नेपालले खगोल विज्ञानसम्बन्धी १४ औं अन्तर्राष्ट्रिय ओलम्पियाडमा अनरेबल मेन्सन पुरस्कार पाएको छ।
कात्तिक २८ गतेदेखि मंसिर ५ गते आइतबारसम्म कोलम्बियाको बोगाटामा भएको ओलम्पियाडमा सहभागीमध्ये नेपालका एक प्रतिनिधि विद्यार्थीले पुरस्कार पाएका हुन्।
बुटवल उपमहानगरपालिका-१० स्थित कालिका मानविज्ञान माध्यामिक विद्यालयका युवराज भण्डारीले अनरेबल मेन्सन पाएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार यस ओलम्पियाडमा ४७ देशबाट २९८ जना विद्यार्थी सहभागी थिए। प्रतियोगितामा १८ वटा अनरेबल मेन्सन पुरस्कार दिने गरिएको छ। त्यसमध्ये भण्डारीले पनि पाएका हुन्।
नेपालको तर्फबाट कार्यक्रममा सहभागी हुन ५-५ जनाको दुइटा टोली बनेको थियो।
यसमा सहभागी भएका विद्यार्थीहरू नेपालका विभिन्न प्रदेशका छन्। उनीहरूलाई आठौं राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२१ बाट छानिएको अध्यक्ष भट्टराईले बताए।
यस दुई टोलीको नेतृत्व अध्यक्ष भट्टराई र मनिषा द्वाले गरेका थिए।
नेपालले यस अन्तर्राष्ट्रिय ओलम्पियाडमा सन् २०१४ देखि भाग लिन थालेको हो। यसअघि सन् २०१६ मा नेपालले अनरेबल मेन्सन पुरस्कार पाइसकेको सोसाइटीले जनाएको छ।
