मनघरी फाउण्डेसन नेपालको अगुवाइमा कर्णाली प्रदेशका जिल्लामा स्वास्थ्य सामग्री डोल्पा पठाइएको छ।
यसअघि पहिलो र दोस्रो चरणमा दैलेखी सेवा समाजसँग सहकार्य गरेर १ सय ११ थान पिपिई सेट, २ हजार थान मास्क, १ हजार थान ग्लोब्स र १० बोतल स्यानिटाइजर पठाएको थियो।
त्यसैगरी तेस्रो चरणमा डोल्पा जिल्लामा २० थान पिपिई सेट, ४ थान हेड कभर र ५० वटा मास्क डोल्पो बुद्ध गाँउपालिकाका अध्यक्ष ग्याल्वो थापा भोटलाई हस्तान्तरण गरको छ।
डोल्पा जिल्लामा ८ वटा स्थानीय तह छन्। ७ वटा स्थानीय तहमध्ये दुइटा स्थानीय तहमा पिपिई सेट पुगिसकेको छ।
अब यी पिपिई सेट बाँकी रहेको गाउँपालिका स्वास्थ्य संस्थाहरूमा पुर्याउने डोल्पो बुद्ध अध्यक्ष ग्याल्वो थापा भोटेले बताए।
स्वास्थ्य सामग्री राष्ट्रिय आविष्कार केन्द्र, प्रारम्भ सामाजिक संस्था, आनी छोयिङ डोल्मा फाउण्डेसन लगायतले सामग्री उपलब्ध गराएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।
उनले भने, ‘हाम्रो यो सहयोग हेर्दा संख्यामा सानो छ तर संख्यामा भन्दा पनि कर्णाली क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई आत्मबल बढाउन सहकार्य गरेका हौं।’
मित्र राष्ट्र भारतमा रोजगारीको लागि हजारौंको संख्यामा कर्णाली प्रदेशबाट जाने गर्दछन्।
अहिले भारतमा कोरोनाको प्रभाव दिन प्रतिदिन बढेलगत्तै प्रदेशमा हजारौंको संख्यामा आफ्नो गाँउ फर्किसकेका छन्। तर स्वास्थ्य केन्द्रमा उचित सामग्री नहुँदा समस्या भएको मनघरी फाउण्डेसनका अध्यक्ष थापाले बताए।
कर्णाली प्रदेशका स्वास्थ्य चौकीमा पिपिई सेट नहुँदा समस्या भएको दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले बताए।
उनले भने, ‘म आफैं स्वास्थ्य क्षेत्रमा कार्यरत मान्छे हुँ। स्वास्थ्य सामग्री नहुँदा कस्तो समस्या हुन्छ भन्ने बुझेको छु।’