विक्रम सम्बत् २०१३ मा कलेज अफ एजुकेसन र सोलगत्तै २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएसँगै नेपालमा उच्च शिक्षाको आवश्यकता र स्वरूपमा आमूल परिवर्तन आएको छ।
भूमण्डलीकरण र डिजिटल प्रविधिको द्रुत र बिस्फोटक विकासले निम्त्याएका असीमित अवसरले विद्यार्थीको चाहना बदलिएको छ। यसले गर्दा परम्परागत ज्ञानमा आधारित पाठ्यक्रम बिस्तारै असान्दर्भिक बन्दै गएको छ।
विद्यार्थीमा विश्वबजारमा उपयोगी हुने सीपको विकास गरी आय आर्जन गर्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग गर्ने शिक्षाको आवश्यकता जरूरी भएको छ। यस सन्दर्भमा बजारको माग र आवश्यकतामा आधारित लचिलो र उद्यमशीलता केन्द्रित पाठ्यक्रमको विकास गर्नु अबको युगको आवश्यकता हो।
यस्तो शिक्षाले सिकाइलाई सिधै आयआर्जन, नवप्रवर्तन र वास्तविक समस्या समाधानसँग जोड्न मद्दत गर्छ।
यो लेखमा मैले शिक्षण–सिकाइको बदलिँदो स्वरूप, त्यससँग जोडिएका हाम्रा समस्या र सोको निराकरणका लागि हामीले लिनुपर्ने बाटोको संक्षिप्त चर्चा गरेको छु।
शिक्षण–सिकाइको बदलिँदो स्वरूप
हालैको कार्यक्रममा सामुदायिक क्याम्पसमा पढाउने एक शिक्षकले आफ्नो अप्ठ्यारो यसरी व्यक्त गरे, 'सर अब त कक्षामा गएर पढाउन धेरै गाह्रो हुँदै गयो। कक्षामा आफ्नो विषयवस्तुको व्याख्या गर्न नपाउदै विद्यार्थीले मेरो पावरप्वाइन्ट स्लाइडको फोटो खिच्छ। त्यसलाई टेक्स्टमा बदल्छ र एआईमा मेरो ज्ञानको सत्यता जाँच गर्न थालिहाल्छ। अनि यो पुगेन, त्यो भएन भनेर उल्टै मलाई नै पो पढाउन थाल्छ।'
ती शिक्षकको यी भनाइ कोहीलाई सामान्य लाग्न सक्छ। तर यसले उच्च शिक्षामा ज्ञानको ठेली र विषयवस्तु प्रसारण गर्ने र विद्यार्थीलाई श्रोता र ग्रहणकर्ताको रूपमा लिने युगको अन्त्य भएको संकेत गर्छ।
माइकल डी. स्मिथ आफ्नो पुस्तक 'एबान्डन्ट युनिभर्सिटी- रिमेकिङ हाइयर एजुकेसन फर अ डिजिटल वर्ल्ड' मा तर्क गर्छन् — आजको डिजिटल संसारमा ज्ञानका असीमित, निःशुल्क र प्रामाणिक स्रोतहरू छन्। विश्वविद्यालय अर्थात ज्ञानका स्रोत जताततै छन्। तसर्थ, बौद्धिक विकास र तथ्य वा ज्ञान आर्जन गर्न मात्र अब परम्परागत विश्वविद्यालयको कुनै औचित्य छैन। अबको विश्वविद्यालय एकोहोरो पढाउने होइन सहकार्य मार्फत उपयोगी सीपको विकास गर्ने र ज्ञान निर्माण गर्ने थलो बन्नुपर्छ। पेडागोजी अर्थात् शिक्षण–सिकाइ त्यसका लागि सहयोगी बन्नुपर्छ।
अहिले हामी 'पेडागोजी' अर्थात् शिक्षण–सिकाइ विज्ञानको तेस्रो युगमा प्रवेश गरिसकेका छौं।
पहिलो युग अर्थात् 'पेडागोजी १.०' मा शिक्षक केन्द्रमा हुन्थे। विद्यार्थीहरू शिक्षकले पढाएको सुन्थे, याद गर्थे र त्यसैको पुनः उत्पादन गर्थे। पाठ्यपुस्तक, ब्ल्याकबोर्ड र परीक्षा नै शिक्षण र सिकाइका मुख्य आधार थिए।
सिकाइमा विद्यार्थीको सक्रियता र नेतृत्वको आवश्यकतासँगै पेडागोजीको दोस्रो युग (पेडागोजी २.०) सुरू भयो। योसँगै अन्तरक्रिया, छलफल, अनुसन्धान र इन्टरनेट सामग्रीको प्रयोग हुँदै सहकार्य र परियोजनामुखी सिकाइमा जोड दिन थालियो।
अहिले पेडागोजी ३.० को समय हो। अब कृत्रिम बुद्धिमत्ता (इआई), अनलाइन नेटवर्क र व्यक्तिगत आवश्यकता अनुसार सिकाइ हुन्छ। यसमा विद्यार्थीले सिकाइको कार्यक्रम र मार्ग आफै चयन गर्छन्। विश्वव्यापी रूपमा ज्ञानका स्रोत र साथीहरूसँग जोडिन्छन्। सिकाइलाई सीप, सिर्जना, उत्पादन र आयआर्जनसँग जोड्न चाहन्छन्।
प्राध्यापक रियानन इभान्स र क्लाउस न्यूगोर्डद्वारा सम्पादित पुस्तक 'इ–लर्निङ १.०, २.० एण्ड ३.० इन हाइयर एजुकेसन' मा अझ प्रस्ट पार्दै भनिएको छ — पहिलो युग व्यवहारबादी सिद्धान्तको युग थियो। यसले ज्ञानको 'डिस्ट्रिब्युसन' अर्थात् प्रसारणमा जोड दियो। दोस्रो युग संज्ञानवादी र संरचनावादी सिद्धान्तको युग हो। यो चिन्तन, 'डाइलग' अर्थात् अन्तरक्रिया, संवाद र सहकार्यद्वारा गरिने विधार्थी–केन्द्रित शिक्षण–सिकाइको युग हो। अहिले हामी प्रवेश गरेको नयाँ युग (पेडागोजी ३.०) 'कन्स्ट्रक्सन' वा ज्ञान निर्माणको युग हो। यो सामाजिक र संयोजनवादी सिकाइ सिद्धान्तमा आधारित छ। यस युगमा अबको सिकाइ परिवेश र परिस्थितिजन्य ज्ञानको सिर्जना गर्न, ज्ञानको स्रोतका र विधिका रूपमा उपलब्ध सञ्जाल उपयोग गर्न र सोही आधारमा अनुभव र सीप आर्जन गर्न विद्यार्थीलाई सशक्तीकरण गराउन केन्द्रित हुनुपर्छ।
यसरी पेडागोजी १.० बाट ३.० सम्म आइपुग्दा ध्यान शिक्षकबाट विद्यार्थी र अब विद्यार्थी–प्रविधि–कार्यस्थलको सहकार्यतर्फ सरेको छ। तसर्थ, आजका विद्यार्थीहरू 'सुन्न' का लागि वा निस्क्रिय सिकाइका लागि कलेज वा विश्वविद्यालय आउन चाहँदैनन्। उनीहरू शिक्षालयले आफ्नो अनुभव र रूचिको कदर गरोस्; शिक्षकले सहकर्मीको रूपमा व्यवहार गरोस्, सिकाइद्वारा चाहे अनुसार ज्ञान, सीप र क्षमता निर्माण होस् र सिकाइले आफूलाई व्यवसाय र आय आर्जन गर्न सहयोग गरोस् भन्ने चाहन्छन्।
हाम्रो शिक्षाका प्रमुख समस्या
आज उच्च शिक्षामा जताततै एउटै प्रश्न उठ्ने गरेको छ, 'विद्यार्थी कता हराए? कक्षा कोठा किन खाली भए?'
म आफै काम गर्ने शिक्षाशास्त्र केन्द्रीय विभागमा केही वर्ष अघिसम्म एउटै वर्षमा ३ हजारभन्दा बढी विद्यार्थी भर्ना हुन्थे। अहिले त्यो संख्या घटेर ५ सयभन्दा कम हुन थालेको छ। देशभरिका उच्च शिक्षाका संस्थाको नियति यही हो।
आज कक्षा १२ पूरा गर्ने विद्यार्थी देशभित्र उच्चशिक्षा लिन चाहँदैन। उसलाई उच्चशिक्षाका ठूला ठूला डिग्रीमा कम रूचि छ। ऊ छिटो छिटो सिक्न र उपयोग गर्न सकिने प्रायोगिक ज्ञान र सीप हासिल गर्न चाहन्छ। तुरून्तै आर्थिक उपार्जन गर्न र आत्मनिर्भर हुन चाहन्छ।
त्यसैले आज संसारभर उच्च शिक्षाका निकायले नियमित डिग्रीका साथै छोटो छोटो अवधिका सिकाइ कार्यक्रम निर्माण गर्न थालेका छन्। यस्ता कार्यक्रमलाई 'माइक्रो–क्रेडेन्सियल' भनिन्छ।
माइक्रो–क्रेडेन्सियल भनेको छोटो र लक्षित अध्ययन कार्यक्रम हो जसले कुनै निश्चित सीप तथा कार्यका लागि विद्यार्थीलाई सक्षम बनाउँछ। यी कार्यक्रम लचिलो प्रकृतिका हुन्छन्, सस्ता हुन्छन्। तिनीहरूबाट एक एक गरेर सिकेको ज्ञान र सीप जम्मा गरेर निश्चित क्रेडिट पुगेपछि ठूला योग्यतामा समेत बदल्न सकिन्छ।
यस्ता माइक्रो–क्रेडेन्सियल बजारको आवश्यकतामा आधारित हुन्छन्। यस्तो योग्यताले तत्काल रोजगारी हासिल गर्न सघाउ पुर्याउँछ। शिक्षार्थीहरूले विभिन्न प्रदायकहरूबाट आफ्ना माइक्रो–क्रेडेन्सियल कार्यक्रमहरू छनोट गर्न सक्छन्। आफ्नै गतिमा सिक्न सक्छन्, आफ्नो सिकाइ क्रेडिट बैंकहरूमा जम्मा गर्न सक्छन् र अन्ततः आफ्नो पेशागत कार्यको क्रेडिट र पूर्ण योग्यता दाबी गर्न सक्छन्।
युनेस्कोले माइक्रो–क्रेडेन्सियल कार्यक्रम मार्फत अहिले चलिरहेका 'सबैका लागि एउटै ढाँचा' (वन साइज फिट्स अल) का पाठ्यक्रम परिवर्तन गर्न सकिने सुझाव दिएको छ। यसलाई व्यक्तिगत आवश्यकतामा आधारित 'उद्देश्यमुखी ढाँचा' (फिट फर पर्पज) का स–साना कार्यक्रममा बदल्न सकिने सुझाव छ।
आज उच्च शिक्षाका लागि १२ कक्षापछि विदेसिने क्रम ह्वात्तै बढेको छ। यसको एउटा प्रमुख कारण त्यहाँ साना सिकाइ कार्यक्रम मार्फत कामसँग सम्बन्धित सीप सिक्दै कमाइ र अध्ययन गर्न सम्भव छ।
म आफै उच्च शिक्षाका लागि सन् २००७ मा बेलायत पुगेको थिएँ। म त्यहाँ पार्टटाइम कामका लागि विश्वविद्यालयस्थित मेरो काउन्सिलरकहाँ सल्लाहका लागि गएँ।
उनले मलाई सम्भावित कामका लामो सूची देखाएर 'तिमी के कार्यका लागि आफूलाई निपुण ठान्छौं' भनी पहिलो प्रश्न गरेका थिए।
मसँग नेपालको मास्टर्स डिग्रीसम्मको सर्टिफिकेट थियो, तर ती कुनै कामसँग आवश्यक सीप थिएन। म नाजबाफ भएँ। त्यो थाहा पाएपछि काउन्सिलरले मलाई आवश्यक सीप सिक्न छोटा तालिम कार्यक्रमको वार्षिक क्यालेन्डर देखाए।
सोही अनुसार मैले दुई साताको पुस्तकालय व्यवस्थापन (लाइब्रेरी म्यानेजमेन्ट) तालिम लिएँ। त्यस तालिम मार्फत कम्प्युटरमा किताबको क्याटलग पत्ता लगाउन, किताब 'इस्यू' गर्न, विद्यार्थीले पढेर टेबलमा छोडेका र फिर्ता ल्याएका किताब सफ्टवेयरमा रूजु गरी सम्बन्धित विषय र क्रममा राख्न आवश्यक सीप सिकेँ र केही पछि सोही अनुसारको काम पाएँ।
यसरी हेर्दा हाम्रो उच्चशिक्षामा मुख्य दुई समस्या देखिन्छन्—
ज्ञानमा आधारित बोझिलो पाठ्यक्रम
हाम्रो अधिकांश पाठ्यक्रममा सैद्धान्तिक ज्ञान बढी थोपरिएको छ। अर्थात्, हाम्रो पाठ्यक्रम 'पढाउने' र 'लेखाउने' प्रकृतिको छ। हरेक तह र कार्यक्रमको पाठ्यक्रममा 'पुराना' ज्ञान बढी छन्। यस्ता ज्ञानले विद्यार्थीको बौद्धिक र तार्किक क्षमता बढाउँछ। विद्यार्थीले धेरै कुरा भन्न र लेख्न सक्छ।
सिकाइका लागि सुनाइ, पढाइ, लेखाइ, ग्रहण र स्मरण आवश्यक हुन्छ। यसले गर्दा हालको पाठ्यक्रमलाई विद्यार्थीले ज्ञानको ठेली बोकाउने बोझिलो भारी ठान्छ। विद्यार्थी यस्ता सैद्धान्तिक ज्ञानमा खासै रूचि र चासो देखाउँदैनन्। देखाइहाले पनि ज्ञान प्राप्तिका लागि शिक्षकमा भर गर्दैन।
हुन पनि अहिले हातहातमा ज्ञान प्राप्ति र परीक्षणका स्रोत छन्। हात हातमा किताब र लाइब्रेरी खुल्छन्। जुनसुकै प्रश्नको जिज्ञासा प्रमाणिक स्रोतसहित प्राप्त हुन्छ। ज्ञान चाहेको भाषामा प्राप्त हुन्छ।
तसर्थ, हामी ज्ञानमा आधारित पाठ्यक्रमको युगबाट धेरै अघि बढिसक्यौं।
केही समयअघि एमएड तहमा म 'शिक्षामा आलोचनात्मक चिन्तनमा पाउलो फ्रेरेको योगदान' पढाइरहेको थिएँ।
एक विद्यार्थीले जुरूक्क उठेर भन्यो, 'सर मैले पाउलो फ्रेरेको 'पेडागोजी अफ द अप्रेस्ड' को सार मोबाइलमा हेरिसकेँ। यसको साटो बरू हामीलाई कोरियन भाषा सिकाए हुन्थ्यो नि!'
मैले उसको व्यंग्यात्मक प्रश्नको भाव बुझेँ र आफ्नै पाठ्यक्रमको आलोचना गरेर उसको चित्त बुझाएँ।
परम्परागत शिक्षण र मूल्यांकन विधि
नेपालमा अधिकांश शिक्षक अहिले पनि पेडागोजी १.० कै युगमा छन्।
शिक्षक पाउलो फ्रेरेले 'बैंकिङ कन्सेप्ट अफ एजुकेसन' मा भनेझैं आफूलाई ज्ञानको भण्डार र विद्यार्थीहरूलाई रित्तो भाँडो ठान्छ। भरिएको जगबाट रित्तो मगमा तरल पदार्थ खन्याएझैं हुने यो प्रकारको शिक्षण 'जग–एन्ड–मग' विधि हो।
अहिले पनि हाम्रो कक्षामा शिक्षकले त्यसरी नै विद्यार्थीलाई शान्त र निष्क्रिय स्रोता बनाउँछ र आफू एकोहोरो प्रवाहमा शिक्षण गरिरहेको हुन्छ। हाम्रा विद्यालय र कलेजमा त्यही अनुसारको कक्षा व्यवस्थापन अहिलेसम्म विद्यमान छ। शिक्षक उभिने केही अग्लो ड्यास वा पोडियम र शिक्षकतर्फ फर्काएर अचल बनाई लहर लहरमा राखिएका डेस्क र बेञ्च पेडागोजी १.० अनुसारकै व्यवस्थापन हो।
हामीले सेमेस्टर प्रणाली सुरू गरेर पेडागोजी २.० को युगको सुरू त गर्यौं। तर चार प्रमुख कारणले हामीले यो नयाँ सिकाइ प्रणालीमा आफूलाई शिक्षकबाट सहजकर्ताको भूमिकामा रूपान्तरण गर्न सकेनौं।
पहिलो, पाठ्यक्रमलाई ज्ञानमुखीबाट सिकाइमुखी बनाउन सकेनौं। पाठ्यक्रम अझै पाठ्यपुस्तक र विषयवस्तुको सूचीमा आधारित रहेरै निर्माण भइरहेको छ।
दोस्रो, सहभागितामूलक र अन्तर्क्रियात्मक सिकाइका लागि स्रोतसाधन र कक्षा व्यवस्थापन बदल्न सकेनौं। चक र कालोपाटीको सट्टा मार्कर र ह्वाइट बोर्डको परिवर्तन भयो र कक्षामा केही प्रोजेक्टर त झुन्डिए। तर विधि र पद्धति शिक्षक–केन्द्रित नै रह्यो।
तेस्रो, पेडागोजी १.० मा दीक्षित शिक्षकले पेडागोजी २.० अनुसार विद्यार्थीले स्वअध्ययन, अन्तर्क्रिया, परियोजना र समस्या समाधान गर्ने विधिबाट सिक्न सक्छ भन्ने कुरामा विश्वास गरेनौं। विश्वास गरे पनि सहकर्मी हुन जानेनौं वा मानेनौं।
चौथो, लिखित परीक्षा मार्फत ज्ञानको जाँच गर्ने प्रणाली बदल्न सकेनौं र अहिले पनि बाहिर प्रहरीको घेरा राखेर विद्यार्थीलाई दुई–चार थान प्रश्नको उत्तर लेख्न लगाइरहेका छौं र सोही उत्तरकै आधारमा उसको ग्रेड र डिग्रीको निधो गरिरहेका छौं।
अबको बाटो
उद्यमशीलता, सीप र कार्यमा आधारित मोडुलर पाठ्यक्रम
अबको पाठ्यक्रम ज्ञानभन्दा काम र सीपमा आधारित हुनुपर्छ। हामीले मान्नैपर्छ अब शिक्षण अर्थात् ज्ञान प्रसारणको युग समाप्त भयो। तसर्थ अब शिक्षणभन्दा सिकाइमा केन्द्रित हुनुपर्छ। सिकाइ व्यक्तिगत हुन्छ। सबैको रूचि, विधि र गति फरक हुन्छ। त्यसैले पाठ्यक्रमले व्यक्तिगत रूपमा अनुकूलन गर्न सक्ने लचकता प्रदान गर्न सक्नुपर्छ।
पाठ्यक्रम मोडुलर ढाँचामा निर्माण गर्नुपर्छ। प्रत्येक मोड्युल आफैमा पूर्ण सिकाइको प्याकेज बन्नुपर्छ। एक मोड्युलबाट एक विशिष्ट सिकाइ हुनुपर्छ। अर्थात्, एक मोड्युल पढेर कुनै एक माइक्रो–क्रेडेन्सियल वा सानो सीप वा योग्यता हासिल हुन सक्छ। केही मोड्युल मात्रै सम्पन्न गरेर पनि निश्चित क्रेडिट र सो बमोजिमको सर्टिफिकेट हासिल गर्न सक्नुपर्छ।
अब 'पढाउने' पाठ्यक्रम होइन, कार्य र सीपमा आधारित पाठ्यक्रम निर्माण गर्नुपर्छ। पाठ वा 'कन्टेन्ट' कम गरिनुपर्छ। यसको सट्टा प्रत्येक एकाइ वा मोड्युलमा विद्यार्थीले सिक्नुपर्ने सीप, कार्य वा परफर्मेन्स सुनिश्चित गरिनुपर्छ।
एभरी नाइटिंगेलले हालै प्रकाशित पुस्तक 'द फ्युचर अफ एजुकेसनः ट्रेन्ड्स सेपिङ टुमरोज स्कुल्स' मा अबको पाठ्यक्रम अन्तरविषयक वा इन्टरडिसिप्लिनरी, व्यक्तिगत रूचि र आवश्यकता अनुसार अनुकूलन गर्न सकिने वा लचिलो, प्रविधि केन्द्रित र विश्वबजारले माग गरेको सीपमा आधारित बनाउनुपर्छ भनेकी छन्।
यसका साथै मानवीय मूल्य, सन्तुलित जीवनशैली र मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर अबको पाठयक्रमले संवेगात्मक बुद्धिमत्ता वा 'इमोसनल इन्टेलिजेन्स' लाई जोड दिनुपर्छ।
पाठ्यक्रमको कार्यान्वयन मार्फत विषयगत दक्षतासँगै एक्काइसौं शताब्दीका लागि आवश्यक आधारभूत सीप निर्माणमा जोड दिनुपर्छ।
युनेस्कोले भाषिक सम्प्रेषण, सहकार्य, समालोचनात्मक चिन्तन, समस्या समाधान क्षमता, सिर्जनशीलता र नवप्रवर्तन, डिजिटल सीप र सान्दर्भिक सामाजिक तथा संवेगात्मक व्यवहारलाई यो शताब्दीका आधारभूत सीप मानेको छ। यी सीपको विकासले व्यक्तिलाई व्यक्तिगत, सामाजिक र पेसागत जीवनमा सफल हुन सहयोग गर्छ।
उद्यमशीलता पाठ्यक्रमले विद्यार्थीहरूलाई निश्चित पेसाका लागि सीप सिक्न र सो बमोजिमको कार्य गरी वास्तविक समस्या समाधान गर्न र आम्दानी गर्न सिकाउँछ। यसले विद्यार्थीलाई रोजगारी खोज्दै भौंतारिन होइन, आफै व्यवसायी बन्न, आम्दानी गर्न र रोजगारी सिर्जना गर्न प्रेरित गर्छ।
यद्यपि यो काम र व्यवसायका लागि निपुण बनाउने मात्र होइन, अवसर पहिचान गर्ने, टिममा काम गर्ने र ज्ञानलाई व्यावहारिक तरिकाले प्रयोग गर्ने कुरामा सहजीकरण गर्न सक्षम बनाउने पाठ्यक्रम पनि हो। यस्तो पाठ्यक्रम मार्फत विद्यार्थीहरूले सञ्चार, नेतृत्व, निर्णय क्षमता र डिजिटल सीप जस्ता क्षमता पनि विकास गर्छन्।
यी सिपले उनीहरूलाई स्वतन्त्र परियोजनाका लागि तयार पार्छ। आफै नयाँ परियोजना बनाउने र अभ्यास गर्दै सिक्छन्। यस प्रकारको प्रत्यक्ष अभ्यासले सिकाइ स्थाइ र रोचक बनाउँछ।
उद्यमशीलता शिक्षाको मुख्य विधि इन्टर्नसिप हो। यस विधिमा वास्तविक कार्यस्थलमा प्रशिक्षक कर्मचारीका रूपमा विद्यार्थीले आफूले सिकेको सीपको अभ्यास गर्छन्। शिक्षाशास्त्रमा हामीले लागू गरेको शिक्षण अभ्यास कार्यक्रम यसको उदाहरण हो।
इन्टर्नसिप कार्यक्रम रोजगारी बजारका लागि विद्यार्थीलाई तयार पार्न अत्यन्तै महत्वपूर्ण छ। यसले उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील र भविष्यमा आउन सक्ने नयाँ रोजगारका लागि अनुकूल बनाउँछ। यसद्वारा अभ्यास र परियोजना मार्फत विद्यार्थीले सीप सिक्छन्, अनुभव बटुल्छन् र स्वतन्त्र रूपमा आम्दानी सुरू गर्न सक्छन्।
गरेर सिक्ने र सिर्जना गर्ने विधि
अबको शिक्षण–सिकाइ पेडागोजी २.० र ३.० को विधि मार्फत अबको सिकाइ विधि सहकार्य र सिर्जनामा केन्द्रित हुनुपर्छ। शिक्षकको भूमिका सहजकर्ताको रूपमा रहनुपर्छ। उसले सिकाइ क्रियाकलाप छनोट र सम्पन्न गर्न सहजीकरण गर्नुपर्छ।
शिक्षकले विद्यार्थीको सिक्ने समयलाई भाषणशैलीको शिक्षण गरेर बर्बाद गरिदिनु हुँदैन। कक्षाको पूरा समय विद्यार्थीको सिक्ने समय हो। तसर्थ कक्षाको ३० प्रतिशतभन्दा बढी समय लिनु हुँदैन।
बाँकी समय इभान्स र न्यूगोर्डले भनेझैं 'डाइलग' र 'कन्स्ट्रक्सन' को हो। अर्थात्, शिक्षकको सहजीकरण मार्फत विद्यार्थीलाई सहकार्य र सिर्जनामा केन्द्रित गर्नुपर्छ। एक्काइसौं शताब्दीको सिकाइ विधि नै 'सहकार्य र सिर्जना' हो।
पाठ्यक्रम प्रभावकारी कार्यान्वयनका लागि विद्यालयदेखि नै सिकाइ सम्झौता वा लर्निङ कन्ट्र्याक्टको अवधारण सुरू गर्नुपर्छ। लर्निङ कन्ट्र्याक्ट शिक्षक र विद्यालयबीचको एउटा सरल लिखित सम्झौता हो जसमा शिक्षकले विद्यार्थीलाई सिकाउने ज्ञान र सीपमा समयसीमा तोकर परस्पर सहमति कायम गरिएको हुन्छ। यो शिक्षकलाई सिकाइमा जिम्मेवार र जबाफदेही बनाउने विधि हो।
जस्तै अहिले कक्षा १–३ का लागि २५० पेजभन्दा लामो पाठ्यक्रम छ, पाठ्यपुस्तक छ, शिक्षक निर्देशिका छ।
विद्यार्थी मूल्यांकन लगायत अन्य सामग्री कति छन् कति! तर तीन कक्षा उत्तीर्ण बहुसंख्यक विद्यार्थीले राम्रोसँग अक्षर चिह्न, सामान्य लेखपढ र जोडघटाउ गर्न सकेको छैनन्।
प्रधानाध्यापकले विद्यार्थीलाई तीन वर्षभित्र अक्षर चिह्न, सामान्य लेखपढ र जोडघटाउ गर्ने कार्यमा सक्षम गराउनैपर्ने न्यूनतम सर्त राखेर शिक्षकसँग लिखित सम्झौता गरे के होला?
यसो गरे शिक्षकले ३ वर्षमा ८–१० वटा आधारभूत कार्यमा विद्यार्थीलाई अवश्य पनि सक्षम बनाउनेछ। लर्निङ कन्ट्र्याक्टको यो अवधारणा बिस्तारै उच्चशिक्षामा समेत लागू गर्न सकिन्छ।
मापदण्डमा आधारित सहभागितामूलक मूल्यांकन र स्वःमूल्यांकन
अबको सिकाइले निश्चित कार्यमा सीप विकास र त्यसमा निपुणता प्रदान गर्न आवश्यक भएकाले लिखित परीक्षई कम गर्दै कार्यनिपुणता वा 'पर्फर्मेन्स' मा आधारित मूल्यांकन विधिमा जोड दिनुपर्छ। यसका लागि सिकाइका मापदण्ड के हुन् स्पस्ट हुनुपर्छ। सो बमोजिम कति सिकाइ हुँदा कुन स्तर वा ग्रेड प्राप्त हुने भनी स्पस्ट परीक्षण वा मापनका स्पस्ट आधार वा 'रूब्रिक' निर्धारण गर्नुपर्छ।
यसरी अपेक्षित सिकाइको स्तर र विद्यार्थीले प्रदर्शन गरेको सिकाइको स्तरको तुलना गरी मूल्यांकन गरिनुपर्छ। यस्तो मूल्यांकनलाई मापदण्ड र रूब्रिकमा आधारित गरेर शिक्षक र विद्यार्थीको सहकार्यमा गर्न सकिन्छ।
सिकाइको मापदण्ड र मापनका आधार हेरेर विद्यार्थीहरू आफैले आफ्नो सिकाइको स्तर थाहा पाउन सक्छन्। अबको युगमा आफ्नो सिकाइको स्तर आफै थाहा पाउने र आफूले गरेको सिकाइ अनुसारको ग्रेड दाबी गर्ने हो। दाबी गरे अनुसारको ग्रेडका लागि सिकाइका कार्य, पोर्टफोलियो वा प्रमाण विद्यार्थीले देखाउन सक्छन्।
विद्यार्थीले आफ्नो मूल्यांकन आफै गर्नु भनेको ब्लडप्रेसर मेसिन प्रयोग गर्न सिकेर आफ्नो ब्लडप्रेसर आफै मापन गर्नु जस्तै हो। विद्यार्थीको सिकाइ मूल्यांकन शिक्षकले गरेको मात्र प्रमाणिक हुन्छ भन्ने बुझाइ छ। तर अबको युगमा विद्यार्थीलाई आफ्नो सिकाइप्रति उत्तरदायी बनाएर स्वःमूल्यांकन गर्न सक्षम बनाउनुपर्छ।
यसरी प्रविधि र सीपसँग जोडिएको विद्यार्थीको बदँलिदो आवश्यकता र चाहना सम्बोधन गर्न उच्च शिक्षाका संस्थाहरूले नयाँ शिक्षा प्रणाली अवलम्बन गर्न अनिवार्य छ। विश्वविद्यालयले सैद्धान्तिक पाठ्यक्रम परिमार्जन वा प्रतिस्थापन गरी बजार–केन्द्रित, आवश्यकतामा र सीपमा आधारित शैक्षिक कार्यक्रम लागू गर्नुपर्छ।
यस्तो पाठ्यक्रमले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानको भारी बोकाउनुको सट्टा उनीहरूलाई आत्मनिर्भर, सिर्जनशील र आर्थिक रूपमा उत्पादनशील बनाउने वातावरण सिर्जना गर्छ। यस्तो प्रणालीले शिक्षाको सान्दर्भिकता मात्र बढाउँदैन, बरू नवप्रवर्तन, उद्यमशीलता र व्यावहारिक दक्षताको सिकाइमा प्रेरित गर्ने स्थायी संस्कृति विकास गर्छ।
यसले शैक्षिक ज्ञान र बजारको मागबीचको खाडल कम गर्दै विद्यार्थीहरूलाई आफ्नै सीप, सिर्जनशीलता र उद्यमशीलता प्रयोग गरेर देशभित्रै अवसर सिर्जना गर्न सक्षम बनाउँछ।
यसरी उच्च शिक्षाका निकाय केवल ज्ञान प्राप्तिको स्थान मात्र नभई राष्ट्रिय विकास र ज्ञानमा आधारित अर्थतन्त्रको सहयोगी संस्था बन्न सक्छन्।
समग्रमा, नीति–निर्माताहरूका लागि स्पष्ट सन्देश छ— विद्यार्थी–केन्द्रित, कार्य र सीपमा आधारित र विश्वबजारको आवश्यकता अनुकूल पाठ्यक्रममा लगानी गर्नु दीर्घकालीन रूपमा देशको आर्थिक स्वतन्त्रता, रोजगार सिर्जना र नवप्रवर्तनलाई बलियो बनाउने सबभन्दा प्रभावकारी रणनीति हो।
(लेखक डा. पेशल खनाल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्राध्यापक हुन्।)