुङबासीहरू। अनि त्यस्तै प्रिय छन् ती हिमालका टाकुरा, पर्वत तरेली, वनवनेली, झरनाको नृत्य, खोलाको सङ्गीत र कोइलीको गीत।
त्यही भएर त म कहाँ बिर्सन सक्छु र! मेरो प्रीत पोखिएको अनि दिल जोडिएको त्यो प्यारो ताप्लेजुङलाई।