मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघलसहितका सञ्चालकहरूले सोही उद्योगका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि निर्घात कुटपिट गरेका छन्।
तर, सिंघलसहितका सञ्चालकहरूले बुधबार साँझ नेपाललाई निर्घात कुटपिट गरेको घटना २४ घण्टा बित्न नपाउँदै लेनदेनमा घटना मिलाइएको छ।
कुटपिटको घटना मिलाउन नेपाली प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीले अग्रसरता लिएका थिए।
कर्मचारी कुटेको आरोप लागेका सिंघल बुधबार राति पक्राउ परेका थिए। उनी पक्राउ परेलगत्तै राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले ९ बजे राति सिंघललाई छोडिदिएको थियो।
बिहीबार बिहान घाइते भएका नेपाललाई उपचार खर्चसहित लाखौं रूपैयाँ दिने सहमति भएपछि कुटपिट गर्नेविरूद्ध कारबाहीको प्रक्रिया अगाडि नबढाई विवाद सहमतिमा टुंग्याइएको थियो।
घाइते भएका नेपाल नेपाली कांग्रेस विराटनगर महानगरपालिकाका सह-सचिव हुन्। उनलाई मन्त्री कार्कीले नै आरती स्ट्रिप्समा जागिर लगाइदिएका थिए। नेपाललाई पचास लाख रुपैयाँ दिने सर्तमा सहमति गराइएको दाबी गरिएको छ।
अहिले दुबै पक्ष उजुरबाजुर नगर्ने भन्दै मेलमिलापमा लागेको छलफलमा सहभागी कांग्रेसका एक नेताले बताए।
‘पीडित र पीडकबीच मुद्दा मामिला नगर्ने सहमति भएपछि प्रहरीमा जाहेरी नदिने निचोडमा पुगियो,’ छलफलमा सहभागी ती नेताले भने, ‘दुबै पक्षबीच सहमति गरेको पत्र मोरङ प्रहरी कार्यालयमा बिहीबार ११ बजे बुझाइएको छ।’
तर सहमति गर्ने र गराउने दुबै पक्षले भने यसबारे प्रतिक्रिया दिएका छैनन्।
घाइते भएका नेपालले पनि सिंघलविरूद्ध बिहीबार कार्यालय खुल्ने समयसम्ममा जिल्ला प्रहरी कार्यालयमा जाहेरी नदिएको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए। घटनामा पीडितले उजुरी नगरेपछि प्रक्रिया अगाडि नबढाएको उनले बताए।
आक्रमणबाट नेपालको टाउकोमा गम्भीर चोट लागेको थियो। सिंघलसहितको टोलीले पेस्तोल देखाएर कुटपिट गरेको पीडित नेपालले बताएका थिए।
सिंघलले ‘मारिदे कति पैसा लाग्छ म तिर्छु’ भन्दै आरती स्ट्रिप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्तालाई पेस्तोल दिएको नेपालले बताएका थिए।
गुप्ताले पेस्तोल देखाएपछि सिंघल र निर्देशक एसपी बर्मासहितको टोलीले आक्रमण गरेको नेपालले बताएका थिए।
गोली हान्न खोज्दा आफूले ज्यान जोगाएको उनले सञ्चारकर्मीलाई उपचारको क्रममा कोसी अस्पतालमा बताएका थिए।
‘मार्दे जति पैसा लाग्छ म खर्च गर्छु भन्दै सञ्जय सिंघलले पेस्तोल विशाल गुप्तालाई दिए,’ नेपालले पत्रकारसँग भनेका थिए, ‘पेस्तोल देखाएपछि मैले पनि प्रतिकार गरें।’
आरती स्ट्रिप्स भारतीय लगानीको उद्योग हो। उद्योगले जस्तापाता र पाइप उत्पादन गर्दै आएको छ।
केही समयअघिदेखि नै नेपाल र सञ्चालकबीच विवाद हुँदै आएको थियो। सञ्चालकले नेपाललाई निकाल्न खोजेको तर उनले ठूलो रकम माग गर्दा अहिलेको घटना भएको दाबी गरिएको छ।
नेपालले उद्योग सञ्चालकसँग कति रकम माग गरेका थिए यकिन भएको छैन। सिंघलले यसअघि पनि इन्द्रजित गर्ग, सञ्जीव शर्मा र नागेन्द्र सिंहलगायत कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ।