भिटामिन बी–१२ पनि अरू भिटामिनजस्तै हो। यसको कमी भयो भने नसाहरूमा समस्या हुन्छ। रगत नबढ्ने हुन सक्छ।
मधुमेह, नसाको समस्या, ग्यास्ट्रिकको जथाभावी औषधी खाने र उमेर धेरै भएकाहरूलाई यसको कमी हुन्छ।
भिटामिन बी–१२ जनावर र जनावरजन्य उत्पादनबाट पाइन्छ; जस्तो माछा, मासु, दूध र अण्डा। साग, हरियो तरकारी मात्र खानेलाई भिटामिन बी–१२ कमी हुने सम्भावना धेरै हुन्छ।
भिटामिन बी–१२ को कमीका लक्षणहरूः
– नसा पोल्ने।
– झमझम गर्ने।
– जिउ तातो हुने।
– शरीर कमजोर हुने, अप्ठ्यारो हुने।
– रगतको कमी हुने।
थकाइ लाग्ने, अल्छी लाग्ने लक्षण पनि देखिन्छन्। तर यो समस्या थाइरोइड, भिटामिन डीको कमी वा अरू कारणले पनि हुन सक्छ।
भिटामिन बी–१२ को कमी भएको वा नभएको थाहा पाउन रगत परीक्षण गर्नुपर्छ।
तर यसको परीक्षण जथाभावी र जसले पनि गराउने होइन। नसा, मधुमेहको समस्या भएकाहरू, शाकाहारी पाका उमेरकाहरू, खाना नरूच्ने र ग्यास्ट्रिक समस्या भएकाहरूले गर्नुपर्छ।
गर्भवती र बच्चाको पनि भिटामिन बी–१२ बारे अलि चासो दिनुपर्छ।
भिटामिन बी–१२ कमी औषधि खाएर ठीक हुन्छ। तर त्यसपछि वर्षौं परीक्षण नगरी बस्न हुँदैन। फेरिफेरि परीणक्ष गर्नुपर्छ।
अर्को कुरा, माछा, मासु, अण्डामा भिटामिन बी–१२ पाइन्छ भन्दैमा जथाभाबी खान हुँदैन। मात्रा मिलाएर, तेल कम राखेर खानुपर्छ।
(मधुमेह रोग विशेषज्ञ डा. डिना श्रेष्ठ नर्भिक अस्पताल, थापाथली र सिद्धी पोलिक्लिनिकमा कार्यरत छिन्।)