पाकिस्तानमा पाल्तु सिंहले खोरबाट उम्किएर मानिसहरूमाथि आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडिओमा मानिसहरू हिडिरहेको बेला एउटा सिंह नजिकैको घरको पर्खाल नाघेर सडकमा आएको देखिन्छ। लगत्तै उसले एकजना महिलामाथि आक्रमण गर्यो।
सिंहका मालिक घरबाट निस्किएर त्यहाँ पुग्दा सिंह त्यहाँबाट पनि भागेर केही पर बालबालिकामाथि झम्टिरहेको भिडिओमा देखिन्छ।
सामाजिक सञ्जालमा उक्त भिडिओ सार्वजनिक भएपछि प्रहरीले सिंहका मालिकलाई पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार घटना लाहोरको एउटा आवासीय क्षेत्रको हो।
घटना बुधबारको हो।
सिंहको हेरचाहका लागि बसेका व्यक्ति फार्महाउसभित्रै रहेकै बेला सिंह खोरबाट उम्किएर सडकमा गएको थियो।
लाहोर प्रहरी अधिकारी फैजल कमरानका अनुसार सिंहको आक्रमणमा एक जना महिला र उनकी पाँच र सात वर्षका दुई बालबालिका परेका छन्। उनीहरुको हात र अनुहारमा चोट रहेको प्रहरीले जनाएको छ।
मानिसहरूलाई आक्रमण गरेपछि सिंह फेरि फार्महाउसमा फर्किएको एपीको समाचारमा उल्लेख छ।
स्थानीयवासी त्रसित भएपछि अहिले उक्त सिंहलाई वन्यजन्तु पार्कमा सारिएको छ।
पाकिस्तानमा धनाढ्यहरूले आफ्नो प्रतिष्ठाका लागि सिंहजस्ता दुर्लभ बन्यजन्तु पाल्छन्।
त्यसको अनुमतिका लागि उनीहरूले सरकारलाई ठूलो शुल्क तिर्छन्।