इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग झगडा गरेर नयाँ पार्टी खोलेपछि टेस्लाको सेयर भाउमा भारी गिरावट आएको छ।
सोमबार बजार खुल्नुअघि नै टेस्लाको सेयर भाउ लगभग सात प्रतिशतले घटेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
ट्रम्पको कर र खर्च विधेयक संसदबाट पारित भएपछि टेस्लाका मालिक मस्कले शनिबार अमेरिका पार्टी नाम गरेको नयाँ दलको घोषणा गरेका थिए। सो दलले २०२६ हुने निर्वाचनमा केही मुख्य प्रतिनिधि सभा र सिनेट सिटहरूमा उम्मेदवारी दिने उनले संकेत गरेका छन्।
ट्रम्पको विधेयकले टेस्लालाई दिँदै आएको सरकारी अनुदान कटौती गरेको छ। मस्कले ट्रम्पसँग झगडा गरेका कारण सरकारले टेस्लालाई नोक्सान पार्ने खालका थप नीति ल्याउने खतरा पनि छ। त्यस्तै मस्क साँच्चै नै राजनीतिमा लागेमा टेस्ला लगायत उनका अरू कम्पनीलाई उनले पर्याप्त समय दिन पाउने छैनन्।
त्यसैले उनले नयाँ पार्टीको घोषणा गरेपछि यसरी टेस्लाको सेयर भाउमा भारी गिरावट आएको मानिन्छ।
जुनको सुरूमा पहिलो पटक सार्वजनिक रूपमा ट्रम्पको खर्च विधेयकको आलोचना गरेयता टेस्लाको सेयर करिब १४ प्रतिशतले घटेको छ।
गत महिना ट्रम्पसँग सम्बन्ध तोडेदेखि मस्कको व्यक्तिगत रूपमा लगभग २० अर्ब डलर गुमेको छ। उनका कम्पनीका लगानीकर्ताहरूले भने एक खर्ब डलरभन्दा बढी गुमाएका छन्।
विगत केही हप्तामा टेस्लाको बिक्री र आम्दानी दुवै घटिरहेको छ।
यो वर्षको दोस्रो त्रैमासिकमा टेस्लाको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १४ प्रतिशतले घटेको भनेर सो कम्पनीले गत हप्ता खुलासा गरेको थियो।
आउँदो आइतबार मस्कले ट्रम्पलाई समर्थन गरेको एक वर्ष पुग्दैछ।
हालैको तीव्र गिरावटका बाबजुद पनि टेस्लाको सेयर त्यसयता २० प्रतिशतभन्दा धेरैले बढेको एक्सियसले जनाएको छ।
मस्कले ट्रम्पको कर र खर्च विधेयकलाई घृणित र घिनलाग्दो भनेर जुन महिनामा झगडाको सुरूआत गरेका थिए।
ट्रम्पले ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल) भन्दै आएको सो विधेयक त्यतिबेला प्रतिनिधि सभाबाट एक भोटले मात्रै पारित भएको थियो।
मस्कले लगत्तै विधेयक कि त ठूलो हुनसक्ने कि त सुन्दर, तर ठूलो र सुन्दर दुवै हुन नसक्ने भनेर संक्षिप्त प्रतिक्रिया दिएका थिए। त्यसपछि सो विधेयकलाई घृणित र घिनलाग्दो भनेका थिए।
मस्क त्यतिमै रोकिएनन्। उनले ट्रम्पबारे व्यक्तिगत आक्षेप पनि लगाएका थिए। शक्तिशाली र धनाढ्यलाई बालिकाहरू वेश्याका रूपमा मिलाउने जेफ्री एपस्टिन बारेको अनुसन्धान फाइल आफू पनि सो काण्डमा मुछिने भएकाले ट्रम्पले सार्वजनिक नगरेको आरोप लगाएका थिए।
जेलमा रहेका एपस्टिनले ट्रम्पको पहिलो कार्यकालमा २०१९ मा जेलभित्रै आत्महत्या गरेका थिए। ट्रम्पले मस्कका कम्पनीलाई दिइरहेको अनुदान कटौती गर्ने भनेपछि मस्कले ट्रम्पलाई महाभियोग लगाउनुपर्ने समेत बताएका थिए।
उनले ट्रम्पलाई आफैले राष्ट्रपति बनाएकोसमेत दाबी गरेका थिए।
राष्ट्रपतिसँगको झगडाले आफ्नो व्यवसायमा नोक्सानी हुने भएपछि मस्कले ती पोस्टहरूबारे पछुतो भएको भनेर घुमाउरो पाराले माफी मागेका थिए।
तर करिब चार साताअघिको सुलह जुनको अन्त्यतिर भंग भयो। सोही खर्च विधेयक सिनेटबाट पारित गर्ने बेलामा मस्कले फेरि सो झगडा ब्युँताएका थिए। सो विधेयक पारित भए नयाँ पार्टी खोल्ने मस्कले धम्की दिएका थिए।
मस्कले सो विधेयकको विरोध गरेपछि ट्रम्पले पनि उनका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने धम्की दिएका थिए।
‘इलनले इतिहासमा कुनै पनि मानिसभन्दा धेरै अनुदान पाइरहेका हुनसक्छन्। र अनुदान बिना इलनले सायद दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्नेछ। अब कुनै रकेट प्रक्षेपण, उपग्रह, वा विद्दुतीय कार उत्पादन हुने छैन। र हाम्रो देशले ठूलो रकम बचत गर्नेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए।
सो विधेयक सिनेटबाट अनि फेरि प्रतिनिधि सभाबाट पारित भएपछि मस्कले धम्की अनुसार शनिबार नयाँ पार्टीको घोषणा गरेका थिए।
ट्रम्पलाई राष्ट्रपतीय निर्वाचन जिताउन मस्कले २५ करोड डलरभन्दा धेरै खर्च गरेका थिए। त्यसैले चुनाव जितेपछि ट्रम्पले मस्कलाई सरकारी सेवा प्रभावकारी बनाउन खोलेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) को प्रमुख बनाएका थिए।
ट्रम्पसँगको निकटताका कारण मस्कलाई धेरै नोक्सानी भएपछि भर्खरै उनले डोज छोडेका हुन्। यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशत घटेको अप्रिलमा सार्वजनिक भएको थियो। त्यसको केही घण्टापछि मस्कले अब भने आफ्नो ध्यान टेस्लामा बढी केन्द्रित हुने घोषणा गरेका थिए।
अघिल्लो वर्ष पहिलो त्रैमासमा टेस्लाको नाफा १ अर्ब ४० करोड डलर थियो। यो वर्ष पहिलो त्रैमासमा ४० करोड ९० लाख डलर मात्रै कमाएको छ। यसरी बिक्रीमा भारी गिरावट आएकाले कम्पनी सम्हालेर स्थिति सुधार्न र लगानीकर्तालाई विश्वास दिलाउन मस्कले सो घोषणा गरेको मानिन्छ।
गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर र मस्कको व्यक्तिगत सम्पत्ति दुवै ह्वात्तै बढेको थियो। ट्रम्पसँगको निकटताका कारण स्वचालित कार बनाउने क्रममा रहेका नियामकीय बाधा कम हुनेलगायत अरू फाइदाका कारण टेस्लाको व्यापार झन् बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस्तो भएन।
ट्रम्पले कार्यभार सम्हालेपछि मस्कले अमेरिकाको संघीय सरकारको शासकीय संरचनामा धावा बोलेका छन्। त्यस्तै, युरोपेली देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै ट्रम्पजस्तै उग्र दक्षिणपन्थी विचारधारा भएका पार्टीलाई समर्थन गरेका छन्।
त्यसैकारण ट्रम्पको विजयपछि मस्क र टेस्लालाई प्राप्त सबै लाभ गुमेको छ। टेस्ला कम्पनीले आधिकारिक रूपमै राजनीतिक कारणले आर्थिक नोक्सानी भएको स्वीकार समेत गरेको थियो।
टेस्ला कम्पनीलाई नोक्सान भएको बेला ट्रम्पले अरू कम्पनीलाई पनि हानि पुर्याउन सक्ने भएकाले मस्कले आफ्नो व्यवहारका लागि पछुतो लागेको भनेर सम्बन्ध सुधार गर्न खोजेका थिए। तर खर्च विधेयक सिनेटबाट पास हुने बेलामा उनले फेरि ट्रम्पसँग झगडा गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)