राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो।
राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामाजिक सञ्जालमा उब्जिएको भए पनि विभागले सम्बन्धित पक्षसँग छलफल गरी जनगणना कार्यलाई अगाडि बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए।
महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए। जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए।
‘सबैको लेखाजोखा गर्दा पहिलेको प्रोजेक्सन गरिएको जनगणनाको ३ करोडको हाराहारीको जनसंख्या हो। त्यसको लगभग आसपासमा हामी पुगौंला नभए २ करोड ८० लाखसम्म पुग्छ कि भन्ने अहिलेको प्रारम्भिक अनुमान मात्र हो’, उनले भने, ‘यसको इन्ट्री भइसकेपछि त थाहा हुन्छ, यद्यपि जनगणना सम्पन्न भएको मंसिर मसान्तसम्ममा सबै जिल्ला जनगणना कार्यालयबाट केन्द्रमा आउँछ। केन्द्रमा आइसकेपछि हामीले तथ्यांक इन्ट्री गर्ने काम गर्छौ। डाटा इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने अनुमान गरेका छौं। डाटा इन्ट्रि सकिएपश्चात त्यसको रिपोर्ट निकाल्ने क्रम जारी गर्छौ।’
एक वर्षपछि जनगणनाको रिपोर्ट निकाल्न सुरू गर्ने र दुई वर्ष भित्रमा जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाई छ। जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताए।
‘आजको एक वर्षपछि मात्र नेशनल रिपोर्टदेखि डिटेल्स् रिपोर्टहरु निकाल्ने क्रम जारी हुँदै जान्छ। यो सँगसँगै अबको दुई वर्षमा हाम्रो सेन्ससको इक्टीभिटिज सबै कम्प्लिट हुन्छ । नेपालको जनसंख्याको प्रारम्भिक नतिजा आजको मितिले तीन महिनाभित्र दिन सक्छौं,’ उनले भने।
महानिर्देशक श्रेष्ठले केही गणकले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरिवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको उनले स्पष्ट पारे। दुर्गम र पुग्न कठिन ठाउँमा पनि गडकले जनगणना गरेको उनले बताए। गणकहरु तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उनले उल्लेख गरे।
‘मुख्य गणनाको सन्दर्भमा पास उपलब्ध भएको अवस्था रहेन । नरहेपछि हाम्रा साथीहरु मान्छे हिड्ने बाटो नै होइन, जंगल नै जंगलको बाटोमा तीन दिन लगाएर रुखका हाँगाहरु समातेर माथिसम्म पुग्नुभयो । तिङ्कर र छारुङमा पनि सम्पन्न गर्नुभयो । बाटोबाट आफै फर्किन सक्ने अवस्था थिएन। हिजो उहाँहरुलाई हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याउने काम सम्पन्न गर्यौं,’ महानिर्देशक श्रेष्ठले भने।
केन्द्रीय तथ्यांक विभागले देशभरका सम्पूर्ण भु–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ। केही विवादित क्षेत्रहरुमा भने कुटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ।