गहिरो सास फेर्नुहोस्, मनलाई शान्त पार्नुहोस् अनि एकछिन आँखा चिम्लेर सोच्नुहोस् त। अपाङ्गता भनेको के हो? अपाङ्गता भनेर सुन्दा तपाईंको मनमा कस्ता चित्रहरू आउँछन्? कस्ता व्यक्तिलाई अपाङ्गता भएको व्यक्ति भनेर बुझ्नुहुन्छ? अनि अपाङ्गता भएका व्यक्तिलाई तपाईं कसरी हेर्नुहुन्छ?
म कहिलेकाहीँ सोच्छु, म जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई आजको समाजले कसरी हेर्छ? यो प्रश्न मेरो मनमा सधैँ एउटा अनुत्तरित पहेलीझैँ घुमिरहन्छ। यसैको उत्तर खोज्न मैले विभिन्न वर्ग, पेसा र पृष्ठभूमिमा रहेका मानिसहरूसँग गहन संवाद गरेँ। उनीहरूका प्रतिक्रियाहरूले मलाई अझ गहिरो चिन्तनमा धकेल्यो किनकि ती प्रायः भ्रमको लेपले ढाकिएका थिए।
धेरैजसोले भने, ‘हामी अपाङ्गता भएका व्यक्तिहरूलाई खुसी र अगाडि बढेको देख्न चाहन्छौँ। उहाँहरू कति प्रतिभाशाली हुनुहुन्छ, हामी त केही पनि होइनौँ। उहाँहरूसँग विशेष क्षमता हुन्छ, उहाँहरूलाई सहयोग गर्नुपर्छ, धर्म लाग्छ, उहाँहरूको सेवा गर्नुपर्छ, उहाँहरू त प्रेरणाको स्रोत पो हुनुहुन्छ नि!’
यी कुराहरू सुन्दा कति लोभलाग्दो लाग्छ होइन र? तपाईंहरूले पनि सायद यस्तै सोच्नु भएको थियो होला। तर यी भनाइहरू सतही रूपमा जति सुन्दर र प्रगतिशील सुनिए पनि, के यिनीहरूले साँच्चै समानता र अपनत्वको भावना बोक्छन् त?
हामी अहिले आधुनिकता र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा छौँ भन्छौँ। प्रविधिको विकासले संसारलाई साँच्चै साँघुरो बनाएको छ, सूचनाको पहुँच सर्वव्यापी छ। तर के हाम्रा सामाजिक सोचहरू साँच्चै यो युगसँग मेल खान्छन् त?
पक्कै पनि पहिलेभन्दा धेरै सुधार भएको छ, समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको छ तर हो यो 'तर' शब्द आउने बित्तिकै के बुझ्नुपर्छ भने, हाम्रो सोचमा अझै गहिरो र आमूल परिवर्तन आउन बाँकी नै रहेछ। यी विचारहरू सुन्दा जतिसुकै आकर्षक लागोस्, व्यवहारमा तिनको अर्थ कस्तो छ होला त?
के हामीले साँच्चै उनीहरूलाई समाजको अभिन्न अंगका रूपमा स्वीकार गर्न सकेका छौँ होला त?
यो प्रश्नको गहिराइमा पुग्दा हामीले आफूलाई नै निष्पक्ष रूपमा प्रश्न गर्नुपर्ने हुन्छ किनकि उत्तर प्रायः अप्रिय र हृदय विदारक लाग्न सक्छ। यही अप्रिय सत्यले नै हामीलाई अर्को कठोर यथार्थतर्फ डोर्याउँछ, जहाँ भावना र वास्तविकताबिचको दूरीले मन छियाछिया हुन्छ।
सहानुभूति कि समानता?
मैले सुनेका धेरैजसो विचारहरू सतही रूपमा सकारात्मक छन् भनिन्छ तर जब म तिनको गहिराइमा पुग्छु, त्यहाँ एउटा भयानक शून्यता पाउँछु। अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत जीवनलाई जोड्ने, उनीहरूका भावना, सपना र मानवका रूपमा उनीहरूको अस्तित्वलाई स्वीकार गर्ने कुरा भने कता हराएको छ कता। हामी उनीहरूलाई एउटा सहयोग गर्नुपर्ने व्यक्ति' वा 'दयाको पात्रको साँघुरो घेरामा राखेर हेर्छौँ तर के हामीले उनीहरूलाई पूर्ण मानव र मानव अधिकारसहितको गरिमामय अस्तित्वको रूपमा स्वीकारेका छौँ त?
एकछिन हृदयमा हात राखेर सोच्नुहोस् त, तपाईंले आफ्ना सन्तानका लागि कस्ता सपनाहरू देख्नुभएको छ? उनीहरूलाई काखमा राखेर माया गर्दा, उनीहरूको उज्ज्वल भविष्यको कल्पना गर्दा तपाईंको मनमा कस्तो आनन्द आउँछ?
अब एउटा अपाङ्गता भएको शिशुलाई आफ्नो सन्तानका रूपमा कल्पना गर्न सक्नुहुन्छ? जसको जीवनको सुरुवात नै अनगिन्ती चुनौती र सामाजिक उपेक्षाका पहाडहरूले घेरिएको छ, के तपाईं त्यो शिशुको आँखामा हेरेर, उसलाई स्विकारेर, उसलाई त्यही प्रेम, समर्पण र आत्मसम्मानका साथ हुर्काउन तयार हुनुहुन्छ?
के तपाईं अपांगता भएका साथीलाई खुलेर स्वीकार गर्न तयार हुनुहुन्छ? उनका हरेक सुखदुख र जीवनका उतारचढावमा निस्वार्थ रूपमा साथ दिन, सँगै यात्रा गर्न, नयाँ ठाउँहरू घुम्न र जीवनका हरेक पलमा हातेमालो गर्न पनि तयार हुनुहुन्छ?
के तपाईं अपांगता भएका व्यक्तिलाई मानिसहरूको कानेखुसी र हेलाको पर्बाह नगरी, छिमेकीका रूपमा हार्दिकतापूर्वक स्वीकार गर्न सक्नुहुन्छ? जसलाई ‘अरूले के भन्लान्’ भन्ने डर बिना, आफ्नो परिवारको हरेक उत्सव र खुसीमा एक अभिन्न सदस्यका रूपमा हेरेर खुलेर निम्तो दिन सक्नुहुन्छ?
के तपाईं अपांगता भएका व्यक्तिलाई आफ्नो जीवनसाथी (प्रेमी/प्रेमिका, श्रीमान्/श्रीमती) का रूपमा मनैदेखि आत्मसात् गर्न सक्नुहुन्छ? कल्पना गर्नुहोस् त, ह्विलचियरमा बसेकी पत्नी वा दृष्टिविहीन पति। के तपाईं उनीहरूको हात समातेर जीवनका अनगिन्ती चुनौतीहरू पार गर्ने प्रण लिन सक्नुहुन्छ? के तपाईं उनीहरूसँग आफ्नो जीवनका हरेक रङहरू बाँड्न तयार हुनुहुन्छ?
के तपाईं आफ्नो ज्वाइँ वा बुहारी भनेर अपांगता भएका व्यक्तिलाई अरूसँग निर्धक्क चिनाउन सक्नुहुन्छ? कुनै पनि सामाजिक, पारिवारिक वा सार्वजनिक क्रियाकलापमा अपांगता भएका व्यक्तिको अर्थपूर्ण, सम्मानजनक र पूर्ण सहभागिता सुनिश्चित गराउन तपाईं तयार हुनुहुन्छ?
के अपांगता भएका व्यक्ति पनि समाजको अभिन्न सदस्यका रूपमा सहजै स्वीकार गर्न तपाईंको मनले अनुमति दिन्छ वा मनको कुनै कुनामा अझै दया वा फरक भन्ने भावना लुकेको छ, जसले तपाईंलाई पछाडि तानिरहेको छ?
नढाँटीकन इमानदारीका साथ भन्नुहोस् त, के तपाईंहरूले यसरी कहिल्यै सोच्नुभएको थियो?
अघिका धेरैजसो विचारहरू नराम्रा थिएनन्। तर जब अपाङ्गता भएका व्यक्तिहरू पनि हामी जस्तै मानिस हुन् र उनीहरूका पनि हाम्रै जस्ता भावना, आवश्यकता, आकांक्षा र प्रेम गर्ने मन हुन्छ भन्ने सोच, त्यो गहिरो बोध, जबसम्म आउँदैन, तब ती विचारहरू केवल क्षणिक सहानुभूतिमा मात्र सीमित हुन्छन्। यसमा समानता, अपनत्व, र मानव हुनुको गौरवको एक थोपा पनि पाउन सकिँदैन।
अपाङ्गता भनेको कमजोरी हो त?
हामीले यो कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ कि अपाङ्गता कुनै रोग होइन, न त यो कुनै कमजोरी नै हो। यो त मानवीय विविधताको एउटा स्वाभाविक पाटो मात्र हो, जहाँ केही शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी अशक्तताका कारण व्यक्तिले केही विशेष चुनौतीहरूको सामना गर्नुपर्छ। अपाङ्गतालाई हेर्ने हाम्रो दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनु अत्यन्तै जरुरी छ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुरक्षित गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ लागू भएको छ। यस ऐनको दफा २ (क) अनुसार, ‘अपाङ्गता भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी अशक्तताका कारण सिर्जना हुने अवस्था जसले समाजमा रहेका अवरोध तथा अप्ठ्याराको सामना गर्दा अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा पुऱ्याउँछ’ भन्ने बुझिन्छ। यस परिभाषाले स्पष्ट पार्छ कि अपाङ्गता भनेको व्यक्तिको आन्तरिक समस्या मात्र नभई, समाजले सिर्जना गरेका संरचनागत अवरोधहरूसँग जोडिएको अवस्था हो।
विडम्बना त के छ भने, यी चुनौतीहरू प्रायः समाजले नै सिर्जना गरेका अवरोधहरूका कारण थप जटिल बन्छन्। कल्पना गर्नुहोस् त, यदि सुस्त श्रवण भएका व्यक्तिका लागि पर्याप्त सांकेतिक भाषा दोभासेको प्रबन्ध छ भने उनीहरूलाई सञ्चारमा कुनै अप्ठ्यारो पर्दैन। त्यस्तै यदि बाटोमा र्याम्प, ट्याक्टाइल पेभमेन्ट, अडियो संकेत र ब्रेल सामग्रीहरू उपलब्ध छन् भने दृष्टिविहीन व्यक्तिले पनि सहजै हिँडडुल गर्न सक्छन्। यहाँ अपाङ्गता व्यक्तिको नभई समाजले सिर्जना गरेको संरचनाको हुन्छ।
यो प्रस्ट छ कि यदि हामीले भौतिक र सामाजिक पहुँच सुनिश्चित गर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज मात्र होइन, उनीहरूले पूर्ण रूपमा सामाजिक जीवनमा सहभागी हुन सक्छन्। के यति सामान्य पहुँच सुनिश्चित गरेर हामीले उनीहरूको जीवन सहज बनाउन र उनीहरूलाई समाजमा समाहित गर्न सक्दैनौँ? यो प्रश्नको उत्तर 'सक्छौँ' हुँदाहुँदै पनि किन व्यवहारमा देखिँदैन? यो नै आजको सबैभन्दा ठुलो विडम्बना हो।
यो विडम्बनाको जरो अझै गहिरो छ, जसलाई हामीले धार्मिक-सांस्कृतिक मिथ्याहरूमा खोज्न सक्छौँ, जहाँ अन्धविश्वासले मानवीयतामाथि प्रहार गर्छ।
धार्मिक-सांस्कृतिक मिथ्या र यथार्थ
दुर्भाग्यवश, हाम्रो समाजमा अझै पनि केही गलत धारणाहरू व्याप्त छन्, जसले अपाङ्गता भएका व्यक्तिहरूको जीवनलाई झनै कठिन बनाउँछ। कतिपय परम्परागत मान्यताहरूमा अपाङ्गतालाई पूर्वजन्मको पापको फल, ईश्वरीय दण्ड वा दुष्ट आत्माको प्रभावका रूपमा हेर्ने गरिन्छ। यो विचारले उनीहरूमाथि थप मानसिक बोझ, सामाजिक कलंक र बहिष्कार सिर्जना गर्छ। यो अत्यन्तै संवेदनहीन र हानिकारक दृष्टिकोण हो जुन कुनै पनि आध्यात्मिक वा नैतिक मूल्यसँग मेल खाँदैन। यस सन्दर्भमा, हामीले हाम्रा पूज्य ग्रन्थहरूमा वर्णित पात्रहरूका त्रुटिहरूलाई कसरी हेर्छौँ भन्ने प्रश्न उठाउनु सान्दर्भिक हुन्छ।
उदाहरणका लागि, हिन्दु धर्मका महान् पात्र भगवान् श्रीरामले लुकेर बालीको वध गर्नुभयो, जुन क्षत्रिय धर्मअनुसार निन्दनीय मानिन्छ। धर्मराज युधिष्ठिरले गुरु द्रोणाचार्यको वधका लागि अर्धसत्य बोलेर पाप गरे। अर्जुनले शस्त्र त्यागेका भीष्म पितामहमाथि शिखण्डीलाई अगाडि राखेर प्रहार गरे, जुन युद्ध नीतिको विरुद्ध थियो। के अब हामी यिनै पूज्य धार्मिक धरोहरहरूलाई पापका कारण अर्को जन्ममा अपाङ्गतासहित जन्मिएका होलान् भनेर मान्न सक्छौँ त? यो तर्क सरासर गलत साबित हुन्छ। हिन्दु धर्मले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ अर्थात् सबै सुखी र निरोगी होउन् भन्ने कामना गर्छ। यसले जीवात्माप्रति करुणा, सेवा र समान व्यवहारको शिक्षा दिन्छ।
बरु विभिन्न प्राचीन शिक्षाहरूले बिरामी वा अपाङ्गता भएका व्यक्तिहरूलाई मानव जसरी हेर्नुपर्ने, उनीहरूको अवस्थालाई पापको सजाय नभई जीवनको एउटा पाटोको रूपमा स्विकार्नुपर्ने र सबै मानिसलाई समान रूपमा प्रेम र सेवा गर्नुपर्ने कुरामा जोड दिएका छन्। क्रिस्चियन धर्ममा, येशू ख्रीष्टले धेरै बिरामी र अपाङ्गता भएका मानिसहरूलाई निको पारेको वर्णन छ। उहाँले उनीहरूलाई कहिल्यै पापको सजाय भन्नु भएन, बरु प्रेम र सेवाको माध्यमबाट समानता सिकाउनु भयो भनिएको छ।
इस्लाम धर्ममा कुरानले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्न र उनीहरूलाई सहयोग गर्न निर्देशन दिन्छ। पैगम्बर मोहम्मदले उनीहरूलाई समाजको अभिन्न अंगका रूपमा स्विकार्न सिकाउनु भयो। बौद्ध धर्मले करुणा र समभावलाई केन्द्रमा राख्छ, जहाँ कुनै पनि शारीरिक असक्ततालाई कर्मको परिणामका रूपमा हेरिए पनि यसलाई कुनै 'सजाय' को रूपमा लिइँदैन। बुद्धले सबै प्राणीप्रति समान प्रेम र दयाको अभ्यास गर्न सिकाउनु भएको छ।
यी उदाहरणहरूले स्पष्ट पार्छन् कि मानवीय त्रुटि, परिस्थितिजन्य बाध्यता वा व्यक्तिगत भिन्नतालाई अपाङ्गतासँग जोडेर पाप वा दण्डको लेबल लगाउनु सरासर गलत हो। अपाङ्गतालाई कलंकका रूपमा हेर्ने दृष्टिकोणलाई तत्काल परिवर्तन गर्नै पर्छ। यो त मानव अस्तित्वको एउटा स्वाभाविक आयाम हो। जसरी कुनै व्यक्तिको रङ्, उचाइ विविध हुन्छन्, जसरी हातका पाँच औँला एकअर्का समान हुँदैनन्, त्यसै गरी हरेक व्यक्ति सम्पूर्णतया कोहीसँग समान हुँदैन। यो विविधताको प्रकारमा अपाङ्गतालाई लिन सकिन्छ।
हामीले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, प्रतिभा र योगदानलाई कदर गर्नुपर्छ जसरी हामी अन्य व्यक्तिको गर्छौँ। उनीहरूलाई सहानुभूति होइन, समान अवसर, सम्मान र सम्मानजनक जीवनको खाँचो छ। यो उनीहरूको अधिकार हो, हाम्रो दया होइन। यही अटल सत्यले हामीलाई समावेशी समाजको परिकल्पना गर्न प्रेरित गर्छ।
समावेशी समाजको परिकल्पना र हाम्रो भूमिका
एक सच्चा अर्थमा समावेशी समाज त्यो हो जहाँ हरेक व्यक्तिले आफ्नो क्षमता र सम्भावनालाई पूर्ण रूपमा साकार पार्ने अवसर पाउँछ। यो केवल सुविधाको कुरा मात्र होइन, यो मानव अधिकारको आधारभूत सिद्धान्त हो। हामीले बुझ्न आवश्यक छ कि अपाङ्गता भएका व्यक्तिहरूले समाजमा केवल उपभोग गर्ने होइन, उनीहरूले महत्त्वपूर्ण योगदान पनि दिन सक्छन्।
इतिहास र वर्तमानमा थुप्रै अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न क्षेत्रमा अद्वितीय सफलता हासिल गरेका छन् र समाजलाई समृद्ध बनाएका छन्। वैज्ञानिक स्टिफन हकिङ जसले शारीरिक सीमितताका बाबजुद ब्रह्माण्डका रहस्यहरू उधिनेर मानव ज्ञानको सीमा विस्तार गरे, हेलेन केलर जसले आँखा र कान दुवै गुमाए पनि साहित्य र समाजसेवामा अतुलनीय छाप छोडेर संसारलाई प्रेरणा दिइन् र सङ्गीतकार लुडविग भान बिथोभेन जसले कान नसुनेर पनि अमर धुनहरू सिर्जना गरेर सङ्गीत जगत्लाई धनी बनाए। यी उदाहरणहरूले देखाउँछन् कि यदि समाजले उनीहरूलाई अवसर र सम्मान दिन्छ भने सीमितताभित्र पनि असीमित सम्भावना हुन्छ।
हाम्रो सोचाइमा परिवर्तन आएपछि मात्र हामीले यस्तो समाजको परिकल्पना गर्न सक्छौँ जहाँ हरेक व्यक्तिले आत्मसम्मानका साथ जीवन जिउन सकोस्। यसका लागि सरकार, समुदाय, परिवार र हरेक व्यक्तिको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। नीति निर्माणदेखि लिएर भौतिक संरचनाको निर्माण (जस्तै: र्याम्प, ब्रेल लिपी, सांकेतिक भाषा दोभासेको व्यवस्था), शिक्षा प्रणालीको विकास (समावेशी शिक्षा), रोजगारीका अवसर (भेदभावमुक्त वातावरण) र दैनिक व्यवहारसम्म— हरेक पक्षमा समावेशी दृष्टिकोण अपनाउनु जरुरी छ।
अन्तमा, अपाङ्गतालाई हेर्ने हाम्रो दृष्टिकोणले नै उनीहरूको जीवनको दिशा तय गर्छ। के हामी साँच्चै एउटा यस्तो समाज निर्माण गर्न चाहन्छौँ जहाँ हरेक व्यक्तिलाई समान अवसर, सम्मान र अपनत्वको अनुभव होस्? जहाँ अपाङ्गता कुनै अवरोध नभई मानवीय विविधताको एउटा पाटो मात्र होस्? यदि हो भने अब बोलीमा मात्र होइन, व्यवहारमा पनि आमूल परिवर्तन ल्याउने बेला आएको छ। ढिला भइसक्यो तर असम्भव छैन।
यो परिवर्तन केवल उनीहरूका लागि होइन, यो त हाम्रो आफ्नै मानवताविरुद्धको अप्ठ्यारो मौनता तोड्नका लागि हो जसले हामीलाई झकझक्याउनुपर्छ र नयाँ अध्याय सुरु गर्नुपर्छ।
के हामी यो न्यायपूर्ण र मानवीय परिवर्तनका लागि साँच्चै तयार छौँ त?