बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँगको व्यक्तिगत सम्बन्धका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अप्ठ्यारोमा परेका छन्।
आजभन्दा २२ वर्षअघि एपस्टिनको ५०औं जन्मदिनमा ट्रम्पले उनलाई पत्र लेखेको समाचार 'वाल स्ट्रिट जर्नल' ले छापेपछि उनी विवादमा परेका हुन्।
एपस्टिन को हुन्? बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने यो घटना के हो? एपस्टिनसँग ट्रम्पको सम्बन्ध कस्तो थियो? उनी यो विवादमा कसरी मुछिए?
यो स्टोरीमा हामी एपस्टिन र ट्रम्पसँग जोडिएका यिनै प्रश्नमाथि विस्तृत चर्चा गर्दैछौं।
एपस्टिन र उनकी बेलायती प्रेमिका गलिन म्याक्सवेलले अमेरिकाका धनाढ्य र शक्तिशाली राजनीतिज्ञहरूका लागि 'कलिला किशोरीहरू व्यवस्था गर्ने' भनेर केही दशक अघिदेखि चर्चा हुँदै आएको थियो। उनीहरूले न्यूयोर्क र फ्लोरिडाको पाम–बिचमा रहेका आफ्ना महलमा शक्तिशाली व्यक्तिहरूका लागि मनोरञ्जनको व्यवस्था गर्थे। एपस्टिनको क्यारेबियनमा एउटा निजी टापु नै थियो। उनले आफ्ना पाहुनालाई त्यहाँ लैजान निजी विमान प्रयोग गर्थे।
यस्तो धन्दा चलाउँदा पनि शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धका कारण एपस्टिनमाथि कुनै छानबिन भएको थिएन।
सन् २००६ मा पहिलोपटक उनलाई बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ गरिएको थियो र १८ महिना कैद सजाय भएको थियो। तर एक विवादास्पद प्रावधानका आधारमा हरेक दिन १६ घन्टासम्म कामका लागि जेलबाहिर जान दिने व्यवस्था गरियो। राजनीतिक पहुँचकै कारण उनले त्यस्तो सहुलियत पाएका थिए।
उनी १८ महिनाको सजाय पूरा नगरी १३ महिनामै रिहा भए। त्यसपछि पनि आफ्नो धन्दा जारी राखेको मानिन्छ।
एपस्टिनले त्यति बेला वेश्यावृत्तिमा प्रयोग गरेका कतिपय किशोरीले हुर्किसकेपछि उक्त घटना सार्वजनिक गरेका थिए। एक महिलाले वर्षौंअघि आफू किशोरी हुँदा तत्कालीन बेलायती राजकुमार एन्ड्रयू (हालका राजा चार्ल्सका भाइ) ले यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।
यही कारणले सन् २०१९ मा एन्ड्रयूलाई सार्वजनिक जिम्मेवारीबाट निलम्बन गरिएको थियो भने २०२२ पछि उनको राजकुमार पद पनि खोसियो। उनले ती महिलालाई करोडौं डलर दिएर अदालत बाहिरै मुद्दा मिलाएका थिए। ती महिलाले गत अप्रिलमा आत्महत्या गरिन्।
उता किशोरीहरूको सार्वजनिक बयानपछि एपस्टिनलाई ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा फेरि पक्राउ गरियो।
उनले २०१९ मै जेलभित्र आत्महत्या गरे। उनकी प्रेमिका म्याक्सवेल भने अहिले पनि जेलमै छिन्।
कतिपयले एपस्टिनको मृत्यु आत्महत्या नभएर हत्या हो भन्ने दाबी गरेका छन्। यस्तो दाबी गर्नेमा ट्रम्पका समर्थक नै थिए। उनीहरू यहाँसम्म भन्थे — डेमोक्र्याटिक पार्टीमा आबद्ध शक्तिशाली व्यक्तिहरू बाल वेश्यावृत्तिमा संलग्न छन्!
एपस्टिनले आफ्ना शक्तिशाली ग्राहकको सूची नै बनाएर राखेका छन् भन्ने पनि ट्रम्पका समर्थकको दाबी थियो। त्यही सूची बाहिरिने डरले डेमोक्र्याटिक पार्टीका शक्तिशाली नेताले एपस्टिनको हत्या गरेको उनीहरू बताउँथे।
उनीहरूले यस्तो आरोप लगाउनुमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग एपस्टिनको घनिष्ठ सम्बन्ध एउटा मुख्य कारण थियो।
सन् २००१ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि क्लिन्टनले धेरैपटक एपस्टिनको निजी जहाजमा यात्रा गरेको फ्लाइट लगले देखाएको छ।
ट्रम्पले पनि आफ्नो राजनीतिक लाभका लागि ती आरोपलाई बढावा दिए। दोस्रो कार्यकालका लागि चुनाव प्रचार क्रममा उनले भने, 'मैले चुनाव जितेँ भने एपस्टिनको ग्राहक सूची सार्वजनिक गर्छु।'
उपराष्ट्रपतिका उनका उम्मेदवार जेडी भान्सले पनि 'एपस्टिनको सूची जारी गर्नुपर्छ' भनेका थिए।
यति मात्र होइन, ट्रम्पले अमेरिकी अनुसन्धान संस्था एफबिआईको प्रमुख बनाएका काश पटेल र उपप्रमुख बनाएका डयान बान्जिनोले त उक्त सूची एफबिआईसँग छ भनेर दाबी नै गरेका थिए। त्यो सूची बाहिरिए डेमोक्र्याटिक पार्टी संकटमा पर्ने बान्जिनोको भनाइ थियो।
ट्रम्पले महान्यायाधिवक्ता बनाएकी पाम बन्डीले पनि गत फेब्रुअरीमा ट्रम्पलाई समर्थन गर्ने 'फक्स न्यूज' सँग कुरा गर्दै उक्त सूची आफ्नो डेस्कमा रहेको बताएकी थिइन्। पछि उनले कुरा फेर्दै ग्राहकको सूची नभएर एपस्टिनको फाइल आफ्नो डेस्कमा रहेको बताइन्।
यी सबै घटनाक्रमका कारण ट्रम्प सरकारले उक्त सूची र एपस्टिनसँग सम्बन्धित सबै कुरा सार्वजनिक गर्ने उनका समर्थकको अपेक्षा थियो।
तर ट्रम्प सरकारले सूची त के, यसबारे कुनै पनि नयाँ विवरण सार्वजनिक गरेन। सार्वजनिक गरिएका सबै कुरा पहिल्यै थाहा भइसकेका थिए।
यसबीच ट्रम्पसँग भर्खरै झगडा गरेका टेस्लाका मालिक इलन मस्कको बयान आयो। ट्रम्पले आफू पनि उक्त काण्डमा मुछिने भएपछि सूची सार्वजनिक नगरेको मस्कले आरोप लगाए।
चौतर्फी दबाबपछि ट्रम्प सरकारले भर्खरै एपस्टिनले आत्महत्या गर्नुभन्दा अघिल्लो रातदेखिको जेलको सिसिटिभी फुटेज सार्वजनिक गर्यो। तर अमेरिकी अनलाइन 'वायर्ड' ले उक्त सिसिटिभी फुटेज सम्पादित भएको र तीन मिनेटजतिको भिडिओ काटिएको भनेर समाचार लेख्यो।
यसले झन् धेरै शंका बढायो।
अहिलेसम्म ट्रम्पका समर्थकले यो मामिलामा उनलाई सोझै आरोप लगाएका छैनन्। बरू महान्यायाधिवक्ता बन्डी शक्तिशाली व्यक्तिहरूको गिरोहसँग मिलेको आरोप लगाइरहेका छन्। उनीहरूले बन्डीको राजीनामा पनि मागिरहेका छन्।
यो मामिलामा अझ धेरै सामग्री सार्वजनिक गर्नुपर्छ भनेर अडान लिएका एफबिआई उपप्रमुख बान्जिनोसँग बन्डीको झगडा नै परेको समाचार आएका छन्।
यसबीच ट्रम्पले केही दिनदेखि एपस्टिनको ग्राहक सूची नै नरहेको भन्दै आफ्ना समर्थकलाई सम्झाइरहेका छन्। एपस्टिनको शक्तिशालीहरूसँग सम्बन्ध थियो भन्ने कुरा झूटो भएको पनि उनले बताएका छन्।
कतिसम्म भने, एपस्टिनको मामिला नै डेमोक्र्याटिक पार्टीका समर्थकले उछालेको ट्रम्पको आरोप छ।
विगतमा ट्रम्पले जति झूटो बोले पनि पत्याउने र उनले जे–जे अपराध गरे पनि बेवास्ता गर्ने समर्थकहरूले एपस्टिनको मामिलामा भने उनको कुरा पत्याएका छैनन्। उनीहरूले अझै पनि उक्त सूची सार्वजनिक हुनुपर्छ भनिरहेका छन्।
ट्रम्प विरोधीहरूले त 'ट्रम्प आफै पनि बालिकाहरूसँगको यौन सम्बन्धमा संलग्न रहेको' आरोप लगाएका छन्। यस्ता आरोप हाल ट्रम्पसँग सम्बन्ध बिग्रिएका इलन मस्कको सामाजिक सञ्जाल 'एक्स' मा धेरै आइरहेका छन्।
यही सन्दर्भमा ट्रम्पकै रिपब्लिकन पार्टीको समर्थन गर्ने 'द वाल स्ट्रिट जर्नल' ले बिहीबार एउटा समाचार छाप्यो। उक्त समाचारमा एपस्टिनको ५०औं जन्मदिनको अवसरमा ट्रम्पले पत्र लेखेको उल्लेख छ।
समाचारअनुसार सन् २००३ मा एपस्टिनको ५०औं जन्मदिनको अवसरमा ट्रम्पसहित केही साथीहरूले अश्लील पत्र लेखेका थिए।
एपस्टिनकी प्रेमिका म्याक्सवेलको अनुरोधमा लेखिएको भनिएका ती पत्रको बेहोरा नै वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको छ। जर्नलका अनुसार ट्रम्पको पत्रमा एक नग्न महिलाको आकृतिभित्र शब्दहरू लेखिएका थिए।
यो समाचारका लागि ट्रम्पसँग पनि प्रतिक्रिया मागिएको जर्नलले लेखेको छ।
ट्रम्पले भने त्यस्तो पत्र आफूले नलेखेको भन्दै जर्नललाई समाचार नछाप्न भनेका थिए। समाचार छापिए मुद्दा हाल्ने धम्कीसमेत दिएको जर्नलले लेखेको छ।
वाल स्ट्रिट जर्नलको यस्तो समाचारपछि एपस्टिनको मामिलामा नयाँ तरंग आएको छ।
ट्रम्प राजनीतिमा आउनुअघि एपस्टिनको चर्चा मुख्यत: क्लिन्टनसँगको सम्बन्धलाई लिएर हुन्थ्यो। ट्रम्प राष्ट्रपति भएपछि पुराना सामग्री खोतलेर उनको र एपस्टिनको सम्बन्ध केलाइँदै छ।
ट्रम्प र एपस्टिन (बायाँ) ले सन् १९९७ मा खिचेको तस्बिर। स्रोत: द वाल स्ट्रिट जर्नल
सन् १९९० दशक र २००० को सुरूआतमा एपस्टिन र ट्रम्पको राम्रो सम्बन्ध थियो। एपस्टिन, ट्रम्प, एपस्टिनकी प्रेमिका म्याक्सवेल र ट्रम्पकी पत्नी मेलानियाले विभिन्न सामाजिक कार्यक्रममा खिचाएका तस्बिर पनि सार्वजनिक भएका छन्।
एनबिसी टिभीको पुरानो भिडिओ फुटेजमा ट्रम्पलाई उनको एक रिसोर्टमा भएको पार्टीमा एपस्टिनसँग देख्न सकिन्छ। उक्त फुटेजमा ट्रम्पले एक महिलालाई आफूतिर तान्दै गरेको र उनको नितम्बमा धाप मारेको देखिन्छ।
'न्यूयोर्क' पत्रिकाले सन् २००२ मा एपस्टिनबारे लेखेको एक लामो लेखमा ट्रम्पको पनि प्रतिक्रिया लिइएको थियो।
'मैले जेफ (एपस्टिन) लाई १५ वर्षदेखि चिनेको छु। धेरै गज्जबका मान्छे! उनीसँग बस्दा धेरै रमाइलो हुन्छ। यो पनि भनिन्छ, सुन्दर महिलाहरू मलाई जति मन पर्छ, उनलाई पनि त्यति नै मन पर्छ। र, तीमध्ये धेरैजसो कम उमेरका छन्। यसमा कुनै शंका छैन, जेफ्री आफ्नो सामाजिक जीवनको आनन्द लिन्छन्,' ट्रम्पले त्यति बेला भनेका थिए।
एपस्टिनको निजी विमानमा समेत ट्रम्पले सातपटक यात्रा गरेको फ्लाइट लगले देखाउँछ भनेर 'द न्यूयोर्क टाइम्स' ले लेखेको छ। ट्रम्प स्वयंले पनि एपस्टिनको निजी विमानमा यात्रा गरेको स्वीकार गरेका छन्। तर उक्त विमानमा कहिले पनि एपस्टिनको निजी टापुमा नगएको उनले दाबी गरेका छन्। त्यस्तै, एपस्टिनसँग कुनै अवाञ्छित गतिविधिमा संलग्न नभएको पनि भनेका छन्।
यी दुई जनाको सम्बन्ध सन् २००४ पछि बिग्रिएको थियो। अमेरिकी पत्रिका 'द वासिङ्टन पोस्ट' का अनुसार फ्लोरिडाको पाम–बिचमा रहेको एउटा महल कसले किन्ने भनेर उनीहरूबीच झगडा भएको थियो। त्यो महल एपस्टिनले भनेभन्दा धेरै दाममा ट्रम्पले किनेका थिए।
सन् २०१९ मा एपस्टिन दोस्रोपटक पक्राउ पर्दा राष्ट्रपति रहेका ट्रम्पले करिब १५ वर्षदेखि उनीसँग कुरा नगरेको बताएका थिए।
'पाम–बिचमा सबैले चिनेझैं म पनि उनलाई चिन्थेँ। म उनको प्रशंसक थिइनँ, त्यो म तपाईंलाई भन्न सक्छु,' ट्रम्पले त्यति बेला ह्वाइट हाउसमा भनेका थिए।
एपस्टिनसँग निकट रहेका बेला ट्रम्पले पनि बालिकाहरूसँग यौन सम्बन्ध राखेका थिए कि थिएनन् भनेर अहिलेसम्म खुलेको छैन। तीन जनासँग विवाह गरेका र धेरै महिलासँग सम्बन्ध राखेका कारण ट्रम्पमाथि शंका गर्न सकिन्छ। तर त्यतिले मात्र पुष्टि हुँदैन।
ट्रम्पले एपस्टिनको ५०औं जन्मदिनमा घनिष्ठ मित्रको हैसियतमा पत्र लेखेको भनेर वाल स्ट्रिट जर्नलले समाचार लेखेपछि भने यो मामिलामा नयाँ मोड आएको छ। ट्रम्पले उक्त पत्र आफूले नलेखेको भन्दै समाचार नछाप्न जर्नलका मालिक रूपर्ट मर्डोकलाई चेतावनी दिएको बताएका छन्।
ट्रम्पलाई समर्थन गर्ने 'फक्स न्यूज' का समेत मालिक रहेका मर्डोकसँग उनको राम्रो सम्बन्ध छ। उनले चेतावनी दिँदा पनि समाचार छापिएपछि ट्रम्पले अब जर्नलविरूद्ध मुद्दा हाल्ने चर्चा छ।
ट्रम्पले दोस्रोपटक राष्ट्रपतिको कार्यभार सम्हालेपछि धेरै मिडियालाई मुद्दा हालेका छन्। ती सबै मुद्दा उनी हार्ने खालकै थिए। तैपनि अरू विभिन्न व्यवसाय भएका मिडिया मालिकहरूले ट्रम्प चिढिएलान् भनेर उनलाई करोडौं डलर दिएर मुद्दा मिलाएका छन्।
एपस्टिनको मामिला पेचिलो बन्दै गएपछि ट्रम्पले महान्यायाधिवक्ता बन्डीलाई उक्त मुद्दा सुनुवाइका क्रममा लिइएका सबै बयान सार्वजनिक गर्न निर्देशन दिएका छन्। तर अदालतले बाल यौनकर्मीका रूपमा प्रयोग भएका महिलाको गोपनीयता लगायत कारण देखाएर कतिपय सामग्री सार्वजनिक गर्न रोक लगाएको छ। अदालतसँग समन्वय गरेर ती बयान सार्वजनिक गर्न ट्रम्पले बन्डीलाई भनेका छन्।
उनले के–के सामग्री सार्वजनिक गर्छिन् र त्यसले उनका समर्थकको चित्त बुझ्छ कि बुझ्दैन, त्यो भने हेर्न बाँकी नै छ।
ट्रम्पका समर्थकले दाबी गरेजस्तो एपस्टिनले ग्राहकको सूची राखेका थिए कि थिएनन् भन्ने पनि अहिलेसम्म खुलेको छैन। न्यूयोर्क टाइम्सले भने एपस्टिनले राख्ने गरेको सानो कालो डायरीमा अरू धनी र शक्तिशाली व्यक्तिको जस्तै ट्रम्पको पनि नाम र फोन नम्बर थियो भनेर लेखेको छ।
***