बच्चाहरू घरमा बस्दा सीमित मान्छेको सम्पर्कमा हुन्छन्। स्कुल पठाएपछि अन्य धेरै बालबालिकाको सम्पर्कमा पुग्छन्।
स्कुलमा बालबालिकाको समूह हुन्छ। त्यो समूहमा रहेका कोही बच्चालाई मौसमी रूघाखोकी लागेको, ज्वरो आएको छ भने अन्यलाई पनि संक्रमण हुन्छ। त्यसैले स्कुल पठाएपछि बालबालिका अन्य समयभन्दा अलिक चाँडो बिरामी हुन्छन्।
यसो हुनुको अर्को कारण पनि छ, आजकाल बालबालिकालाई स्कुल पठाउने उमेर अलिक घटेको छ। विभिन्न कारणले साढे दुईदेखि तीन वर्ष उमेरमै स्कुल पठाउनुपर्ने बाध्यता देखिएको छ।
यो उमेरमा स्कुल पठाउँदा शरीरमा रोगप्रतिरोध शक्ति जुन स्तरमा विकास हुनपर्ने हो, त्यो भइसकेको हुँदैन। यसो हुँदा सरूवा बिमारले समाउने सम्भावना अलिक धेरै हुन्छ। यसलाई हामी ‘डे–केयर सिन्ड्रोम’ भन्छौं।
मौसम फेरिने बेला, गर्मी बढेको बेला र वर्षाको मौसममा इन्फ्लुएन्जा ज्वरो, टन्सिलाइटिस र अन्य सरूवा रोग देखा पर्छन्।
सानो उमेरमा बच्चालाई स्कुलमा राखे पनि उनीहरू पढ्न तयार भइसकेका हुँदैनन्। घरमा हेरचाह गर्न नभ्याउने भएपछि दुई वर्षभन्दा कम उमेरमा पनि स्कुल पठाउने चलन छ।
स्कुल पठाए पनि साना बच्चालाई होमवर्क (गृहकार्य) दिन हुँदैन। तर हामीकहाँ दिने चलन छ।
त्यति सानो उमेरमा होमवर्क दिँदा अन्य समस्या पनि देखा पर्छ। हामी रूघाखोकीलाई मात्र समस्या भनिरहेका हुन्छौं तर धेरै सानो उमेरमा पढाइको बोझले शारीरिक र मानसिक विकासमा पनि उत्तिकै अप्ठ्यारो परिरहेको हुन्छ।
बच्चाको एउटा खास उमेर नभई आँखा र हातको संयोजन हुँदैन। यी अंगको संयोजन हुन कम्तीमा साढे तीन वर्ष पूरा भएको हुनुपर्छ, अझ चार वर्ष पुगेको हुनुपर्छ।
आँखा र हातको संयोजन नभई बच्चाले कलम समाएर लेख्न सक्दैन। बच्चाले अक्षर हेरेर, चिनेर सिक्ने उमेर पनि साढे तीन वर्ष पूरा भएपछि मात्रै हो। त्योभन्दा कम उमेरको बच्चालाई सिकाउने भनेको अक्षर माध्यमबाट भन्दा पनि चित्र र खेलौनाको माध्यमबाट हो।
अति कम उमेरमा कापीकलम दिएर लेख्न लगाउँदा बच्चामा तनाव बढ्छ र बिरामी हुने सम्भावना हुन्छ। मनोवैज्ञानिक रूपमा प्रतिरोधी क्षमता विकासमा असर हुन सक्छ।
यस्तो अवस्थामा सामान्य बिरामले पनि ठूलो रूप लिने सम्भावना हुन्छ। बच्चाले कलम समाएर आँखा र हातको संयोजन मिलाउँदै लेख्न चार वर्ष उमेर पूरा भएपछि मात्र उपयुक्त हुन्छ।
यसो भनेर मन्टेसरीमा राख्नै हुँदैन भन्ने होइन। मन्टेसरीमा बच्चाले कलमकापी नसमाई अन्य गतिविधिबाट सिक्छन्।
बच्चालाई होमवर्कको अतरिक्त भार बोकाउनु राम्रो होइन। सामान्यतया आठ वर्ष पूरा भएपछि मात्र नियमित र थोरै होमवर्क दिनु राम्रो हुन्छ।
स्कुल जाने क्रममा बालबालिका बिरामी हुनबाट जोगाउन पौष्टिक र सन्तुलित भोजन जरूरी पर्छ। मन्टेसरीको समूहमा कसैलाई ज्वरो आएको र रूघाखोकी लागेको छ भने, त्यस्ता बच्चालाई अलग्गै राख्नुपर्छ। बच्चालाई खोप दिएर पनि भाइरल संक्रमणबाट बचाउन सकिन्छ।
स्कुल जाने क्रममा सामान्य बिरामी भएका बच्चालाई धेरै औषधि खुवाउन आवश्यक हुँदैन। सिटामोलले नै ठीक हुन्छ। कतिपय अभिभावकले एन्टिबायोटिक खुवाउँछन्। चिकित्सकको परामर्शबिना कहिल्यै पनि एन्टिबायोटिक वा औषधि खुवाउन हुँदैन।
स्कुल पठाएको करिब एक वर्ष बच्चा जति बिरामी हुन सक्छ, अर्को वर्ष त्यति हुँदैन, कम हुन्छ। उमेर बढ्दै जाँदा बिरामी हुने क्रम घट्दै जान्छ।
(बालरोग विशेषज्ञ डा. किशोर उप्रेती चितवन, भरतपुरको लिली किड्स केयरमा कार्यरत छन्।)