दाङमा चितुवाको* छालासहित दुई जना पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरूवाका ३१ वर्षीया महेन्द्र खड्का र राजपुर गाउँपालिका वडा नं. ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी घोराहीबाट पक्राउ परेका हुन्।
गोप्य सुचनाको आधारमा प्रहरीले आइतबार राति ९ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको उनीहरू सवार रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँचका क्रममा पछाडि बसेका खड्काले समातेको झोला तलासी गर्ने क्रममा चितुवाको एक थान छाला बरामद भएको डिएसपी रिजालले बताए।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
*सच्याइएको