म मौन छु। शब्दहरू छन् तर आवाज छैन, भावना छन् तर अभिव्यक्ति छैन। मेरो हृदयमा धेरै कुरा छन् तर जिब्रोले तिनलाई आकार दिन सक्दैन। त्यसैले मलाई पनि बोल्न सिकाइ देऊ! त्यो बोली जसले आत्मालाई मुक्ति दिन्छ, मनका पहेँलो पानाहरू खोल्न सकिन्छ।
म बोल्दिनँ, सुनिरहन्छु मात्र। मलाई मौनतामा हराउन मन पर्छ। कम बोल्नुलाई नै मैले आफ्नो ठुलो हतियार बनाएको छु। मलाई बोलेर जित्नुभन्दा नबोलीकन हार्न ज्यादा मन पर्छ। आफू अलि कम बोल्ने भएता पनि मलाई मन पर्ने मान्छेहरू मेरा अगाडि बोलिरहुन् भन्ने ठान्छ।
मभित्र शब्दहरूको ज्वालामुखीले भरिएको छ जसलाई चाहिएको छ मात्र सुनिदिने श्रोता। म जहाँ मन लाग्यो त्यहाँ बोलिहाल्दिनँ। मलाई बोल्न एक उपयुक्त ठाउँ अनि मन पर्दा मान्छे चाहिन्छन्।
हुन त संसारको आवाज धेरै छन्, कोही गुन्जिरहेका छन्, कोही चिच्याइरहेका, कोही अभिनय गरिरहेका छन्। तर म चाहन्छु शुद्ध बोली। जसले आत्माको गहिराइबाट निस्केर अर्को आत्मासम्म पुग्न सक्छ। त्यो शब्द जसले केवल कान होइन, मन छुन सक्छ।
शब्दहरूको खानी छ संसारमा तर तिनको चयनमा नै बुद्धिमत्ता निहित हुन्छ। गम्भीरता, संवेदना र सच्चा अभिव्यक्तिका लागि सरलताभन्दा कठिन शब्दहरू कहिलेकाहीँ अपरिहार्य हुन्छन्। मलाई पनि त्यो तटस्थ शालीनता सिकाइदेऊ जहाँ शब्दहरू चिच्याउनु पर्दैन तर तिनको गहिराइले मन हल्लिन्छ।
बोल्न सिकाउने काम केवल ध्वनि निकाल्ने अभ्यास मात्र होइन। त्यो आत्माको द्वार खोल्ने अभ्यास हो। सोच्न सिकाउने, महसुस गर्न सिकाउने अनि अभिव्यक्तिमा इमानदार बन्न सिकाउने कला हो। मलाई त्यो सिकाइदेऊ। जसले न त झुट बोल्न बाध्य बनाओस्, न त सत्य लुकाउन विवश बनाओस्।
कति पटक म भिडमा थिइनँ तर एक्लिएँ। किनभने म बोल्न सकिनँ। मेरो मौनता मेरो कमजोरी बन्न गयो, मेरो शान्ति मेरो दोष ठहरियो। म पनि बोल्न चाहन्थेँ। आफ्नो पीडा, सपना र संघर्षलाई तर जिब्रो सधैँ केही भन्नु अघि डराइहाल्थ्यो। डर कि नबुझिने छ, कि गलत ठहरिने छ, कि उपहास गरिनेछ।
मलाई लाग्छ उसको एक्लोपनले उसलाई बोल्ने वातावरण सिर्जना गरेन। तर मैले देखेको छु उनी मात्रै एक्लो छैनन् यो भरिभराउ काठमाडौँ सहरमा। हरेक कुना काप्चा, चिया पसल, पार्क, बसको सिटहरूमा त्यस्तै निराश र धेरै सोच्नेहरू मैले देखिरहन्छु। यदि तपाई काहीँ कतै कुनै पुरुषलाई निराश देख्नुभयो भने उसलाई त्यतिकै छोडेर जानुहोस्, त्यस बखत उसलाई कसैसँग बोल्न मन पर्दैन, उसले आफ्नो समस्याको समाधान आफै खोज्न चाहन्छ।
ठ्याक्कै उल्टो जब कुनै स्त्री निराश हुन्छिन्, उनले चाहन्छिन् कि कसैले उनको कुरा सुनिदियोस्, कसैले उनीसँग कुरा गरोस्।
हुन त बोल्न जान्नु मात्रै पर्याप्त हुँदैन। कहिले चुप बस्ने र कहिले बोल्ने भन्ने ज्ञान अझै गाह्रो हुन्छ। म पनि धेरै पटक बोल्न चाहेर चुप बसेँ अनि केही पटक नबोल्न चाहँदा पनि बोल्नुपर्यो। हरेक बोलीले शान्ति ल्याउँदैन, हरेक मौनताले कमजोरी देखाउँदैन। तर यो अन्तर बुझ्न मलाई अझै सिक्न बाँकी छ।
हिजोआज म बोल्ने प्रयास गर्छु ऐनामा उभिएर, एक्लै बसेर वा म भित्रै मनमनै। म आफैँलाई बुझ्ने कोसिस गर्छु ताकि अरूलाई पनि बुझाउन सकूँ। मलाई थाहा छ, अभिव्यक्तिको यात्रा सजिलो हुँदैन; कहिले स्वर काँपिन्छ, कहिले आँखा रसाउँछ, कहिले शब्द गुम्छ। तर यी सबै मेरा अभ्यास हुन् बोल्न सिक्ने यात्राका पाइलाहरू।
म बुझ्दै छु, बोल्न सिक्नु भनेको आफैँसँग संवाद गर्न सिक्नु पनि हो। म आफैँभित्रका भयहरूसँग जुध्दै छु; अस्वीकारको डर, आलोचनाको पीडा र आत्म-सन्देहको अँध्यारो। यी सबै अँध्यारोमा एउटा मात्र प्रकाश चाहिन्छ त्यो हो ‘हिम्मत’। अनि त्यो हिम्मत जन्मिन्छ जब कुनै आवाज भन्छ- ‘तिमी सक्छौ, तिमी सुनिन योग्य छौ।’
तर अब म बोल्न चाहन्छु। आत्मविश्वासका साथ, स्पष्टता सहित तर मृदु स्वभावमा। म बहस होइन, संवाद चाहन्छु। आवाज होइन, अर्थ चाहन्छु। र त्यसका लागि मलाई सिकाइदेऊ त्यो भाषा जुन केवल अक्षरमा होइन; दृष्टिमा, भावनामा, र मौनतामा बोल्न सक्छ।
मलाई सिकाइदेऊ आफ्ना विचारहरूलाई शालीनतापूर्वक राख्न, अरूको विचार सुन्न सक्ने धैर्य राख्न। मलाई सिकाइदेऊ क्रोधभन्दा करुणा, घृणाभन्दा सहानुभूति र प्रतिस्पर्धाभन्दा समझदारीको भाषा।
शब्दहरू बल हुन्छन्, यदि तिनीहरूलाई मनले जन्म दिइयो भने। तर तिनीहरू विनाशको कारण पनि हुन सक्छन्, यदि तिनीहरूलाई केवल इगोले चलायो भने। त्यसैले मलाई पनि बोल्न सिकाइदेऊ जहाँ बोली बन्दुक होइन, पुल बन्न सकोस्।
अन्त्यमा म के भन्छु भने, मलाई आवाज होइन, अभिव्यक्तिको कला चाहिएको हो। त्यो कलाको अभ्यास आजबाट सुरु गर्न चाहन्छु। तिमी मेरा गुरु बन, म तिमीलाई अनुयायी भएर पछ्याउन तयार छु।
मलाई पनि बोल्न सिकाइदेऊ ताकि म पनि आफैँ बन्न सकूँ।