उनीहरूको भेट 'ब्लाइन्ड डेट' मा भएको थियो। अपरिचित दुई जनाले प्रेम सम्बन्ध 'खोज्न' गरिने यो भेटघाटमै उनीहरूको मन साटियो।
त्यो भेटको नौ महिनापछि उनीहरूले बिहे नै गरे।
यो ४४ वर्षअघिको कुरा हो। त्यसपछिका चार दशकभन्दा बढी समय क्रिस र ट्रिस वाकर दम्पती कहिल्यै एकअर्कासँग अलग भएनन्। दुवैले एकअर्काको हात थामेर जीवनको बाटो सँगै हिँडे।
तर उनीहरूको यो यात्रामा एक्कासि यस्तो मोड आयो, उनीहरूका हात छुटे।
यो मोड कोरोना महामारी हो।
बितेका आठ महिनादेखि ट्रिसलाई उनका श्रीमानबाट टाढा राखिएको छ। उनीहरू एकअर्कालाई चाहेका बेला देख्न पाउँदैनन्। भेटेर गफ गर्न पाउँदैनन्। भेटे पनि एकअर्कालाई छुन अनुमति नै छैन।
श्रीमान क्रिसलाई आठ महिनाअघि कोरोना लागेको थियो। उनी अहिले निको भइसकेका छन्। तर पनि यी ८ महिनाभर ट्रिस र क्रिसको भौतिक दुरी कायमै छ। उनीहरूले एक घन्टा हाराहारी समय मात्र एकअर्कासँग कुरा गर्न पाउँछन्, त्यो पनि विरलै।
क्रिस ७४ वर्षका छन्। उनी हाल लन्डनस्थित केयर होमको संरक्षणमा छन्। केयर होमले नै उनलाई आफ्नी श्रीमतीका साथ बात मार्दै घन्टौं बिताउन बन्देज लगाएको हो।
क्रिसलाई कोरोना भएपछि अस्पताल लगिएको थियो। त्यहाँ केही समय बिताएपछि सोझै केयर होम पुर्याइएको हो। त्यहाँको बसाइ तत्कालको अवस्था अनुसार केही समयका लागि मात्र हो भनिएको छ। तर पत्नी ट्रिसलाई अब श्रीमानबाट सदाका निम्ति अलग हुनुपर्ला भन्ने पीडाले सताउन थालिसकेको छ।
‘आफू उभिएको गलैंचा कसैले तानिदिएपछि लड्यालड्यै भएजस्तो लागिरहेको छ,’ ट्रिस भन्छिन्, ‘हाम्रो जीवनका तमाम कुराहरू अहिले पनि त्यही घरभित्र थुनिएको छ। केबल मेरा पति मात्र छैनन्।’
यो जटिल परिस्थितिमा आफू धकेलिएपछि चुप लागेर बस्न नसकेको उनी बताउँछिन्।
‘कसैलाई विधुवाजस्तो बनाइएको छ। पारपाचुके गरेजस्तो बनाइएको छ। यी दुवै कुरा नभए पनि मलाई यिनै परिस्थितिका बीचमा कतै च्यापिदिएजस्तो भएको छ,' उनी आफ्नो उकुसमुकुस सुनाउँछिन्, 'मानिसलाई ऊ केही होइनजस्तो बनाइयो। परिस्थिति यस्तो भएको छ, मानौं कुनै हिसाबले पनि अब हामी दम्पती होइनौं। तर, हामी त अझै विवाहितै छौं नि!’
ट्रिस आफ्ना पतिसँगको दुरीले आत्तिइसकेकी छन्।
सन् १९७५ मा क्रिसलाई भेट्ने बेला ट्रिसले बेलफास्ट सहरमा भर्खर फ्रान्सेली भाषा अध्यापन थालेकी थिइन्। त्यो बेला क्रिस उत्तरी आयरल्यान्डमा कार्यरत पत्रकार थिए।
‘हामी दुई अपरिचितको पहिलो भेट युरोपा होटलमा भएको थियो,’ उनी भन्छिन्, ‘क्रिस मलाई असाध्यै रमाइलो मानिस लागे। खुब हाँसोठट्टा गर्नुपर्ने। हाम्रा थुप्रै रोचक प्रसंग छन्, मन छुने कथाहरू छन्।’
अक्सफोर्डमा आयोजित एउटा सानो जमघटमा उनीहरूले बिहे गरे। एउटा बोटहाउसमा रमाइला क्षणहरू बिताए। अखबार तथा प्रसारण माध्यमहरूका लागि पत्रकारिता गर्ने क्रममा क्रिस जेरूसेलम, मस्को र त्यसपछि बेरुतजस्ता ठाउँमा विदेशी संवाददाताका रूपमा जाँदा ट्रिस पनि सँगै गइन्। त्यसरी गएका ठाउँकै विद्यालयमा उनी फ्रेन्च भाषा प्रशिक्षकका रूपमा काम गर्थिन्।
उनीहरूको जीवन यसैगरी चल्दै थियो। घुमफिर, कामधाम र प्रेमील समय।
तर सन् २०१७, मेमा उनीहरूको यात्रामा ब्रेक लाग्यो। क्रिसको मस्तिष्कमा आएको समस्याका कारण उनको शरीरका अंग चल्न छाडे। गतिविधिमा समस्या देखिन थाल्यो, हिँडडुलमा समस्या भयो। उनी मउडस्ले अस्पतालमा भर्ना भए।
उनको रोग पत्ता लगाउनै चिकित्सकहरूलाई दुई वर्ष लाग्यो। कोरोना महामारीले प्रकोप मच्चाउनुभन्दा केही समयअघि मात्र क्रिसलाई घर पठाउने निधो भएको थियो।
अस्पताल बसुन्जेल ट्रिस श्रीमानलाई भेट्न नियमित गइरहन्थिन्। गत मार्च १८ मा पनि उनी अस्पताल पुगेकी थिइन्।
‘म छेउमा बसेर उनलाई स्पेक्टेटर अखबारमा छापिएका रमाइला लेख पढ्दै सुनाउँथे,’ उनी भन्छिन्, ‘हामी गफिन्थ्यौं पनि।’
क्रिसलाई मार्च २३ देखि बिसञ्चो भयो। उनलाई कोरोना लाग्यो। अरू समस्या खास नभए पनि केही दिनसम्म उच्च ज्वरो आएको थियो।
यस अवधिमा क्रिस र ट्रिसले फोनबाटै कुरा गरेर चित्त बुझाउने प्रयास गरे। तर क्रिसका औंलाहरूले फोन पनि च्याप्प समात्न नसक्ने भएपछि यो सम्भव भएन।
अस्पतालबाट निक्लेपछि क्रिस केयर होम पुगे। तर त्यहाँ पनि उनीहरूको भेटघाट सोचेजस्तो भएन।
‘अस्पतालबाट पठाइने यस्ता केयर होमहरूले आफन्तलाई भेटघाटको अवसर क्रमशः जुराउँदै लैजान थालेको सुनिन्छ,’ ट्रिस भन्छिन्, ‘तर, यसले चाहिँ खै किन हो त्यो सुविधा दिइरहेको छैन।’
उनका अनुसार यो केयर होमले ठाडै ‘नो’ भनिरहेको छ।
‘यस्ता केयर होमलाई अनुगमन गर्ने केयर क्वालिटी कमिसनलाई पनि मैले फोन गरेँ,’ उनी भन्छिन्, ‘कमिसनले पनि यस्ता नियम बनाउने काम केबल पब्लिक हेल्थ इंग्ल्याण्डले मात्र गर्ने हो भनिरहेको छ।’
गर्मी यामताकै उनलाई तीन पटक छोटो भेटको मौका भने दिइएको थियो। तर, सेप्टेम्बर महिनायता उक्त केयर होमले सबै भेटघाट बन्द गरिदिएको छ। जबकी बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले यी केयर होमलाई आफन्तसँग भेटघाट गर्न दिनू भनिसकेका छन्।
‘यो त बिरामीलाई भन्दा पनि कैदीलाई थुनेर राखेजस्तो भइरहेको छ,’ ट्रिस भन्छिन्, ‘यस्तो बिडम्बनापूर्ण अवस्थाको कुनै निकास पनि भेटिरहेका छैनौं।’
(द गार्डियनका लागि जेम्स ट्यापरले लेखेको स्टोरीको भावानुवाद)