सुरुमा म फिट नै थिएँ। मैले आफ्नो तौलको ख्याल गर्न थालेदेखि नै तौलको उतारचढाव याद छैन। कलेज पढुन्जेलसम्म पनि ४६/४७ केजीभन्दा माथि गएको थाहा छैन। विवाहपश्चात्, अझ भनौँ बच्चा भएपश्चात् मेरो तौलमा आएको उतारचढावले मलाई आफ्नो साइजको ख्याल हुनै छोड्यो।
गर्भावस्थाको सुरुवाती अवस्थामा ५३ केजीबाट सुरु भएको मेरो तौल डेलिभरी हुने बेलासम्म ६८ केजी पुग्यो। जुन स्वाभाविक नै थियो। पोष्टपार्टममा त झन् ७२ केजीसम्मै पुग्यो। गर्भावस्थाको नौ महिना र पोष्टपार्टमका केही महिना गरेर झन्डै डेढ वर्षभन्दा बढी समय तौलकै कारणले मेरो लागि यति दिक्दार लाग्दो बन्यो, मलाई आफ्नो शरीर मेरै हो भनेर स्वीकार हुनै छोड्यो।
हरेक महिना लुगा किन्ने झन्झट, पसलभित्र छिर्ने बित्तिकै तपाईंको साइजको लुगा छैन भन्ने पसलेको प्रतिक्रिया, कुनै पसलेले तपाईंको साइज कति हो भनी सोधेको बेला जवाफ दिन नसकी अकमकाउँदा 'तपाईंलाई आफ्नै साइज थाहा छैन?' भन्दै गर्दा पसलेको खुम्चिएको अनुहार, चिनेको मान्छे बाटोमा भेट हुँदा 'के छ हालखबर' पूर्व नै तौलबारे सोधिएका प्रश्नहरू। जस्तै: 'ओहो! तपाईं त कस्तो मोटाउनुभएको है। के खाएर यस्तो मोटाउनु भएको नि? सुत्केरी ज्यान कस्तो लागेको। अझ बच्चालाई सँगै लिएर हिँडेको बेला आमाको ज्यानभन्दा त बच्चाको ज्यान लागे पो राम्रो!' सम्म भन्न छाडेनन्।
म खानाको लागि कहिले पनि शौखिन मान्छे थिइनँ। मामाघरमा आमाले ‘निधारमा टीका लाउने जति भात खान्छेस्, चराले खाने जति पनि कसैले खान्छन्?’ भन्दै मुड्की उचालेर थपी-थपी भात खुवाउनुहुन्थ्यो। कुनै बेला कम्मरमा पेटी बाँधेको देखे, ‘त्यो खोलेर खा, अलि बढी रुच्छ’ सम्म भन्न भ्याउनुहुन्थ्यो। साथीहरू सँगै थकाली रेस्टुरेन्टमा भात खान गएका बेला साथीहरूले मेरो लागि छुट्टै थाली अर्डर गर्न दिएनन्। गएकामध्ये २/३ जनाको थालबाट १/१ चम्चा निकालेर मेरो लागि खाना तयार हुन्थ्यो।
गर्मी यामका केही महिनाहरू त म फलफूल मात्रै खाएर पनि बस्न सक्थेँ। कलेज पढ्ने बेलाका दिनहरूमा अन्य साथीहरूले बिहानैको खाजामा समोसा, पकौडा खाएको देखेर त म अचम्मित नै हुन्थेँ। बजारमा पाइने कोल्ड ड्रिङ्क्स, सफ्ट ड्रिङ्क्सको म कहिले पनि फ्यान थिइनँ। अहिले त खान छोडेको पनि वर्षौँ भइसक्यो। नेपाली समाजमा खानाको बारे एउटा प्रचलित उखान छ- खानको लागि बाँच्ने कि बाँच्नको लागि खाने।
मलाई आफू बाँच्नकै लागि मात्र खाने मान्छे रहेछु भन्ने लाग्थ्यो। तर यो कुरा सधैँभरि स्थायी रहेन। गर्भावस्थाको दोस्रो ट्राइमिस्टरदेखि नै मेरो खानाको तालिका अर्कै बन्यो। म भोक नै नलाग्ने मान्छेबाट बिस्तारै भोक मात्रै लागिरहने मान्छे भएँ। माइजू/काकी र अन्य आफन्तहरूकोमा खाना खान जाँदा मलाई 'अलिकति थपेर दिनुस् न, म आजभोलि धेरै खाने भएको छु' भन्नुपर्ने भयो। खानाको परिमाणसँगै मेरो तौल पनि उकालो लाग्यो। तत्पश्चात्देखि नै मैले आफ्नो तौलबारे अरूको प्रतिक्रिया पाउन थालेँ।
प्रतिक्रिया आउँदा ‘तेरो बाउको खाएर मोटाएको छु र?’ भनेर जवाफ फर्काउनेमा म पर्दिनँ। खिस्स हाँसेर होमा हो मिलाउँदै गर्दा 'ओहो! यिनीहरूले बोल्ने तरिका कहिले सिक्लान्' भन्ने भावना भने मनमा पक्कै आउँथ्यो। उकालो मात्रै लाग्ने ओरालो लाग्नै नजान्ने मेरो तौलले डेलिभरीको २/३ महिनापश्चात् अहिलेसम्मकै उच्चतम बिन्दु अर्थात् ७२ केजी टेक्यो।
मलाई आफ्नै शरीर पटक्कै मन पर्न छोड्यो। फोटो खिच्ने मन पनि बिस्तारै हराउँदै गयो। हर्मोनको अस्थिरता, पोष्टपार्टमको मानसिक अवस्था, रातभरिको निद्रा र ब्रेस्टफिडिङको स्ट्रेसले मेरो तौल पनि अस्थिर हुन थाल्यो। घटबढ भइरहने। कहिले अलिकति घटेजस्तो कहिले फेरि बढेजस्तो। घट्दा खुसी लागेजस्तो, बढ्दा फेरि दुःख। यस्तै-यस्तै हुँदै गर्दा डेलिभरीको झन्डै एक वर्षपश्चात् भने मेरो शरीरले पुनः आफ्नै तौलमा फर्किन सुरु गर्यो। त्यसपछि नै हो नेपाली सेनाको प्राड उपसेनानी (आम भाषामा लप्टन) पदमा भर्ना खुल्यो।
नेपालमै बसेर सरकारी सेवामा प्रवेश गर्ने दृढ इच्छा राखेको मैले संघीय सेवाको शाखा अधिकृत वा सो सरहमा खुलेका जति सबैजसो सेवाहरूमा आफ्नो दरखास्त बुझाएँ। उल्लिखित समयमा मेरो तौल घट्दै गरेको भएता पनि मैले आफ्नो तौललाई नेपाली सेनाको उम्मेदवार हुन योग्य हुने गरी सीमित गर्नु पर्ने भयो।
सेनामा दरखास्त दिएकै कारण म जिम भर्ना भएँ। जिममा गरेको व्यायाम र खानेकुराको सन्तुलनले छोटो समयमै मेरो तौल सामान्य अवस्थामा फर्कियो। त्यस लगत्तै, नेपाली सेना भर्ना छनौट निर्देशनालयले दरखास्त स्वीकृत गरी वियरिङ परीक्षा/शारीरिक परीक्षणको मिति तोक्यो। अन्य साथीहरूसँगै म पनि परीक्षामा सामेल भएँ। सम्पूर्ण शारीरिक परीक्षणसहित ‘बडी मास इन्डेक्स (बिएमआई)’ पनि परीक्षण भयो। उचाइ ५ फिट २ इन्च, तौल ५७ के.जी, बिएमआई सामान्य। म पास भएँ।
सँगै गएका साथीहरूमध्ये केही साथीहरू तौलकै कारण लिखित परीक्षामा सामेल हुन नपाउने गरी फिर्ता भए। नेपाली सेनाको भर्ना छनौट प्रक्रिया अन्य संघीय सेवाभन्दा अलिकति भिन्न र लामो छ। दरखास्त स्वीकृत भएदेखि अन्तिम नतिजा प्रकाशन हुने बेलासम्म झन्डै नौ महिना। बिचमा के-के हो के-के परीक्षाका चरणहरू। अन्तिममा फेरि विस्तृत स्वास्थ्य परीक्षण। अब मलाई नौ महिनासम्म आफ्नो उतारचढाव भइरहने तौल स्थिर राख्नुपर्ने फसाद आइलाग्यो। म सबै परीक्षाहरू उत्तीर्ण हुँदै गएँ। तौल पनि सन्तुलनमै रह्यो। विस्तृत स्वास्थ्य परीक्षणमा पनि मेरो तौलले स्थिरता देखायो। म नेपाली सेनाको प्राड उपसेनानी (लप्टन) पदमा सिफारिस भएँ। म सेनाको जागिरे भएँ।
सेनामा जागिरे हुनुपूर्व नै मैले निजामती सेवाको न्याय सेवा, शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षा पनि दिएको थिएँ। केही समयपछि अर्थात् म सेनाको जागिरे हुँदै गर्दा उल्लिखित पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भयो। खुला र महिला दुवै समूहमा मेरो नाम आयो। मैले आफ्नो सैन्य सेवा परिवर्तन गरेर निजामती सेवामा जाने निर्णय गरेँ। अन्तर्वार्तामा सामेल भएँ। नतिजा प्रकाशित हुँदा खुलातर्फ सिफारिस भएँ। नेपाली सेनाको जागिरबाट राजीनामा दिएर निजामती सेवामा प्रवेश गरी तालिमरत रहँदासम्म सन्तुलनमै रहेको मेरो तौल उच्च अदालत जनकपुरमा पदस्थापन भई हाजिर हुन आउँदादेखि नै पुनः उकालो लाग्न थाल्यो।
मधेसको बसाइ, घरपरिवारबाट टाढा, खानाको असन्तुलन, बजारमा पाइने अनेकन् मिठाई, जङ्क्सप्रतिको बढ्दो रुचि र सिजनको आँपले मेरो तौल फेरि ६८ केजी नै पुग्यो। केही समयको लागि तौलका बारे केही सुन्न नपरेको मेरा कानले फेरि उस्तै प्रतिक्रिया पाउन थाले- मधेस बस्न थालेदेखि तपाईं त कस्तो मोटाउनु भएको, मधेस बसाइ कस्तो फापेको नि?
विवाह नभएका अन्य साथीहरूलाई इङ्गित गर्दै ‘विवाह भइसकेर बच्चा पाइसकेको मान्छेलाई यति तौल ठिकै त हो'नि, विवाह नभएका पो मोटाउनु भएन’ भन्ने। अब भने मलाई तौलका बारे प्रतिक्रिया सुन्नै नपरे हुन्थ्यो झैँ लाग्न थाल्यो। प्रतिक्रियाहरू कर्कश लाग्न थाले। आफ्नै स्वास्थ्यको पनि चिन्ता लाग्यो।
मलाई फेरि ‘भोक नै नलाग्ने म’ हुन पाए हुन्थ्यो भन्ने लाग्यो। तौल घटाउने निर्णय लिँदै गर्दा आफ्नो खानाप्रतिको बढ्दो क्रेभिङ्स कसरी नियन्त्रण गर्ने भन्ने मलाई थाहा थिएन। नो जङ्क्स, नो मैदा, नो तेल, नो सुगर, नो कार्बोहाइड्रेट- खानाको तालिका बन्यो।
महिना दिनसम्म दाल, गेडागुडी, उसिनेका तरकारी, पनिर, चिनी बिनाको दही र अलिअलि फलफूल सहितको तालिका बनाई एक दिनमा तीन/चार पटकसम्म खाना र प्रशस्त पानी पिउँदै गर्दा महिनाको अन्तिममा शरीरको तौलले भने चमत्कार देखायो- ६४ केजी। मैले ४ केजी घटाएँ। यो यात्रामा मसँगै मेरो साथी लिना कोइराला पनि हुनुहुन्थ्यो। उहाँको पनि ६९ केजीबाट घट्न सुरु भएको तौल ६५ केजी पुग्यो।
क्यालोरी डेफिसिट गर्ने बाहेक तौल घटाउने अर्को उपाय नहुने रहेछ भन्ने थाहा पाइसकेपश्चात् सुरुमै बनाएको तालिकालाई नै तीन महिनासम्म निरन्तरता दिँदा ११ केजी घटेर म फेरि ५७ केजीको भएँ। सँगैको साथीको पनि १० केजीभन्दा बढी तौल घट्यो।
अझै पनि मैले तौलबारे प्रतिक्रिया भने पाउन छोडेको छैन। अलिकति मोटाएँ, ‘तपाईं अस्ति भेटेको भन्दा त मोटाउनु भएछ नि!’ अलिकति घटाए, ‘तपाईं दुब्लाउनु भएको हो?’
‘के खाएर मोटाउनु भएको? के गरेर दुब्लाउनु भएको नि?’ आजभोलि मैले यस्तै मेरो तौल बारेको अनुभव साथीसँग बताउँदै गर्दा सात महिनाको प्रेग्नेन्ट समेत रहेकी मेरो साथी सपना लामिछाने लेख्छे, 'मेरो अहिलेको सबैभन्दा ठुलो टन्टा के हो तँलाई थाहा छ? आफ्नो तौलबारे आउने अरूको प्रतिक्रिया। ‘तपाईं त मोटाएर कस्तो अनुहार नै बिग्रिएछ, तपाईं त मान्छे नै अर्कै हुनुभएछ, कति मोटाएको? बच्चा भएपछि त झन् मोटाइन्छ।’
ऊ फेरि लेख्छे, ‘हैन! नेपालीलाई बोल्न नआएको हो कि हामी चाहिँ सहन नसक्ने भएको?’ साँच्चै, हामी नेपालीलाई बोल्नै नआएको हो त?