साल्ट ट्रेडिङ कर्पोरेसनले यो वर्षको हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ।
नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले राजधानीमा एक पत्रकार सम्मेलन गर्दै दुई व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको हो।
घिसिङले नेपाललाई लोडसेडिङ मुक्त गरेको र रुइतले आँखा रोग विशेषज्ञका रुपमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याएको कामलाई प्रशंसा गर्दैै सो पुरस्कार दिने निर्णय गरेको कर्पोरेसनले जनाएको छ।
सो पुरस्कार ११ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ।
साल्ट ट्रेडिङ कर्पोरेसनका पुर्व महाप्रबन्धक हेमबहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ।
सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको यस पुरस्कारको छनोट समितिमा डा. हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य थिए।
यस अघि उक्त पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महावीर पुनलगायत ११ जना सम्मानित भइसकेका छन्।
