बर्खाको झरी
गाउँमा मात्रै पर्दैन रहेछ
सहरको मनमा पनि
कहिल्यै नपर्ने झरी परेको छ
फरक यत्ति हो
गाउँमा माटो गलिन्छ, मूल फुट्छ
सहरमा सपना।
गाउँमा आमा बुवाको पसिना
खेतको डिलसम्म पुग्छ
सहरको तकदिरमा
कहिल्यै नदेखिने आँसु बग्दो रहेछ
फरक यत्ति हो
गाउँमा शीतलता छ, उभार आउँछ
सहरको मनमा जहिल्यै बेचैनी छ।
गाउँमा हलगोरु थाक्छन्
भोलिका लागि मेलो फर्किन्छ
फरक यत्ति हो
गाउँको आँखीझ्यालबाट क्षितिज देखिन्छ
सहरमा सपनालाई काँधमा बोकेर छोरा
भिडमा आजै हराउँछ।
गाउँमा भोक लाग्दा
आमाले एक मुठ्ठी मकै र प्रेम दिइदिन्छिन्
र हरक्क हुन्छ मन
फरक यत्ति हो
भोक लाग्दा रित्तो गोजीले सहरमा
स्मृतिको स्वाद बेस्मारी चपाउँछ।
गाउँमा बिहानीको घाम झुल्केर
निलो आकाश उघ्रेपछि
चौडा छाती लिएर छरछिमेकमा
फराकिलो बिस्कुन सुक्छ
फरक यत्ति हो
सहरमा गगन देख्ने आँखा
फगत दुई दिवारको बन्द कोठामा
धुमिल जीवनको धुवाँमा धुमिलिएको छ।
गाउँमा बिसन्चो भए आमा तुलसीको रसमा
विश्वास घोलेर सन्चिन्छिन्
फरक यत्ति हो
सहरमा च्याउ सरी उम्रिएका अस्पतालहरू छन्
एक एक रिपोर्ट छन्
यहाँ रोगसँगै आफै बाँच्न सिक्नु पर्छ।
गाउँमा आमाले सगुनको रूपमा
बुकी फूल टिपेर सबैमा हाँसो बाँडिइदिन्छिन्
फरक यत्ति हो
सहरमा मुस्कानका लागि सेल्फी छन्, फिल्टर छन्।
गाउँमा बाटो उकालो छन्, ओरालो छन्
गोरेटा छन्, भिर छन्, पाखा छन्
फरक यत्ति हो
सहरमा बाटो सिधा छन्, फराकिला छन्
सहरका मोडमा घुम्ती नै घुम्ती छ।
गाउँमा आमाको हातले बुनेको
टोपी सिउरिएपछि जाडो काटिन्छ
फरक यत्ति हो
सहरमा भुवादार ऊनीका कोट छन्, ज्याकेट छन्
तर चिसो सिरेटोले सधैँका लागि आभा हराउँछ।
गाउँमा हिलो छुँदा
जिन्दगीले गन्ध ल्याउँछ, स्वाद ल्याउँछ
फरक यत्ति हो
सहरमा चिल्लो टायल्स छुँदा
औँलाले न त स्पर्श पाउँछ
न त आत्माले अनुभूति पाउँछ।
गाउँमा पानीसँगै सास फेर्छ खेतले
जीवनको चक्र अद्भुत छ
फरक यत्ति हो
सहरमा सास गुमेको छ, सपना भिजेको छ
आमाको हातमा त्यही पुरानो कुचो छ
बुवासँग थिलिएको जिम्मेवारी छ
यहाँ सहरमा छोराको खुट्टा हराएको छ
ऊ आफैलाई बिर्सिएर, गुमनाम भएको छ।